बद्रीप्रसाद ढकालकाम भनौँ कि दाम
काम गरेर पनि भोक मार्न नसके पछि हाम्रो राष्ट्रिय रोग ग्यास्ट्रिक नभएर के हुने ? पीर नमान्नुस् खाएकै मान्छे मोटोघाटोलाई नाले रोग डाइबेटिज, यूरिक एसिड, हर्ट डिजिज छँदैछ नि । कामदार सधैँ भाकै पर्छ केही नगर्ने मालिक महलबाट डकार्छ ।

बद्रीप्रसाद ढकाल :
समयले मानिसलाई दामप्रेमी बनाएको छ । कामको मूल्याङ्कन त पछिको कुरो न हो । श्रमजीवीहरू काम खोज्छन् शरमजीवीहरू ठीक विपरीत सबै पचाएर दाम खोज्छन् । बिहान देखि बेलुलकासम्म काम कुम्ल्याउछन् ऊसको नाम चाहिँ मर्मजीवी । अझ बुद्धिजीवी, धर्मजीवी की पापजीवीहरू कर्म कूकर्म गरेर कमाउँछन भनौँ कि टन्न कुम्ल्याउँछन् । यो काम र दामको सम्बन्ध दिन र रातको जस्तो भन्दा पनि कामको र पसिनाकोजस्तो छ । काम गर्नेहरू खट्छन् मेहनत गर्छन पसिनाले आँतमा प्यास मेटाउँछन् । मालिक भनाउँदाहरू उनीहरूको तिनै श्रमको ज्याला लुटेर मोटाउँछन् । खाउँ भने दिनभरको कमाई नखाउँ भने कान्छा बाबुको अनुहार भाको छ जागीर ।
परिश्रम गरेर सुखको सपना बुन्नेहरू झझल्कोमा सपना बुन्छन्, आशा कोरल्छन तर दाम सपना बनेर उड्छ । कसैगरी भेट्टाउन खोज्छन्, समात्न खोज्छन् तर दामहरू आँखा अगाडिबाटै हरिन्छ । आशा मर्दैन आश राखेर केही होला भन्ने मानी जीवन रहेसम्म काम गर्छन्, दाम समाउन खोज्छन् तर पनि असमर्थतामा बाँंच्छन मात्र बाँच्छन् अनि भोकमै मर्छन् । यो भोकमाथिको राजनीति चलिरहेकै छ । जो आदर्शवादी कुरा गर्छ आफूलाई मानवताको पक्षधर मान्छ ऊ भन्दा पसिना चुस्ने अरु कोही हुन्न । त्यसैले आज जो कर्मजीवी छैन, जो मर्मजीवी छैन दाम तिनीहरूमसँगै छ । बदनाम पनि तिनीहरूसगै छ । जसले शोषण गर्छ आफैँलाई मात्र पोषण गर्छ अरुको मर्कामा एक धर्का लगाउँछ अनि चुरोटका सर्को लगाउँछ मानौँ ऊ यो देशको महान् चिन्तक हो ऊ जतिको विवेकशील छ जसले आफ्नो भन्दा अरुको सोच्दैन बारम्बार पूजा गर्छ तर धर्म खोज्दैन ।
मान्छे हुँ भन्छ तर धर्म गर्न खोज्दैन त्यस्ताले कामलाई दाम बनाएर लगाम लगाएका छन् । निर्दयी बनेर सोझा सभालाई बिना ज्यालामा भगाएका छन् । बल कै भरमा किन नहोस् डर धम्की त्रास देखाएर सताएका छन् । अनि आफन्त बनेर, सहयोगी बनेर जोताएका छन् । मीठा कुरा गरेर फसाएका छन् । नेताका पुच्छर बनेर होस् या बन्दुकको नाललाई भनेर होस् काम छलेर दामको खेती गरेका छन् दाम तिनीहरूकै प्यारो छ । अरु कर्मजीवीलाई चाहिँ बाँच्न साह्रै गाह्रो छ अझ भनौँ ओठमा मुस्कान नपाएर हाँस्न साह्रो छ । हैन त !
श्रमद्वारा नै समृद्धि आउँछ भन्छौं । अरुको देश विकास भयो भनेर फलाक्छौ अरु काम गर्छन् हामी कुरा काटछौँ, आफू केही गर्दैनौँ, अरुकै ज्याला चाट्छौँ अरु सीपसँग दाम साट्छन् हामी भिडभाडमा बगली काट्छौँ । मै ठूलो, मै जान्ने भनेर दिमाग चाट्छौँ । अरु मेसिनसरह काम गर्छन् हामी ढल्या सिन्को नउठाइ भुँडी भर्छौ अर्काकै राम्रो मानेर डाह र ईर्ष्यामा लागेपछि अनि नहोस् त उन्नति । हाम्रो नभए कसको हुने हो हैन त । युवा जोस जाँगर भएको बेला आफै जुट्छन् हामी आफैले खाएको थालमा चुट्छौँ, बाउबाजेको खालोमा सालोको रजाईं जस्तै लुटको धनमा फुपूको सराद्दे गर्छाैँ । अरु विवेकको तख्तामा बुद्धि मोड्छन्, वृद्धि जोड्छन् मेहनत गर्न हाड घोट्छन् नजानेको कुरा सोध्छन्, नयाँ नयाँ कुरा खोज गर्छन् ।
हामी बाउबाजेको कमाइमा बारम्बार भोज गर्छाैँ अनि भएनौ त ठूला । कि कसो जापानमा विकास, युरोपमा उन्नति नेपालमा खती, ढुङ्गाले ताकी ताकी सरकारी सम्पत्ति फुटाउनेको प्रगति नभएर हुन्छ ? दिन रात नभनी मेहनत गर्नेको कसरी विकास भयो ? दङ्ग पर्छाैँ खान्छौँ अल्छी लाग्छ हाई काढ्छौँ । आखिर कुम्भकर्णकाे चेला महाचेला न पर्यौ अफिसको कुर्सीमा होस् कि बसको सिटमा, घरको ओछ्यानमा होस् कि भट्टीको रछ्यानमा लड्नु पनि त चानचुने कुरो त होइन नि । ईश्वरले बनाएको दुईटा हात त अरुसँग माग्न, लाजै पचाएर अरुको अगाडि थाप्न त हो नि, आँखा चिम्लेर भए पनि आँखा मिचेर भए पनि के भो ?
आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नु गर्व गर्नु हो । नकाम होइन रे ! जे होस् कामलाई आफ्नो बनाउन नसके पनि एकजनाको कामले दशौ जना माम हसुरे पनि बाँचेको जस्तै त छौ । काम गरेर पनि भोक मार्न नसके पछि हाम्रो राष्ट्रिय रोग ग्यास्ट्रिक नभएर के हुने ? पीर नमान्नुस् खाएकै मान्छे मोटोघाटोलाई नाले रोग डाइबेटिज, यूरिक एसिड, हर्ट डिजिज छँदैछ नि । कामदार सधैँ भाकै पर्छ केही नगर्ने मालिक महलबाट डकार्छ । महिनौँ काम गर्छ तनखा लिन्छ आफू खाँदैन ठग्न जाँदैन त्यसैले कामले दामले मिलेर लाउँदैन । आलस्यले फूर्तिलो हुने जान्दैन आयोडिन खाए पनि नखाए पनि स्वास्थ्य बलियो भए पनि मानसिकता चाहिँ सुस्त, सोचाइ अपाङ्ग भएपछि उन्नति भएन भन्नु चाहिँ वर्षाको भ्यागुतो कराउन जस्तो हैन क्या रे कि कसो ।
०००
चन्द्रागिरी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































