रुद्र खरेलबिर्सिस्यो कि ?
ओछेन बिर्सुवाहरू मन्त्री-प्रधानमन्त्री भएका छन्, अत्यधिक मतले चुनावमा विजयी भएका छन्, मानसम्मान पद र तक्माहरूले विभूषित भएका छन्, प्राडो पजेरामा सयर गरेका छन्, नारीमुक्तिको भाषण ठोकेका छन्, विशेष अतिथिको कुर्सी र फूलका गुच्छा चड्काएका छन् ।

रूद्र खरेल :
हजुरलाई आश्चर्य लागे लागोस्, हजुरको असहमति जनिए जनियोस् । ग निर्धक्कसँग भन्छु- बिर्सिनु जाती कुरा हो । उँधौलीबाट उँभौलीतिर लाग्नुछ भने बिर्सिन पनि सिक्नु पर्दछ। बिर्सिदाखेरि हानि मात्र हुन्छ भन्ने पुड न पुछरको कुरा हो । बरू, कुन कुरा सम्झनु पर्छ र कुन कुरा बिर्सिनु पर्छ, त्यसको छ्यानविवेक गर्न नसबने हुस्सुहरूले भने पक्कै पछुताउनु पर्छ ।
निकैजसो मानिसहरूको चाहना नै विर्सिने हुन्छ । म आफूमा यस्तो विशेष खुबी देख्दिनँ । असमर्थ भएपछि पछाडि पर्नु मामुली कुरा हो। मेरो सल्लाह मानिसिन्छ भने हजुरहरू म जस्तो तुसाराले टाक्सिएको इलचीको बोट नबनिस्याेस् । आफूलाई फाइदा हुने कुरा जति सम्झिराखिस्योस्, सास हिरिक्क हुन्जेल पनि । हजुरलाई कसैले केही दिनु थियो कि ? हजुरको स्वार्थ पूरा हुने पुरानो केही कुरा थियो कि ? यस्ता कुरा कहिले नबिर्सियोस्, विरालाले गुहु लुकाएझै स्मृतिमा कहीँ छोपिराखिस्योस् । त्यसको दुङ्दुङ्ती हरकले वान्ता आए आइरहोस् ।
आफ्नो स्वार्थलाई ठाडै हानि पुऱ्याउने कुरा को सम्झोस् । त्यस्ता कुराहरू चाहिँ बिर्सिनु नै जाती छ । किराना पसलमा हजुरले दुई रूपियाँ पचास पैसा तिर्नु थियो कि ? हजुरले बिर्सेर एकजना सज्जनको कलम खल्तीमा हालिस्यो कि ? कसैको पुस्तक फर्काउन बिर्सिस्यो कि चियापसल पानपसलका वाँकी बक्यौताहरू भुसुक्क बिर्सेर लुसुक्क हिँडिस्यो कि ? कुनै लेखकको पुस्तक बेचेर पैसा चट पारिस्यो कि ? सडक, मसानघाट, सार्वजनिक र गुठी जग्गालाई बिर्सेर आफ्नो कम्पाउन्डभित्र घुसाइस्यो कि ? आफूले जिम्मा लिएको कुनै सार्वजनिक अभिभारा बिर्सिस्यो कि ? बिर्सिएको हो भने हजुरले बेसै गरिस्यो । यस्ता जाबा कुराहरूको फुम राखेर के फाइदा छ र ?
भन्छन्, बिर्सिनु मानवीय कमजोरी हो । खालि चल्तीमा देखिएको बिर्साइ फरक र अस्वाभाविक किसिमको छ। यहाँ त बिर्सिने इच्छा छ, आशय छ । यसैले के नेता, के साहित्यकार, के पत्रकार, के कलाकार सबै बिर्सुवाहरू एकै ड्याङका मूला हुन् । कसैले मूल्य र आदर्श बिर्सेका छन् त कसैले आश्वासन र सामान्य नैतिकता ।स्वार्थ शिद्धिको महान उद्देश्य प्राप्तिका लागि बढेमाका समस्याहरूसँग जुधिरहेका छन ती महापुरुपाहरू, महास्त्रीहरू । यस्ता घुमी कुरामा अल्किन उहाँहरूलाई फुर्सद छैन होला। उहाँहरूका लागि यस्ता मूल्यहरू बिर्सिनु नै बेस होला ।
साँचो हो, हाम्रो समाजमा ठूल्ठूला बिर्सुवाहरू छन् । आफ्नो महल बनाइदिने, खेत जोतिदिने र पानीको इनार खनिदिने श्रमिकहरूको ज्याला बिर्सिने साईंदुवाहरू थुप्रै छन् । सरकारी आवासको फ्यान, हिटर, रेफ्रिजेटर, पर्दा, कार्पेटदेखि लिएर फूलको गमलासम्म बिर्सिने मन्त्रीहरू छन्, फोनको सेट, थोत्रो साइकलदेखि लिएर ट्वाइलेट पेपरसम्म बिर्सिने अड्डा प्रमुखहरू छन्। टेबुलमुनिबाट घुस लिँदा कानून बिर्सिने हाकिमहरू छन् । बच्चाको घाँटीमा अड्किएको चावीको झुत्तो हेर्न बिर्सिनेदेखि लिएर उपचारको शिलशिलामा महिलाहरूका सवेदनशील अंगहरू बिर्सेर छाम्ने डाक्टरहरू छन् । निर्धारित दिन र समयमा कक्षामा हाजिर हुन बिर्सिने तर भाते खातामा बाहुली निसाना धस्काउने प्राध्यापकहरू छन् । सत्य बिर्सिने पत्रकारहरू छन्, इमान बिर्सिने साहित्यकार, बुद्धिजीवीहरू छन् । आफ्नो बोलकबोल बिर्सिने मन्त्री र सांसदहरू छन् । त्यति मात्र होइन, शहीदको खुन र गुन बिर्सिने दल र दलबहादुरहरू छन् ।
पौराणिक कथाका कुरा किन हाम्रै वरिपरि थुप्रै-धुप्रै स्वास्नी बिर्सिने दुश्यन्तहरू छन्, विश्वामित्र र मेनकाहरू छन्। छली र कपटीहरू छन्, ढोंगी र भोगीहरू छन् । खोजी पस्दा बाटो बिर्सिनेहरू छन्, माटो बिर्सिनेहरू छन्, आमाको दूध र डायरीको दूध एउटै मानाले भरेर एकै मूल्यमा बेच्नु पर्छ भनेर जिद्दी गर्ने मापदण्ड बिर्सुवाहरू छन्। आफूलाई बिर्सिनेहरू छन्, यथार्थलाई बिर्सिनेहरू छन् । अतीतलाई बिर्सिनेहरू छन्, भविष्यलाई बिर्सिनेहरू छन्। लौ, गम्नोस् त कत्रो भिड छ बिर्सुवाहरूको ?
निसाफ बिर्सिनेहरू छन्, हिसाब बिर्सिनेहरू छन् । आफ्नो फाइदा देखेपछि दिसा-पिसाब पनि बिर्सिनेहरू छन्। आँखामा चश्मा लाएर धुइँधुइँती चश्मा खोज्नेहरू छन्, मोजा र चप्पल लगाएर घरबाट विसुद्धि भएर सडकमा निस्किनेहरू छन् । ट्रली बसको भाडा तिर्न बिर्सिनेदेखि लिएर मन्दिरमा जाँदा आफ्ना थोत्रा जुत्ता चप्पल त्यही बिर्सेर अरू भक्तहरूका नयाँ जुत्ताचप्पल सड्काएर घर फर्कनेहरू छन् । गफका सुरमा धोती कट्टु खुस्केको बिर्सिनेहरू पनि छन् । कुनाकाप्चा, ओझेल र छलिने ठाउँ पाउनासाथ तिलस्मी ढंगले लामो हुने स्त्रीपीडक बिर्सुवा हातहरू छन् ।
बिर्सिनेहरू छ्यास्छ्यास्ती छन्, थरीथरीका छन् । यिनीहरू मध्ये सबैभन्दा खतरनाक हुन्छन् ओछेन बिर्सिनेहरू । यस्ताहरूलाई मध्यराततिर बिर्सिने रोगले बढी च्याप्छ । यिनीहरू अर्काकी छोरीबुहारी वा निर्धा स्वास्नीमान्छेहरूको ओछेनमा पुग्छन्, ढाडे जुंगा दल्न खोज्छन् । त्यसैले, ओछेन बिर्सुवाहरू समाजका वरिष्ठ बिर्सुवाहरू हुन्, राष्ट्रका विभूतिहरू हुन् । यिनका मुखेन्जि बाँकी सबै बिर्सुवाहरू दुरी दुहाई भएका छन् । यस्ताहरूले गाउँ शहरमा कति पटक होहल्ला, ढिस्सिउँ-ढिस्सिउँ र मारमुङ्ग्री मचाएर म जस्तो कुम्भकर्णको निद्रा विथोलिदिएका छन् ।
‘तँ अरूको ओछेनमा गएकै होस्’ भनेर आशयमाथि नै किन शंका गरूँ। चरित्र, संयम र धैर्य त बिर्सिइन्छ भने ओछेन नै विर्सिनु कुन ठूलो कुरा हो र ? यो त कुनै समस्यै होइन, बरू समस्याको समाधान हो। भनिस्योस् त, हजुरले कहिले ओछेन बिर्सिसिएकाे छ ? भो, भो मन खिन्न पारिसिनु पर्दैन । ओछेन बिर्सुवाहरू मन्त्री-प्रधानमन्त्री भएका छन्, अत्यधिक मतले चुनावमा विजयी भएका छन्, मानसम्मान पद र तक्माहरूले विभूषित भएका छन्, प्राडो पजेरामा सयर गरेका छन्, नारीमुक्तिको भाषण ठोकेका छन्, विशेष अतिथिको कुर्सी र फूलका गुच्छा चड्काएका छन्, आगो जस्तो पोल्ने भाषण पड्काएका छन् । हजुरहरूले मलाई सोधिस्सेला ‘यसको प्रमाण तँसँग के छ ?’ ख्वामितहरूलाई म उल्टै प्रश्न गर्छु ‘के कसैले साक्षीप्रमाण ठीकठाक पारेर ओछेन बिर्सिदो हो ?
म पानीमाथिको ओभानो हुन चाहन्न । खसोखास भन्छु म पनि एउटा ठूलो विसुवा हुँ । आफ्नो छालाको ब्यागको सट्टा क्याम्पसको भाते खाता नै बोकेर हिँडेको छु म । ल क्याम्पसको डस्टर खेलाउँदै भृकुटीमण्डपदेखि पुतलीसडकसम्म पुगेको छु म । क्याम्पसको गेटबाट बाहिर निस्किंदै गर्दा साथीहरूले कति पटक सोधे- ‘तपाईं कहाँ जाने ?” रत्नपार्क जाने भनौं कि बागबजार ? मेरा लागि ठूलो समस्या बन्यो म वाल्ल परे । डस्टरको धुलो लागेको प्लास्टर नगरिएको दिमागलाई मेडियम वेभबाट सर्ट टु मा लगेँ । बल्ल हेक्का भयो, म त सिंहदरबार पो हिंडेको रहेछु । यसर्थ, छातीमा हात राखेर स्वीर्काछु म एउटा ठूलो बिर्सुवा हुँ। बरू, जुन कुरा सम्झनु पर्दथ्यो, त्यो बिर्सिरहेको छु र जुन कुरा बिर्सिनु पर्दथ्यो, त्यो चाहिँ सम्झिरहेको छु । कविरजीका उल्टा बानी, बरसे, कम्बल भिजे पानी भनेको यही हो । अर्थात् म पानी हूँ कम्बलको वर्षाले मलाई भिजाइरहेछ ।
बर्सुवाहरूको भिड सबैभन्दा अघि छ, पदप्रतिष्ठा र ऐश्वर्यको टुप्पामा पुगेको छ । जोर तिघ्रा ठटाएर चुनौतीका साथ भन्दैछ- ‘भन् त बिर्सिनु योग्यता भयो कि भएन ? भन् त तेरो सम्झाइले के लछारपाटो लाग्यो ?’ आशयमाथि नै शंका गरेर उनीहरूसँग बल्याङ्गै भिड्नुभन्दा प्रतिरक्षाको बाटो समाउनु बेस हुन्छ । त्यसैले, तैँले यसो गरिस्, उसो गरिस् भन्नु सट्टा ‘हजुरले बिर्सिस्यो’ भन्नु व्यावहारिक दृष्टिले उचित हुन्छ । आँखिर, सम्झाउनु पर्ने कुरा नै पो के छ र ?
उपचारको निहुँमा महिलाको ठाउँ कुठाउँमा आफ्नो हैसियत बिर्सेर छाम्ने डाक्टरलाई के भनेर सम्झाउनु ? मन्दिरमा जुत्ता चप्पल साटेर लाउने भक्तहरूलाई के भनेर सम्झाउनु ? सदाचार बिर्सेर भ्रष्टाचारमा चुर्लुम्म डुबेका महन्त-मठाधीशलाई के भनेर सम्झाउनु ? ओछेन बिर्सिने किच्चकहरूलाई के भनेर सम्झाउनु यिनीहरूलाई सम्झाउने कुरा भाषाको सीमाभित्र पर्दैन । शब्द र वाक्यले यस्ताहरूलाई छुँदैन । यिनीहरूले सामान्य भाषा बुझ्दैनन्, कठबाँसको विशेष भाषा मात्र बुझ्दछन् । तर, त्यसो गर्दा आफ्ना खुट्टीको पनि हेक्का राख्नु पर्ने हुन्छ । ‘बिर्सिस्यो कि ? भन्दा हुनेमा किन यति ठूलो जोखिम मोल्ने ?
०००
बिर्सिस्याे कि ? (२०५७)
Subscribe
Login
0 Comments
Oldest





































