बद्रीप्रसाद ढकालउम ! रिसकै कुरो
दिनदिनै जनता भनिने गाैप्राणीको ढाड झन झन सेकिएको छ अनि रिस उम्ल्या उम्लै मत्थर हुने छाँटकाट देखिन्न । रिसाहाहरू एउटै अनुहारमा फरक फरक ठाउँमा रिस पोख्यापोख्यै छन् इज्जत जोख्या जोख्यै छन् ।

बद्रीप्रसाद ढकाल :
जहाँ कमजोरी हुन्छ त्यहाँ बडो रिस उठ्छ । फेरि यो रिस भन्ने कुरो मान्छेको होस कि पशुको अत्यन्तै खराब यसले विध्वंस गरेरै छोड्छ । यसले कसैको अर्ति मान्दैन मति पनि सुधार्दैन बरु खति नै खति यसले गर्छ अनि भएन ? ठीक । मान्छेको स्वभाव र चरित्रअनुसार रिस पनि फरक फरक प्रकृतिका हुन्छन् । कोहीको चपाइरहने रिस कोहीको धपाइरहने रिस, कसैको उफ्रने रिस, कसैको टुक्रने रिस, कसैको दौड्ने रिस, कसैको पौड्ने रिस यो यो देखाउने तरिका मात्र भो । वास्तवमै भन्ने हो भो रिसलाई चार प्रकारमा बाँड्न सकिन्छ । सोझो रिस, टेढो रिस, बाङ्गो रिस, अचाक्ली रिस र गन्यमान्यको गढिलो रिस । यी सँगै लोभ र इष्र्या जोडएर आएपछि चाहिँ आफ्नो अर्को केही नभन्ने रहेछ ।
यी त भए रिसाहाका प्रवृत्तिका कुरा, जस्तो प्रकारको मान्छे उस्तै प्रकारको रिस । लुरे, लाम्रे, सिन्के मरन्च्यासेको सोझो रिस । अलिअलि जान्ने सुन्नेको टेढो रिस । अति जान्ने सुन्नेको बाङ्गो रिस अनि भद्र भलाद्मीको चाहिँ अचाक्ली लाटो रिस गन्यमान्यको गढिलो रिस । यो मध्ये चाहि गन्यमान्यको रिस बडो अधमको रिस हो यसले थाहा नपाउँने गरी पातालै पुर्याइदिन्छ । अनि यो रिस भन्ने कुरो मान्छेलाई चाहि कहिले काही बिनाबित्थामा पनि उठ्छ । रिस उठेन कुनै कार्यकारण सम्बन्ध पनि चाहिन्न । अर्काले खा’को रिस राम्रो ला’को रिस उठ्या रिस बस्या रिस, अर्काको उन्नतिको रिस मोटाको रिस प्रकारान्तरमा देखिन्छ । अरुको जे राम्रो भए पनि रिस उठ्नु स्वभाविकै हो भन्ने चलन प्राचीन नै मानौं । अर्काको राम्रो आफ्नै चाहिँ चाम्रो भएपछि रिस नउठोस् पनि कसरी ? उठ्नै पर्छ, उठिरहनुपर्छ । त्यसैले जहिले पनि हाम्रो गति उस्तै हुन्छ, नत्र त फरक भैहाल्थ्यो नि । रिसकै कारणले हामी हाम्रो पहिचान जोगाउन सक्षम छौं, सफल छौं ।
पहिला मान्छेलाई रिस उठ्यो भने पनि घरमै बस्थ्यो या चउरमा नाँच्थ्यो तर आजभोलि रिसले प्रदर्शन गर्ने स्थान चाहिँ परिवर्तन गरेको छ । अरु कुरोमा ज्यूको त्यूँ भएपनि जहाँ कंगाल त्यहाँ चण्डालको उखान चरितार्थ भएकै छ । हाम्रो अवस्था र स्थिति त्यहिका त्यहि भए पनि रिस चाहि अल बढी नै उठन थालेको छ र आज भोलि त्यसैले त सडक र सदन रिसले नै निकै तातेको छ । मान्छेको तातो रिसले सदन र सडकले खेपेकै छ नत्र के भैसक्थ्यो । मान्छेको रिसले दुख पाउँछ सडक र सदन ।
जसलाई जेले गर्दा जस्तो प्रकारको रिस उठे पनि मान्छे हत्त न पत्त दौडेर सडकमा आइपुग्छ । नीति नियम मिचेर ठूलो पल्टे पनि, आफ्नो विचार उल्टे पनि छोराछोरीसंग चित्त दुखे पनि भ्रष्टाचारी देशभित्रै लुके पनि खलासी र ड्राइभरको वाकयुद्ध भए पनि, पेसेन्जरले भाडा नदिए पनि कि त सड़क तात्छ कि त सदन । यहाँ अरूले दुख पाए पनि तताउन सबै छुट छ भाउ बढाए पनि, दाउ लगाए पनि यहाँ चण्डालकै ब्रम्हलुट छ । बिचरा गौप्राणी जनता सधैंको दुखमा, कसले बुझ्ने पीडा ? कसले बुझिदिने मर्का । महँगी थिचिएर पनि भष्ट्राचारले कुचिए पनि उजुरी गर्नु कहाँ ? जेले थिचिए पनि मिचिए पनि सुनाउने कसलाई !
यहाँको प्राणी यस्तै हुन कि नीति नियम वर्षैदेखि यस्तै चलिरहेछ । जुनै तन्त्र आएपनि मान्छेको बुद्धिको बिर्को लागेको लाग्यै छ । नीति न स्थिति यत्रैसिति भनेर न्याय नै किनबेच हुने भएपछि न्याय नपाए कता पो जानु लौ अब । सहराँ मान्छे चाहिँ बढेका बढ्यै मूल्य चाहिँ घटेको घट्यै छ ।
पहिलेदेखि नै चलिआको कुरो मान्छे हुनेखाने कै पछि लाग्छन् नहुनेलाई जति गरे पनि हुँदैन जीवनदेखि नै थाक्छन् । अनि बाँच्नुको तरिका नै फरक बाँच्न सके बाँच्छन् नसके लुगा फुकालेर टोलटोलमा नाच्छन् टोलटोलमा गल्ली गल्लीमा हाँस्छन् । रिसैले त होनि मरिमरि पसिना बेच्यो, दुईछाक खान धौधौ उक्लेला मास्तिर भन्यो झनझन तलतल भासिएकै छ । हिजोको भन्दा पनि आजको मासिएको छ यस्तो भए पनि सडकमा नओर्लेर हुन्छ । थाल बजाएर होस् कि टिन ठटाएर, सिट्टी फुकेर होस् कि बाटो ढुकेर आ-आफ्नो इच्छा पुर्याउनै पर्छ नत्र गर्ने के । सोझो बाटो हिंड्नेले दुःख पाए पनि छेक्नेले लठ्ठी खाए पनि सड़क र सदन एकैछिनमा तात्छ अनि निकास नपाउँदै सेलाइ हाल्छ । तात्न छोड्या त साधारण मान्छेको चुल्हो न हो त्यो त कसलाई के मतलब जसलाई पर्छ त्यसैले भोग्ने न हो भन्न आए भने मज्जाले ठोक्ने न हो । तरपनि रिसले प्रदर्शनस्थल मोड्या पनि होइन । रिसले भत्काउन छोड्या पनि होइन ।
विचरा मामको लागि सकिनसकि घाममा दौड्नेहरू सुइय गरे पनि थाकेर खुइय गरेपनि महँगीले ढाड् साझो पार्न दिंदैन । अझ, कहिलेकाहीँ लोकतन्त्रका महाराजका सवारीले घण्टौं हलचल हुनै पाइन्न । पेटको आगोले विचारलाइृ बालेको कसले देख्ने अनि उठ्दैन त बेपत्ताको रिस , जुन तन्त्र आए पनि टाठाबाठाकै पो भो त मुलुक । बिचरा जनता कता कता मुकदर्शक बनेका छन् ।
रिसैले भनेपनि आफैंले आफैंलाई दुखी भनेका छन् अरु कमै गर्न नसके पनि कुरा काट्या छन् दुख साट्या छन् । हेर्ने हेर्याहेर्यै रिस गर्ने गर्या गर्यै । न दुख सकिन्छ न रिस । त्यसैले यो सडक र सदन विकासको पूर्वाधार होइन आज सबैको विष बनेको छ । कहिले कहाँ रोकिएको छ कहिले कहाँ छेकिएको छ । त्यसैले दिनदिनै जनता भनिने गाैप्राणीको ढाड झन झन सेकिएको छ अनि रिस उम्ल्या उम्लै मत्थर हुने छाँटकाट देखिन्न । रिसाहाहरू एउटै अनुहारमा फरक फरक ठाउँमा रिस पोख्यापोख्यै छन् इज्जत जोख्या जोख्यै छन् । मान्छेको अस्तित्व रहेसम्म यो रिसले बाटो देखाउन्न ठोकुवा गरेर भनिदिएँ लौजा रिसले गिनिज बुकमा भनौं कि कलिपुराणमा आफ्नो उच्चता फेकाउँन्न । जय होस् ।
०००
चन्द्रागिरी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































