माधव पोखरेल गोज्याङ्ग्रेतीजको तजविज र श्रीपति
तीज मनाउने नमनाउने नारीहरूको तजविजको कुरा हो । श्रीमतीको तजविजलाई श्रीपतिहरूले अस्वीकार गर्न सक्दैनन् । यो समयमा श्रीपतिहरूले पनि श्रीमतीकै आदेशलाई कुना पसेर भए पनि मान्नु पर्दछ ।

माधव पोखरेल गोज्याङ्ग्रे :
हामी तीजका पुरुष यता न उताका देवता झैँ हुन्छौँ । यस दिन हामी विवाहित पुरुषहरू श्रीमतीका श्रीपतिका रुपमा हुन्छौ । तर अरु समयमा भने कतिपयका लागि त पति वा श्रीमान पनि बन्न सक्दैनौँ । तिज भन्नु नै श्रीमतीको तजविजले श्रीपति मान्ने समय रहेछ जस्तोलाग्छ मलाई त । विवाहित पुरुषले श्रीमतीलाई तिजका समयमा माया गरेर अनेकथरिका गहना बस्त्र लगायतका विविध खाले लेपन, लापन, अस्त्र, शस्त्र लइदिन्छन् तर पनि त्रस्त्र भएर कुनामा कुच्रुक्क भएर बस्न बाध्य हुनु पर्दछ तिजका समयमा श्रीमतीका श्रीपतिहरूले ।
श्रीपतिहरू सबै श्रीमतीका पियारा हुन्छन् भनेर कुनै शास्त्रमा अस्त्र बनाएर लेखेको पाइँदैन र देखेको पनि पाइँदैन । देखेकै कुरा गर्ने हो भने बस्त्र नपाउँदा श्रीमतीले श्रीपतिको अनुहार कुच्याएको र भान्सामा थेच्याएको पाइन्ट । कर्णप्रिय शब्दले सम्मानका नाममा समाजमा नाक देखाउन नहुने गरी घृणाको पात्र बनाएको अत्यन्त स्वादिलो कुरा सुन्न पाइन्छ ।
तीजमा श्रीमतीहरूलाई बस्त्र, गला र कानमा अस्त्र चाहिन्छ नै । यो भएन भने शब्दका शस्त्रले कति हान्छन् हान्छन् ठेगान हुँदैन । तिजका समयमा श्रीमतीहरूले चाहेको र लाउन खान मन लागेको कुरा भएन भने शब्दको क्षेप्यास्त्र मात्र होइन शब्दको बम नै प्रहार् गरेर श्रीपतिहरूको सात्तो लान्छन् । यतिले मात्र पुग्दैन तिजको रिसको तजविज अरु समयमा पनि प्रहार हुन्छ कुकरबम । तीज साँच्चै भन्ने हो भने श्रीमतीहरूको तजविजको पर्व हो । हाम्रो संस्कृति र संस्कार एकातिर छ । तीज मनाउने तजविज श्रीमतीहरूमा छ । श्रीमतीहरू श्रीपतिको आदेशमा चल्दैनन् । आफ्नै मनोदेशमा चल्छन् । कसैको आदेश, परमादेश होइन हाम्रो परम्परा, संस्कार र संस्कृतिको भष्मादेशमा चल्छन भन्ने कुरा तीजको तजविजले देखाएको छ ।
यो तीज जसरी कुनै योजनाकोलागि बिनियोजित बजेट काम भएन भने वा योजना संचालन हुन सकेन भने फ्रिज हुन्छ । त्यसरी नै फ्रिज हुने हो भने श्रीमतीजीहरू कोदोको ढिँडो र नुन रोटी खाएर तिज मनाउँदथे होलान् । एउटा कुरा के हो भने तीजमा कोदोको परिकार बनाएर खानु चाम्रे, ढकने, खिर, पुलाउ, मिठाई खानुभन्दा सयौ गुणा स्वस्थ्यकर हो । यतिमात्र होइन कोदोको परिकारले तिजमा थप शक्ति प्रदान गर्छ किनभने यसमा फलामको मात्रा बढी हुन्छ । फलाम जस्तो शरीरले ब्रतबस्दा र नाँचगान गर्दा शरीर अझ फुर्तिलो र स्वस्थ्यकर हुन्छ । रोग प्रतिरोधात्मक षमता हुन्छ कोदोको परिकारमा । कोदोको झोलको परिकारलाई तिजमा प्रयोग गर्ने हो भने श्रीमतीजीहरू रुखमा चढेर नाचगान गर्न थाल्छन । भनौ कोदोको झोलको शक्तिले तिजमा नाँचगान गर्न स्फुर्ति ल्याउँछ । अर्को कुरा तीजमा जल खान नभए पनि झोल खान कुनै बाधा हुँदैन । पानीले पेट फुल्छ तर झोलले तागत आउने भएकोले पनि यो फाइदाकारी कुरा हो भन्दा कुनै विकृति ठहरिँदैन । ब्रतालुहरूको तजविजले झोल कुरा खाँदा तागत आउँछ भन्यो भने र खाउँ खाउँ लाग्यो भने विकृति महात्म्यमा खाँदा हुन्छ भनेर अलिखित रुपले भनिएको छ ।
तजविजीको कुरा गर्ने हो भने नेपालमा विकृति पुराण र महात्म्य फरक फरक तरिकाले अघि बढेको पाइन्छ । तीज भन्ने पर्वको तजविजी श्रीमतीजीहरूमा रहेकोले विकृतिका पाटाहरूमा सुकृतिका बोटहरू रोपेर जति सुकै मलजल हाले पनि गोडमेल गरेर पानी हाले पनि त्यहाँ विकृति नै फुल्छ र फल्छ । विकृति रोप्न र फलाउन गाह्रो हुँदैन । तर सुकृति फलाउन वर्षौ लाग्छ । देखासिखीले विकृति फैलन्छ तर त्यही देखासिखीले सुकृति फैलन सक्दैन ।
हाम्रो समाजले सुकृतिलाई यस्तै चाडपर्वका माध्यमबाट उल्टो हिँडाएको छ । विकृतिलाई निम्त्याएको छ । यो चाडपर्वसँग सम्बन्धित तजविजको कुरा हो समाजको । श्रीमतीजीहरू र श्रीपतिजीहरूले मिलेर ल्याएको विकृतिलाई पछि मिलेर नै पनि फाल्न सकेका छैनन् । मिल्ने कुरा पनि यहाँ तजविजमा भर पर्छ भन्दा कुनै फरक पर्दैन । श्रीपतिजीहरू तजविजले तीजका श्रीमतीहरू उपर आदेश दिन्छन् र चाडपर्व मनाउने कुरामा मतलाई दन्त बझानमा परिणत गर्दछन् । तीजमा नाँच्न पाउनु रमाइलो गर्नु श्रीमतीजीहरूको स्वतन्त्रता उपभोग गर्ने अधिकार हो भने श्रीपतिजीहरूको भान्सामा जुठोभाँडो गर्न पदाधिकार हुने सुवर्ण अवसर पनि हो । यो अवसर गुमाउनु भनेको हामी श्रीपतिहरूको लागि अहो भाग्य नै हो । फेरि यसरी चुल्हो चौकामा पदाधिकार हुन बढी मन पराउने श्रीमतीजीहरूले अरु बेलामा श्रीपतिजीहरूलाई मौका नै दिँदैन भनेको ।
अर्को महत्वपूर्ण कुरा के हो भने यो तीजलाई लिजमा दिन पाए देखिएको विकृति सुकृतिमा वदलिन्थ्यो होला जस्तो लाग्छ मलाई । नेपाली मुलका भारतीयहरूलाई, बर्मेलीहरूलाई यो तिज लिजमा दिएका खण्डमा नेपाली नारीहरूले मनाउने तजविजको तीज फ्रिज भएर जान पाउँदैनथ्यो । तर नेपाली नारीहरूको हातमा रहेको तीज अब केही वर्षमा विकृतिको सोलीभित्र लास भएर सास गन्हाउछ होला । यो समाजबाट तीज पर्व नै फ्रिज भएर जान सक्छ । तीज फ्रिज भएर तजविजले भने प्राथमिकता पाउँछ भन्ने कुरा हामीले बिर्सन हुँदैन ।
रातो सारीमा सजएर निराहार बसेर मनाइने तीज अब होटल, रेष्टुरा, पार्टीप्यालेस र क्याफेहरूमा वाइन, वियर तथा व्ल्याक लेवलका बोतलहरू फोडेर। म त ढलेँ ढलेँ भन्दै मनाउन थालेको छन् । अहिले त अझ नयाँ गीत गाएर गोरुले गाईलाई, राँगाले भैँसीलाई, बोकाले बाख्रालाई भन्दै तीज मनाउन थालिएको । शिवजीसँग पोइला जान पाउँ भन्ने कुरा त अब पुरानो जमानाको गीत भैसक्यो । यी सबै नारी अर्थात् तीज मनाउने तजविजका कुरा हुन् । श्रीपतिहरू पनि यो आँखालाई रमाइलो हेरेर नथाक्ने किसिमका भएकोले श्रीमतीहरू खुसी नै देखिन्छन् ।
हामी बबुरो श्रीपतिहरू श्रीमतिजीकाे नाचमा भुलेर पतिको कर्तव्य र दायित्व नै बिर्सन पुगेका छौँ । हामी श्रीपतिहरूले गतिछाडेपछि श्रीमतीहरू झन के कम तिजमा नयाँ गीत र संस्कारलाई जन्म दिएर आविष्कारक बन्न सफल भएका छन् । यो सफलताले हाम्रा महान नारीहरूलाई लाज पचेको छ । लाज पनि लजाउन सक्ने खालको संसकार र संस्कृतिलाई जन्म दिन सक्नु भनेको महानता नै । यसलाइ श्रीपतिहरूले साथ नदिएको भए आज हामीले नयाँ गीत सुन्न पाउने थिएनौँ ।
तीज मनाउने नमनाउने नारीहरूको तजविजको कुरा हो । श्रीमतीको तजविजलाई श्रीपतिहरूले अस्वीकार गर्न सक्दैनन् । यो समयमा श्रीपतिहरूले पनि श्रीमतीकै आदेशलाई कुना पसेर भए पनि मान्नु पर्दछ । नमानेमा श्रीमतीजीहरूले हानेको डाडु, पन्यू जस्ता विश्व विख्यात अस्त्रले श्रीपतिहरूको बस्त्र नै ध्वस्त हुन सक्छ ।
जय तीजको तजविजी अनुसार चल्ने रातो सारीमा सजिएका नारी श्रीपतिका लागि महाभारी । आखिरी तिज नै हो गाइजात्रा भन्दा के कम भयो र गोरुले गाईलाई, राँगाले भैसीलाई, बोकोले बाख्रालाई स्वजातिय माया गर्न नहुने हो र ?
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































