रामदेव पाण्डेप्रगतिशील भएछ सब थोक !
हेर त कति गतिशील ! नेपाली कम्युनिस्ट अपरम्पार फूलको आँखामा फूलै संसार भेटिँदैन अब कहीँ, केही, कोही बुर्जुवा र अप्रगतिशील भए जति सबथोक प्रगतिशील !

रामदेव पाण्डे :
कता निदाएको रहेछु म
कुन दुनियाँमा रहेछु म
यहाँ परिवर्तन अद्भुत भएछ
बुर्जुवा र प्रतिगमन सबै हराएछ
अचेल त
सबथोक यहाँ प्रगतिशील भएछ!
प्रगतिशील तीज
प्रगतिशील तवरले व्रत बस्ने
ढोँगी पाखण्डी सबै प्रगतिशील
प्रगतिशील तरिकैले भक्त डस्ने
आँखा चिम्लेर बिहान बेलुका
जय जगदीश हरेको रटान
दिनमा प्रगतिशील नाचगान
लुकी लुकी गोडाको जलपान
तर गफ !
मानौँ ती त मार्क्सकै सन्तान
छिटै कुनै दिनदेखि अब
धामी झाँक्री ओझा लामाले पनि
भन्ने हुन् म पनि प्रगतिशील
कुन दिनदेखि फेरि
बोक्सी आरोप र छाउपडी प्रथा
कम्लरी, जातिप्रथा र सती प्रथा
बन्ने हुन् खाँटी प्रगतिशील
र मनाउन थालिने हो
प्रगतिशील पुरोहित्याइँ
प्रगतिशील कृष्ण जन्माष्टमी
क्रिसमस, इद, मोहररम
सबका सब खाँटी प्रगतिशील
गीता, कुरान र बाइबल प्रगतिशील
गरुड पुराण र मनुस्मृति प्रगतिशील
सबै नेपाली पञ्च, सबै पञ्च नेपाली
उहिलेको कथन जस्तै
ठ्याक्कै त्यस्तै एक कथा स्वप्निल
आहा! क्या गज्जब
इहलोक परलोक प्रगतिशील
ईश्वर, अल्लाह, परमेश्वर प्रगतिशील
दलाली, दासता र अन्धभक्ति
पद, पैसा र प्रतिष्ठाको आशक्ति
झुट, लुट, डकैती र चोरी
व्यभिचार, भ्रष्टाचार र घुसखोरी
प्रगतिशील नै प्रगतिशील
आजकाे वामपन्थ
हेर त कति गतिशील !
नेपाली कम्युनिस्ट अपरम्पार
फूलको आँखामा फूलै संसार
भेटिँदैन अब कहीँ, केही, कोही
बुर्जुवा र अप्रगतिशील
भए जति सबथोक प्रगतिशील !
०००
काठमाडाैं







































हो हो ।सबै प्रगतिशील भइसके अरे 😁😁😁