रामप्रसाद पन्थीसर्वहारी बनेर खाऔँ
आसे, पासे , गासे सबैलाई अलिअलि चटाएकै छौँ । बचेखुचेको जनतालाई पनि पठाएकै छौँ । शिशिरको सिरेठो, गृष्मको गर्मी र वर्षाको झरी सबैलाई फिरी नै छ । पेटभरि हावा खानलाई कसैलाई प्रतिबन्ध छैन ।

रामप्रसाद पन्थी :
आहाराका आधारमा पशुपन्छी र प्राणीलाई तीन वर्गमा वर्गीकरण गरिएको छ । सागपात, फलफूल आदि सात्विक भोजन गर्ने शाकाहारी । माछा, मासुलाई भोजन बनाउने मांसाहारी । भोज्य अभोज्य विचार नगरी सबथोक खाने सर्वहारी ।
मान्छे शाकाहारी, मांसाहारी वा सर्वहारी भन्ने विषयमा मतमतान्तहरू रहेका छन् । तपाईंको ठहर होला संसारमा शाकाहारी र सर्वहारी गरी दुई प्रकृतिका मान्छेहरू छन् । ताप्केगोलादेखि खानीखोला, काठेखोलादेखि ओलाङ्चुङ्गोला, डहरेखोलादेखि खहरेखोलासम्म गानोगोला जाउञ्जेलको मेरो अनुसन्धानले भन्यो – “मान्छे सर्वहारी हो ।”
कसैले आफूलाई शाकाहारी भन्छ भने त्यसले सफेद झुटको खेती गरेको छ । यसको पनि प्रमाण छ मसँग । बताउँछु ध्यान दिएर सुन्नुहोला ।
एकदिन एकजना साथी धनप्रसाद मरन्च्यासे अनुहार लिएर मकहाँ आए । उनले भने – “फलानाले मेरो पैसा खाइदियो रामप्रसाद । लौन उठाउनु जानु पर्यो ।”
मैले भने – “ए साथी ! कहाँ सुकाएर राखेको छ र उठाउन जाने ?”
उनले भने – “तपाईं जे कुरामा पनि ठट्टा गर्नुहुन्छ । मसित हिँड्नुहोस् न भन्या ।”
मैले अझ प्रष्ट हुन खाजेँ – “मलाई प्रष्ट पारिदिनुहोस् त धनप्रसाद ! उठाउने चाहिँ के हो; मान्छे कि पैसा ? मान्छे उठाउने, टप्काउने काम मबाट हुँदैन है ।” धनप्रसादले सुस्केरा हाल्दै भनेँ- “हत्तेरीका तपाईंको मासुखाने; पैसा उठाउने हो । बरू तपाईंले पनि कमिसन खानुहोला ।”
धनप्रसादले दुईवटा खाने कुरा गरे । एउटा मेरै मासु खाने । अर्को कमिसन खाने । पहिलो कुराले कन्सिरी तातिसकेको थियो । कमिसन खाने कुराले भने मुखै रसाएर आयो । त्यसपछि धनप्रसादसित पैसा उठाउन कमेरे साहिँलाको घरमा पुगियो ।
घरमा पुग्दा कमेरे साहिँला पेटीमा पलेटी मारेर गीता पाठ गर्दै थिए । सन्चो बिसन्चोको भलाकुसारी पछि मैले नै कुरोको चुरो अगाडि बढाएँ ।
“साहिँला दाइ ! यो उमेरमा पनि हट्टाकट्टा हुनुहुन्छ । के खानुहुन्छ तपाईं ?”
उनले भने – “के खानु र भाइ पण्डितले ? सागपात, फलफूल, दूध गोरस् … ! यस्तै त हो ।”
मैले भनेँ- तर तपाईंले पैसा खानुभयो भन्छन् त धनप्रसाद ।”
मेरो कुराले कमेरे साहिँला एकछिन् त रन्किए । कुराकानी गर्दै जादा पछि थन्किएर भने-
“कसैको पैसा सित्तैमा खान कहाँ मिल्छर भाइ ? मेसो नमिलेर हो । आजै धनप्रसादलाई भेट्ने विचारमा थिएँ ।”
यति भन्दै कमेरे साहिँलाले धनप्रसादको धन फिर्ता गरिदिए । धनप्रसादले बाटामा मलाई कमिसन थमाए । मैले कमिसन खाएँ ।
अब तपाईं आफै भन्नुहोस् । धन खान खोज्ने कमेरे साहिँला, तपाईंको मासु खाने भनेर कसम खाने धनप्रसाद र कमिसन खाने रामप्रसाद शाकाहारी कि सर्वहारी ?
तपाईंले आफूलाई जुनसुकै कित्तामा राख्न सक्नुहुन्छ । मैले ठोकेरै भन्छु । म त सर्वहारी हो । पहिले सर्वहारा हुँदा अभावका कारण सर्वहारी भइयो । पछि जान्ने बुझ्ने हुँदै गएपछि सर्वहारा वर्गको नेतृत्व गर्न थालियो । सर्वहाराको उत्थानका लागि कहिले जेलको हावा खाइयो । कहिले भूमिगत भई सुरुङ युद्ध छेडियो । मौकाअनुसार चौका हान्दै कहिले धारिला बोलीले हानियो । कहिले सिसाका गोलीले हानियो । कहिले हार खाँदै त कहिले हार लाउँदै वन बिहार गरियो । एवंरीतले प्रतिक्रियावादी प्रतिगमनकारी शक्तिलाई तह लगाएर सर्वसत्तावादको तहमा पुगियो । संघर्षको मैदानमा सिंगौरी खेलेर आएपछि अलिअलि त खानै पर्यो नि । भोकले सारङ्गीजस्तै खोक्रिएको लाद्रोमा सर्वाहार नपठाएको भए स्याप्प सुकेको भुँडी हावा खाएको भकुण्डो जस्तै कहाँ फुलिन्थ्यो र ? त्यसै लागेको हैन बाबै यो भुँडी ! यो भुँडी बढाउन धेरैका आन्द्राभुँडी र रगतलाई भुटेर भुटन बनाउनु परेको थियोे । त्यसै आउँछ सर्वहाराको समाजवाद ?
विगतदेखि वर्तमानलाई नियाल्दा सुरदेखि असुर नखाई कोही बाँचेको छैन । देवी र देउताहरूले कसैले बली खाए । कसैले खली खाए । राक्षसहरूको कुरै गर्न परेन । देउताहरूले बली खाएपछि मान्छेहरू पनि भोकै बस्न भएन । देउताहरूलाई भोग लगाएर खाए । एक आपसमा भाग लगाएर खाए ।
हामीले पनि संस्कार र संस्कृति भुलेका छैनौँ । त्यसैले भाग लगाएर खायौँ । बन्डा लगाएर खायौँ । गठबन्धन गरी गरी भागबन्डा लगाएर खायौँ । के के खायौँ भन्नै परेन । सर्वहारी भएपछि जे जे भेटिन्छ लुछेर खायौँ । दाह्रा तिखारी तिखारी चबाएर खायौँ ।
हो त, हामीले जल, जमिन र जङ्गल खाएकै हो । करोडका करोड पनि हान्देकै हो । बाख्रो पनि खाएकै हो । पाडो (प्राडो) पनि खाएकै हो । पतेरो (पजेरो) पनि खाएकै हो । छोइला, कोचिला, सुकुटी ठेसेकै हो । चिकन, मटन, बफ, पोर्क जेजे भेटिन्छ घिच्रो फुटिञ्जेल घिचेकै हो ।
ह्विस्की खाएर हल्लिएको रे ! ह्विस्की मात्रै किन ? होली वाइन पनि खाएकै हो । सित्तैमा पाएपछि डिजेल, पेट्रोल पनि खाइन्छ । अलकत्रा पनि चाटिन्छ ।
सुन किन खाएको रे ? लसुन मात्रै खानुपर्ने कहिँ लेख्या छ ? किन नखाने सुन ? बाउबाजेकै पालादेखि खाँदै आएका कुरा । आयुर्वेदले खान भनेकै छ । स्वणर् भष्म, रजत भष्म, ताम्र भष्म खानाले शरीरलाई हित हुने कुरा लेखेकै छ !
खोई परम्परागत ज्ञान ? पुराणमा अगस्त्य ऋषिले सागर नै खाएर सुकाइदिएको प्रसङ्ग छ । हामीले टनकपुर खाँदा किन कसैलाई टनक् टनक् टाउको दुख्छ ? महाकाली खाँदा ओठतालु किन सुक्छ ? खेर गएका खोला पनि खान नपाउनु ?
सधैँभरि दालभात खाएर मात्रै हुन्छ ? कहिलेकाहीँ त मुख फेर्नु पनि त पर्छ । जिब्रालाई पनि त स्वाद चाहियो ! त्यसैले चाडपर्वमा कहिलेकाहीँ उद्योग अनि कारखानाहरू खाइयो । बेलामौकामा लाउडा र वाइडबोडी खाइयो । क्यान्टोनमेन्ट खाइयो । शरणार्थी खाइयो । सहकारी खाइयो । जतिबेला जे तह पर्यो त्यहीँ खाइयो । जन्मिएकै खानका लागि त हो नि । बाँच्नका लागि होइन । खानका लागि बाँचेको हो ।
मैले मात्रै खाएको हो र ? मौका परे कसले छाडेको छ र ? मुठ्ठी भरका राजा र राणाहरूले एक्लै एक्लै खँदा हामीले र्याल काढेर टुलुटुलु हेर्दा कम्तीको ओैडाहा भएको थियो ? पञ्चहरूले पनि सञ्च मानेर खाएकै थिए नि ! त्यसैले हामी बाम पन्थी खामपन्थी खाङ्ग्रेस्, खाम्युनिष्ट, खाओवादी सबै मिलेर खाने काममा दत्तचित्त छौँ ।
हामीले खाएको देख्न नसकेर कोही थाल ठटाउँदै आए । कोही घन्टी बजाउँदै आए । कोही लौरा हल्लाउँदै आए । कोही धोती र लुङ्गी देखाउँदै आए । आए मात्रै किन ? मेसो मिलाएर खाए । खुट्टा पसारेर खाए । खादैछन् र खानेछन् ।
नेतृत्वले मात्रै कहाँ खाएको छ र ? आसे, पासे , गासे सबैलाई अलिअलि चटाएकै छौँ । बचेखुचेको जनतालाई पनि पठाएकै छौँ । शिशिरको सिरेठो, गृष्मको गर्मी र वर्षाको झरी सबैलाई फिरी नै छ । पेटभरि हावा खानलाई कसैलाई प्रतिबन्ध छैन ।
रातो भाले कोयाँ कोयाँ सुत्केरीलाई ख्वायाँ । सुत्केरीको नाउँ पारी टाउको मैले खायाँ । कुरा आफै बुझ्नुहोस् । रिसाएर हुँदैन । मिलेर खानुपर्छ । काले काले मिलेर खाम भाले भनेको त्यसै होइन नि ! फरक यत्ति हो हैसियत अनुसार खाऔँ । घाँटी हेरी हाड निलौँ । गच्छे अनुसार चल्नु पर्छ । नखाने कोही छैन । सबैेले सबथोक खान्छन् । हामी सबैले मिलेर खाऔँ । सर्वहारी बनेर खाऔँ ।
०००
रेसुङ्गा न पा २ गुल्मी
२०८० भाद्र ८ शनिबार








































उम्दा ! मैले पनि हास्य/व्यङ्ग्य रस खान पाएँ
खाऔँ खाऔँ ,हसुरौँ,चपाऔंँ,बजाऔँ,दारा धसौँ लाद्रोमा हुलौँ र घ्याम्पे पेट बनाऔँ
विसञ्चाे भए दबाइ खाम्ला , अभियाेग लागे अस्पताल जाम्ला ।
धन्यवाद सर