रामदेव पाण्डेप्रभु ! घोर कलियुग आयो !
हिजोकाे स्वर्ग हेर नर्क बनाए जमानाले खोइ के ल्यायो ल्यायो रीति रिवाज परम्परा चलिआएका हिजोका कुुरा खरलप्पै सप्पै भ्यायो भाँडभैलोले सबै सम्म्यायो प्रभु ! घोर कलियुग आयो !

रामदेव पाण्डे :
कति सुन्दर थियो त्यो समाज
आज भन्नै पनि लाज
ध्वस्त पारे सब बिगारे
पुराना कुुरा सखाप पारे
उबेला कति मिलेर बसेका
दबाउनेसँगै दबिने हाँसेका
सबै जना शान्तिले बाँचेका
जसरी नचायो ठुलाले
उसैगरी साना नाचेका
मालिक, दास सबै खुसी
कोही थिएन छुसी
कामी, दमाई, सार्की, बादी
कहार, लोहार, मुसहर आदि
हामीले जे दियो त्यही खान्थे
जे भने पनि खुरुखुरु मान्थे
सेवा छ कि केही भनी धाउँथे
आधा रातमा पनि
आऊ भन्दा एक आवाजमा आउँथे
अहिले त बिना काममा
चियाउन पनि चियाउँदैनन्
उहिले उहिले जस्तो
थर्काउन पाउने त कुरै छैन
प्रेमले बोलाए पनि आउँदैनन्
गाली गर्ने त परैकाे कुुरा
हामी पनि मान्छे हौं भन्दै
जोरी खोज्छन् कराउँछन्
मानवताका कुुरा उठाउँछन्
संविधान र कानुनको धाक लाउँछन्
अशान्ति बेहाल छ
जता हेर्यो उतै ननिको चाल छ
आइमाईकाे त्यस्तै हाल छ
सहरकाको भन्दा अलि गाउँकोमा
घपक्क घुम्टो हुन्थ्याे टाउकोमा
दिनभरि गरे पनि मरी मरी काम
जपिरहन्थे पति र परिवारको नाम
भएजतिका भाँडा माझ्थे खर्लक्क
सासु, नन्द, देवर र पतिका
धोइदिन्थे गोडा सर्लक्क
मटमट माड्दै तेल घसिदिन्थे
जहान घरका सबै नसुत्दासम्म
जागै बसिदिन्थे
नखाई गोडाकाे जल
पानी पनि खाँदैनथे
नसोधी काहीँ कतै जाँदैनथे
के आयो यस्ताे महामारी रोग
हरायो बरै सब थोक!
“ढोल, गँवार पशु शुद्र नारी
यी सब हुन् ताडनका अधिकारी”
कति राम्रो मन्त्र थियाे
बलिरहन्थ्यो शान्तिको दियो
हिजोआज खोइ के भयाे भयो
संस्कार परम्परा सर्वश्व गयाे
छाउपडी बार्न मान्दैनन्
छाउगोठ जाँदैनन्
बाहिर पर सर्दैनन्
शुद्धि चोखनित गर्दैनन्
महिनावारी प्राकृतिक अरे
छातछुतको के कुरा
भान्सामै पुग्छन् जमजम्ती
खाइदिन्छन् मिठो चोखो
आफैं झिकी ग्वामग्वाम्ती
केटीहरू छोरामान्छेभन्दा अगाडि
स्वास्नी लाग्छन् पोइका अगाडि
मान्छे मान्छे बराबरी अरे!
नारी पुरुष सराबरी अरे
थुक्क जमाना
आपको न बापको
डर छैन पापको
महिनावारी आइमाईले पकाएको
शुद्र जातिले छोएर ल्याएको
चुइँक्क नबोली खानु पर्ने
छुवाछुत गरे जेल जानु पर्ने ?
दलित अधिकार रे एकाथरीको
महिला अधिकार रे अर्काथरीको
न शूद्रलाई लुट्न पाइन्छ
न त स्वास्नी चुट्न पाइन्छ
समानताका पापी कुुरा ल्याए
हिँजोकाे स्वर्ग हेर नर्क बनाए
जमानाले खोइ के ल्यायो ल्यायो
रीति रिवाज परम्परा
चलिआएका हिजोका कुुरा
खरलप्पै सप्पै भ्यायो
भाँडभैलोले सबै सम्म्यायो
प्रभु ! घोर कलियुग आयो !
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































