साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविरामको ‘के छ हजुर ?’ मा डुबुल्की मार्दा

यथार्थवादी प्रतिविम्बन प्रणाली विकृति र विसङ्गति निरूपणमा तीक्ष्णता, सलल्ल बगेको सरस, सरल अनुप्रासयुक्त भाषा, आञ्चलिकता, यस्ता विषयगत, शैलीगत वैशिष्ट्यले अरू निबन्धकारभन्दा अविराम छुट्टै उभिएको महसुस हुन्छ ।

Nepal Telecom ad

रुद्र खेरल :

सबै विधाका हास्य-व्यङ्ग्यात्मक कृतिहरूलाई सँगेटी समग्र हास्यव्यङ्ग्यात्मक रचनालाई हास्यव्यङ्ग्य महाविधा भनी नामकरण गर्न सकिन्छ भन्ने तर्क अघि सार्न सकिए पनि नेपाली समीक्षकहरू एक मतले हास्यव्यङ्ग्यको अन्तर्विधात्मक स्वरूप स्वीकार्छन् । उपन्यास, नाटक र कथामा समेत हाँसो र हास्यव्यङ्ग्यात्मकता पाइन्छ, तापनि नेपाली साहित्यमा प्रथमतः निबन्धमा र त्यसपछि कवितामा नै हास्यव्यङ्ग्य विस्तारित भएको देखिन्छ । छयालीस पछिको निर्वाध अभिव्यक्ति स्वतन्त्रताको परिवेशमा हास्यव्यङ्ग्यात्मक निबन्धले फस्टाउने अवसर पायो । लोकतन्त्रको बामे सराइसँगै विशेषतः हास्यव्यङ्ग्यात्मक निबन्ध सृजना क्षेत्रमा नयाँ अनुहारहरूमध्ये एउटा ओजस्वी अनुहार अविराम हुन् । के छ हजुर (२०६२) हास्यव्यङ्ग्यात्मक निबन्धसङ्ग्रह भित्रका अधिकांश निबन्धहरूले उनको सशक्त सृजनात्मक क्षमता पुष्टि गर्दछन् । ‘के छ हजुर’ भित्रका कतिपय निबन्धहरूले उनलाई सशक्त हास्यव्यङ्ग्य स्रष्टाका रूपमा स्थापित गरिदिएको छ । मैले ‘सशक्त’ विशेषण सचेत रूपमा अविरामका लागि छानेको छु सबैलाई होइन, केही निबन्धलाई मात्र दृष्टिगत गरेर ।

‘के छ हजुर’ निबन्धसङ्ग्रहमा जम्मा पन्ध्रवटा निबन्धहरू सङ्कलित छन् । यी निबन्धलाई निम्नानुसार तीन वर्गमा बाँड्न सकिन्छ, १) हास्यव्यङ्ग्यात्मक निबन्ध २) निजात्मक निबन्ध ३) सामान्य अखबारी लेख । ‘कुराको कुरा’ ‘चोरीको मार्कसिट’, ‘झुक्याउनेको देशमा’, ‘के छ हजुर ?, ‘आलु’, ‘निहुरमन्टी न’, ‘तपाईं कुन पार्टीमा हुनु-हुन्छ ?’, ‘नाक महिमा’, ‘पुच्छर’ र ‘खिचडी पर्व’ गरी जम्मा दशवटा निबन्धहरू हास्य-व्यङ्ग्यात्मक निबन्ध हुन् भने ‘डढेको वन र दुखेको मन’ तथा ‘मेरो मामाघर’ चाहिँ सुन्दर निजात्मक निबन्ध हुन् । ‘शहीदको लासमाथि राजनीतिको खेती’ ‘नेता, नियत र नियति’, ‘शिक्षकले राजनीति गर्नॅ हुँदैन’ चाहिँ सामान्य अखबारी लेख हुन्, यद्यपि यिनमा सौन्दर्यको केही छनक नपाइने होइन । दशवटा हास्यव्यङ्ग्यात्मक निबन्धहरूमध्ये पनि ‘पुच्छर’, ‘नाक महिमा’, ‘निहुरीमुन्टी न’, ‘आलु’, ‘के छ हजुर’ र ‘झुक्याउनेको देशमा’ उल्लेखनीय निबन्ध हुन् । यिनै पाँचवटा हास्यव्यङ्ग्यात्मक निबन्ध तथा ‘मेरो मामाघर’ र ‘डढेको वन र दुखेको मन’ दुईवटा निजात्मक निबन्ध गरी जम्मा सातवटा निबन्धलाई दृष्टिगत गरी मैले अविरामलाई ‘सशक्त’ निबन्धकार भनेको हुँ ।

अविरामले आफू उभिएको समाजमा मूल्य विचलन, सांस्कृतिक दरिद्रता, शैक्षिक क्षेत्रमा विद्यमान अराजकता, ठूलावडाका गरिब तथा निर्धा निमुखा जनतालाई चुस्ने थिच्ने धूत्र्याइँ, समाजमा पन्पँदो कालाबजारी र भ्रष्टाचार, नेपालको भारतमुखी पराधीन अर्थतन्त्र, बौद्धिक क्षेत्रमा हलक्क बढेको अवसरवाद, धनी र गरिबका बीचको दुष्ट खाडल, नेताहरूले आत्मसात् गरेको राजनीति र व्यवहारमा प्रस्तुत हुँदा देखापरेको सांस्कृतिक फाटो वा दोहोरो मापदण्ड, सांसद खरिद-विक्री, सामन्ती दास मनोवृत्तिको राइँदाइँ, राजनैतिक दलहरूमा अरौटे र कुरौटेहरूको विगविगी जस्ता कुरूपता र विसङ्गति छताछुल्ल पाएका छन् । उनले आफ्ना सिर्जना मार्फत् समाजमा भएरहेका यस्ता कुरूपतालाई सबैका सामु छ्याङ्ग हुने गरी प्रस्तुत मात्र गरेका छैनन्, यस्ता कुरूपता र विसङ्गतिका चल्ला कोरल्नेहरूको कन्चटमा तोरीको फूल देख्ने गरी व्यङ्ग्यका मट्याङ्ग्राहरू पनि फित्कौलीबाट फुत्काएका छन् ।

जहाँ उनी कुरूपता नङ्ग्याउँछन्, त्यहाँ हामी हास्यरस पाएर हाँस्छौँ, जहाँजहाँ उनी विसङ्गतिलाई थला बसाउन शब्दको मट्याङ्ग्राले दनक दिन्छन्, त्यहाँ हामी आश्वस्त हुन्छौँ विसङ्गति र कुरुपताको विनाशप्रति । यसरी अविरामका निबन्धमा हास्य र व्यङ्ग्यको संयुक्तता पाइन्छ । वास्तवमा हास्यव्यङ्ग्यको संयुक्तता, चिन्तनमा प्रगतिशीलता, गरीब निमुखा जनताप्रतिको गहिरो प्रेम, शोषण-उत्पीडन र धूत्र्याइँले जन्माएको कुरूपता, विद्रूपता, विसङ्गतिप्रति घृणा, सत्य र यथार्थप्रतिको निष्ठा- छोटकरीमा भन्ने हो भने आलोचनात्मक यथार्थवादी तथा प्रगतिवादी प्रवृत्ति अविरामका हास्य-व्यङ्ग्यात्मक रचनामा पाइन्छ ।

यसै गरी श्रमको गरिमा, संक्रमणशील समाजका द्वन्द्व, आधुनिकताको नाममा शारीरिक श्रमलाई हेला गर्न सिकाउने वर्तमान शैक्षिक प्रणालीका दुस्प्रभावहरू, महिलाहरूप्रति असंवेदनशील पुरुष हैकमवादी समाजको रोगी मानसिकताको अनावरण, गाउँलाई ख्वाप्लाक्कै निल्न जिब्रो फैलाइ- रहेको विखालु हिंसा र प्रतिहिंसाको उद्घाटनतर्पm उनका निजात्मक निबन्धहरू केन्द्रीत छन् । प्रतीकात्मकता, अर्यालको झझल्को दिने आनुप्रासिकता, आञ्चलिकता सहितको सरल, सरस र प्रवाहपूणर् भाषा उनका थप सर्जकीय पहिचानहरू हुन् । उनले न लामो न छोटो, ठिक्कको आयतन रोजेकाले निबन्ध पढ्दा पाठकलाई पटक्कै झिझ्याट अनुभव हुने छैन ।

अविरामका कमजोर पक्षहरूलाई पनि ओझेलमा पार्नु मनासिब हुँदैन । निबन्धमा खट्कने एउटा कमजोर पक्ष के हो भने उनी कतिपय सन्दर्भहरूमा बढी रागात्मक बन्छन् र कलात्मक सृजनको मर्यादा बाहिर गई सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशील कतिपय व्यक्तिहरूलाई कुरूपता र विसङ्गतिको नाइके ठहर गरी वास्तविक नाम थरसहित ठाडै गोद्न पुग्छन् । जहाँजहाँ उनी यस्ता व्यक्तिहरूप्रति क्रुद्ध वा रागात्मक भएर संयम गुमाउँछन् त्यहाँत्यहाँ रचनाको कलास्तर पनि उठ्न नसकेको पाइन्छ । अविरामले सोच्नुपर्छ— गिरिजा, भट्टराई र सी. पी. मैनालीहरू पनि हाम्रा पाठक हुन सक्छन् ।

सफल सर्जकले विकृति विसङ्गति जहाँ देखे पनि त्यसलाई प्रवृत्तिकरण, प्रतिनिधिकरण गरी रचनामा प्रतिविम्बित गर्दछ, ठाडै ‘तैँ होस्’ भनेर पेस गर्दैन । यस किसिमका रचनामा पाठकले आफू नभएर पनि कता-कता आफ्नै उपस्थिति अनुभूत गर्दछ । आफैँ अभिव्यञ्जित ध्वनित हुन सकेकोमा सर्जकको सफलताका अघिल्तिर विकृति विसङ्गति बाहक पाठक पनि नतमस्तक हुन्छ, आत्मालोचित भएर स्रष्टासँग सहमत हुँदै उसलाई माया गर्दै जीवनपथमा अगाडि बढ्दछ । ‘खिचडी पर्व’, ‘चोरीको मार्कसिट’ आदि हास्य-व्यङ्ग्यात्मक निबन्ध पढ्दा उनको यो असचेतता स्पष्ट हुन्छ ।

दोस्रो, वैचारिक दृष्टिले प्रखर हुँदाहुँदै पनि उनका केही रचनाहरू प्रस्तुतिका दृष्टिले खस्केकै छन् । कति त सामान्य अखवारी लेख मात्र हुन सकेका छन्, यद्यपि तिनमा पनि कतिपय ठाउँमा कलाको छनक नपाइने होइन । सौन्दर्यचेतको धरातलमा उभिएर साहित्यमा समाजलाई प्रतिविम्बित गरिन्छ । साहित्य फरक वैशिष्ट्यले स्थापित हुनुको कारण यही हो । साहित्यमा राजनीति आउँछ, हुन्छ तर राजनीतिमा साहित्य (कला) हु््््ँदैन । साहित्य कलाको सापेक्षिक स्वायत्तता र स्वतन्त्रता हुन्छ नै ।

दलको घोषणापत्र पर्चा-पम्लेटहरूले कला होइन स्पष्टताको माग गर्दछन्, त्यत्ति हो । कृतिको संरचनाले सौन्दर्यचेत पाउन नसके ती सामान्य लेखभन्दा माथि उठ्न सक्दैनन् । त्यसकारण, के लेख्ने ? भन्ने प्रश्नसँगै कसरी लेख्ने ? भन्ने प्रश्न पनि साहित्यिक कृतिहरूमा जोडिएर आइहाल्छ । सौन्दर्य तत्व वा कलाचेतको न्यूनताका कारण मैले केही निबन्धहरूलाई सामान्य लेखको कोटिमा राखेको हुँ । निश्चित रूपले माक्र्सवादी सौन्दर्यशास्त्रले विषयवस्तुलाई प्रधान र कलालाई गौण ठान्छ ।

यस धारणाको अभिप्राय कलालाई नै साध्य ठान्ने कलावादीहरूको सोचप्रति असहमति हो । साहित्य सृजनमा ‘गौण’ को ताकत महत्वपूणर् मानिन्छ । खाँटी कुरा के हो भने ‘गौण’को न्यूनता वा शून्यतामा ‘प्रधान’ नै निष्प्रभावी बन्दछ । यसकारण, कृतिको समीक्षा गर्दा विषयवस्तु वा कथ्यको मात्र मूल्याङ्कन गरेर चुप लाग्न मिल्दैन, कलाचेतको पनि मूल्याङ्कन गर्नॅ पर्दछ । कला मूल्याङ्कनका मापदण्डहरूसँग अपरिचित समीक्षकलाई सामान्य पाठक मात्र भनेमा फरक पर्दैन । निबन्धको थालनी आकर्षक ढङ्गबाट हुनु-पर्छ । आफ्नोे तथ्यको केन्द्र र तुर्‍याउनीसम्म पनि त्यो सन्तुलन कायम राख्नुपर्छ । थालनी, मध्य र अन्तको योजना सचेत रूपमा गरिनु राम्रो हुन्छ । ‘खिचडी पर्व’को प्रस्तुति प्रारम्भमा निकै कलात्मक भए पनि पुच्छारमा यो चाक्लो अर्थात् झण्डै कलाहीन बन्न पुगेको छ ।

तेस्रो, इतिहासबाट कुनै व्यक्तिलाई टपक्क टिपेर बिम्बका रूपमा प्रस्तुत गर्दा तत्कालीन ऐतिहासिक अवस्थाको सापेक्षतामा त्यस व्यक्तिको भूमिकाप्रति निशङ्क हुनु पर्दछ । भक्ति थापा, अमरसिंह थापा राष्ट्रिय स्वतन्त्रताका विम्ब हुन् तर रणबहादुरका पुच्छर र पछि रणमुक्तेश्वरमा नाबालक सहित सत्ता स्वार्थका लागि पुन नपुग सयजना निर्दोष व्यक्तिहरूको हत्या गराउने भीमसेन थापा कसरी राष्ट्रिय स्वतन्त्रताका बिम्ब हुन सक्छन् ? के उनी इतिहासमा विवादास्पद नायकका रूपमा प्रस्तुत छैनन् र ? इतिहासका विद्यार्थीलाई यी प्रश्नहरूको उत्तर दिनु पर्दछ । त्यस्तै, सहिदको आदर्शलाई कथ्य बनाउँदा तीन थरीका ‘स’ को कुरा झिकेर भाषावैज्ञानिक तर्कतिर मुख फर्काउनाले स्रष्टा मूल विषयबाट अर्कैतिर मोडिएको अनुभव पाठकले गर्न सक्छ । यी केही उदाहरणहरू मात्र हुन् ।

आफूले उठाएको विषयलाई शुरुदेखि तुर्‍याउनीसम्म उत्तिकै केन्द्रितताका साथ प्रस्तुत गर्नु पर्दछ । हो, झ्वाट्ट हेर्दा एक आपसमा असम्बन्धित सन्दर्भ, घटना वा वस्तु निबन्धमा प्रस्तुत भइरहेको देखिन सक्छ, तर गहिरिएर अध्ययन गर्दा त्यहाँ पनि कसिलो अन्विति वा अन्तर्सम्बन्ध पाउन सकिन्छ । रचनाकार यताउति जान सक्छ । मु्ख्य कुरो, उसको क्षमता हो, ती घटना, सन्दर्भ र वस्तुमा सङ्गति वा सम्बन्ध स्थापित गर्न सक्ने क्षमतामा परिलक्षित हुन्छ । तीन थरीका ‘स’ र ह्रस्वदीर्घको समस्या हुनु जस्ता भाषिक तर्कसँग मूल्य विचलन अथवा सहिदप्रति देखाएको ओठे भक्तिको तालमेल देखिँदैन । यो प्रसङ्ग एक्लो छ र यसले निबन्धलाई खस्काउन सघोट गरेको छ । मूलकुरो सहिदले चाहेको आदर्शको रक्षा हो । त्यसो भयो भने पातलो, मोटो जुनसुकै स-मा सहिद लेखे पनि के फरक पर्छ र ? समस्या तीन खाले स वा ह्रस्व दीर्घको होइन, मूल्य विचलनको हो ।

माथि खण्डदृष्टिका आधारमा कृतिका कमजोर पक्षहरूबारे मैले निकै कुराहरू गरेँ । तर, समग्र दृष्टिमा हेर्दा यस कृतिमा अप्राप्तिका दाँजोमा प्राप्तिहरू धेरै छन् र बलिया छन् । विशेष गरी मैले माथि उल्लेख गरेका पाँचवटा हास्यव्यङ्ग्यात्मक निबन्धहरूले अविरामलाई सशक्त निबन्धकारका रूपमा स्थापित गरिदिएका छन् । यी निबन्धहरू छयालीसपछि प्रकाशित स्तरीय निबन्धहरूसँग तुलनीय छन् ।

हास्यव्यङ्ग्यको संयुक्तता, चिन्तनमा प्रगतिशीलता, यथार्थवादी प्रतिविम्बन प्रणाली विकृति र विसङ्गति निरूपणमा तीक्ष्णता, सलल्ल बगेको सरस, सरल अनुप्रासयुक्त भाषा, आञ्चलिकता, यस्ता विषयगत, शैलीगत वैशिष्ट्यले अरू निबन्धकारभन्दा अविराम छुट्टै उभिएको महसुस हुन्छ । यी विशेषताहरूले उनी छर्लङ्गै चिनिन्छन् । म उनमा धेरै संभावना देख्दछु, जसको पुष्टि उनको निरन्तरताले गर्नेछ । एउटा प्रतिभा सम्पन्न सहयात्री युवा साथी पाएकोमा म औधि हर्षित छु ।

०००
कोटेश्वर, काठमाडौ
फित्कौली, पूर्णाङ्क ३, २०६२ बाट जस्ताको तस्तै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x