गाेरख पाण्डेस्वर्गबाट विदाई !
तपाईहरूका हातबाट बनेको सबै कुरा तपाईहरूकै हुन्छन भन्ने छैन नि । त्यसरी त सारा संसार तपाईहरूको हुन्छ अनि हामी मालिकहरू कहाँ जानू ? याद रख्नुस मालिक, मालिक हुन्छ मजदूर, मजदूर नै हुन्छ ।

गोरख पाण्डेय :
अनुवाद : बलराम तिम्सिना
भाइ बहिनीहरू !
यो आलीशान महल
बनेर तयार भैसक्यो
अब तपाईहरू यहाँबाट जान सक्नु हुन्छ ।
आफ्नो भएभरको बल लगाएर
तपाईहरूले माटो काट्नु भयो
जग हाल्नु भयो
तपाईहरूका कति साथीहरू
माटै मुनि पुरिए पनि ।
तर तपाईहरूले आँटले काम गर्नु भयो
ढुङ्गा र इच्छाशक्तिले ,
संकल्प र फलामले ,
बालुवा ,कल्पना र सिमेन्टले
प्रत्येक इट्टा इट्टा मिलाएर
अटूट र बलियो पर्खाल उभ्याउनु भयो ।
छत यस्तो छ कि –
जहाँबाट हात तन्काउदा
आकास छुन सकिएला जस्तो लाग्छ
अनि झ्यालहरू त्यस्तै —
क्षितिज चिहाउने आँखा जस्ता
ढोकाहरू– शानदार स्वागत !
आफ्ना तिघ्रा ,पाखुरा
र परेलाहरूको तागतले तपाईहरूले
सयौं वर्ष खप्ने
यो जीउँदो जाग्दो महल तयार गर्नु भयो ।
त्यसपछि तपाईहरूले
हराभरा दुबोको मैदान ,
फूलको बगैँचा ,
झरना अनि तलाउ पनि बनाइदिनु भयो ।
त्यसपछि पाइला पाइलामा
रङ्गीविरङ्गी उज्यालो फैलाइदिनु भयो ।
गर्मीमा सित्तल
अनि जाडोमा मनतातो न्यानो हुने
सारा व्यवस्थापन गरिदिनु भयो ।
और कदम-कदम पर
सङ्गीत र नृत्यका सामान
उचित ठाउँमा राखिदिनु भएको छ।
थाली, गिलास र बोतलहरू
सबै सजाइदिनु भएको छ ।
थोरै शब्दमा भन्ने हो भने
सुख सुबिधा र स्वतन्त्रताको
एउटा सुरक्षित इलाका
अर्थात :
एउटा झिलिमिली स्वर्ग नै बनाइदिनु भएको छ
यो मेहनत र लगनशीलताको लागि
तपाईहरूलाई धेरै धेरै धन्यवाद
अब तपाईहरू यहाँबाट जान सक्नु हुन्छ ।
कहाँ जाने भनेर नसोध्नु होला
जहाँ मन लाग्छ त्यहाँ जानु होला
तत्कालको लागि
त्यो काटिएको जमिनमा अँध्यारोमा
जहाँ टहरा हाल्नु भएको छ
त्यसलाई पनि खाली गरिदिनु होला ।
त्यसपछि मन लागेको ठाउँमा जान
तपाईहरू स्वतन्त्र हुनुहुन्छ ।
हाम्रो जिम्मेवारी सकियो
अब एक मिनेटको लागि पनि
तपाईहरू यहाँ बस्न पाउनु हुन्न ,
विदेशी पाहुनाहरूका साथमा
महामहिम आउदै हुनुहुन्छ ।
अप्सराहरू आउदै छन
अफिसरहरू आउदै छन ।
पश्चिमी सङ्गीतको साथमा
सुरु हुनेछ उन्मादक नृत्य ।
कार्यक्रम सुरु हुनै लागेको छ
अब यहाँ तपाईहरूको कामै पो के हुन्छ र ?
अनि तपाईहरूलाई यहाँ देखेर
के सोच्लान् तिनीहरूले ?
मैला कपडा, धुलाम्मे शरीर
ठिक तरिकाले बोल्ने
र हात हल्लाउने ज्ञान पनि छैन ।
उनीहरूको रुची र रहरमा
कति ठूलो धक्का लाग्ला
अनि हाम्रो कति ठूलो बेइज्जत होला ।
यो घरलाई
यति चिटिक्क र बलियो बनाउन
तपाईहरूले हड्डी समेत घोटेको थाहा छ
रगत र पसिना उस्तै बनाउनु भयो
तर त्यसको सट्टामा
ज्याला दिइसकिएको छ
मुख मिठो बनाइवरि
धन्यवाद पनि दिइसकिएको छ
अब तपाईहरूलाई के चाहियो ?
तपाई यहाँबाट हिड्न मानिरहनु भएको छैन
तपाईहरूको अनुहारको हाउभाउ पनि फेरिएको छ।
शायद आफ्नो यो विशाल र सुन्दर रचनामाथि
तपाईहरूलाई लोभ पनि लागेको होला
यसलाई छोडेर जानु पर्दा मन दुखिरहेको होला ।
यस्तो हुन त सक्छ !
तर त्यसको अर्थ
तपाईहरूका हातबाट बनेको
सबै कुरा तपाईहरूकै हुन्छन भन्ने छैन नि ।
त्यसरी त सारा संसार तपाईहरूको हुन्छ
अनि हामी मालिकहरू कहाँ जानू ?
याद रख्नुस
मालिक, मालिक हुन्छ
मजदूर, मजदूर नै हुन्छ
तपाईहरूको काम काम गर्नु हो
हामीले त्यसलाई भोगचलन गर्ने हो
तपाईहरूले संसार रच्ने हो
हामीले त्यसमा रमाइलो गर्ने हो ।
आफ्नो कामको पूरै फल
हामीले पाउनु पर्छ भनेर सोच्ने हो भने
अघिल्लो जन्मको तपाईहरूको कामले
तपाईहरूलाई अभावको नरकमा लगिरहेको हुन सक्छ ।
विश्वास गर्नुस
धर्म बाहेक कुनै बाटो छैन ,
अब तपाईहरू यहाँबाट जान सक्नु हुन्छ ।
के तपाईहरू यहाँबाट जान चाहनु हुन्न ?
यो भव्य महलमा
यहीं बस्न चाहनु हुन्छ
यी गलैँचाहरूमा खुट्टा राख्न चाहनु हुन्छ
ओहो ! यो त लोभ लालच पनि अति नै भयो
सरासर अन्याय नै भयो ।
कानून र व्यवस्थामाथि सिधा आक्रमण हो
अर्काको सम्पत्ती कब्जा गर्ने
र संसारलाई उल्टाइदिने
सबैभन्दा मुख्य अपराध हो ।
हामी यस्तो कुनै हालतमा हुन दिन्नौं
हेर्नुस यो भाइचाराको विषय होइन ।
मानवीयताको कुरा पनि होइन,
यो त लडाइँको
मर्ने या बाँच्ने विषय हो ।
यद्यपि हाामी रक्तपात होस भन्ने चाहदैनौं
हामी त अमन चयन र सुख सुबिधा मन पराउछौं ।
तर यदि तपाईहरू बाध्य पार्नु हुन्छ भने
हामीले कानूनको सहयोग लिनु पर्ने छ
पुलिस पनि
र खाँचो पर्यो भने
सेना पनि बोलाउनु पर्छ ।
हामी कुल्चिदिने छौं
आफ्नो हातले बनाएको
यो स्वर्गमा बस्ने
तपाईहरूको रहरलाई कुल्चिदिने छौं ।
होइन भने जानूस
टुटेका संबन्धहरू
र उजाड आँखाहरूको
आँधी तुफान, अन्धकार अनि हिक्काहरूको
मृत्यु, दासता अनि अभावहरूको
आफ्नै उजाड संसारमा
चुपचाप चुपचाप फिर्ता जानुहोस् ।
०००
Subscribe
Login
0 Comments
Oldest






































