डा. नवराज खतिवडाअङ्ग्रेजी शब्द: नेपाली अनुवाद
“नमस्कार ! सह-सचिवज्यू !” “तपाईँ को बोल्नु भो ?” “म वातावरण मन्त्रालयबाट कन्सलट्यान्ट बोल्दैछु, हजुर !” “मन्त्रालयबाट कडकन्दार ! तपाईँको मन्त्रालयमा अन्य अधिकृत छैनन् ? फोन राख्नुस् ।”

डा. नवराज खतिवडा :
एक दशक जति अघिको कुरा हो । महादेवी अर्थात धर्मपत्नीले आफ्नो बिजिनेस कार्ड छपाउने जिम्मा मलाई सुम्पिदिइन् । कार्यालयको र मोवाईल फोन दुवैको नम्बर उल्लेख गर्नुपर्ने भयो । जापानको ती वर्षको बसाईमा सिकेका केही ज्ञानलाई विभिन्न साईत पारेर बुद्धिमा रुपान्तरण गरेको छु । ती मध्ये एक हो-दोभाषे कार्ड बनाउने अर्थात कार्डको एकातिर अङ्ग्रेजीमा र अर्कोतिर नेपालीमा विवरण लेख्ने । महादेवीको कार्डमा पनि त्यही बुद्धिको उपयोग गरेँ । साथै एउटा नयाँ प्रयोग पनि गरेँ । “मोवाईल” को नेपाली रुप ”डुलुवा” भनेर लेखिदिएँ । कार्ड बनेर आयो । तर “डुलुवा” शब्द आलोचनाको घेरामा पर्यो । यो शब्दको मात्र होइन यसका सर्जकको पनि खपिनसक्नु आलोचना भयो । “तथाकथित अनुवाद” को नराम्रो अवसान भयो ।
अङ्ग्रेजी शब्दलाई नेपालीमा अनुवाद गरिएका अन्य तीता मीठा प्रसङ्गहरु बाक्लै भेटिन्छन् । इन्जिनियरिङ्ग र आर्किटेक्ट विधामा लोकप्रियता हासिल गरेका समकालीन नेपालका अध्येताहरूमध्ये भरत शर्मा एक हुन् । उनले एक पटक एक अर्का मित्रको परिचय दिँदै भने- त्यही क्या “इलेक्ट्रो किङ्ग फोर्टी” ।
एक चोटी घत पर्ने गरि सुनिएको रोचक नाम वा प्रसँग कहिलेकहीँ सँधैभरि संझिने गरी ढुङ्गाकाे अक्षर भएर मष्तिष्कमा रहन्छ । भरत शर्माले भनेको ति मित्रको नाम पनि मेरो मानसपटलमा कहिल्यै नमेटिने गरि रहेको छ । मैले वहाँले झट्ट “इलेक्ट्रो किङ्ग फोर्टी” भन्दा त्यसको अर्थ बुझिनँ । तर पछि थाहा भयो, ती मित्रको नाम रहेछ-विद्युतराज चालिसे । अचम्म त के भयो भने विद्युतराज चालिसेको कर्मथलो रहेछ- नेपाल विद्युत प्राधिकरण ।
वैज्ञानिक अनुसन्धान गर्ने अध्येताहरुले पटक पटक प्रयोग गर्नु पर्ने एक शब्दावली हो- लिटरेचर रिभ्यू । यो शब्दावलीले कुनै अध्येताले अनुसन्धान गर्नुपूर्व अरुले त्यस विषयमा के के काम गरेका छन् भन्ने विषयको लेखोटलाई जनाउँछ ।
वातावरण मन्त्रालयले मलाई भौतिक वातावरण विज्ञको रुपमा निमन्त्रणा गर्ने गरेको छ । म भने यस्ता अवसरहरुमा सहभागी हुन जाँदा साथीभाइलाई भन्ने गरेको छु- “मलाई पंडितजीको भूमिका निर्वाह गर्न बोलाइएको छ ।”
एक जर्ष जति अघिको प्रसङ्ग हो । वातावरण महाशाखाको एक उच्चस्तरीय छलफलमा म पंडितजीको आसनमा बसेको थिएँ । एक परामर्शदाताले “लिटरेचर रिभ्यू” लाई नेपालीमा अनुवाद गरेर स्लाइडमा देखाए- साहित्यिक पुनरावलोकन ।
मेरा लागि यो अर्थ नलाग्ने ठाडो अनुवाद थियो । म पनि लरतरो पंडित थिइनँ । प्रतिवाद गरेँ- “पूर्व कार्य समीक्षा भन्ने शब्दावली प्रयोगमा छ । तपाईँको अनुवाद मिलेन।”
परामर्शदाताले भने- तपाईँको तर्क मिलेन । वातावरण संरक्षण नियमावलीमा नै यस्तो लेखेको छ ।
घरमा आएँ । नियमावली पल्टाएर हेरेँ । हो, रहेछ । लिटरेचर रिभ्यूको अनुवाद “साहित्यिक पुनरावलोकन” नै रहेछ ।
लालमोहोर लागेको कानूनी दस्तावेजमा नै उल्लेख भएपछि मेरो के लाग्थ्यो र ? मैले थप प्रतिवाद गर्ने जमर्को गरिनँ । लुरुक्क परेँ ।
एक वकिलले “उपशंका” भन्ने नेपाली शब्दको अङ्ग्रेजीमा अनुवाद गर्ने जमर्को गरेछन् । उनले हातमा लिएको शब्दको टाउको अर्थात “उप” कहाँ, कहाँ प्रयोग हुन्छ भन्ने फेहरिस्त निकालेछन् । उनको अनुसन्धानले दुईवटा वलशाली शब्द फेला पारेछ-“उप-प्रधानमन्त्री” र “उपमेयर” । उनको उत्साहको सीमा आकाशिएछ । यी दुवै शब्दको अङ्ग्रेजी रुप समान किसिमको हुन्छ अर्थात “डेपुटी प्राइमिनिष्टर” र “डेपुटी मेयर” ।
वकिल साहेबले निचोड निकालेछन् ।
“उपशंकाको अङ्ग्रेजी अनुवाद हुन्छ- डेपुटी डाउट ।”
शब्द नै “उप-शंका” भएकाले यसको अनुवाद मिल्यो कि मिलेन भनेर ‘शंकाको लाभ’ लिने कुरो भएन । मैले वकिल साहेबको साधनालाई साधुवाद भनेँ । मलाई लाग्यो- अङ्ग्रेजी-नेपाली अनुवादको आकाशमा अर्को चम्किलो तारा थपिएको छ ।
एक प्राज्ञिक निकाय मातहतका पुरान प्रश्नपत्रको मूल्याङ्कन गर्ने काम कुनै परामर्शदाता अर्थात कन्सल्ट्यान्टले पाएछन् । यो “कन्सल्ट्यान्ट” भन्ने शब्द पनि बडो रोचक छ । कसैले यसलाई भलछोपुवा जागिर पनि भन्छन् । कसैले “कन्सलट्वाँट” ।
करिब १५ वर्ष अघि म सिंहदरबारमा मुकाम राखेर वातावरण मन्त्रालयमा काम गर्थेँ । क्यानाडाका एक परामर्शदाता टिम लिडर थिए । म भने डेपुटी टिम लिडर अर्थात उप टोली नेता । हाम्रो टोलीमा अन्य दुई नेपाली परामर्शदाता पनि थिए । हामी एशियाली विकास बैँकले वित्तिय सहयोग गरेको एक परियोजनामा काम गर्दथ्यौँ । गृह मन्त्रालयका एक कडा मिजासका सह-सचिव हाम्रा प्रमुख सरोकारवाला थिए । टोलीका एक नेपाली मित्रले सह-सचिवज्यूलाई फोन गरेछन् ।
“नमस्कार ! सह-सचिवज्यू !”
“तपाईँ को बोल्नु भो ?”
“म वातावरण मन्त्रालयबाट कन्सलट्यान्ट बोल्दैछु, हजुर !”
“मन्त्रालयबाट कडकन्दार ! तपाईँको मन्त्रालयमा अन्य अधिकृत छैनन् ? फोन राख्नुस् ।”
मित्रको झण्डै सातो गयो । उनले मलाई गुहारे । मैले रंगमञ्चमा ती कडा मिजासका हाकिमकी सहयोगी एक चेलीसँग सम्पर्क गरेँ । काम अघि बढ्यो । त्यस प्रसंगदेखि मैले नयाँ शब्द सिकेँ- कडकन्दार ।
अब प्रश्नपत्रको मूल्याङ्कन गर्ने कडकन्दारको प्रसंगको चर्चा गरौँ । उनले प्रश्नपत्रको सँगालोको विश्लेषणात्मक अध्ययन गरेका रहेछन् । अध्ययन, अनुसन्धानको कार्यमा माथि उल्लेख गरिएको पूर्व कार्य समीक्षा जस्तै अन्य केही अङ्ग्रेजी शब्दहरु पनि बाक्लै प्रयोग हुन्छन् । कडकन्दार महोदयले तथ्याङ्क संकलन विधि व्याख्या गर्दा एक धमाकेदार शब्दावली प्रयोग गरेका रहेछन्- “जनसंख्या र नमूना छनौट” ।
यसको अङ्ग्रेजीमा अनुवाद हुन्छ- पपुलेशन र स्याम्पल सेलेक्सन ।
कडकन्दार महोदयको ‘स्याम्पल सेलेक्सन’ को अनुवादको निशाना सही लागे तापनि “प्रश्नपत्रको जनसंख्या” भन्ने शब्दको प्रयोगले भने मेरो मथिङ्गल खल्बल्यायो । जनसंख्यासँग कुम जोडेको शब्द जनगणना पनि हो । गणना मान्छेको मात्र हुँदैन । पशु चौपायाको पनि हुन्छ । अन्य निर्जिव वस्तुको पनि हुन्छ । प्रश्नपत्रका मूल्याङ्कन कर्ताको अनुवादलाई सही मान्दा भैँसी, कुकुर वा सुँगुरको समूहको गणना गर्दा भैँसीको जनसंख्या वा रुखको जनसंख्या भन्नु पर्ने भो । मेरो अनुवादको सकस अझ बढ्यो ।
तिनै सज्जनले प्रतिवेदनमा अर्को पनि ब्रम्हास्त्र छोडेका रहेछन्- तथ्याङ्क शास्त्रीय विश्लेषण । उनले “स्ट्याटिसटिकल एनालाइसिस” को नेपाली अनुवाद यसरी गरेका रहेछन् । मलाई वातावरण मन्त्रालयमा पंडित्याईँ गर्न बोलाउँदा भौतिक वातावरण विज्ञको उपाधिले बोलाइन्छ । “स्ट्याटिसटिकल” को अनुवाद “तथ्याङ्क शास्त्रीय”लाई सही मान्ने हो भने सादृष्य नीति अनुरुप फिजिकललाई “भौतिक शास्त्रीय” भन्नु पर्ने भो । यसरी रसायन शास्त्रीय, जैविक शास्त्रीय वा प्रकृति शास्त्रीय जस्ता शब्दावलीको पनि उत्पत्ति हुने भो । मेरो सकसको दायरा अझ गहिरियो।
अमेरिकी सहयोगमा सञ्चालित एक अध्ययनका टोली नेता थिए- जर्ज टेलर । उनी दक्षिण एशियाका कुटनीतिक नियोगमा काम गरेको अनुभव भएकाले फाट्टफुट्ट नेपाली पनि बोल्थे । उनी हलुका स्नायूमा आफ्नो परिचय दिन्थे– मेरो नाम गोर्गे दर्जी हो । अर्थात अङ्ग्रेजी अक्षर ‘जि’ को सिधा नेपाली अनुवाद ‘ग’ हुने भएकाले उनको नाम ‘गोर्गे’ भन्दा नेपालीपन आउने र हास्यभाव पनि सिर्जना हुने हुनाले उनले नेपाली जनहरुसँग भावनात्मक रुपले जोडिन यसो गरेका होलान् भन्ने मेरो बुझाई छ ।
अङ्ग्रेजी नामको नेपाली रुपको अर्को एक सशक्त उदाहरण ‘अरबिन्द कुशवाह’ भन्ने नामसँग जोडिएको छ । नेपाल स्थित एशियाली विकास वैँकका हाल बहाली रहेका प्रमुखको नामको लगभग उच्चारण अर्नोड कोशवा हुन्छ । नेपाली जिब्रोलाई उनको नाम उच्चारण गर्न नै सकस पर्छ, थरको त कुरै नगरौँ । उनको थरको अङ्ग्रेजी हिज्जे हुन्छ-सि, ए, यु, सि, यच, ओ, आई, यस । एक दशक जति अघि उनी अहिले प्रमुख भएकै कार्यालयमा कुनै तल्लो तहका कर्मचारी थिए । नेपाल सरकारका मधेसी मूलका एक सचिवले अध्यक्षता गरेको बैठकमा कोशवा र म लगायत अन्य केही व्यक्तिहरु उपस्थित थियाैँ ।
सचिवज्यूले ती विदेशी मित्रलाई परिचय गराउँदै भने-उहाँको मधेशी नाम अरबिन्द कुशवाह हुन्छ । हामी सबै रमाइलो मानेर हाँसेका थियौँ ।
मेरो नेपाली अनुवाद श्रृङ्खलाको एक अर्को अनुभव भारतको पश्चिम बंगालमा ५ वर्ष अघि भएको निर्वाचनसँग जोडिएको छ । ममता बेनर्जीको राजनीतिक दल ट्रिबुनल काँग्रेसको निर्वाचन घोषणा पत्रको अङ्ग्रेजी र नेपाली प्रति मेरो कित्तामा आइपुगे । मेरो काम नेपालीको अनुवाद प्रतिको सम्पादन गर्नु पर्ने थियो । मलाई एक शब्दावलीले ध्यानाकर्षण गर्यो- सामग्री तालिका ।
त्यसवेला अहिलका जस्ता ए आई वा उत्तर आधुनिक विश्वकर्मा बाबाका विभिन्न संस्करणहरु उपलब्ध थिएनन् । गुगलले बनाएको अनुवाद गर्ने संयन्त्र मात्र थियो । मैले पत्ता लगाएँ- “टेबल अफ कन्टेन्ट”को नेपाली अनुवाद गरी “सामग्री तालिका” बनाएको रहेछ । हुनु पर्ने थियो- विषय-सूचि ।
नेपाल सरकारका पूर्व सचिव खेमराज नेपालले कुनै प्रसंगमा एक पटक भन्नु भयो- अङ्ग्रेजीको नेपालीमा अनुवाद गर्दा ठ्याक्कै मिल्ने शब्द केही छन् । ती मध्ये एक हो “सिनियर एकाउन्ट टेन्ट” । यसको नेपाली अनुवाद हुन्छ- बडा लेखापाल । “सिनियर” भनेको “बडा” भयो । “एकाउन्ट” भनेको “लेखा” र “टेन्ट” भनेको “पाल” । यसरी मेरो अङ्ग्रेजी-नेपालीको अनुवाद कित्तामा बुर्कुसी मार्न आइपुगेका शब्द र शब्दावलीले बिर्सन नसकिने गरी डेरा जमाएका छन् । सबैभन्दा आश्चर्य त त्यसवेला भयो जब मैले हाल चलनचल्तीका विश्वकर्मा बाबाका अवतारहरु मध्ये एकलाई तलको प्रश्न सोधेँ-
“मोवाईल फोनलाई नेपालीमा के भनिन्छ ?”
“मोवाईल फोनलाई हाते फोन वा जङ्गम दुरभाष भनिन्छ ।”
“जङ्गम दुरभाष” भनेको त औपचारिक वा प्रशासनिक प्रयोगका लागि उपर्युक्त हो भनेर ठोकुवा गर्यो ।
मलाई लाग्यो- मैले महादेवीको कार्डमा मोवाईल फोनलाई “डुलुवा” भनेर लेखेँ तर त्यसले आलोचनाको धारे हात भेट्यो । यदि मैले बाबाले भनेको जस्तो “हाते” वा “जङ्गम दुरभाष” भनेको भए के हुन्थ्यो होला ?
प्रश्न लौरो बनेर ठिङ्ग उभियो ।
०००
फागुन ०३, २०८२











































आहा! मन पर्यो।एउटा डुलुवा फोन याने कुरागर्ने यन्त्र त म पनि बोक्छु ।