साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुहुरे मुसाको कुर्सीमोह

सरकारबाट मलाई प्रधानमन्त्री पद निगाह बक्स हुने कुरा त सङ्केत गरिबक्सेन, तर सबैले सहयोग गर्ने भए र मुख्य कुरा त मौसुफबाट अवसर बक्स भए जिम्मेवारी समाल्न म योग्य छु ।

Nepal Telecom ad

रुद्र खरेल :

नेपाल अधिराज्यका जनावरमा सबैभन्दा ‘स्वच्छ छवि’ कसको छ ? मेरा कुरा पत्याउनु हुन्छ भने मुसाको भन्दा ‘स्वच्छ छवि’ कसैको पनि छैन । मुसो भनेको गणेशको वाहन हो, ठट्टा कुरा होइन । त्यसकारण, यसले जतिसुकै दुष्टतापूर्ण काम गरोस्, त्यसलाई हामी उनैको कृपा ठान्दछौँ । ‘श्री गणेशाय नमः’ नभनिकन झर्रा हिन्दूहरूको न बिहा हुन्छ न न्वारान । हाम्रा कार्यहरूलाई गणेशबाजेले नै मङ्गलमय बनाउँछन् भने मुसो भनेको तिनै भूँडे बाजेको सवारीसाधन हो । पत्यार नलागे बाह्रहाते गणेश, भाडेगणेश वा छातेगणेशलाई सोधे हुन्छ । आफ्नै गाउँटोलका भुँडीवाल सेठ लम्बोदर मल, छाता काँधाँ हालेर चाकरीमा दिन विताउने छत्रवहादुर वा जति लुटे पनि बाह्र हातका टाँगाले नछुने चौतरियाको ज्वाइँ वा भारदार भीमबहादुरको भाइ भाइराजालाई सोधे हुन्छ ।

म गणेशबाजेको एउटा कुराको प्रशंसा गर्दछु । त्यो हो उनको देशभक्ति । उनलाई अचेलका मन्त्रीहरूलाई जस्तो न पेट्रोल चाहियोस् न पजेरोप्राडो । झन् राजाको त कुरै छाडौँ । बुलेटप्रुफ कारको मोल सुन्नु भो भने तपाईंको चेतले तीन चित खान्छ । ठ्याक्कै त म पनि भन्न सक्दिनँ, तर त्यसबाट लाखौँ नेपालीलाई एक बर्खसम्म सजिलै शिक्षा दिन सकिन्छ भनेर हिसाबको फाँटवारी दिन मलाई आइतबार बार्नु पर्दैन । यसो घोत्लिएर हेर्नु भो भने तपाईले गणेशबाजेको सुझबुझको अवश्य सह्रनी गर्नु हुने छ । गणेश शैलीबाट न विदेशी मुद्राको अपव्यय हुन्छ, न महँगो पेट्रोल र प्रदूषणकै समस्या जन्मन्छ । मुसाको डाडाल्नामा भ्यात्त चढ्यो अनि थैले भुँडी हल्लाउँदै ‘ट्’लाई कान्नानी ‘प्’लाई हलन्त दियो क्या काइदा ! फेरि, मुसाका दाँतका मुखेन्जि विद्युतीय धराप पनि छेरबाखी ! भूमिगत दुले मार्गलाई नै सवारी रोडम्याप बनाएपछि न ट्राफिक जामको समस्या न ब्रेकले सिलटिम्बुर खाएर त्रिशुलीको बगरतिर जिब्रो टोक्ने समस्या ।

छाँटले गणेशबाजेका पालामा मुसाहरू पनि जक्खुजक्खु हुँदा हुन्, नत्र लम्बोदर अर्थात् लामभूँडे गणेशलाई तिनले कारले जस्तो हुँइक्याउन सक्ने थिएनन् । अचेलका जस्ता खिनौटे मुसा भइदिएका भए आन्द्रा निस्कन्थे मुखबाट, एउटा भूँडे मन्त्री डाडाल्नामा भ्यात्त चढ्नासाथ । त्यसमा पनि लिलिपुट जातको डुहुरे फेला परे कि त्यो सिधै परमधाम जान्थ्यो, कि त्यसले भूँडे मन्त्रीकै नाइटामा गुँड लाएर ज्यान बचाउँथ्यो । हेर्दा मात्रै नपत्याउँदो छ डुहुरे बज्ज्या । झन्डै झन्डै ढाडेकै हाराहारीका लाम्भुत्ले भीमकाय मुसाभन्दा पनि बढी छट्टु र हराम छ त्यो । एक अङ्गुलको ज्यान बनाएर हनुमानले रावणको दरबारको कोठाकोठा चाहारेका थिए रे । मेरीबास्सै । यसले पनि केही राख्दैन । सानो प्वाल फेला पर्‍यो कि यो सुलुत्त पसिहाल्छ । यसले धोइधाइ गरी चिटिक्क पारेर थन्क्याएको लुगामा जुक्तिबुद्धि लाएर गुँड बनाउन भ्याइसक्छ । त्यति मात्र कहाँ हो र । त्यसमा सिलिङविलिङ गर्दै नाकले खोतल्ने चिचिभूँडीहरूलाई फाँचा चुसाइरहेकी हुन्छे, बुढी माउ मुसी । बिज्याँई पनि कतिविदि गर्न सकेको होला ? दाल, चामल, फापर, गुन्द्रुक कहाँ पो छैनन् यिनका विखालु लिँडहरू ? यिनले गरेको नोक्सानी गनी साध्यै छैन । एक रातमा एउटा परिवारको यतिको नोक्सान यिनले गर्दछन् भने एक वर्खमा देशभरि कति नोक्सान गर्दा हुन् ? यति हुँदाहुँदै पनि हामी यस छुद्र जनावरलाई दुष्ट मान्न तयार छैनौँ । मुसो हाम्रो आदरणीय पात्र हो, धर्मले यसै भन्छ । चोरलाई चौतारो बनाइदिएर बुद्धिको डिङ हाँक्न पछि नपर्ने हामीहरू ।

आदरणीय मुसाहरूलाई भोजन गराउनकै लागि हामीले ललितपुर क्वाबहालमा हिरण्यवर्ण महाविहार अर्थात विराट् स्वर्ण विहार बनाइदिएका छौँ । हिराजस्ता टल्कने आँखा र सुनजस्तो शरीर भएका सयौँ मुसाहरूलाई द-दश ठाउँमा चामल राखिदिने परम्परा हामीले जिउँदै राखेका छौँ र यसमा गौरवबोध समेत गर्दछौँ । हप्तादिनसम्म एक गेडो अन्न मुखमा नपरेपछि तीन वर्खकी नाबालक छोरीलाई समेत मर्ने गरी विष ख्वाएर आत्महत्या गर्ने महोत्तरीकी गर्भवती महिलाप्रति हामी आकर्षित हुँदैनौँ । हामीलाई स्वर्ण विहारका हिराआँखे धातुका मुसाले चामल नपाउँदाको पीरले जति छोयो त्यति त्यस महिलाको विभत्स आत्महत्याले छोएन । पुजारी भन्छन्- ‘मुसालाई चामल दिन बिर्सिए मलाई सन्चो हुँदैन ।’ राजा भाष्कर वर्माको पालो अर्थात् दुई हजार बर्खभन्दा बढी समय अघिदेखि हामी मुसाको पूजा गरिरहेका छौँ। पौराणिक समय पनि गन्ने हो भने त हामी कति हो कति समयदेखि मुसाका पूजक हौँ । हामीले मान्छेलाई पुज्थ्यौँ भने मानव जातिकै इतिहासको एउटा विभत्स यस आत्महत्याप्रति अवश्य संवेदनशील बन्थ्यौँ । हामीलाई हीनताबोध भयो त यसमा ? समाचार पढिसकेपछि एकछिन टक्क मुटु रोकिएजस्तो लाग्यो त ? हामीले सोच्यौ- ‘मरी भने त्यही मरी, यसले के फरक पार्छ र मलाई ? मैले सात पुस्तालाई जोहो गरेको छु ढुक्क छु ।’

खानका लागि मुसो जतिको हन्तकाले छ, त्यतिकै विलासी र व्यभिचारी पनि छ । स्वास्नीमाथि स्वास्नी थुपार्नेहरूलाई मुसासँग दाँज्ने चलन हाम्रो समाजमा छ । मुसे नैतिकताको तुलो बोल्छ- मर्दका दशवटी हुन्छन् । भाले मुसाबाट नै मानिसले यो महान् भागवत् दर्शन ग्रहण गरेको हुनुपर्छ किनभने हाम्रो आराध्यदेव भनेको मुसै हो । निश्चित रूपले यी आदर्श पुरुष र आदर्श स्त्रीहरूको समाज हुँदैन, बथान हुन्छ । अति भोजन, बहुस्त्रीगमन र चौबीस घण्टे सम्भोग त्यस बथानका आदर्श हुन् । जुङ्गाका रेखी राम्ररी नबसी कलमका सट्टा भियाग्रा खल्तीमा हालेर क्याबिन तथा डान्स रेस्टुरामा दौडिन पछि नपर्ने पुगीसरी आएका बाबुका मर्द तन्नेरी छोराहरू पनि मुसाकै वर्गभित्र पर्दछन् । कारण, मुसाहरू पनि खुब खान्छन्, उफ्रिन्छन्, नाच्छन्, चिँचिँचुँचूँ गर्दै सम्भोग गर्छन्, थाङ्नाथुनीमा चिचीभुँडीहरू झार्छन् र टोकाटोक गर्छन् । फरक कति मात्र हो भने मुसासँग भियाग्राका चक्कीहरू छैनन् । बरू, मेरा कुरा खानु हुन्छ भने त्यस्ता चक्कीहरू जथाभावी असरल्ल नछोड्नु होला । मुसाले खाइदियो भने परेन पसाद ! भियाग्रा नखाँदा त त्यो हालत छ बज्जे- बजिनीको, खुलुक्क निले भने थामिसक्नु होलान् ति ? आ, एउटा उपाय छ- चक्की चपाउने स्वाँठलाई नै भुटभाट गरेर चपाइदिनोस् । तपाईंको पालो भियाग्रा र मुसाको सितन ककटेल भएपछि, हेर्नुहोला त्यसको चमत्कार ।

मुसाको हुलमा सारीवाद होइन, दारीवाद छ रे ! जुन भालेका जति धेरै दारीजुङ्गा हुन्छन्, त्यो लाठे त्यतिकै धेरै मुसीहरुको पतिदेव बन्छ रे । यसले गर्दा एउटा भाले मुसो दशौँ हजार पनाति, खनाति र जनातिहरूको जिजुबा बन्छ । को कसको हो भनेर बुढी माउले पनि छुट्याउन सक्दिन र त्यहाँ छुट्याउनु र खुट्याउनु पनि पर्दैन । परि नै हाले डी.एन.ए. परीक्षण गरे भइहाल्यो नि । हाम्रा आराध्यदेवहरूलाई हाडनाता कसुर लाग्दैन, जसरी माथवरसिंह थापालाई भाउजूलाई दुई जिउकी बनाउँदा लागेन । उनको छवि स्वच्छका स्वच्छ । अर्थात् दरबारले चाह्यो उनको चरित्र स्वच्छ रह्यो, चाहेन उनी मारिए । बहादुर शाह भ्रष्टाचारी ठहरिए, रणबहादुर शाह चाहिँ स्वामी महाराज निर्गुणानन्द अति पवित्र । सयौँ निर्दोष व्यक्तिलाई एकै चिहान पार्नेहरू चाहिँ राष्ट्रिय विभूति ! जङ्गेको त के कुरा, उसले बोलेपछि बोल्यो बोल्यो । यसकारण ‘यसको छवि स्वच्छ छ’ भनेर जसलाई तपाई अघि सार्नु हुन्छ, ऊ त्यसलाई थुः थुः गर्छ । जसको इतिहासमा दुर्गन्धले पोतिएको अनुहार छ, ऊ त्यसलाई विदेशी साबुनले धुन्छ र त्यसको उल्टी आउने दुर्गन्धे काखीमा सेन्ट छर्छ ।

सोख पनि कस्तो असत्ती छुसीको, मेरै भोजनकुर्सीमा उपखुट्टी लाएर घिच्नु पर्ने । कुर्सी पुस्ता पुस्दा म त थाकिसकेँ । कुर्सीमाथि कहिले माछाका काँडा हुन्छन् त कहिले आलुटमाटर । कहिले भटवाँसका बोक्रा असरल्ल छरिएका हुन्छन् त कहिले चिथोरिएका गाजरका टुक्रा र धनियाका पातहरू । छाँटले यो मुसो, नेता मुसो हुनु पर्छ, नेतासेता नभए पनि दरबारिया चौतरिया भारदार वा यस्तै अभिजातवर्गको नातेदार हुनुपर्छ । नत्र जाबो मुसामा यतिविधि कुर्सी मोह किन ? सायद, भुइमा खाँदा र कुर्सीमा बसेर खाँदा भोजनको स्वादमा फरक पर्छ । आखिर बानी न हो । कुर्सीमा उपखुट्टी लाएर खाने बानी परेकालाई खाते तालले भुइमा खाँदा के स्वाद होस् । त्यसकारणले नै कुर्सीबहादुरहरूले सनातनी प्रार्थना गरेका होलान्,

कुर्सी नै माता च पिता कुर्सी नै
कुर्सी नै बन्धुश्च सखा कुर्सी नै
कुर्सी नै विद्या द्रविणम् कुर्सी नै
कुर्सी नै सर्वम् मम देवः देवः ।

गणेशबाजेको बाहन मुसो, मुसेबाजेको आसन कुर्सी । कुर्सी बुढेसकालको घिडघिडो । पालकीमा बोकिएर हिँड्नेले पनि कुर्सी देखेपछि मुख मिठ्याउँछ अनि सिमसिम परेको पानी छेल्न छाता उघार्दै घाटतिर हेर्छ ।

अधबैंसे कुर्सीबहादुर र मुसामा केवल एउटै कुराको फरक छ । कुर्सीमाथि जतिसुकै उफ्रेर नाचे पनि मान्छेको जातले त्यसमै यौनक्रीडा भ्याइसकेको चाहिँ श्री पस्पतिनाथका कृपाले आजसम्म सुनिएको छैन । यद्यपि, यो एउटा कृपाको कुरा मात्रै हे, यसले थेग्ला-नथेग्ला आगे उनै जानून् । रह्यो फ्लाइङ्ग किसको कुरा, जो उसिनेको सकरखण्ड खानु जत्तिको पनि होइन । मेरा कुर्सीमा उफ्रेर बज्जे बजिनीले कति खाए-खाए सकरखण्ड । रातभरि भान्सा कोठामा उत्तरआधुनिक भनिने अश्लील पपगीत गुन्जिइरहन्छ । वास्तवमा, मेरो भोजनकुर्सीमा ‘कुछकुछ’ मात्र होइन ‘सब कुछ’ हुन्छ । असत्तीहरू भान्सा कोठामा नपसिदिए कति मीठो सपनामा डुब्थेँ होला । तर, भाग्यमै यस्तो लेखिदिएपछि कसको के लाग्छ ? रातभरि डिनर, रातभरि डान्स, रातभरि म्युजिक र मसाज, के के हो के के असत्ती बज्जे बजिनीको । भन्न पनि सरम लाग्छ ।

कति दुःख गरेर मैले त्यो कुर्सी पाएको हुँ, छुसी मुसालाई के थाहा ? मामाको घोडी मेरो हिहि । दाँत ङिच्च्याउँदै नेपाल टेलिभिजनको भाकामा यसमाथि बसेर दोहोरी गीत गाउँदै छ बेसर्मी । कता कता भित्री मनमा मलाई डर लागिरहेछ कतै यसले मलाई नै ‘असक्षम’ भनेर घोक्रेठ्याक लाउने त होइन ? अर्को मनले आश्वस्त पार्छ – ‘ए । त्यसो गर्‍यो भने एक सुत्रे माग लिएर म जुलुसमा निस्कन्न र ? मेरो पालो मुट्ठी बटारेर भन्ने छु मलाई मेरो कुर्सीमा बहाली गर । डुहुरे टिकेलाई बर्खास्त गर । डुहुरे चोर देश छोड्, मेरो कुर्सी सहीसलामत पाऊँ ।

सधैँझै आज बिहान पनि भान्साकोठाबाट ढोका उघार्नासाथ एउटा डुहुरे चिंचि गर्दै फुत्त बाहिर निस्कियो । उसलाई देख्दा मलाई दर्शनभेटपछि दरबारको पश्चिम ढोकाबाट हाँस्दै निस्केको कुनै चम्मु नेताको सम्झना आयो । मानौ, ऊ प्रशन्न मुद्रामा सञ्चारकर्मीहरूलाई भनिरहेछ- ‘सरकारबाट मलाई प्रधानमन्त्री पद निगाह बक्स हुने कुरा त सङ्केत गरिबक्सेन, तर सबैले सहयोग गर्ने भए र मुख्य कुरा त मौसुफबाट अवसर बक्स भए जिम्मेवारी समाल्न म योग्य छु ।’ कुर्सीमा डुहुरेको बहाली पक्कापक्की भयो । सम्माननीय श्री डुहुरे मूषिकज्यूलाई मेरो पेस्की बधाईं !’

०००
‘तेस्रो आँखा’ (२०६१)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसे ल
युगल बसे ल
1 year ago

यो पो त लेखाई ! स्वर्गमा पुगेपछि पनि सलाम खान लायकको सृजना

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x