बद्रीप्रसाद ढकालमान्छेको परिवर्तन !!
यथार्थको धरातलमा मान्छे मान्छेबीच घृणा गर्ने र गरिने व्यवहारको न किताबमा मात्रै अन्त्य भएकै बखत समानता भन्ने कुरो कन चाहिँ परिवर्तनले ल्याउला, त्यसैले अब साँच्चै परिवर्तन हुनुपर्छ ।

बद्रीप्रसाद ढकाल :
ढुङ्गे युगबाट आजको आधुनिक युगसम्म आइपुगेको मान्छे, अन्तका विकसित देशमा जस्ता देखिए पनि, कस्ता कस्ता भनेर लेखिए पनि, कति उच्च मुल्यमा जोखिए पनि, हाम्रामा भने झन झन गिर्दो अवस्थामा पुगेका छन् भनौं कि झन मूल्यहीन । अन्त आफ्नो बुद्धि विवेक लगाएर नयाँ नौलो आविष्कार गर्छन्, यहाँ चाहिँ नभएको बल खर्च गरेर ध्वंश साकारतिर लाग्ने भएपछि के गर्नु । आखिर मुढेबल मै संसार देख्ने अनि छलछाममा उच्च मूल्य लेख्नेहरू अर्काको राम्रो देख्न पनि सक्दैनन् आफू पनि गतिलो काम केही गर्दैनन् । नराम्रै काम गरेर आफू पनि गिर्छन् अरुलाई पनि गिराएरै छोड्छन् ।
आजको सभ्यता भनेकै बलले बुद्धिमाथि शासन गर्ने सोच बनेको छ । फेरि बुद्धिवालहरू पनि शक्ति र पैसाकै पछि लागेपछि कसको के लाग्छ । गाउँमा होस् कि ठाउँमा, विचारमा होस् कि भाउमा । शहरमा होस् कि रहरमा पछि लागेकै छन् । सिधा सोझो बाटोबाट क्यै गर्न नसक्नेहरू चाकरी र चाप्लुसीमै मस्त राम । बुद्धिजीवीहरू पनि पर्खिरहेका देखिन्छन् धुर्तकै दाउमा । अनि आफैलाई सर्वेसर्वाको नाममा जे पनि गर्न पनि तम्सन्छन, नुनचुक छर्छन आलो घाउमा । यो पनि त क्रुर मानवता नै हैन र ! बुद्धिलाई थन्को लगाएर, सोमरसको तन्कोमा देश विदेश घुम्छन, अर्काको राम्रो देख्छन् आफ्नो चाहिँ भत्काउछन । यो पनि त संस्कार नै हो, जे होस् हिजोका मान्छे र आजमा मान्छेमा बुद्धिको तलमाथि छ, मानमा होस् या शानमा, पिउनमा होस् कि खानमा जे पनि चपाएका छन् । खान हुने नहुनेमा कुनै भेद छैन् । उधार्ने देखि छोप्नेमा केही तलमाथि छ कि छैन थाहा छैन तर बिगार्ने र भत्काउने कुरामा चाहिँ तलमाथि पक्कै छ । बुद्धि होस् कि मति इज्जत होस् कि सम्पत्ति जसरी पनि जुटाउनै लागेका छन् अनि कसरी जोगिन्छ त नैतिकता । कसलाई सोध्नु ।
राम्रो कुराको नगन्य विकास भए पनि विकृति, विसङ्गतिको चाहिँ पक्कै बाढी आएकै छ । समाज व्यक्ति व्यक्तिमा टुक्रिएकै छ, सोझा सिधा चुपचाप छन्, दुष्ट भ्रष्ट चोकचोकमा डुक्रिएकै छ । लाज उदाङ्गिएको छ, ताज लुकेको छ । अनैतिकताले टोलटोल ग्रस्त छ, इज्जतको डर छैन्, मर्यादा झनझन त्रस्त छ । अनि आधुनिकताको नाममा गर्न हुने र नहुने सबै कुरो गर्न थालेका छन् भने के सिक्ने नयाँ पुस्ताले ?
अझ भनौँ भने शरीरको प्रदर्शनले चाहिँ पक्कै हाम्रो आधुनिकतालाई निखारेकै छ । अरू चन्द्रमामा टेक्छन्, हामी भुँईबाट नमस्कार गर्छौं । अरु मंगलग्रहमा पुग्छन् हामी ग्रहशान्ति गरिरहेका छौं । अन्धविश्वासमै विश्वास गछौ यसले पनि कत्तिका रोजीरोटी चलेकै छन् । आखिर यो पनि न क्यै हो नि आफनै छुट्टै पहिचान । अरू पर्यटकको भिसा लिएर देश विदेश घुम्छन हामी कतै गए पनि लुकिछिपी बसेर भाडा माझ्छौ । यसैबाट पनि हामी आफनो अस्तित्व जोगाइरहेका छौ भन्ने कुरा थाहा भईहाल्यो । जे होस् हामी मान्छे बन्नका लागि अझ आफैं बाँच्नका लागि जे पनि गर्छांै कि कसो होइन त । अनि परिवर्तन चाहि हाम्रो लगाममा हुनपर्नेमा, हामी लगाम बनेका छौं । हिजोको जहानिया शासनदेखि पञ्चायती अनि प्रजातन्त्र देखि गणतन्त्रले ल्याएको परिवर्तनको गड्डी हाँक्नमा चाहिँ निकै माहिर छौं । खेतबारी बाँझै छ, १६-१७ का किशोरी बलत्कारबाटै भएपनि बाली भएकै छन् यो भन्दा खुशीलो कुरो के चाहियो । आखिर खेत हो बाली लागिहाल्छ नि भन्यो चिया गफमा मस्त हास्यो टाइम पासको मेलो, टाइमले हामीलाई कति पास गर्यो कसले गर्ने हिसाब किताब । कृषिप्रधान देशले तरकारीमा समेत छिमेककै मुख ताक्नुपर्छ, मल बिउ, विजन केही आउन्न समयमा भाषण सुनेर कहिल्यै हुन्न भाउन्न, भने हामी त विश्वकै नमूनामा पर्न अब कति बेर ।
हामीले चुट्ने गफ पनि त हाम्रै लागि न हो नि । अरूको फुर्सद नि छैन फेरि कसले पत्याउने । हामीले नै जे गरेपनि भएन भनेकै छौं, काम गरे पनि नगरे पनि, अनि जे गरेनी के मतलब । अस्पतालमा गएर डाक्टर कुटे पनि मुख छोपेर अवला लुटे पनि जोगिएकै हो क्यारे । तातो न छारोको कुरामा उर्ले पनि आफनै लागि दुई चार जना जम्मा गरेर कुर्ले पनि नाम र दाम भ‘कै छ भने किन दुःख गर्नु । हैन, यो गणतन्त्र भन्या चाहिँ फटाहाहरूकै मात्र राज हो कि के हो ? कसले के गर्छ । यो परिवर्तन भन्या चाहि जसलाई जे गर्न पनि छुट हो कि क्या हो मैले त केही बुझ्नै सकिनँ । अर्काको बिगार्न, अरूलाई सिङ्गार्न या स्वतन्त्रताको नाममा तहसनहस पार्नु भनेकै परिवर्तन हो त । कानुनको खिल्ली उडाउन, मान्छेलाई सिल्ली बनाउन, हल्लीखल्ली मच्चाउनुलाई नै स्वतन्त्रताको अर्थ या परिभाषा बुझ्ने भएपछि प्रजातन्त्र आओस् कि गणतन्त्र निरंकुशताको अन्त्य भन्नु चाहिँ फतुरका कुरा भए । अझ गजबको कुरा जनता महँगीका मारमा यसरी मिचिँदा पटकपटक थिचिँदा पनि कोही बोल्दैनन् । सबै मिलेरै पचाएकै पो छन कि के हो ?
हाम्रै स्वतन्त्रताका कि लोकतन्त्र, गणतन्त्र जे आए नि -मान्छेबाट असल मानिस, मानव, महामानव कहिले बन्ने होइन क्यारे । बाँचुञ्जेल खराब भने पनि मरेपछि चाहिँ देउतै बनाउने नै हो । व्यवहारले झनझन अनैतिक, अराजक, गतिहिन, मतिहिन पो बन्दै छौँ त । अनि सोचाइ चाहि अठारौ शताब्दीको स्वरूप मात्र एक्काइसांैको भएपछि घोडा र गधाको कसबाट जन्मिएको खच्चर भनेर चिन्नु । सधैं जस्तो नेताकै भारी बोक्नकै, स्वस्ति गरेर धनुष्टकांर भएर ढोग्नकै लागि बनाइएको जस्तो । यही हातले अब गलत गर्नेलाई ठोक्न सक्ने चाहिँ बनाउनै पर्छ कि ! विश्वमा वीर भनेको त भूपिले भनेको जस्तै बुद्धु पो हो कि आफैंलाई छामेर भन्नु पर्ने पो भो लौ । हाम्रो बोली व्यवहार संस्कार त निकै चाम्रै हो, बाँच्नकै लागि लागि जहाँ पनि थुतुनो गाड्ने, खाए पनि नखाए पनि उग्राइरहने अन्त्यमा नाम मात्रको मान्छे भनेर चिनिन्छौ कि विश्वमा डर पो लाग्न थाल्यो त । व्यवस्था परिवर्तन होस की नहोस् मान्छे जहिले पनि उस्तै, आफूलाई कहिल्यै बदल्न नसकेपछि टन्न मदिराले लठ्ठ परेको साँढे त्यो पनि टुडिखेलमा छोड्या जस्ता देखिनुमा पनि गर्वबोध भएकै छ । जे पनि गर्ने कुरा पुरानै, बानी पुरानै संस्कार पुरानै सभ्यता पुरानै, सोच पुरानै भएपछि व्यवस्थाको नयाँ खोल ओढेर के हुनु । मुसो बाघ बनेको कथा जस्तै पाँच वर्षमा सुध्रिन खोज्यो फेरि उही पुनः मुसिको भवको कथाले के होला ? त ।
अब त फेरिनु पर्छ भन्ने अनि विश्वास पनि नगर्ने । व्यवस्थाको खोल चाहिँ नयाँ ओढेर नौलो देखिन खोज्नेको स्वरूप देखिन प्रयत्न गर्नुपर्यो नि । कहिले नयाँ देखिने, स्वतन्त्रताको अर्थ बिगार्ने र भत्काउने मात्र होइन, बनाउने मगजले म छोडेर कहिले हामी बुझ्ने । यथार्थको धरातलमा मान्छे मान्छेबीच घृणा गर्ने र गरिने व्यवहारको न किताबमा मात्रै अन्त्य भएकै बखत समानता भन्ने कुरो कन चाहिँ परिवर्तनले ल्याउला, त्यसैले अब साँच्चै परिवर्तन हुनुपर्छ । मान्छेको सोचाई परिवर्तन नभइकन जुनसुकै तन्त्र आए पनि जे जस्तो बनाउने मन्त्र आए पनि हातमा लाग्यो शून्य नै हुन्छ । अब न वैज्ञानिकहरूले दिमाग अनि त्यसको पाटपूर्जामा विचार परिवर्तन गर्न सक्ने औषधि इन्जेक्सन बनाउनुपर्ने भइसक्यो त्यो पनि छुट्टै विशेष हाम्रो लागि कि कसो नत्र त बाह्र वर्ष रामायण पढाए पनि उही हो ॥॥॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































