साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुँगुर

सुँगुर भाइहरू आफ्ना खुट्टाहरू बलिया हुँदै जान, आँखाहरू पारदर्शक बन्दै जान र मस्तिष्कमा आत्मबोधको सञ्चार हुँदै जान एक सङ्क्रमणकारी तुफानको आवश्यकता महसूस गर्दछन् र नमरी स्वर्ग देखिन्नँ भन्ने कुरामा पूरापूर विश्वास गर्दछन् ।

Nepal Telecom ad

सुँगुर चारखुट्टे जनावर हो । निबन्ध यहींबाट शुरु गर्न बेस होला । किनभने सुँगुरजस्तो सरल जीवका बारेमा लेखिएको निबन्धमा क्लिष्टता हुनु अस्वाभाविक मात्र होइन, हाम्रो समाजमा बहुसङ्ख्यक जन्तुहरूका निम्ति यो निबन्ध “सुँगुरकै स्वर्ग” हुन जानेछ । अँ त, सुँगुर एक पाल्तु जनावर हो । यसका चारओटा छोटा छोटा खुट्टा हुन्छन् । यसकारण संसारको कुनै पनि दौड प्रतियोगितामा सुँगुरले भाग लिएको हामीले अद्यापि जानेका छैनौँ । वास्तवमा यो दगुर्न सक्ने जनावर नै होइन । संसारमा कैयौं यस्ता जनावरहरू छन् र थिए, जो विकासको नियमअनुसार घस्रेर हिँड्नेबाट दगुर्नेमा विकसित भए, केही दगुर्नेबाट घस्रनेमा । तर सुँगुर यस्तो जनावर हो, जसउपर विकासवादको कुनै नियम लागू भएको छैन । सृष्टिको शुरुमा यसको गति जुन थियो, आज पनि उही नै छ ।

खुट्टाको छनोटमा झैँ आँखाको बनोटमा पनि विधाताले बुद्धि पुर्‍याएकै भन्नुपर्छ । सुँगुरका आँखा ज्यादै साना हुन्छन् । खोर बाहिरको दुनियाँमा पहुँच नभएको यस जनावरका निम्ति बल्ड्याङ्ग्रे आँखा अनुपयोगी मात्र होइन, अनावश्यक ठहर्न जाँदो हो । मात्र वर्तमानको अँध्यारो खोर भविष्यका चिन्ताबाट सधैँ टाढा रहन्छ ।

गन्तीमा यसका पनि अरू जनावरका झैँ कान हुन्छन् । तर सृष्टिकर्ताले यसको मस्तिष्क, हिँडाइ र हेराइकै हाराहारीमा यसको कान बनाइदिएकाले आफ्नो विश्लेषण शक्तिले पचाउन नसक्ने शब्दहरू सुन्नसम्म पनि हाम्रो सुँगुर मन पराउँदैन । आफ्ना मालिकका वर आ र पर जा शब्दहरूबाहेक अरू कुनै आवाज यसका कानमा परे भने एउटा बीभत्स ध्वनि-प्रसार गरेर यसले अरुचि प्रकट गर्दछ ।

सुँगुरका निजी विशेषताहरूमध्ये घाँटी नभएको टाउको पनि एक प्रमुख विशेषता हो । आँखा, कान, खुर मस्तिष्कको प्रभाव यसमा परेर हो वा यसको प्रभाव तिनमा परेर हो, यो कुरा शरीरशास्त्री नै जानून् तर अङ्गको सन्तुलन मिलाउने काममा भने सृष्टिकर्तालाई धन्यवाद नदिइरहन सकिन्न । यही विशेषताले गर्दा नै टाउको बटारेर दाहिने, देब्रे, पछाडि र मास्तिर हेर्ने झन्झट हाम्रो सुँगुरलाई कहिल्यै हुँदैन । सदा भुँइतिरै फर्किरहने यसको थुतुनामा जमिनको गन्धबाहेक अरू गन्ध रुचाउने घ्राणशक्ति नै हुँदैन । यो जे खोज्छ जमिनमै खोज्छ, जे रोज्छ जमिनमै रोज्छ । अतः थुतुनाले जमिन खोस्रनु यसको नैतिक एवम् जन्मसिद्ध अधिकार हो भने अपरिवर्तनीय पेशा पनि हो । यतिसम्म पढिसक्दा तपाईंका नाकमा दुर्गन्धको प्रवेश हुन थालिसक्यो होला ।

तसर्थ यसका अन्य स्वभाव र आहारको सम्बन्धमा विस्तृत चर्चा नगरी यसो भनौ सुँगुर ज्यादै जाती जनावर हो, यो जे पनि खान्छ, जे जस्तोसुकै ठाउँमा पनि वस्तु अर्थात् यसका निम्ति संसारमा कुनै वस्तु अखाद्य छैन, फोहोरमैला भन्ने कुरासित यसको कुनै वैरभाव छैन ।

सुँगुरको एउटा नाम मात्रको पुच्छर हुन्छ, तर यो पुच्छर भएकामा यस जनावरलाई कुनै सन्तोष छैन । बरु, सुँगुर भाइहरू के गुनासो गर्छन् भने यति छोटो पुच्छर हुनुभन्दा त पुच्छरै नभइदिएको भए मानिस भनिने जनावरको श्रेणीमा पर्न सकिन्थ्यो होला यिनीहरूको के पनि भनाइ छ भने मानिस त्यति लामो पुच्छर हुने बाँदरको सन्तान कसरी हुन सक्छ ? यदि हो भने सभ्य र विकसित भनाउँदा मुट्ठीभर मानिसमात्र बाँदरका वंशज होलान् तर संसारका बहुसङ्ख्यक मानिस पक्कै पनि सुँगुरका सन्तान हुन् । हामी र ती मानिसहरू बीचको असमानता केवल एउटा पुच्छर न हो । हामी पनि ती मानिसभन्दा कुनै कुरामा कम छैनौं । हिँडाइ, बोलाइ, सोचाइ आदि यावत् कुरामा समानता छ । हामी पनि सभ्य भनाउँदाहरूको अखाद्य खान्छौँ, फोहोर मैलामा बस्छौँ, अँध्यारो र साँघुरो खोरमा कुकुकिन्छौं अनि उनीहरूका निम्ति मोटाई दिन सक्छौँ, चौक्टा पारिन सक्छौं, तारिन सक्छौं र बफाइन सक्छौं ।

छोटकरीमा “सुँगुरको स्वर्ग” भन्ने उखानलाई चरितार्थ पार्न सुँगुर भाइहरू आफ्ना खुट्टाहरू बलिया हुँदै जान, आँखाहरू पारदर्शक बन्दै जान र मस्तिष्कमा आत्मबोधको सञ्चार हुँदै जान एक सङ्क्रमणकारी तुफानको आवश्यकता महसूस गर्दछन् र नमरी स्वर्ग देखिन्नँ भन्ने कुरामा पूरापूर विश्वास गर्दछन् ।

०००

‘सुस्केरा‘, वर्ष-७, पूर्णाङ्क- २४, (सन् १९७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुद्धिजीवी

बुद्धिजीवी

भेषजराज शर्मा
दोस्ती

दोस्ती

भेषजराज शर्मा
काठमाडौँ गनायो

काठमाडौँ गनायो

भेषजराज शर्मा
चोर

चोर

भेषजराज शर्मा
गाली एक समस्या र वास्तविकता

गाली एक समस्या र...

भेषजराज शर्मा
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x