साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘धैर्यको बाँध त फुट्यो नि सर… !’

सँगैको साथीलाई कोट्याएँ र भने “धैर्यको बाँध त फुट्यो नि सर …। म त जान्छु अब ।” “म पनि जाने” । उहाँ पनि उठ्नु भयो । हामी सँगै निस्कियौँ कार्यक्रमस्थलबाट ।

Nepal Telecom ad

डा. राजेन्द्रप्रसाद अधिकारी :

“सर मंसिर तीस गते‚ आईतबार कार्यक्रम छ । के छ सरको ?” “सर मिले सम्म आउछु नि” । साहित्यिक कार्यक्रमको जानकारी पाएपछि परिबन्दले साथ दिएसम्म जान मन लाग्छ । डायरी पल्टाएर हेरेँ- उक्त दिन यःमरी पुन्हि‚ धान्य पूर्णिमा र उधौली पर्व परेकोले होला‚ अरु कामको चाप कम रहेछ । कार्यक्रमको लागि परिबन्द मिलाउन सकिने देखियो । जाने निधो गरेँ । “कार्यक्रमस्थलको नाम‚ दिउँसो बाह्र बजे”- फोनबाट स्थान र समयको पनि जानकारी गराउनु भएको थियो । स्थानको जानकारीले चिन्तित गरायो । शहरको उत्तर छेउ‚ चण्डोलबाट तीनकुने तिरको कार्यक्रमस्थल‚ लखर लखर हिंडेर जान अलि टाढै भएको मान्नु पर्छ- लगभग छ किलोमिटर । फेरि कार्यक्रम पछि फर्कन पनि पर्यो त । आफू बसेको ठाउँबाट सार्वजनिक यातायातको सहजता पनि छैन । कि चावेल पुग्नु पर्यो कि त वालुवाटार कि भाटभटेनी छेउ जताबाट चढे पनि कार्यक्रमस्थलको एकडेढ किलिमिटर छेउछाउ तिरै ओर्लन पर्ने अनि त फेरी हिंड्नै पर्ने । असुबिधाको असमञ्जसमा परेँ । तर पनि हिंडेरै जान्छु भन्ने अठोट दोहोर्याएँ ।

आफ्नो गाडी लिएर चाहिँ नजाने मनस्थिति बनाइसकेको थिएँ । पार्किङ र बाटोको अवस्था राम्ररी थाहा नभएको ठाउँमा गाडी लिएर जाँदा भोग्नु पर्ने धेरै थरी हैरानीभन्दा हिँड्नु धेरै आनन्ददायी लाग्ने गर्छ । त्यसमाथि गाडी नलानु अर्थात् हिंड्नुका मूलतः तीन फाइदाहरु- पहिलो‚ इन्धन नबालेपछि वातावरण जोगिने (इन्भारमेन्ट) प्रति सचेत भएको मानिने । दोस्रो‚ तेल वापतको पैसा जोगिने (इकोनोमी)‚ व्यवहारिक अर्थशास्त्र बुझेको ठानिने र तेस्रो‚ हिंडेपछि स्वस्थ बनिने (एक्सरसाईज)‚ अनुशासित देखिने कुराबाट वञ्चित हुन पनि चाहन्न थिएँ । त्यसैले हिंड्ने अवसर गुमाउनु उचित थिएन‚ हिंडेरै जाने निश्चित गरेँ ।

कार्यक्रमस्थल ठ्याक्कै कहाँनेर हो‚ कुन बाटो हुँदै गएँ छोटो हुने हो ? फेरी अलमलिन थालेँ म त । गुगल-म्याप हेरेँ साढे पाँच किलोमिटर दुरी र सोह्र मिनेट लाग्ने देखायो‚ गाडीको लागि‚ हिँडेर त त्यति समयमा पुगिने कुरै भएन । गुगल-म्याप हेर्दा झन अलमलिएँ । कहाँबाट पस्ने र कता हुँदै जाने ? कार्यक्रमस्थल त सार्वजनिक यातायातको विश्रामस्थल (स्टप) को वरिपरी छैन त ! व्यवस्थित शहरी विकासको कुरा गर्दै हिंड्ने गरेको मान्छे‚ तर के गर्नु ? राजधानी शहरभित्रका वस्तीहरु… । कसैले “भएको छैन त देश विकास ?” भन्ने प्रश्न गरेँ झैँ लाग्यो‚ झस्किँए । “विकास त भएकै छ‚ किन नहुनु नि । जताततै भएको छ । बेलुका टेलिभिजनमा समाचार हेर्दा‚ नेताहरुले लाजै नमानी‚ यसै भन्ने गरेका छन् र एक इमान्दार कार्यकर्ताको रुपमा मैले पनि पत्याइरहेकै छु” आफ्नै मुखभरी आएको जवाफ थियो । आफैँभित्र दबाएर राखेँ ।

कार्यक्रमको निमन्त्रणा-पत्र व्हाट्सएप मार्फत पाएको थिएँ । कार्यक्रम शुरु हुने समय साढे बाह्र लेखिएको थियो । सचेत एवम् चेतनशील‚ सामान्य जनताभन्दा बढी संवेदनशील अनि समाज र समयका विसंगति र समस्याहरुको सुक्ष्म विश्लेषण गर्दै समाज परिवर्तनका लागि लेख्ने साहित्यकारहरुका कार्यक्रम‚ अर्थात् साहित्यिक कार्यक्रम समयमा विरलै शुरु हुने गर्छन् । मनमनै भनेँ । आफ्नो मनसँग त जे कुरा पनि गर्न पाइयो नि‚ अरुलाई भनिन । यसरी सोचे पछि अब लगभग एक बजेतिर पुग्ने गरि हिंडे हुनेभयो । अर्थात् समयमा पुग्न हतारिन परेन । यो आफूले आफैँलाई “स्मार्ट” बनाउन खोजिएको मात्रै हो । त्यसैले‚ यो मेरो मनसँगको कुरा सत्य प्रमाणित नहोस् भन्ने चाहना पनि राखेँ ।

एक घण्टाको समय राखेर बाह्र बज्न दश मिनेट बाँकीमा घरबाट निस्किएँ । कुन बाटो समाउँ‚ अलमलिँदै अगाडि बढेँ- कालो पुल सिफल‚ भण्डारखाल‚ गौशाला हुँदै । गौशालामा बाटो काट्न धेरै मुश्किल भयो । जेब्रा क्रसिङ्बाट बाटो काट्न खोज्नु झन् जोखिम हुने लाग्यो । ट्राफिकले गाडी बोलाइरहेको हुन्छ‚ ट्राफिकलाई हेरेर उसको इशारामा गाडी हुइँक्याउनै पर्योब चालकहरुले । बाध्यता छ सबैको । बर्षाको भेलमा हेलिए जस्तै‚ काठमाडौंको सडकमा बाटो काट्ने बानी परेकाहरुको पछि लागेर म पनि हेलिएँ । बाटो काटियो । बागमती किनारको बाटो हुँदै कार्यक्रमस्थल पत्ता लगाउन दक्षिणतिर लागेँ ।

पारीपट्टीको तीलगंगा आँखा अस्पताललाई हेर्दै अगाडि बढ्दै थिएँ । भित्ता तिर ढेपिएर चौध पन्ध्र वर्षकी किशोरी र पेटिको अर्को छेउ तिर एक अधबैंशे, वेतुकका प्रसँगहरु मिसाउन खोज्दै, विपरित दिशा तर्फ जाँदै थिए । कुनै पारिवारिक सम्बन्ध भए झैँ देखिएन । लाग्यो कुनै गतिलो संरक्षकत्वको अभावमा किशोरी आफैँभित्र हराएकी छे र कुनै गतिलो इलमको अभावमा एक अधवैंशे बरालिएको छ । सोचेँ राजनीतिको व्यापार बाहेक अरु फापेको छैन यो देशमा । फेरी सोचेँ यस्ता किशोरीलाई कुनै स्कूलमा दाखिला गर्न पाएको भए ? के गर्नु जनवादी शिक्षाका दुहाई दिनेहरु पटक पटक शिक्षा मन्त्री अनि आफूलाई कम्निष्ट भन्न नहिचकिचाउने नेताहरु प्रधानमन्त्री भैसक्दा पनि शिक्षा र रोजगारीको अवसर कहाली लाग्दो नै छ । मंसिरको चिसो महिना‚ एक्कासी गरम महशुस भयो र शरीरमा पसिना आयो । खल्तीको रुमाल झिकेरै गर्दनको पसिना पुछेँ ।

सिनामंगल पुल पुगेपछि म एकपटक फेरी अलमलिएँ । पश्चिमतिर लागौं भिमसेनगोला हुँदै पुरानो वानेश्वर‚ पूर्वतिर सिनामंगल । “नोबल कलेज त उ त्यता हो‚ कार्यक्रमस्थल त उतै होला” भनेर पश्चिमतिर देखाउनु भयो । नजिकै पसल छेउ स्टुलमा बस्नु भएकी एक महिलालाई सोधेको त झन् वित्यास पर्योा । सोधे पछि त भनेको पनि मान्नु पर्यो् । वहाँलाई छल्न अलिकति अगाडि बढेँ‚ अनि अर्को पसलमा सोधेँ- “पुल काटेर खोला किनार कै बाटो जानु होला तर परै छ तीन कुने निरै पुग्नु पर्छ ।” अब न अगाडि बढ्नु न पछाडि फर्कनु‚ धर्म संकटमा परेजस्तो‚ पुग्दा ढिलै हुने संकेत देखियो । जे भए पनि कार्यक्रममा उपस्थिति त जनाउनै पर्यो ‚ अगाडि बढ्दै गएँ । खोलाको किनारै किनार- दक्षिणतर्फ ।

“एई‚ माथि पेटीबाट हिंड् न । यसलाई त सडकमै हिंड्ने बानी परेछ ।” अगाडि हिंडिरहेका मध्ये एकजना‚ पेटीबाट हिंडिरहेकोले भन्यो । “हिंड्नै कम्फर्टेबल छैन पेटी ।” तल सडकमा हिंडिरहेको अर्कोले जवाफ फर्कायो । मलाई चित्त बुझ्यो यो जवाफ । पेटीबाटै हिंडिरहेको थिएँ । साँच्चै नै सुबिधाजनक थिएन । ठोक्किएला कि‚ लडिएला कि‚ होश गरेरै हिंड्नु पर्ने । “जे भए पनि माथि बाटै हिंड् । सभ्य नागरिक बन्न पर्याे नि !” यो आदेश मलाई झन् बढि चित्त बुझ्यो । अर्को पनि पेटी माथि उक्लियो । आदेश दिने चाहिँ सडक र पेटी निर्माण गर्न लगाउने सरकारी कार्यालय अनि आदेश मान्ने चाहिँ निर्माण व्यवसायी (ठेकेदार) भएको भए‚ हाम्रा सडक र पेटीहरु पनि हिंड्न लायक हुन्थ्यो होला नि भन्ने लाग्यो । आफूले चिनेका इन्जिनियर र निर्माण व्यवसायीका अनुहारहरु आफ्नै अगाडि‚ ऐनामा आफ्नै अनुहार हेरे जस्तै प्रष्ट देखिन थाले । कस्तो अचम्म‚ अरुको कुरा गर्दा पनि आफ्नै अनुहार प्रष्ट देखिदो रहेछ कतिपय अवस्थामा । कर्तव्य‚ “ड्युटी” विर्सिए पछि के लाग्छ र पेशा र व्यवसाय गर्नेले‚ त्यस माथि राजनैतिक संरक्षण । कुरा गर्योत कुरैको दुःख भने झैँ ।

गैरी गाउँ नमुना टोल एकातिर अर्कोतिर चाँदनी टोल रहेछ । कति राम्रा नामहरु नमूना टोल । एक छिन उभिएर हेरेँ र केही फोटोहरु खिचेँ । नमूना टोल- सुकेका बाँसको सहारामा पुराना जस्ताले ढाकेका घरहरु । चलनचल्तीको भाषामा सुकुम्बासी टोल रे‚ यस्ता घरहरुमा बस्नेले पनि टेलिभिजन राखे रे‚ यस्ता घरमा बस्नेहरुले पनि फोन बोके रे‚ भनेर सामाजिक सन्जालमा लेख्नेहरुलाई एकाएक सम्झन थालेँ । त्यस्ता उपबुज्रुकहरुका सामाजिक सन्जालको प्रस्थिति संझेर- दया पनि लाग्यो । यसरी नै समाजका हामी आफूलाई जागरुक र जानकार ठान्नेहरुले आँखामा पट्टी र विवेकमा बिर्को लगाएका छौं भन्ने लाग्छ । समाज यही हो । सोचाई यही हो हाम्रो । अनि विकासको परिकल्पना गरेर के होला र ? विचरा ! आजको एक्काइसौं शताव्दीमा पनि नमूना टोल वा चाँदनी टोलहरुमा जीवन विताइरहेका छन् मानिस र मानिसका बच्चाहरु । यिनै टोलका अगलबगलमा ठडिएका पक्की घरहरुलाई हेरेँ । अनि फेरी सामाजिक सञ्जाल र त्यसमा आउने उपबुज्रुकका प्रस्थितिहरु संझदै अघि बढेँ ।

उता चाँदनी टोलको सडकाँगन (सडक+आँगन) मा एक बृद्धा आफैँमा मग्न‚ बाघचाल खेलिरहनु भएको देखेँ । इँट्टाको टुक्रालाई पनि‚ आफ्नै जीवनलाई जस्तै किफायती तवरबाट चोइट्याएर‚ गर्जन नपर्ने‚ बाघचालको बाघ बनाउनु भएको रहेछ र आफ्ना रहर र इच्छाहरु जस्तै सडकमा छरपस्टिएका गिट्टीहरु जम्मा पारेर आफू जस्तै निरीह‚ बाख्रा बनाउनु भएको रहेछ । आफ्नो जीवनलाई जस्तै सडकमा फालिएको कुनै बट्टालाई च्यातेर बाघचालको बोर्ड बनाउनु भएको रहेछ । एक छिन अलिपरबाट उभिएर हेरेँ- जीवन जिउने तरिका‚ लोभलाग्दो लाग्यो‚ कुनै स्वघोषित गुरुहरुको भन्दा । न कुनै लोभ‚ न कुनै इर्ष्या‚ न कुनै चाहना… अर्थात् न कुनै मुलायम वस्त्र र विलासी गाडीको लोभ‚ न कुनै अर्को समूहको चहलपहल बढेकोमा इर्ष्या‚ न कुनै महँगो घडीको चाहना…।

त्यहीँ उभिएर सोच्न थालेछु- एक्लै बाघचाल खेल्ने बृद्धा बाघ हुनु होला कि बाख्रा ? एकछिन गहिरिएर नियालेँ वहाँलाई‚ टाढैबाट । निश्चित भएँ- वहाँ बाघबाट बाख्रालाई जोगाउने चाल खोज्दै हुनुहुन्छ । अनि एकाएक संझन थालेँ हाम्रा नरभक्षी बाघका अनुहारहरु …। बाघ खोज्न जङ्गलै पस्नु पर्छ भन्ने पनि रहेनछ । अलि गहिरिएर हेर्योज भने त मानिसका अनुहारहरु पनि नरभक्षी बाघ जस्तो देखिदो रे’छ त । मन बहकिन थालेको बोध भयो । दायाँ बायाँ हेरेँ‚ कसैले आफूमाथि ध्यान दिएको महशुस भएन । अलि सहज लाग्यो‚ फेरी अघि बढेँ- कार्यक्रमस्थल तिर ।

“कार्यक्रममा होला‚ बाह्र तीसमा भनेको भर्खर शुरु भयो ।” मेरो “नमस्कार हजुर” को जवाफ फर्काउदै भन्नु भयो असी माथिका एक साहित्यकारले‚ दिनको एक बजेर तेइस मिनेट गएको थियो । कार्यक्रमस्थलको परिशरबाट वहाँ केही संझेर बाहिरिंदै हुनुहुन्थ्यो । म भर्या ङ चढ्दै माथि उक्लिएँ । कुर्सीहरुको भीडले अत्यास लाग्ने हलमा सहभागीहरु छरिएर बस्नु भएको थियो । म भित्र पस्दै गर्दा- लगभग सबैको नजर एकपटक म तिर तेर्सियो । ठूलो काठको पोडियमले छेकिएर‚ मुश्किलले टाउको देखाउदै एक चर्चित गायिका गीत गाइरहनु भएको थियो । ठूलो हल‚ प्रशस्त खाली कुर्सीहरु- रोजेर बस्न सकिने । सम्झे कुर्सी-प्रेमी नेताहरुलाई‚ कसैको खुट्टा कसैले तान्नै नपर्ने । कसैको विरोध कसैले गर्नै नपर्ने । तर नेताहरुले खोजे जस्तो शासकीय कुर्सी थिएनन्‚ ति कुर्सीहरु । अधिकार विहीन कुर्सीहरु …। एक छेउमा गएर बसेँ ।

लगभग एक दर्जन विशिष्ट आमन्त्रितहरु‚ मञ्चमा‚ गजधम्म । एक पटक त मैले देखेको थिएँ- मञ्चमा तीस जना जतिलाई बोलाइयो । मञ्चमै सोफा सहितको पहिलो पंक्तिको पछाडि दोस्रो र त्यसको पनि पछाडि तेस्रो पंक्तिमा कुर्सीहरु । दर्शक दिर्घामा हामी पन्ध्र जना जति बाँकी रह्यौं । यो हाम्रो राष्ट्रिय रोग हो । यो रोगबाट मुक्त हुन हामीलाई सजिलो छैन । साहित्यकारहरुलाई यो रोगबाट मुक्त गराउन त झनै मुश्किल होला । हामी साहित्य मार्फत अरुलाई व्यङ्ग त गर्छौ तर साहित्यकारहरुलाई व्यङ्ग गर्ने कसले ? पुरस्कृत र सम्मानितलाई त खोज्नु पर्छ‚ निरीह विचराहरुलाई । अझ मुख्य अतिथि बहालवाला मन्त्री वा कुनै ठप्पा मार्का प्राज्ञ हो भने त चाकडीबाजहरुले पुरस्कृत र सम्मानितलाई नै मञ्चको अग्रभागमा रहेको सोफाबाट सारेर पछाडीको पंक्तिमै पुर्यातइदिन्छन् । मुश्किलले पाँच सात मिनेट पाउँछन्‚ आफैँ पुरस्कृत वा सम्मानित भएको कार्यक्रममा आफ्ना भावना व्यक्त गर्न । आफ्ना भावनाहरु व्यक्त गर्नका लागि रातभर नसुतेर तयारी गर्छन् अनि कार्यक्रममा आएपछि हिस्स पर्छन्‚ पुरस्कृत सम्मानितहरु । विचरा अनुगृहित पुरस्कृत र सम्मानितहरु …।

कार्यक्रम अलमलिन थाल्नु‚ श्रृङ्खलाबद्ध नहुनु र समय तन्कन थाल्नु अर्को रमाइलो पक्ष हो । मान्छेको उपस्थिति देखियो भने त आयोजकहरुको उत्साहले समयको महत्वलाई ठाडै हस्तक्षेप गर्न थाल्छ । वक्ताहरु चाहिँ बच्चा जस्तै फुरुङ्ग पर्दै माइकसँग खेल्न थाल्छन्- के बोलेको पत्तो हुँदैन‚ किन बोलेको पनि पत्तो हुँदैन र कसैले सुनिरहेको होला कि नहोला भन्ने पनि वास्तै हुँदैन । उदघोषक चाहिँ कडा अनुशासनमा देखिन्छन् । वक्तालाई छोटो गर्नुस वा समय सकियो भन्ने आँटै हुँदैन । तर माइकको अघिल्तिर आफू उभिन पाएको बेलामा भने वक्ताले भन्दा बढि‚ बक्ताले बोलेको विषयलाई व्याख्या गर्ने अदभूत क्षमता प्रदर्शन गर्न भने पछि पर्दैनन् । सोच्छु- नेपालीले पाए भने गर्छन् भन्थे‚ ठिकै हो ।

दर्शक दिर्घाका श्रोताहरु मुखामुख गर्न थाल्छन्- कार्यक्रम पकड बाहिर पुग्न थालेको देखिन्छ । जति पछिल्लो वक्ता उति नै धेरै कुरा । भोक लागिसकेको हुन्छ‚ घर पुग्दा बेलुकीको खाना खाने बेला भैसकेको हुन्छ‚ तर कार्यक्रम नसकी खाजा पाउने पनि कुरै भएन । मञ्चमा विराजमान मुख्य अतिथिसँग बसेर फोटो खिच्न पनि पाइएको हुँदैन । न उठ्नु न बस्नु । कडाभन्दा कडा साहित्य लेखेर खरो उत्रन सक्ने साहित्यकारहरु किन आफ्नै कार्यक्रममा चाहिँ यति निरीह र यति फितला ? अतिथि र वक्ता‚ प्रयोजन र आवश्यक्ता हेरेर तय गर्न किन नसकेका होलान् ? जिज्ञासाहरु हुन्‚ कसले स्पष्ट पारिदिने र खै ? कार्यक्रम गर्ने आयोजक र कार्यक्रमका सहभागी दुबै सानाठूला साहित्यकारहरु नै हुन् आखिरमा अर्थात् पर्म तिरे जस्तै त होला नि ।

“अब हामी कार्यक्रमको अन्तिम तिर छौं‚ एकै छिन धैर्य गरिदिनु होला”‚ माइकबाट उदघोषक चिच्याए । माइकको के काम‚ बत्ति त अगि नै गएको हो । म पनि कार्यक्रम सकियोस् अनि उठौंला भनेर धैर्यको बाँधलाई यथा सम्भव मर्मत गर्दै बसिरहेको थिएँ । अरु थुप्रै सहभागीहरु अधैर्य भए‚ उठे र हल्ला गर्न थाले । “अब म मुख्य अतिथिज्यूलाई आफ्नो सारगर्भित‚ संक्षिप्त मन्तव्य राखिदिन अनुरोध गर्दछु” उदघोषकले मुख्य अतिथिलाई मन्तव्यको लागि बोलाए । दुई जनाले मुख्य अतिथिलाई सोफाबाट उठ्न सघाए । विस्ताऽऽरै उठेर पोडियम सम्म पुग्नै समय लाग्यो । त्यसपछि बल्ल मुख्य अतिथिको उचाई र आवाज अनुकुल हुने गरी माइक मिलाउन थालियो । “मेरो आवाज सुनिन्छ?” मुख्य अतिथि दुई तिन पटक चिच्याए- तर कस्लाई के मतलब । जसरी बत्ति आएको नआएको मतलब भएन त्यसैगरी मुख्य अतिथिको आवाज सुनिएको र नसुनिएकोमा सहभागीहरुलाई कुनै मतलब थिएन ।

मञ्चमा विराजमान करिब एक दर्जन विशिष्टहरु प्रत्येकको नाम‚ हैसियत र उनीहरुसँगको सम्बन्धको बारेमा बताउदै मुख्य अतिथि विस्तारै मूडमा आउन थाल्नु भयो । बोल्नु पर्ने विषय वस्तु आवश्यक हुने भएन मुख्य अतिथिलाई- आफ्नै अगाडिको माइक‚ बिजुली बत्ति‚ समसामयिक राजनीति वा वहाँका बच्चा बेलाका संझनाहरु‚ जता लगे पनि भयो‚ “सारगर्भित” मन्तव्यलाई । अब भने मेरो धैर्यको बाँध‚ समयको कारण चर्कन थाल्यो । “मलाई थाहा छ‚ चिसो समय छ । समय पनि निकै भैसकेको छ । म अब धेरै समय लिन्न । तर पनि मैले केही कुरा राख्नै पर्ने हुन्छ” भन्न थालेपछि चर्किसकेको धैर्यको बाँधले थेग्ला जस्तो लाग्न छोड्यो । कार्यक्रम सकिएपछि पुरस्कृत र सम्मानितहरुलाई नमस्कार गरेर बधाई दिने अनि आयोजकहरुलाई भेटेरै मात्र विदा हुने इच्छा थियो । तर‚ संभव भएन । सँगैको साथीलाई कोट्याएँ र भने “धैर्यको बाँध त फुट्यो नि सर …। म त जान्छु अब ।” “म पनि जाने” । उहाँ पनि उठ्नु भयो । हामी सँगै निस्कियौँ कार्यक्रमस्थलबाट । घर पुगेपछि आयोजक मित्रलाई मेसेज लेखेँ “सर पछि भेट हुन सकेन‚ माफ पाउँ । धैर्यको बाँध त फुट्यो नि सर…।”

०००
२०८१ मंसिर ३० गते
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
उफ ! किन सोध्दैन गाउँ…?

उफ ! किन सोध्दैन...

राजेन्द्रप्रसाद अधिकारी
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x