साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अङ्ग्रेजी शब्द: नेपाली अनुवाद

“नमस्कार ! सह-सचिवज्यू !” “तपाईँ को बोल्नु भो ?” “म वातावरण मन्त्रालयबाट कन्सलट्यान्ट बोल्दैछु, हजुर !” “मन्त्रालयबाट कडकन्दार ! तपाईँको मन्त्रालयमा अन्य अधिकृत छैनन् ? फोन राख्नुस् ।”

Nepal Telecom ad

डा. नवराज खतिवडा :

एक दशक जति अघिको कुरा हो । महादेवी अर्थात धर्मपत्नीले आफ्नो बिजिनेस कार्ड छपाउने जिम्मा मलाई सुम्पिदिइन् । कार्यालयको र मोवाईल फोन दुवैको नम्बर उल्लेख गर्नुपर्ने भयो । जापानको ती वर्षको बसाईमा सिकेका केही ज्ञानलाई विभिन्न साईत पारेर बुद्धिमा रुपान्तरण गरेको छु । ती मध्ये एक हो-दोभाषे कार्ड बनाउने अर्थात कार्डको एकातिर अङ्ग्रेजीमा र अर्कोतिर नेपालीमा विवरण लेख्ने । महादेवीको कार्डमा पनि त्यही बुद्धिको उपयोग गरेँ । साथै एउटा नयाँ प्रयोग पनि गरेँ । “मोवाईल” को नेपाली रुप ”डुलुवा” भनेर लेखिदिएँ । कार्ड बनेर आयो । तर “डुलुवा” शब्द आलोचनाको घेरामा पर्यो । यो शब्दको मात्र होइन यसका सर्जकको पनि खपिनसक्नु आलोचना भयो । “तथाकथित अनुवाद” को नराम्रो अवसान भयो ।

अङ्ग्रेजी शब्दलाई नेपालीमा अनुवाद गरिएका अन्य तीता मीठा प्रसङ्गहरु बाक्लै भेटिन्छन् । इन्जिनियरिङ्ग र आर्किटेक्ट विधामा लोकप्रियता हासिल गरेका समकालीन नेपालका अध्येताहरूमध्ये भरत शर्मा एक हुन् । उनले एक पटक एक अर्का मित्रको परिचय दिँदै भने- त्यही क्या “इलेक्ट्रो किङ्ग फोर्टी” ।

एक चोटी घत पर्ने गरि सुनिएको रोचक नाम वा प्रसँग कहिलेकहीँ सँधैभरि संझिने गरी ढुङ्गाकाे अक्षर भएर मष्तिष्कमा रहन्छ । भरत शर्माले भनेको ति मित्रको नाम पनि मेरो मानसपटलमा कहिल्यै नमेटिने गरि रहेको छ । मैले वहाँले झट्ट “इलेक्ट्रो किङ्ग फोर्टी” भन्दा त्यसको अर्थ बुझिनँ । तर पछि थाहा भयो, ती मित्रको नाम रहेछ-विद्युतराज चालिसे । अचम्म त के भयो भने विद्युतराज चालिसेको कर्मथलो रहेछ- नेपाल विद्युत प्राधिकरण ।
वैज्ञानिक अनुसन्धान गर्ने अध्येताहरुले पटक पटक प्रयोग गर्नु पर्ने एक शब्दावली हो- लिटरेचर रिभ्यू । यो शब्दावलीले कुनै अध्येताले अनुसन्धान गर्नुपूर्व अरुले त्यस विषयमा के के काम गरेका छन् भन्ने विषयको लेखोटलाई जनाउँछ ।

वातावरण मन्त्रालयले मलाई भौतिक वातावरण विज्ञको रुपमा निमन्त्रणा गर्ने गरेको छ । म भने यस्ता अवसरहरुमा सहभागी हुन जाँदा साथीभाइलाई भन्ने गरेको छु- “मलाई पंडितजीको भूमिका निर्वाह गर्न बोलाइएको छ ।”

एक जर्ष जति अघिको प्रसङ्ग हो । वातावरण महाशाखाको एक उच्चस्तरीय छलफलमा म पंडितजीको आसनमा बसेको थिएँ । एक परामर्शदाताले “लिटरेचर रिभ्यू” लाई नेपालीमा अनुवाद गरेर स्लाइडमा देखाए- साहित्यिक पुनरावलोकन ।
मेरा लागि यो अर्थ नलाग्ने ठाडो अनुवाद थियो । म पनि लरतरो पंडित थिइनँ । प्रतिवाद गरेँ- “पूर्व कार्य समीक्षा भन्ने शब्दावली प्रयोगमा छ । तपाईँको अनुवाद मिलेन।”

परामर्शदाताले भने- तपाईँको तर्क मिलेन । वातावरण संरक्षण नियमावलीमा नै यस्तो लेखेको छ ।
घरमा आएँ । नियमावली पल्टाएर हेरेँ । हो, रहेछ । लिटरेचर रिभ्यूको अनुवाद “साहित्यिक पुनरावलोकन” नै रहेछ ।
लालमोहोर लागेको कानूनी दस्तावेजमा नै उल्लेख भएपछि मेरो के लाग्थ्यो र ? मैले थप प्रतिवाद गर्ने जमर्को गरिनँ । लुरुक्क परेँ ।

एक वकिलले “उपशंका” भन्ने नेपाली शब्दको अङ्ग्रेजीमा अनुवाद गर्ने जमर्को गरेछन् । उनले हातमा लिएको शब्दको टाउको अर्थात “उप” कहाँ, कहाँ प्रयोग हुन्छ भन्ने फेहरिस्त निकालेछन् । उनको अनुसन्धानले दुईवटा वलशाली शब्द फेला पारेछ-“उप-प्रधानमन्त्री” र “उपमेयर” । उनको उत्साहको सीमा आकाशिएछ । यी दुवै शब्दको अङ्ग्रेजी रुप समान किसिमको हुन्छ अर्थात “डेपुटी प्राइमिनिष्टर” र “डेपुटी मेयर” ।
वकिल साहेबले निचोड निकालेछन् ।
“उपशंकाको अङ्ग्रेजी अनुवाद हुन्छ- डेपुटी डाउट ।”

शब्द नै “उप-शंका” भएकाले यसको अनुवाद मिल्यो कि मिलेन भनेर ‘शंकाको लाभ’ लिने कुरो भएन । मैले वकिल साहेबको साधनालाई साधुवाद भनेँ । मलाई लाग्यो- अङ्ग्रेजी-नेपाली अनुवादको आकाशमा अर्को चम्किलो तारा थपिएको छ ।

एक प्राज्ञिक निकाय मातहतका पुरान प्रश्नपत्रको मूल्याङ्कन गर्ने काम कुनै परामर्शदाता अर्थात कन्सल्ट्यान्टले पाएछन् । यो “कन्सल्ट्यान्ट” भन्ने शब्द पनि बडो रोचक छ । कसैले यसलाई भलछोपुवा जागिर पनि भन्छन् । कसैले “कन्सलट्वाँट” ।

करिब १५ वर्ष अघि म सिंहदरबारमा मुकाम राखेर वातावरण मन्त्रालयमा काम गर्थेँ । क्यानाडाका एक परामर्शदाता टिम लिडर थिए । म भने डेपुटी टिम लिडर अर्थात उप टोली नेता । हाम्रो टोलीमा अन्य दुई नेपाली परामर्शदाता पनि थिए । हामी एशियाली विकास बैँकले वित्तिय सहयोग गरेको एक परियोजनामा काम गर्दथ्यौँ । गृह मन्त्रालयका एक कडा मिजासका सह-सचिव हाम्रा प्रमुख सरोकारवाला थिए । टोलीका एक नेपाली मित्रले सह-सचिवज्यूलाई फोन गरेछन् ।
“नमस्कार ! सह-सचिवज्यू !”
“तपाईँ को बोल्नु भो ?”
“म वातावरण मन्त्रालयबाट कन्सलट्यान्ट बोल्दैछु, हजुर !”
“मन्त्रालयबाट कडकन्दार ! तपाईँको मन्त्रालयमा अन्य अधिकृत छैनन् ? फोन राख्नुस् ।”
मित्रको झण्डै सातो गयो । उनले मलाई गुहारे । मैले रंगमञ्चमा ती कडा मिजासका हाकिमकी सहयोगी एक चेलीसँग सम्पर्क गरेँ । काम अघि बढ्यो । त्यस प्रसंगदेखि मैले नयाँ शब्द सिकेँ- कडकन्दार ।

अब प्रश्नपत्रको मूल्याङ्कन गर्ने कडकन्दारको प्रसंगको चर्चा गरौँ । उनले प्रश्नपत्रको सँगालोको विश्लेषणात्मक अध्ययन गरेका रहेछन् । अध्ययन, अनुसन्धानको कार्यमा माथि उल्लेख गरिएको पूर्व कार्य समीक्षा जस्तै अन्य केही अङ्ग्रेजी शब्दहरु पनि बाक्लै प्रयोग हुन्छन् । कडकन्दार महोदयले तथ्याङ्क संकलन विधि व्याख्या गर्दा एक धमाकेदार शब्दावली प्रयोग गरेका रहेछन्- “जनसंख्या र नमूना छनौट” ।
यसको अङ्ग्रेजीमा अनुवाद हुन्छ- पपुलेशन र स्याम्पल सेलेक्सन ।
कडकन्दार महोदयको ‘स्याम्पल सेलेक्सन’ को अनुवादको निशाना सही लागे तापनि “प्रश्नपत्रको जनसंख्या” भन्ने शब्दको प्रयोगले भने मेरो मथिङ्गल खल्बल्यायो । जनसंख्यासँग कुम जोडेको शब्द जनगणना पनि हो । गणना मान्छेको मात्र हुँदैन । पशु चौपायाको पनि हुन्छ । अन्य निर्जिव वस्तुको पनि हुन्छ । प्रश्नपत्रका मूल्याङ्कन कर्ताको अनुवादलाई सही मान्दा भैँसी, कुकुर वा सुँगुरको समूहको गणना गर्दा भैँसीको जनसंख्या वा रुखको जनसंख्या भन्नु पर्ने भो । मेरो अनुवादको सकस अझ बढ्यो ।

तिनै सज्जनले प्रतिवेदनमा अर्को पनि ब्रम्हास्त्र छोडेका रहेछन्- तथ्याङ्क शास्त्रीय विश्लेषण । उनले “स्ट्याटिसटिकल एनालाइसिस” को नेपाली अनुवाद यसरी गरेका रहेछन् । मलाई वातावरण मन्त्रालयमा पंडित्याईँ गर्न बोलाउँदा भौतिक वातावरण विज्ञको उपाधिले बोलाइन्छ । “स्ट्याटिसटिकल” को अनुवाद “तथ्याङ्क शास्त्रीय”लाई सही मान्ने हो भने सादृष्य नीति अनुरुप फिजिकललाई “भौतिक शास्त्रीय” भन्नु पर्ने भो । यसरी रसायन शास्त्रीय, जैविक शास्त्रीय वा प्रकृति शास्त्रीय जस्ता शब्दावलीको पनि उत्पत्ति हुने भो । मेरो सकसको दायरा अझ गहिरियो।

अमेरिकी सहयोगमा सञ्चालित एक अध्ययनका टोली नेता थिए- जर्ज टेलर । उनी दक्षिण एशियाका कुटनीतिक नियोगमा काम गरेको अनुभव भएकाले फाट्टफुट्ट नेपाली पनि बोल्थे । उनी हलुका स्नायूमा आफ्नो परिचय दिन्थे– मेरो नाम गोर्गे दर्जी हो । अर्थात अङ्ग्रेजी अक्षर ‘जि’ को सिधा नेपाली अनुवाद ‘ग’ हुने भएकाले उनको नाम ‘गोर्गे’ भन्दा नेपालीपन आउने र हास्यभाव पनि सिर्जना हुने हुनाले उनले नेपाली जनहरुसँग भावनात्मक रुपले जोडिन यसो गरेका होलान् भन्ने मेरो बुझाई छ ।

अङ्ग्रेजी नामको नेपाली रुपको अर्को एक सशक्त उदाहरण ‘अरबिन्द कुशवाह’ भन्ने नामसँग जोडिएको छ । नेपाल स्थित एशियाली विकास वैँकका हाल बहाली रहेका प्रमुखको नामको लगभग उच्चारण अर्नोड कोशवा हुन्छ । नेपाली जिब्रोलाई उनको नाम उच्चारण गर्न नै सकस पर्छ, थरको त कुरै नगरौँ । उनको थरको अङ्ग्रेजी हिज्जे हुन्छ-सि, ए, यु, सि, यच, ओ, आई, यस । एक दशक जति अघि उनी अहिले प्रमुख भएकै कार्यालयमा कुनै तल्लो तहका कर्मचारी थिए । नेपाल सरकारका मधेसी मूलका एक सचिवले अध्यक्षता गरेको बैठकमा कोशवा र म लगायत अन्य केही व्यक्तिहरु उपस्थित थियाैँ ।
सचिवज्यूले ती विदेशी मित्रलाई परिचय गराउँदै भने-उहाँको मधेशी नाम अरबिन्द कुशवाह हुन्छ । हामी सबै रमाइलो मानेर हाँसेका थियौँ ।

मेरो नेपाली अनुवाद श्रृङ्खलाको एक अर्को अनुभव भारतको पश्चिम बंगालमा ५ वर्ष अघि भएको निर्वाचनसँग जोडिएको छ । ममता बेनर्जीको राजनीतिक दल ट्रिबुनल काँग्रेसको निर्वाचन घोषणा पत्रको अङ्ग्रेजी र नेपाली प्रति मेरो कित्तामा आइपुगे । मेरो काम नेपालीको अनुवाद प्रतिको सम्पादन गर्नु पर्ने थियो । मलाई एक शब्दावलीले ध्यानाकर्षण गर्यो- सामग्री तालिका ।

त्यसवेला अहिलका जस्ता ए आई वा उत्तर आधुनिक विश्वकर्मा बाबाका विभिन्न संस्करणहरु उपलब्ध थिएनन् । गुगलले बनाएको अनुवाद गर्ने संयन्त्र मात्र थियो । मैले पत्ता लगाएँ- “टेबल अफ कन्टेन्ट”को नेपाली अनुवाद गरी “सामग्री तालिका” बनाएको रहेछ । हुनु पर्ने थियो- विषय-सूचि ।

नेपाल सरकारका पूर्व सचिव खेमराज नेपालले कुनै प्रसंगमा एक पटक भन्नु भयो- अङ्ग्रेजीको नेपालीमा अनुवाद गर्दा ठ्याक्कै मिल्ने शब्द केही छन् । ती मध्ये एक हो “सिनियर एकाउन्ट टेन्ट” । यसको नेपाली अनुवाद हुन्छ- बडा लेखापाल । “सिनियर” भनेको “बडा” भयो । “एकाउन्ट” भनेको “लेखा” र “टेन्ट” भनेको “पाल” । यसरी मेरो अङ्ग्रेजी-नेपालीको अनुवाद कित्तामा बुर्कुसी मार्न आइपुगेका शब्द र शब्दावलीले बिर्सन नसकिने गरी डेरा जमाएका छन् । सबैभन्दा आश्चर्य त त्यसवेला भयो जब मैले हाल चलनचल्तीका विश्वकर्मा बाबाका अवतारहरु मध्ये एकलाई तलको प्रश्न सोधेँ-
“मोवाईल फोनलाई नेपालीमा के भनिन्छ ?”
“मोवाईल फोनलाई हाते फोन वा जङ्गम दुरभाष भनिन्छ ।”
“जङ्गम दुरभाष” भनेको त औपचारिक वा प्रशासनिक प्रयोगका लागि उपर्युक्त हो भनेर ठोकुवा गर्यो ।

मलाई लाग्यो- मैले महादेवीको कार्डमा मोवाईल फोनलाई “डुलुवा” भनेर लेखेँ तर त्यसले आलोचनाको धारे हात भेट्यो । यदि मैले बाबाले भनेको जस्तो “हाते” वा “जङ्गम दुरभाष” भनेको भए के हुन्थ्यो होला ?
प्रश्न लौरो बनेर ठिङ्ग उभियो ।

०००
फागुन ०३, २०८२

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
राम
राम
3 months ago

आहा! मन पर्‍यो।एउटा डुलुवा फोन याने कुरागर्ने यन्त्र त म पनि बोक्छु ।

Nepal Telecom ad
फ्रान्सिस्काको इमोजी

फ्रान्सिस्काको इमोजी

डा. नवराज खतिवडा
महादेवीको उर्दी

महादेवीको उर्दी

डा. नवराज खतिवडा
मेरो बहर विद्यार्थी

मेरो बहर विद्यार्थी

डा. नवराज खतिवडा
ह्याप्पी ग्रीन डे

ह्याप्पी ग्रीन डे

डा. नवराज खतिवडा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
1
0
Would love your thoughts, please comment.x
()
x