रुद्र खरेलच्वाँक इन्टरप्राइज
छापाखानाको मसी र कागजलाई सुन र हिरा बनाउन सक्ने चमत्कार तपाईंहरूसँग छ, जो कुनै वैज्ञानिकको दृष्टिमा पनि असम्भव छ । स्लाइन पानीलाई फ्रेन्च ह्विस्की, युरिया र कम्पोस्ट साल्टलाई पजेरो जिप बनाउने असम्भव काम तपाईं बाहेक कसैले गर्न सक्तैन ।

रुद्र खरेल :
शहरको भित्री चोकमा एउटा उदेक लाग्दो पसल छ । भाँचिएका, फ्याँकिएका र नक्कली सामानहरूको थोक र खुद्रा विक्रेता हो, यो पसल । तपाईं अस्पतालको प्रशासनिक हाकिम हुनुहुन्छ र रोगीका दुइवटा कम्वल हडप्नु भएको छ भने थोत्रे कम्वलका टुक्रा यहाँ पाउन सक्नु हुन्छ । एउटै मात्र टुक्रो फेला परे पनि त्यस्तो अतालिइहाल्नु पर्ने कुरा केही छैन, एउटा टुक्रा च्यातेपछि दुई टुक्रा भइहाल्छ नि ! आखिर, अस्पतालमा चाहिएको त थान गन्ती दाखिला न हो । होइन, तपाईं शल्यचिकित्सक हुनुहुन्छ र कैँची जति प्राइभेट नर्सिङ्ग होममा सप्लाई गर्नु भएको छ भने यस पसलबाट थोत्रे कैँची लिन सक्नु हुन्छ । तपाईंको सेवा र सुविधाका लागि एउटै कैँचीलाई बीचको किला भाँचेर दुई थान पारेर विक्रीमा राखिएको छ । तपाईं एक्सरेतर्फको बुद्धिमान् डाक्टर हुनुहुन्छ भने डेमेज भएका एक्स-रे फिल्म यहाँको पसलमा लिइहाल्नोस् । यसलाई दाखिला गरी सरसाउँदो फिलिम बेचिहाल्नोस् बजारमा । के तपाईं रविपुर एन्टी रेविज भ्याक्सिनका खाली शिशी चाहनु हुन्छ ? के तपाईं रिफिल सिद्धिएका थोत्रे डटपेन चाहनु हुन्छ ? फोहोरको थुप्रोबाट टिपेर ल्याएका यहाँ केही प्रति ट्रेकिङ बुट छन् । चाहिए भनिहाल्नुहोस्, थान सीमित छ । दुवै देब्रे-देब्रे वा दाहिने-दाहिने खुट्टाका परे या बेग्ला बेग्लै साइजका परे पनि भाग्यजोग्यको कुरा मात्र हो । यसमा चिन्ता गर्नु पर्ने कारण देख्दिनँ- आखिर, अफिसको रेकर्डमा जनाइने त गन्ती र थान न हो । भाँचिएका, च्यातिएका, चलन गरिएका र फालिएका सामानहरू सुपथ मोलमा खरिद गर्नुहोस्, नयाँ-नयाँ, सरसाउँदा र असली सामानहरू हडप्नुहोस् ।
तपाईं सेना र प्रहरीको भोजन बन्दोबस्ततिरको हाकिम हुनुहुन्छ भने झन् मालामाल हुने दिन आएको छ । घिउतेलका खाली टिन र मुसाले प्वाल पारेका बोराहरू सुपथ मोलमा किन्नुहोस् । उता घिउतेलका टिन, दूधका बट्टा र बोराका बोरा चामल सुटक्क किराना पसलमा बेचिहाल्नोस् । सरकारी वकिल र प्रहरीको हाकिम हुनुहुन्छ भने झूटो ज्यान मुद्दामा सोझा गाउँलेलाई फसाई कानून बमोजिमको डकैती गर्न सजिलो होस् भन्ने दृष्टिले स्वास्नीमान्छेको एकमुठी कपाल र दुई-चारवटा दाँत पनि पसलमा उपलब्ध छ । यस्ता दुर्लभ र जोखिमपूणर् वस्तुको मोल भने निकै महंगो छ । यस्तो केही होइन, तपाईं खालि कीर्तिपुर क्याम्पसको क्यान्टिन संचालक हुनुहुन्छ भने हरिया लहरे पिपल जति डाँडै नाङ्गो पारेर काट्ने योजना बनाउनुहोस्, दुई चार बर्खलाई दाउरा पुगिहाल्छ । पीपललाई खरानी हुन नदिई अँगार जति बेचे पनि हुन्छ । कुनै पुरस्कार वा लोतीखरे बेपारबाट तस्करीको कालो धन सेतो हुन्छ भने हरियो पिपल कालो भएपछि किन सेतो हुँदैन ? त्यसमा पनि पीपल भनेको त साक्षात् विष्णुको अवतार हो जसले अग्निपरीक्षामा डिस्टिङसन ल्याएर प्रथम श्रेणीमा प्रथम भएर उत्तीर्ण गरेको छ । अर्कातिर, ट्रकका ट्रक दाउरा झिकाएको भनेर लाखौँको बिल पेस्नुहोस्- लहरे पीपल खाने काइदा यो हो । बरू चामल, दाल चाहिँ चारपाँच पाथी बढी नै उसिन्नोस् । बढी किन पनि उसिन्नोस् भने तपाईंले ओर्तिर-पर्तिरका बङ्गुरधनीसँग दालभात आपूर्तिको मौखिक ठेक्का गर्नु भएको छ । कालीमाटीका सढेका टमाटरमा जनकपुरे जङ्गी खोर्सानीको उदारताका साथ मर्चा हालेर अचार नाउँको तिख्खर जाँड बनाउनोस् । बिल जाबो त रणमुक्तेश्वरका तारे होटलमा सुहाउने टमाटरको पेश गरे भइहाल्यो नि । क्यान्टिनका लागि खसी काट्दा फिला, ह्याँकुलो र कलेजो जति केही आफूलाई छुट्याई बाँकीलाई पोकाहरू बनाएर हामिकहरूका झोलामा हालिदिनोस् । खसी खाने काइदा यो हो ! बोको परेछ भने राजखान्कीभित्रको अण्डकोष समेत खाइहाल्नोस् । कस्ता कस्ता कोष खाने वहादुरका लागि जाबो अण्डकोष के हो र ! भाँडामा थाँती रहेको दारीवाल थुतुनो, खोसने खुट्टा, राजखान्कीको छाला, त्यस्तै अरु हाड र छालाहरू एक मुठी जीरा र अदुवा पेलेर कुकरमा गलाइदिनोस् । वैद्यखानाको नारायणी तेल वा महाभृङ्गराज तेल बनाएर दुःखीदाखीका आन्द्रामा मालिस गर्नुहोस् । यस्ता कामका सिलसिलामा कुनै सेवा र सल्लाह चाहिए च्वाँक इन्टरप्राइज तत्पर छ ।
तपाईं भन्सार अथवा राजस्वतिरको हाकिम हुनुहुन्छ भने तपाईंको पुर्पुरोमा लेखिएको रातारात करोडपति बन्ने जोग ढोकामा टुप्लुक्क आइसकेको छ । बरू डेमेज भएका तयारी पोशाक वा धरहरातिर पाइने फाटा कम्पनीका ह्वाङलाङे कट्टु र पेन्ट सुरक्षित गरिहाल्नोस् । भन्सारमा जफत गरिएको ब्रिफकेसबाट रातारात सुनका लाप्सा जति दामासाइले आपसमा बाँडिहाल्नोस् र त्यसपछि कोच्नोस् ब्रिफकेसमा झत्ताहरू । साक्षी सर्जमिन सबैका मुखेन्जि ब्रिफकेस खोलेर एक-एक झत्ता देखाइदिनोस् । यसै बमोजिमको तपसिल खोली जख्नोस् एउटा खाँटी मुचुल्का ! सुन खाने काइदा यो हो ।
त्यसा सेसो केही होइन, प्रशासनिक अड्डाको खालि भण्डारे हुनुहुन्छ भने पनि केही फरक पर्दैन । यस पसलमा झत्ता कार्पेटका सीमित टुक्राहरू छन् । यिनलाई वही खातामा दाखिला गरेर एक्सपोर्ट क्वालिटीका नरम-नरम कार्पेट चट् पार्नोस् । चिनीमा मिसाउने फाइन सेतो बालुवा अलि तपाईंलाई महंगो पर्छ । चामलमा मिसाउने बालुवा, घिउमा मिसाउने पिँडालु, डालडामा मिसाउने बोसो र शुद्ध गाईको अशुद्ध दूधमा मिसाउने धोबीखोलाको पवित्र पानी हामीकहाँ जति पनि छ । ब्राउन सुगर र हिरोइन डढाएको मुचुल्का खडा गरी त्यसका सट्टा फापरको पीठो डढाएर विखालु माल फेरि बजारमै ल्याउने तपाईंको दूरदर्शी योजना हो भने भन्नोस् तपाईंलाई फापरको पीठो कति चाहियो ?
हामीसँग एक दुई किलो चुत्थो खाले राजनीतिक गालीगलोज पनि छ । यो केही आपत्तिजनक भएकाले ब्लेकमा मात्र उपलब्ध छ । भन्नोस्, आफू रहेको दलका नेता र पुराना साथीहरूलाई क्षुद्र गाली गर्दै सत्ताको भाट-भट्यौलीमा मिसिएर कतैको अध्यक्षसध्यक्ष पडकाउनु छ ? एक-दुई मुरी आदर्श, दुईचार क्विन्टल इमान्दारी र एकाध टन सिद्धान्तनिष्ठता हामीसँग मौज्दात छ । अन्तर्घातको कुहिएको जाँड, एकताको सडेको नाबो आलु, विद्रोहको कुहिएको फर्सी, प्रजातन्त्रको पानी चढेको कोक्याउने पिँडालु र बिर्को खोल्नासाथ नाक भाँच्ने र वान्ता आउने सिलवन्दी भाषणका बट्टाहरू गोप्य रूपमा हामी बेचिरहेका छौँ ।
भारतीय नागरिकलाई नेपालको नागरिकता बेची नेपालीले पाउने कोलम्बो प्लानको सिट समेत बेचबिखन गरी त्यसबाट आएको पैसाले दिनहुँ घिउ पुलाउ खाँदा तपाईंका जुङ्गाका फेद बटारिएका हुन् भने कहिले-कहिले सर्पको छाला चपाउने गर्नोस् । त्यसले तपाईंको पाचन शक्ति बढाउँछ । मेरो भनाइ छालै कुरुम-कुरूम चपाउने भन्ने होइन, भारतबाट तस्करी गरिएको सर्पको छाला पश्चिमी मुलुकमा चोरी निकासी गरेर खाने भन्ने हो । ठीकै भन्नु भो – “खानु पर्छ ।” “खानु पर्छ” मात्र होइन “जसरी पनि खानुपर्छ ।” अलिक घुमाउरो बाटाको कुरा मात्र हो, सदर चिडिया खानाको बाघले खाने मासु, जिराफ र जेब्राको घाँस, देवीदत्त गणका घोडाका दाना र गोहीको खाना समेत लुँड्याउन सक्न हुन्छ । पानी हालेर मट्टितेल र मट्टितेल हालेर डिजेल र पेट्रोल पिउन सक्न हुन्छ । हिमवत् खण्डका पुराण प्रसिद्ध राक्षसहरूले हजार-हजार मानिसहरूलाई खाजा बनाउँथे । उनीहरू ठाडै खान्थे । तपाईं एकान्तमा लगेर वर्षाैँ लाएर चकलेट जस्तो चुसेर खान सक्नुहुन्छ । राक्षस भन्दा पनि अझ अगाडि गएर छड, सिमेन्ट, डिजेल, पेट्रोल, इंट, गिटी, साल, सिसौ, नदी, बिजुली, मानिसका खप्पर, अर्नाका सिङ, हात्तीका दाह्रा, नगर क्षेत्रका घडेरी, मधेसका खेत, ट्रलिबसका टिकट, गोदावरीको ढुङ्गा, के मात्र पचाउन साबनु भएको छैन र तपाईंले ? छापाखानाको मसी र कागजलाई सुन र हिरा बनाउन सक्ने चमत्कार तपाईंहरूसँग छ, जो कुनै वैज्ञानिकको दृष्टिमा पनि असम्भव छ । स्लाइन पानीलाई फ्रेन्च ह्विस्की, युरिया र कम्पोस्ट साल्टलाई पजेरो जिप बनाउने असम्भव काम तपाईं बाहेक कसैले गर्न सक्तैन । श्यालोपनिषद, चितुवाशास्त्र र लुट-लाट कलाका अनमोल रत्न हुनुहुन्छ तपाईं । यस्ता कर्मवीर सपूतको सेवा गर्ने अवसर मिल्नु च्वांक इन्टरप्राइजको अहो भाग्य हो ।
०००
‘तोरी लाहुरे चोकमा एक छिन्’ (२०५२)
Subscribe
Login
0 Comments
Oldest






































