सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्यालमा राल काढ्दा

तिनीहरू सँगसँगै सानो-सानो करायो भने चुप्प लाग्छन् । मनको ढक उचालेर छटामा पुग्छन् । त्यसैले त अंग्रेजले दल्नसम्म दल्यो । मेकालेले यस्तो मगज छोडिदिएर गयो अझै पनि त्यही छ, त्यही नै रहोस् पनि ।

Nepal Telecom ad

विष्णु नवीन :

मायालु शाक्यज्यू,
हात खुट्टा मिलाएर बिसै औंलाको जदौ !

स्याल अड्क बारे लेख्न आएन । एक त तपाईंको पत्र पनि स्याल जस्तो छिटो नआएर कछुवा भएर आउने । ‘बल्ल बल्ल पोइ आयो, म रॉडीलाई जरो आयो’ भने जस्तो यसै बेला कामको पनि चापाचाप पर्‍यो ।

हुन त मराँडी हुँ न राँडो नै तर उखान भने ठ्याक्कै मिलेको तपाईंको पत्र आउनु मलाई कामले च्याप्नु ठिक्क मिलेन त ? हुन त केही बेला लामो समय भएर पनि लेख्न सकिन्न, भ्याइन्न, त्यस माथि विषय नै दियो भने त लेख्नै पो आउँदैन । तै लेख्न आउँछ कि भनी अनेक गमे, बेलुका खाजापानी खाएर पनि कोशिस गरेँ, राती स्याल कराउँछ कि भनी सुनेँ तर भएन । इलाममा स्याल नै मासिए । मेरा कुखुराहरू यो साल स्यालले लगेनन्, राती कराएको सुनिनँ, लेख्न पनि आएन ।

हुन त मान्छे भन्दा स्याल बाठो हुन्छ । कुकुरको सट्टामा स्याल पाल्न पाए अझ स्वामीभक्त हुनेछ । कसैले पाले म पनि पाल्ने पक्षमा किनभने कुखुरा ज्यादै महँगो भएर किनिखान सकिँदैन । एउटा स्याल पालेर तालिम दिए रातदिन कुखुराको कवाफ उडाइन्थ्यो ।

तपाईंले स्यालको मासु खानु भएको छैन होला, मासु ज्यादै मीठो हुन्छ । टी.बी.लाग्नेले यो खाए चट्टै निको हुन्छ भन्छन् । सानोमा मैले एउटा फिला एक महिना लगाएर खाएको छु । मासु खाएपछि जुनसुकै जन्तुको पनि खान हुन्छ नै । काठमाडौको गल्लीको गुहू र मूत गन्हाएर तपाईको छाती खोक्रो भएको होला । यो साल त स्याल पाइएन अर्को वर्ष गाईजात्राको शुभ अवसरमा सिंगै स्यालको सिकटी काँधमा बोकेको देख्नु भएकै होला अर्काको देशतिर । कति खानुहुन्छ च्याङ्ग्राको मासु ! कहिले कहिले खाई हेर्नोस् न स्यालको मासु तब चाल पाउनु हुन्छ ।

मलाई त के लाग्छ भने जङ्गली पशुहरू पनि कुनै राष्ट्रिय पशु भए भने स्याल हुनुपर्छ र स्याल मार्न निषेध गरिनुपर्दछ । जसरी आज गाउँ फर्कको नाउँमा कर्मचारीहरू आफ्नो-आफ्नो घरमा गएर सुतेर आउँछन् त्यस्तै स्याल दिवस मनाएर स्यालको सिङ ल्याउन लगाउनु पर्छ । किनभने स्यालले हुईं….याँ गर्दा स्यालको सिङ फुत्त निस्कन्छ अरे । त्यसबेला ल्याप्प समात्यो भने सिङ हात पर्छ भन्छन् । भन्छन के भएर नै हो भनेका होलान् । सिङ ल्याउने काम गराइयो भने घर गएर पञ्चायतको सिफारिस गराउनेहरूको गाउँ खुस्कन्छ । स्याल घरघरै ल्याएर पालिन्छ । कतिवेला कराउँछ भनी टाउकोमा हात राखेर बसिरहनु पर्छ अनि देख्छन बाबुको बिहे ।

स्यालको मासु पनि खान हुने भएकोले मासु पनि सस्तो हुन्छ । कुखुराले बारी पनि सखाप गर्छ । कुखुराको वंशै सकिने थियो । मान्छेले अनि खाने थिए स्यालकै अण्डा जसरी आज कुखुरा फार्म, गाई फार्म छ त्यस्तै स्याल फार्म खोलिनु पर्छ । यसो गर्दा बोलीको पनि सुरक्षा मासुको पनि छेलोखेला हुनेछ । स्यान त बाठो हुन्छ, अरू जन्तु पनि फकाएर ल्याउँछ, मार्‍यो खायो । किन खानु पर्‍यो इन्दिरा मर्का पीठो र माओ मार्सी चामल ? किन चाहियो च्याङ्ग्रा र भेडा ? यसमाथि श्री ५ को सरकारले निश्चय नै ध्यान दिनेछ भन्ने मलाई सय पैसा नै विश्वास छ । आशा नभए पनि भरोसा छ । मासु नखानेले मासु खान पर्दछ । खेतीपाती नगर्ने र स्याल मात्र पालेपछि खान करै लाग्छ । कृषिप्रधान देश नभएर पशुप्रधान देश हुनेछ । संसारमा नाम पनि चल्छ एउटै मात्र पशुप्रधान देश भनेर । तर हाम्रोमा करङ मात्र देखिने गरी जसरी गाई पालिन्छ त्यसरी पाल्न भने हुँदैन । सुँगुरलाई मोटो पारे झैँ कट खुवाएर मोटो पार्नु पर्दछ ।

चितुवा पछि दौडनेमा स्याल नै होला । भारतको मिल्खा सिंहलाई ल्याएर दौडनुमा तालिम गराइयो भने चितुवा भन्दा छिटो दगुर्ने हुन्छ स्याल । मिल्खा सिंहको काम पनि त छैन होला हिजो आज । कोही भारतीय कुकुर पाल्नमा लागेका छन् भने कोही स्याललाई दौडन तालिम दिनेमा राखौँ । चोथाले नन्दालाई ल्याएर स्यालनीहरूको सिंगारपटार गर्ने काममा राख्नु पर्छ । अब त त्यो बुढी भएर रिटायर हुने बेला पनि भयो । नन्दाले सिंगार पटार गर्छ अनि पठाउनु पर्छ, विश्वसुन्दरी प्रतियोगितामा स्यालनीहरूलाई । नन्दाको काम स्यालनीहरू रहुन्जेल हुनेछ स्यालनीहरूको टट्टी सोर्ने, पानी ठीक पारिदिने, खाना पकाउने जम्मै काम जति । किनभने भारतमा त तरुनी हुन्जेल त काम छ । बुढी भएपछि, भीख माग्नुपर्छ वा त बाँदर नचाऊ भालु नचाऊ ।

हामीले यति काम दिए बैगुनीलाई गुनले मारिनेछ र त्यसको एलसिसियन कुकुरले स्यालनीहरूको पहराको काम गर्नेछ । विचरी दुई जिब्रे नन्दालाई वेश्याखानामा बुढी भएपछि किन पठाउनु हगि शाक्य ज्यू ! अब त नन्दा डेट एक्पायर इन्जेक्सन जतिकै हो । स्यालभन्दा छिटो त भारतीयहरू छन् किनभने गोजी काटनु, गुण्डा गायव गर्नुदेखि लिएर टाइगर बाम र लाइवन बामसमेत दलेर छक्याउँछन् तर बलमा भन्नु हुन्छ भने गनेउला जति पनि छैनन् । तिनीहरू सँगसँगै सानो-सानो करायो भने चुप्प लाग्छन् । मनको ढक उचालेर छटामा पुग्छन् । त्यसैले त अंग्रेजले दल्नसम्म दल्यो । मेकालेले यस्तो मगज छोडिदिएर गयो अझै पनि त्यही छ, त्यही नै रहोस् पनि ।

अँ… स्यालको कुरामा भारतमा पुगिएछ । यो जातिलाई गाली होइन तर अर्ती है । अनुहारलाई हैन बेहोरालाई मात्र भनेको अरे नि । धेरै के लेखौँ तपाईं आफै पनि जानिफकार हुनुहुन्छ । मलाई भन्दा तपाईंलाई स्यालको बारेमा बढी ज्ञान होला । किनभने हामी सुन्छौँ नेवारको भनाइ- ‘वागमती पारी स्याल करायो हामी घ्याम्पाभित्र लुक्यो र टखार निकाल्यो ।’ तपाईं लुक्नु हुन्न होला भन्ने मलाई एक रुपियाँमा नै विश्वास छ । तै लुक्नु भएछ भने खबर गर्नुहोला । हाम्रोमा त चिठी पन्ध्र दिनमा आइपुग्छ आ.वा. पाँच छ दिनमा ।

हवस् त यत्तिकै !

०००
‘अर्पण’ गाईजात्रा अङ्क २०२६ वर्ष ५ अङ्क ४, काठमाडौं
‘सोझा नवीनका बाङ्ङ्गा निबन्ध’ (२०७८)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दसैँको पखालो

दसैँको पखालो

विष्णु नवीन
मान्छे भए यस्ता

मान्छे भए यस्ता

विष्णु नवीन
ट्वाँट एण्ड म

ट्वाँट एण्ड म

विष्णु नवीन
ठाँडा पैसा

ठाँडा पैसा

विष्णु नवीन
चिनी र नेता

चिनी र नेता

विष्णु नवीन