साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुको बिहे

नत्र के भर ? बुढो बाबुको बिहे देखाइदिए र देख्नुपर्‍यो भने आजसम्मको ढाँटेपाटे इज्जत खतम पो हुन्छ कि भन्ने पीरले छटपटाएको पनि छु । हेरुँ कसो हुन्छ ?

Nepal Telecom ad

डिल्लीराज अर्याल :

जोरीपारीले हप्काउँदा धेरैजसो तेरो बाबुको बिहे देखाइदिउयँला भनेर जतिपटक भने पनि कहिल्यै वास्ता गरिएन । वास्ता गर्नु पनि कसरी ? सत्तरी बहत्तर वर्ष नाघिसकेका बाबुको बिहे देखाइदिन उनका तीन पुस्ता अघि सरे पनि सक्ने कुरा हो जस्तै लाग्दैनथ्यो आफूलाई । त्यसै भएर हो कि जसले जतिपटक भने पनि टेरपुच्छर लाइएन । अहिले आएर थक्क लागिरहेछ । कृषि प्रधान देशमा जन्मेको किसानको छोरो भएर पनि सुकुम्बासी बन्न सकिन्छ । के के न पढेर, लेखेर राम्रो श्रेणी ल्याए पनि र दर्जनौं किताब लेखे पनि आयोगले चाह्यो भने अयोग्य बनाउन सक्ने रहेछ, बन्न सकिने रहेछ । राजनीतिको र नसोचेर बसे पनि विपक्षी र इतर बनिने रहेछ । कृषिऋण लिएर खेती गर्ने किसानलाई छिमेकी देशले दाल, आलु, प्याज, सुन्तला पठाइदिन पर्ने रहेछ । दिएन भने किसानका भान्सा पनि सुनसान हुँदोरहेछ । यस्तो देखेपछि बुढो बाबुको बिहे देखिनु,देखाउनु पनि असम्भव त होइन रहेछ भन्ने विचारले डराउन थालेको छु म ।
त्यसो त बाबुको बिहे हुँदा मलाई के आपत्ति हुन्थ्यो र ? खालि बुढो भैसकेको बाबुको बिहे भन्ने मात्र लागेको हो । पीर त आमालाई हो लाग्नुपर्ने । आमाको पीर मलाई के थाहा हुन्थ्यो र ? अचानाको पीर खुकुरीले जान्दैन भनेर त्यसै भनेका हुन् र ? तैपनि सोच आउँदो रहेछ ! खुल्दुली लाग्दोरहेछ !

विचित्रको देशमा जन्मेपछि मान्छेमा विचित्रको गुण हुनु स्वभाविकै हुन्छ । यहाँको माटो, पानी, हावा जम्मै विचित्रका छन् । त्यसैले यहाँका मान्छे पनि विचित्रकै हुन्छन् । त्यही विचित्र नाति पनाति हुर्किईसकेका बुढाले बिहे गर्नु पनि हुन सक्थ्यो । त्यो कति अचम्मको कुरो भयो र ? तैपनि म डराइरहेंछु । साँच्चै बाबुको बिहे देखाइदिए के गरुँला ? भनेर । हो, त म त्यसै पनि सुकुम्बासी बनिसकेको छु । बिहेमा जाने कपडाको समेत अभाव छ । त्यसमाथि बुढो बाबुको बिहे देख्नुपर्‍यो, बिहेमा जानुपर्योस भने ? कपडा माग्न जाऊँ, जोगीको घर सन्यासी पाहुना भइदियो भने ?

बुढो बाबुको बिश्वास नलागेको पनि कहाँ हो र ? जम्मा डर छ छिमेकीरूको । उनीहरूको विचारमा मलाई आत्मनिर्भर हुन नदिनु नै छ होला । नत्र किन सधै तेरा बाबुको बिहे देखाइदिउँला भनेर भन्थे ? त्यही यौटै मनसाय देखाउँथे ? हुनत सधैं तिनै छिमेकीका आश्रयमा बस्नु परेपछि मलाई र दिनुपर्ने भएपछि तिनलाई पनि दिक्क लाग्नु स्वभाविकै हो । नियत राम्रो नभए पनि, आदर नगरे नि, लाजकाज सधैं सहयोग माग्दै गरें, लिँदै गरें । हलौ, छोरो लाहुर जाला, कमाइ गर्ला,ऋण तिर्ला भनेर धाक लगाउने गरें । मैले पनि त घरबार जोडेर व्यवस्थित बसोबास नगरुँला र भनेर गफ लाउँदै सहयोग माग्दै, लिंदै पनि गरें ।

माग्नै गएपछि दिनेले दिन्थे, नदिनेसँग कहिले सानो बनेर, कहिले ठूलो बनेर पनि सक्दो सुविधा लिएँ, तर घरवार जोड्ने कुरा तिनलाई जति धाक लगाए पनि कहिल्यै सोचिनँ । सोच्दै नसोचेपछि सक्ने कुरो पनि भएन, सकिनँ । सोच्नु पर्ने जस्तो पनि ठानिनँ । मागेरै पाइने भएपछि कल्ले दुःख पाउँथ्यो, टण्टा गर्थ्यो र ?

समय बित्न बेर लागेन, बित्दै गयो । धेरै भएपछि छिमेकीले नसोध्ने कुरो पनि भएन । निहुँ खोजेर उत्तर दिन्थें यताकालाई पर्दा उताको उताकालाई पर्दा यताको । सहयोगको धाक लाएर समय बिताउनमै मजा पाएँ पनि । त्यसो भएपछि स्वावलम्बी र आत्मनिर्भरताका कुरा चाहिएन । आफू उनीहरुका कुरामा मक्ख पर्दै बस्दै गरेपछि छोराछोरीले पो के जानून् ? के सिकून् ? केही गर्न सक्ने बनेनन् । बेला छँदामा कोही लभ गर्न, कोही डान्स गर्न लागे । कोही आयात गर्न, कोही निर्यात गर्न । कसैले राजनीति गर्न पनि भ्याए । त्यसले पनि तिनमा अलिकति आँट आउँछ कि भन्ने लागिरह्यो । गफ छाँट्ने कुरामा आँट आयो । मागेर खाने कुरामा आयो तर गरेर खाने कुरामा न आँट आयो न छाँट । मेरो त आएन आएन, तिनको पनि आएन ।

छाँट पारेर हिड्ने छोरी बुहारी र पङ्स बनेर हिड्ने नाति नातिनाहरूलाई ऋणधन गरेर वा मागजोग गरेर भए पनि पाल्नै पर्‍यो । नराम्रो लाउन र नमिठो खान सक्ने परिवारमा कोही रहेन । छिमेकीलाई शान देखाउन राम्रो लाउने मिठो खाने गरे पनि आयस्रोत र मागजोगबारे उनीहरूलाई जानकारी नभए पो । पक्का थियो । केही गरेर छोरानातिले उद्योग गरे कमाएभने हाम्रो गुन सम्झेलान् नि भनेर मागेरै पनि खाने लाउने व्यवस्था गरिरहें ।

सहयोग दिने छिमेकीले पनि हाम्रा चाल त देखेकै थिए । मेरो र परिवारको रवाफ देखेर यदाकदा कन्सिरीका रौं पनि ताते होलान् । म पनि के कम ? बेलाबेलामा गफ हाँक्न र शान देखाउन छोडिनँ, न सन्तानले नै छोडे । यसो गर्दा आफैसित पाखुरा खैंचिन र शान देखाउन खोजे झैं मानेछन् कि ! राम्रो लाउने, मिठो खाने, घुमफिर गर्ने, काम भने नगर्ने म । मेरा सन्ततिको त कुरै गर्नु परेनम मभन्दा एक हात बित्ता अगाडि । त्यसैले होला छिमेकीलाई चित्त बुझेन । बाबुको बिहे देखाइदिने मनसाय बन्यो । अनि सरसापट र सहयोग नदिने सुरसार गरिहाले । अब परेन फसाद ।

एकघर भाइ भतिजा छिमेकीका घर कामदार बनेर बसेका छन् । एकथर कार मोटर टिभी र कुर्सीका स्वादमा घरै अरु ससानालाई रनभुल्ल पारेर बसेका छन् । छिमेकीलाई पनि लाग्यो यस्ता नाथेलाई सहयोग ? अनि त यो खोज्यो, यो दिन्न, ऊ खोज्यो ऊ दिन्न भयो । किन चाउरिइस् मरिच आफ्नै तेजले भने झैं भयो । न मागूँ मुखमा माड लाग्दैन, मागूँ छिमेकीले कति दिनसम्म विश्वास गरुन्, दिऊन् ? कुकुरलाई मासु पैंचो झैं भएपछि रिस नउठ्ने कुरै भएन । त्यति हुँदा पनि होस आएन मेरा छोराछोरीलाई, मलाई । तिनी छिमेकीकै घर जान छोड्दैनन् र मैले् पनि काम गरेर घर बनाउनुभन्दा मुख ताक्न र आश गर्न छोडेको छैन ।

छिमेकीभने हाम्रा चालले बेसरी रिसाएका छन् । त्यसैले उनको एउटै मनाइ छ- तेरो बाबुको बिहे नदेखाई छोड्दिनँ । म भने छिमेकीको यो कुरोले दङ्ग परेको छु र बाबुको बिहे रोक्न घर परिवारका सबैसँग करजोरी बिन्ती गर्न र विरोध गर्नेलाई सक्दो दबाउन कस्सिएको छु । के गर्नु र ? राम्रो बाटो लाउन नखोजे पनि ती सबै मेरो आफ्नै परिवारका मान्छे हुन् । तिनीमाथि मेरो अधिकार छ ।

त्यसैले मैले अझ एकपटक आफ्नो इज्जतका लागि छिमेकीलाई अनुरोध गर्नुपर्ला भन्ने सोच्दैछु । मेरो बाबुको यो अवस्थामा बिहे नदेखाइ देऊन् भनेर परिवारका सदस्यलाई पनि डर धाक थुन छेक गर्नुपर्ला भन्ने सोचेको छु । नत्र के भर ? बुढो बाबुको बिहे देखाइदिए र देख्नुपर्‍यो भने आजसम्मको ढाँटेपाटे इज्जत खतम पो हुन्छ कि भन्ने पीरले छटपटाएको पनि छु । हेरुँ कसो हुन्छ ?

०००
पाल्पा, हाल : काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
राय सल्लाह

राय सल्लाह

डिल्लीराज अर्याल
बाँदरले गाई दुह्याे

बाँदरले गाई दुह्याे

डिल्लीराज अर्याल
0
Would love your thoughts, please comment.x
()
x