साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोयलेट मोड़ (२१)

अब ता यो ठाउँमा भाले बास्यो भने लोदर लाग्छ। कुल मासिन्छ। अब यहाँ पोथी बास्नुपर्छ....पोथी....हरेक बिहान...हरेक साँझ...जहीँ तहीँ जताततै पोथी बास्नुपर्छ अब।

Nepal Telecom ad

कृष्ण प्रधान :

पत्रकार : होइन हामी सबै नेता हाैँ । यहाँ नेता भइटोपल्नेहरूले ’गुहू’ खाए खाए त्यस्ता थोत्रेहरूको नामै उच्चारण नगर्नोस्…. हामी जागरूक हुनुपर्छ अब यहाँ।

बले : यहाँ गुहू थुपारेजस्तै यी नेताहरूलाई यहाँ थुपारेर गुम्साउनुपर्छ।

टोयलेटबाबु : अर्काकै लहलहैमा लाग्ने, अर्काकै होहोरीमा लाग्ने, अर्काकै धोति समात्ने, अर्काको धूपौरे भएर आफ्नो जातिलाई कुठाराघात गर्ने यी मिर्जाफरहरूलाई डिलमा उभ्याएर दिउँसै गोली ठोक्नुपर्ने.गोली…आमा दिएर बाउ नहुने शालाहरूलाई…..

बले : (कुरा काट्दै) कसले ठोक्ने? कसले ?? जुनै जोगी आए पनि कानै चिरेको….कति जनालाई गोली ठोक्ने….क-कसलाई ठोक्ने…सबै एउटै ग्वालाका गाईहरू। अरूले जता लाग्यो त्यतै लाग्ने शाला भेँड़ाहरू…(पत्रकारलाई छाँद हाल्दै) पत्रकार नानी ! नानीको चरण पर्छु…यो जात-जात नटुक्रिने, खण्डित खण्डित हुनबाट जोगिने कुरा लेखेर हाम्रा सोझासिधा मान्छेहरूको आँखा खोलिदिनोस्…तपाईं पत्रकारहरूको कलममा ठूलो शक्ति हुन्छ। धम्की, शोषण, डर, त्रासले धृतराष्ट्र बनिसकेका हाम्रा मान्छेहरूको लेखनशक्तिले आँखा खोलिदिनोस्…ताकि हाम्रा आउँदो पिँढ़ीको भोलिको बिहान उज्यालो होओस्…. तपाईंको अघि हात जोड़्छु (जम्लै हात गर्छ)…..

टोयलेटबाबु : हामी हात जोड़्छौं….पत्रकार महोदया…(ग्वाँ-ग्वाँ रून्छ। पत्रकार बिलखबन्द पर्छ। दाजुको प्रवेश। दाजु प्रवेश हुँदा टोयलेटबाबु  : रून बन्द गर्छ। बले र टोयलेटबाबु डरसरी भएर उभिन्छन्)।

दाजु : (चारैतिर फन्फन्ती घुमी) खायो भाँड़ो मिल्कायो ठाँड़ो। शाला….बलेको आगो मात्र ताप्नेहरू। (पत्रकारतर्फ दृष्टि फिराउँदै) के हो ? चिन्न पनि छोड़ेकी ? खै नमस्ते गर्ने हातहरू? आमामा…मा…. यो के देखिरहेछु। (गर्जेर) हँ के देखिरहेछु म।

पत्रकार : तपाईंले जे देखिरहनुभएको छ सत्य, यथार्थ देखिरहनुभएको छ। हजूरको राजनैतिक आँखा निकालेर हेर्नोस्…

टोयलेटबाबु : यसमा कुनै भेजाल छैन।

बले : भर्खर बानबाट निकालेको रक्शीजस्तो।

दाजु : (गर्जेर) चूप। तँहरू सबैको पखेटा लागिसकेछ। (पत्रकारतर्फ हेर्दै) अन्त ! पत्रकार महोदया! नमस्ते गर्ने हातहरू पनि बन्दगी भएकोजस्तो छ नि।

पत्रकार : (अट्टहासमा) बन्दगी! (खिसी गर्दै आफ्ना हातहरू देखाउँदै) पत्रकारका यी हातहरू बन्दगी हुने हातहरू कदाचित होइनन् हजूर। न यी हातहरू बन्दगी हुन जानेका छन् न ता समाजका मूल्याहाहरूलाई नमस्ते गर्न नै माथि उठ्छन्। रेमेम्बर इट।

टोयलेटबाबु : अनि….

दाजु : (मञ्चै थर्काउने गरी) शट आप। जा….यहाँबाट (बले र टोयलेटबाबु तर्सेर पर पुग्छन्। तर मञ्च छोड़ेर जाँदैनन्) अरु पत्रकारहरूले मलाई अहिले पनि नमस्कार गर्छन् । टिल नाउ।

पत्रकार : (कम्पन स्वरमा) नमस्तै? ? ? नमस्ते तो कुरा ता छोड़्नोस्। कसैलाई जदौ हजूर गर्ने पत्रकार हुँदै होइन। यति साट्ठो नमस्तेको भोको तपाईं।

दाजु  : नमस्कारको भोको होइन कदाचित् म । तर नमस्ते थाप्न बानी लगाउने तिमेरकै पत्रकारहरू हुन्।

पत्रकार : मे बी। (आफूलाई इङ्गित गर्दै) यी बानी लगाउनेहरूको हुद्दामा म पर्दिनँ।

दाजु : को कतिको पानीमा रहेछ मैले सब बुझिसकेँ…को कति पानीभित्र छ…सब चिनिसकेँ।

पत्रकार : ए…हजूरले बल्ल पो चिन्नुभो? धृतराष्ट्र हुँदा ता केही चिन्नुभएन। तपाईं पनि कतिको पानीभित्र हुनुहुँदोरहेछ अहिले सबैले चिनिसकेका छन्।

दाजु : मलाई धोका भएको छ।

पत्रकार : तपाईंले धोका दिनुभएन? छात्तीमा हात राखेर भन्नोस् ता। क्यान यू से ?

दाजु : जसलाई मैले डोऱ्याएर जङ्घार तर्न सिकाए उनीहरूले मलाई धोका दिए।

पत्रकार : (खिसी हाँस्दै) हँ…हँ..हँ…हजूरले पनि ता हजूरलाई बामे सराउँदै जङ्घार तर्न सिकाउनेलाई…

टोयलेटबाबु : ढ्याङ पारेकै हो। मलाई खाने बाघले….

बले : (सारमा सार मिलाउँदै) …तँलाईं पनि….

दाजु : (केश मुठ्याउँदै) चूप। नबोल् तँहरू…जा तँहरू मेरो छेउबाट। (बले र टोयलेटबाबुको विस्तारै प्रस्थान)।

पत्रकार : किन नबोल्नु…. ठिकै ता हो। हजूरलाई पनि जसले साँघु तर्न सिकायो…साँघु तरेपछि साँघु नै भत्काइदिनु भएन? नेपालीमा उखान छ नि…हजूर…पालोको पैँचो भन्ने।

दाजु : तिमी ता निकै ठूल्ठूला कुरा गर्ने पो भइछौ ता। बड़ो आश्चर्य लाग्यो।

पत्रकार : त्यो ता समय र परिस्थितिले गर्दा हो। यसमा आश्चर्य र उदेक मान्ने कुरै देख्दिनँ म। टिट फर ट्याट्।

दाजु : (गम्भीर मुद्रामा) तर यसपाली मेरो मन गतिलो पाराले दुःखेको छ।

पत्रकार : आई नो द्याट। बट…के तपाईंले हजारौंको मन दुःखाउनुभएको छैन र ! हिँड़्ने पाइतालाहरूमा काँड़ै काँड़ा ओछ्याउनु भएको छैन ? झर्झराउँदा मुस्कानहरूलाई निराश, हताश, त्रास, आतङ्कका कालो बारुदले निस्सासिँदो बनाउनु भएको छैन ? कति ढाँटनुहुन्छ, कति छल्नुहुन्छ अघोषित बादशाह महोदय ? अब ता आफ्नो भूल गलत स्वीकार्नुहोस्। धेरै छल्नुभो। पापको पनि ख्याल राख्नोस्।

दाजु : तिमीजस्तो घटिया पत्रकारले मलाई सिकाइरहनु पर्दैन। मैले कसैलाई ढाँटेको छैन…न कि छल नै गरेको छ। तर पत्रकारहरूले पनि आफ्नो धर्म वहन गर्नु सक्नुपर्छ। जता मल्कु उतै ढल्कु गरेर हुँदैन। बलेको आगो मात्र ताप्नु होइन निभिसकेको आगोलाई पनि सोतेले फुकेर पनि सल्काउने प्रयास गर्नुपर्छ। त्यो पो ता खास पत्रकार। बन्दगी भइसकेका पत्रकारहरू।

पत्रकार : (अट्टहासमा) हजूरले अघोषित वादशाहको मुकुट पहिरिएको बेला त्यै बलेको आगो ताप्ने पत्रकारहरूलाई नै ता काखी च्यापेको होइन ? निभेको आगो बाल्न तम्सिने पत्रकारलाई ता एक आँखाले पनि हेर्न नसक्ने को हो, कुन पानीमरुवा हो ?

दाजु : उबेला पनि बाघ थिए…अहिले पनि म बाघै छु।

पत्रकार : (हाँस्दैद) वाह! बाघ ??? उबेलाको बाघ पनि अरिजिनल बाघ ता कहाँ हो र महामहिमजी…कहाँ हो र? बाघको छाला ओड़ेर रजाइँ गरे पनि अहिले चिड़ियाखानामा बन्दी भएको बूढ़ो बाघजस्तो राल सिङान भएर को बाँचिरहेको छ? (चिच्याएर) को? पत्रकार कि तपाईजस्ता पानीमरूवा नेताहरू? को ? हू ?

दाजु : म अहिले पनि रातो पिरो हट्टाकट्टा छु। कसरी कसरी म चिड़ियाखानामा बन्दी भएर राल सिङान भएको छु ? क्यान यू प्रुफ ?

पत्रकार : अफकोर्श सर…ह्वाइ नट। यस आई क्यान। अचानुको पीर खुकुरीलाई मात्र थाहा हुन्छ नि अघोषित बादशाह महोदय।

दाजु : सही कुरो। पत्रकारको पीर पनि मलाई राम्ररी थाहा छ नि। न तिमीहरूको टेक्ने ठाउँ छ न ता टेक्ने ठाउँ छ। अर्काकै भरमा बाँच्ने हुतिहारा पत्रकार।

पत्रकार : पाँचैवटा औंली बराबरी हुँदैनन्। होलान् त्यस्ता अरुको आशामा बाँच्ने पत्रकारहरू तर यो पत्रकार (आफूलाई ईङ्गित गर्दै) स्वाभिमानमा बाँच्ने पत्रकार हो। यो पत्रकार हत्तपत्त झुक्दैन तर एकपल्ट झुकेपछि केही टिपेरै उभिने पत्रकार हो। तपाईं पो बाघजस्तो गर्जेर बिरालोजस्तो हुने नामर्द नेता। छ्या….आई हेट यू… ।

नेता : (अचानक पिस्तोल उज्याएर) स्यापट….भयो अब….पोथी बासेकी पटक्कै राम्रो होइन…अब एक शब्द पनि बोलिस् भने रो गिदी यहाँ छिल्लीबिल्ली…(अचानक बले र टोयलेटबाबु हस्याङपस्याङ हुँदै अनि ’पुलिस! पुलिस ! नेताले मान्छे मार्नु आँट्यो’ भन्दै मञ्चमा प्रवेश गरी नेताको हातबाट पिस्तोल खोस्नपट्टि लाग्छन्)।

पत्रकार : (बले र टोयलेटबाबुलाई पन्छाउँदै) छोड़िदनोस् दाइहरू…गोली चलाउन दिनोस् हजारौंपल्ट मरेर एकैपल्ट बाँच्ने हुतिहारालाई। (मोबाइल निकाली भिडियो गर्दै) चलाउनोस् गोली…कतिवटा छर्रा छ तपाईको खिया परिसेको रिभल्भरमा….म लाइभ गरेर एकजना नामर्द, हिताहारा, लुइँतामे नेताको करतुत भाइरल गर्छु…अहिले म यहाँको टोयलेट मोड़ परिसरमा छु….मसित पानीमरुवा नेता र साथमा यस टोयलेटका मालिक टोयलेटबाबु र बले उपस्थित छन्…यी नेता महोदयले अचानको रिभल्भर निकालेर मलाई हत्या गर्ने प्रयास गरिरहेका छन्….के भयो…हाम्रो यो ठाउँ…नेताले जे पायो त्यही गर्न सक्ने आँट कसरी पायो….केही क्षणमा यिनको रिभल्भरबाट निस्केको छर्राले यो पत्रकार…त्यो पनि नारी पत्रकार यहीँ धराशायी हुनेछ….

नेता : (नेताले पत्रकारको मोबाइल थुत्ने प्रयास गर्दै) खै यता लेऊ तिम्रो मोबाइल। राम्रो मुखले भन्दैछु…मोबाइल कि बन्द गर कि यता लेऊ।

पत्रकार : ओके…नो प्रोबलेम….ठिक छ….म मेरो मोबाइल दिन्छु…तपाईको रिभल्भर मलाई दिनोस्…

नेता : (रिभल्भर) ठैट यस्तो कहाँ हुन्छ हौ हन…मेरो रिभल्भरले मलाई नै शूट गऱ्यौ भने नि….

पत्रकार : (मरीमरी हाँस्दै) तपाईजस्तो विश्वासघाती होइन म…म प्यूर गोर्खाको चेली हुँ। गोर्खा चेलीले कसैलाई विश्वासघात गर्दैन। तर कसैले चलायो भने गोर्खा चेली एनाकोण्डा हुन सक्छे आदरणीय विश्वासघाती नेता महोदय। म एकजना तालिम प्राप्त पत्रकार हुँ…. तपाईलाई मेरो कलमले नै तड़पाई…तड़पाई मार्नेछु…

नेता : (थपड़ी मार्दै) वाह…गोर्खा चेली….वाह तालिम प्राप्त पत्रकार….तर नारी भएर नारीजस्तै बस्नुपर्छ…धेर पोथी बासेकी राम्रो होइन….पोथी बास्यो भने के हुन्छ थाहा छ गोर्खा चेलीलाई? मुण्टो चुँड़ाएर धुरी कट्टाइन्छ…

पत्रकार (कुरा काट्दै) ….पोथी बास्नु हुँदैन? कसले भन्यो? खै यहाँ भाले बासेर पनि कुन ठूलो उज्यालो ल्याउन सक्यो र ? कौड़े भाले, सेकेने भाले, बीउ भाले, गोठ भाले, कुल भाले सबै भालेहरू बासेका मैले मात्र होइन तमाम् गोर्खे सन्तानले देखेकै हुन्, सुनेकै हुन्। अब ता यो ठाउँमा भाले बास्यो भने लोदर लाग्छ। कुल मासिन्छ। अब यहाँ पोथी बास्नुपर्छ….पोथी….हरेक बिहान…हरेक साँझ…जहीँ तहीँ जताततै पोथी बास्नुपर्छ अब।

दुवै : (बले र टोयलेटबाबु उफ्रिँदै)…पोथी बास्नुपर्छ….कुखुरी काँ…ढाँट नेताहरू जतिलाई काटी खा…..

पत्रकार : (चिच्याउँदै) पोथी बास्नुपर्छ….

दुवै : (समवेत् स्वरमा) ढँटुवारे नेताहरूलाई ठुङी ठुङी मार्नुपर्छ।

पत्रकार : (दर्शकदीर्घा तर्फ हेर्दै) पोथी बास्नुपर्छ…। (दर्शकदीर्घातर्फ जम्ले हात गरी) प्लिज मसित नारा फ्लाक्नोस्….पोथी बास्नुपर्छ।

दर्शकवर्ग : पोथी बास्नुपर्छ

पत्रकार : अब यहाँ…..

समवेत स्वर : पोथी बास्नुपर्छ।

(टोयलेटबाबु र बले पनि यहाँ पोथी बास्नुपर्छ भनी उफ्रीपाफ्री गरी नारा फ्लाक्दा नेतालाई भाउन्न छुट्छ र रिभल्भर उज्याएर टोयलेटबाबु र बलेमाथि रिभल्भर ताक्छ। मञ्च बिस्तारै अँध्यारो हुन्छ….रिभल्भरभरको ६ राउण़्ड छर्रा पड़्किन्छ…टोयलेटबाबु र बलेलाई शुट गरेको बुझिन्छ…छटपटिँदै बले र टोयलेटबाबुको स्वर सुनिन्छ….अब भाले होइन, पोथी बास्नुपर्छ….अब भाले होइन, पोथी बास्नुपर्छ…..)। (बले र टोयलेटबाबु चिच्याएको सुनिन्छ….आय्या…आय्या…गोली लाग्यो….)

पत्रकार : (रुँदै, कहालिँदै, चिच्याउँदै) पुलिस…पुलिस टोयलेट मोड़मा नेताले मान्छे माऱ्यो….(पुलिस गाड़ी हुटर बजाउँदै मञ्च तर्फ आएको सुनिन्छ)।

मन नपरी…मन नपरी पर्दा बन्द हुन्छ।

समाप्त।।

०००

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x