सुरेन्द्र लिम्बु परदेशीम पनि एउटा सिसिफस
म अघाएको छु देखेर जीवनको परिधि म निस्ताएको छु थाकेर जीवनको दौडमा कति कुद्नु नपुगिने लक्ष बुझेपछि र त आजकल समेटिरहेछु छरपस्ट जिन्दगीलाई ।

सुरेन्द्र लिम्बू ‘परदेशी’
म पनि अल्बर्ट कामुको सिसिफसजस्तै
एक ढाकर आशाको भारी बोकेर
उत्तरसन्तुष्टिको चुचुरो चुम्नलाई
जीवनको कठिन उकालो चढिरहेको छु ।
गाडेर विचारको मूल थाम
बनाइरहेको छु एउटा विचारको कटेरो
प्रताडित बनेर जिज्ञासाको कोलाहलले
चढिरहेको छु
आफ्नै संवेदनाको धुरीमा ।
सधैं चढ्न चाहने मानवीय प्रवृत्ति
सधैं बढ्न चाहने सबैको होडबाजी
भुलेर आफूलाई अज्ञात उचाइको होडमा
मान्छे अज्ञातअज्ञात
बाँचिरहेका छन् ।
जीवनदेखि खाली हात
फर्कनेहरूको लाइनमा
म पनि त एउटा प्रतिबिम्ब
उभिएको छु
यद्यपि
मलाई नै किन थाहा नभएको होला
म पनि रित्तै फर्किरहेको छु भन्ने कुरा ?
मेरा आग्रही अभीप्साका रोपाहारहरू
अतृप्त उपलब्धिको उष्ण रोपाइँमा
आजकल हली बाउसे आफैं गर्छन्
र
विस्थापित गर्छन् आफ्नै अस्तित्व ।
अगति समयलाई गति दिन
म जीवनसँग द्रुतगतिमा दौडिएको हो
तर आज गतिशील समयकै
पिछा छाड्न मैले आफ्नै हातको
घडी फालेको छु ।
म अघाएको छु
देखेर जीवनको परिधि
म निस्ताएको छु
थाकेर जीवनको दौडमा
कति कुद्नु नपुगिने लक्ष बुझेपछि
र त आजकल समेटिरहेछु
छरपस्ट जिन्दगीलाई ।
०००
१७ असोज २०७९ लखनऊ ।
‘प्रिय मान्छेहरू’ बाट
Subscribe
Login
0 Comments
Oldest






































