
हुज फादर ह्वाट क्यान डु ?
नेपाली प्रोफेसरलाई त आफ्नो भाषाको माया छैन भने अरुलाई हुनुपर्ने किन ? ब्रेनमा कुरा प्ले गराउँदै फर्कँदै थिएँ । ऊ अर्को भट्टीमा छिरेर फेरि ट्वाँक लाउँदै थियो ।

काशीनाथ मिश्रित :
बग्रेल्ती नेपाली शब्द हुँदाहुँदै पनि हामी अङ्ग्रेजी शब्द जोडेर बोलिदिन्छौँ । अब त मलाई नेपाली भाषा भन्न पनि मन लाग्दैन । बरु नेपाङ्ग्रेजी वा इङ्लिली भन्न सुहाउला । हुन त यसरी बिचबिचमा अङ्ग्रेजी घुसाएर बोल्ने चलन आजदेखिको होइन । बाजे बराजुका पालादेखिकै हो भन्दा कसैले झुटा कुरा गर्यो भन्न मिल्दैन । नत्र मैनाली बाजेले लेखेको कथाका पात्र श्रीधरले आधा अङ्ग्रेजी, चौथाइँ संस्कृत र चौथाइँ नेपाली मिसाएर बोल्थे भनेर किन लेख्थे र ? देवकोटा बाजेले पनि हाइ हाइ अङ्ग्रेजी भनेर निबन्ध नै ठोकिदिएका छन् । उनका पालामा हाइ हाइ भएको अङ्ग्रेजी झन् आज आएर किन लो लो होस् त नि !
मलाई पनि झोकै चलेर आयो र यो टुरिष्ट भाषाको किन प्रयोग नगरुँ भन्ने लाग्यो । टुरिस्ट भाषामा लेख्न खोजेको यो पाङ न पुच्छरको लेखाइ आफैले नबुझ्ने बने पनि मलाई केही छैन । फेरि आजकल नबुझिनुलाई नै ठुलो मानिँदो रहेछ । उहिले सृष्टिकर्ता ब्रह्माले त खै कुन्नि के बनाउँछु भन्दा ऊँट बन्न पुगेको हो रे ! अब हामी जस्ता विनाशकर्ताले जे बनाए पनि कसैले केही गर्नेवाला छैन ।
रातीको नाइट ड्युटी सकेर बिहानै रोड बाटोमा मोर्निङ वाक हिँडिरहेका बेला एउटा ड्रिङ्क गरेको जँड्याहा भेटिन्छ र भन्छ– ‘हेलो सर गुड मोर्निङ नमस्ते ! मैले के भन्ने । हेर्नुस् सर ! हुज फादर ह्वाट् क्यान डु ? मैले एका बिहानै जाँड खाएँ त खाएँ कसले के गर्न सक्छ ? दिनभरी जति काम गरे पनि त्यस्तै हो इटिङ गेटिङ नथिङ वेयरिङ ल्यादर क्याप ! साँझ उही माउथ प्रोब्लम छँदै छ क्यार्नुन्छ । वाइफको डेथ भैसक्यो, एउटा छोरो ह्याङ्गिङ गर्यो, अर्को फरेन कन्ट्री हानियो, डटर हज्ब्यान्डका घर गई मैले के गर्ने ?’
टुथपेस्ट सकिएर ब्रस गर्न पनि नपाएका टिथ ङिच्च देखाउँदै म पनि आफ्नो बाटो लागेँ । मनमनै थिङ्क गर्न थालेँ । बिहानै मन्दिरमा घन्ट हल्लाएर पूजा भट्याउने पण्डित बाजे त साँझ भट्टी छिरेपछि अङ्ग्रेजी बोल्न थाल्छन् अब यो जँड्याहाको के कुरा ! तै पनि उसले गरेको एउटा कुरा भने एकदमै राइट लाग्यो मलाई । बिच बिचमा इङ्लिस वड घुसाएर बोल्नुभन्दा त सेन्टेन्स नै इङ्लिस बनाएर टक गर्नु धेरै ठिक । कसका बाबुले के गर्न सक्छ ? भन्ने कुरालाई उसले त्यसरी मिलाएको देख्दा मलाई उसले वेल नै गर्यो भन्ने लाग्छ । मसरुम एफ एमका आर जेहरूले बोल्ने ठुटे नेपाङ्ग्रेजी भन्दा त कैयौँ गुना राम्रो उसको यो इङ्लिली ल्याङ्ग्वेज !
अनि मैले पनि यो स्माल आटिकलमा बिचबिचमा इङ्लिस वड घुसाएर लेखे पनि त हुज फादर ह्वाट क्यान डु ? मलाई यस्तै लाग्यो । एउटा टि पि डि ट्रेनिङमा जाँदा कलेजका नेपाली पढाउने लेक्चरले नै भनिदिएका हुन् , ‘यो ग्लोबलाइजेसनले गराएको कुरा हो, हामीले रोकेर रोकिन्न ।‘ नेपाली प्रोफेसरलाई त आफ्नो भाषाको माया छैन भने अरुलाई हुनुपर्ने किन ? ब्रेनमा कुरा प्ले गराउँदै फर्कँदै थिएँ । ऊ अर्को भट्टीमा छिरेर फेरि ट्वाँक लाउँदै थियो । भट्टीवाल्नी साहुनीले सोध्दै थिई तपाईंको नाम के हो त दाइ ? उसले भन्यो, एनिमल हज्ब्यान्ड ब्रेभ आइ डु । के भन्नुभयो रे ? बुझिनँ । मेरो घर इटिङ भिलेज बुझ्नुभो ?
मेरो यो लेखलाई जस्ट जोकिङ नठान्नुहोला । अबको हाम्रो पुस्ताले बोल्दै गरेको बेस्ट ल्याङ्ग्वेजमा लेखेको हुँ मैले । नियर फ्युचरमा आफ्ना सन डटरहरूलाई ब्रिटेन अमेरिका पठाउने भएपछि योभन्दा बढि के गर्न सकिन्छ र ? बाह्र किलास पढाएर के गर्नु ? जापानिज अर कोरियन सिक्न थाल्नुपर्छ स्टुडेन्टले हुज फादर ह्वाट क्यान डु ?
शिक्षाविदहरू सेमिनारमा टिल्ल ! हामी जस्ता सिप नभएका सिप (भेँडा) जनता यसै जिल्ल !! युलाई चित्त अन्ड्रस्ट्यान्ड भएन भने माइ फादरको पनि केही लाग्दैन । ह्वाट् क्यान आइ डु ??
०००
२०८१ पुस २
गुल्मी
नेपाङ्ग्रेजी सिक्न कहिले आउँ त गुरुफादर😝