सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुर्सीको महिमा

कुर्सी खतरामा छ त देश खतरामा छ, कुर्सी खतरामा छ त दुनियाँ खतरामा छ, कुर्सी बचेन त भाँडमा जाओस् प्रजातन्त्र ।

Nepal Telecom ad

भावानुवाद : टंक कार्की

ऊ जमिनमा हुँदासम्म
कुर्सी खराब ’थ्यो
कुर्सीमा जब ऊ विराजमान भो
जमिन भो खराब ।

उसको नजर कुर्सीमा ’थ्यो
कुर्सी लागेको ’थ्यो
उसको नजरलाई
ऊ नजरबन्द गर्छ उसलाई
महिलालाई नजरबन्द गर्नेलाई ।

फगत ढाँचा होइन त्यो
फलाम या काठको
कद हो कुर्सी त
कुर्सी अनुसार
सानो ठूलो छ त्यो
स्वाधीन छ या अधिन छ
खुश छ या नाखुश
कुर्सीमा लिसो झैं टाँसिन्छ
एक लिप्त मानिस ।

फाइल दब्दै रहन्छन्
न्याय टालिन्छ
भोकासम्म दाल भात पुग्दैन
बिरामीलाई ओखति
अपराध नगरेर पनि
सुलीमा चढाइन्छ
यसै बीच
कुर्सी नै हो
जो घूस र प्रजातन्त्रको लेखा राख्छ ।

कुर्सी खतरामा छ त प्रजातन्त्र खतरामा छ
कुर्सी खतरामा छ त देश खतरामा छ
कुर्सी खतरामा छ त दुनियाँ खतरामा छ
कुर्सी बचेन त
भाँडमा जाओस् प्रजातन्त्र
देश र दुनियाँ ।

खुनको समुद्रमा सिक्का राखिएका छन्
सिक्कामाथि कुर्सी
कुर्सीमाथि तानाशाह
एक पटक फेरि नरसंहारको आदेश दिन्छ ।

अविचल रहिरहन्छ कुर्सी
माग र शिकायतको दुनियाँमा
चोट र आँसुको दुनियाँमा
मुर्दा तुल्य रहन्छ कुर्सी
आफ्नै खुट्टामामा आगो नलागेसम्म ।

मातेको मान्छे झैं डङ्ग्रङ्ग ढल्छ ऊ
नालीमा आँखा खोल्छ
जब नशा जस्तै कुर्सीको मोह भंग हुन्छ ।

कुर्सीको महिमा
बखान गर्ने
यो एक थोत्रो प्रयास हो
लिसो झैँ टासिनेलाई सोधे हुन्छ
कुर्सी भूगोल हो
कुर्सी इतिहास हो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad