मिलन समीरकेही अपवाद बाहेक …
अन्यौल र दोधाररुपी दुई आँखामा अज्ञानताको ढ्याब्रे चस्मा लगाइरहेका उत्तरआधुनिक धृतराष्ट्रहरु पुगेका छन्- केही अपवाद बाहेक अहिलेसम्म राज्यसत्तारुपी आलिसान महलको सबैभन्दा माथिल्लो तलामा !

मिलन समीर :
जसले, जहाँ, जहिले, जसरी
जस्तो अवस्थामा भेट्यो
उसैले त्यस्तै अवस्थामा त्यहीँ
ठाउँको ठाउँ ठहरै हुनेगरी
कुट्नैपर्ने कुलङ्गार कुपुत्रहरु पुगेका छन्-
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !
खत्तम पारिछाड्नुपर्ने खलनायकहरु पुगेका छन्-
बोराभित्र हालेर तार्सेभिरबाट गुल्ट्याइदिनुपर्ने
गतिछाडा मतिहीन गोबरगणेशहरु पुगेका छन्-
आजीवन उक्किनै नसक्नेगरि भित्तोमा टाँसेर
भित्तैसित घुचेटिदिनुपर्ने घुर्यानहरु पुगेका छन्-
टुँडिखेलमा पाता कसेर लडाउदै नाङ्गेझार पारी
सिस्नोपानीले चुट्नैपर्ने चोरहरु पुगेका छन्-
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !
सम्बन्धित पार्टीभित्रैबाट घोक्रेठ्याक लगाएरै भए पनि
अब कुनै बहाना नगरिकन जतिसक्दो छिटो निकाल्नैपर्ने,
इतिहासमा सबैभन्दा नालायक “किरो” लागिसकेका,
अन्धभक्तसहित आफैंले आफैंलाई “हिरो” सम्झिरहेका
तर हरेक हिसाबले “जिरो” भइसकेका … लम्पटदास
उत्तरआधुनिक कुम्भकर्णे “निरो” हरु पुगेका छन्-
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !
शासक भएको अहंकारमा
हिउँ जस्तै स्वाभिमान पग्लिएर
वर्षौंदेखि नेपाली राजनीतिलाई
रछ्यान जस्तै बनाइरहेको हुनाले
बेतबासको लठ्ठी टेकेरै भए पनि
आफ्नै खुट्टामा निर्धक्कसँग उभिएर
घण्टी बजाउदै सुइरुपी कुचो लगाएर
आगामी आमनिर्वाचनको माध्यमबाट
बढार्नैपर्ने कसिङ्गरहरु पुगेका छन्-
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा
जसले बिझाइरहेका छन् वर्षौंदेखि
अल्झिबसेर भुइँमान्छेहरुको आँखामा ।
आजीवन प्रवेशनिषेधको घोषणा गरेर
बालुवाटारबाट बिदाइ गर्नैपर्ने बदमास
बोक्सी बिरालोका छौँडाहरु पुगेका छन्-
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !
आफूहरु भोकै बसेर वीर पू्र्खाले
आर्जेर बचाइदिएको नासोरुपी
सुन्दर, शान्त र विशाल हाम्रो प्यारो देश
नेपाललाई दिनप्रतिदिन कुरुप, अशान्त बनाउदै
स्वाभिमान बेचेरै पनि सत्तामा पुग्ने स्वार्थकै लागि
स्वदेशको सीमा क्रमशः साँघुर्याइरहेका,
देशको माटो बेचेर दौरासुरुवाल लगाइरहेका,
पतिपत्नीको साइनो बिर्सेर व्यभिचारमा रमाउदै
सिद्वि प्राप्तिको खोजीमा भौंतारिरहेका,
छोरालाई भाकेर बलि पूजा गर्दै
छोरी बेचेर सत्ताको श्रीपेच लगाइरहेका,
स्वदेशी संस्कारलाई चटक्कै भुलेर
“होली वाइन” को डलरमा बिकिरहेका,
समृद्धिको मुहान चिप्रिक्कै थुनिदिएर
गरिबीको अनन्त गहिराइमा डुबुल्की मार्दै
र्याल काढ्दै बसेर “तर” मार्न पल्किएका
विवेकहीन ढाडे बिरालाहरुलाई हराउँदै
स्वाभिमानी हामी नेपालीहरुको
जीत सुनिश्चित गर्नैका लागि
जमानत समेत जफत हुनेगरि
हराउनैपर्ने हरामीहरु पुगेका छन्-
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !
छाला काढी नुनखुर्सानी दलेर
मध्येरातमा मसानघाटको बाटो
लखेट्नैपर्ने लुटेराहरु पुगेका छन्-
ज्युँदै डढाएर छाड्नुपर्ने डाँकाहरु पुगेका छन्-
खाल्टो खनेर ज्युँदै गाड्नुपर्नेहरु पुगेका छन्-
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !
बसेर विस्मृतिको सघन अँध्यारोमा
कथेर भ्रम र द्विविधाको बोक्रे कथा
अन्यौल र दोधाररुपी दुई आँखामा
अज्ञानताको ढ्याब्रे चस्मा लगाइरहेका
उत्तरआधुनिक धृतराष्ट्रहरु पुगेका छन्-
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !
०००
करादीखोला, स्याङ्जा







































चोटिलो चड्कन् !