
गन्नेमान्ने !
चण्डालको सम्पत्तिले, सुण्ड-मुण्ड समेत पालियो । आफ्नै घ्याम्पो भर्नलाई, पुस्तौँ-पुस्तादेखिका, सबै गुणहरुलाई तहसनहस पारियो । हो, त्यही दिनदेखि बल्ल आफू, गन्नेमान्नेमा परियो ।

गायत्री परिराेशनी :
जिजीविषाको मात्र एक अभीष्ट
समाजको गन्नेमान्ने हुने ।
इज्जत र प्रतिष्ठाले,
सगरमाथा छुने ॥
सोझो नैतिकताले
मान्छे समेत गन्न छाडेकाले
मानवीय संहिता घुमाएर,
पशु भन्दा पनि निर्मम बनियो ।
त्यसै दिन देखि बल्ल,
गन्नेमान्नेमा गनियो ॥
आफ्नै दुर्गन्धको नशाले
आफ्नै नाक छोपियो ।
काम नै नगरि,
नाम र दाम कमाउनलाई
ज्यूँदा लाशहरु,
चौबिसै घण्टा बोकियो ॥
जन्मदातालाई बृद्धाश्रममा कोचेर,
भुस्याहा कुकुरहरुलाई
मज्जाले सलाम ठोकियो ।
त्यही दिनदेखि बल्ल,
गन्नेमान्नेमा परियो ॥
चण्डालको सम्पत्तिले,
सुण्ड-मुण्ड समेत पालियो ।
आफ्नै घ्याम्पो भर्नलाई,
पुस्तौँ-पुस्तादेखिका,
सबै गुणहरुलाई तहसनहस पारियो ॥
समय, परिस्थिति र,
आवश्यकता अनुसार
पीडकलाई पुरस्कार र
पीडितलाई सजाय दिलाउनलाई,
अर्थात,
अन्यायको न्याय र
न्यायको अन्याय पाउनलाई
कहिले नुनलाई सुन भनियो,
कहिले सुनलाई नुन भनियो ।
जे होस्-फैसला भन्ने कुरो,
आफ्नै पोल्टामा पारियो ।
हो, त्यही दिनदेखि बल्ल आफू,
गन्नेमान्नेमा परियो ॥
०००
स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest