अनिता काेइरालातोला तोलामा मान्छे
उसले धरती मात्र बेचेन— आफ्नो विवेक बेच्यो, आफ्नो आत्मा बेच्यो, आफ्नो भविष्य बेच्यो। अन्ततः आफैँलाई बेच्दै गयो तोला–तोलामा ।

अनिता कोइराला :
हातैमा चम्किएको
अमूल्य उज्यालोबाट
विच्छेदित भएपछि
उज्यालोकै स्पृहामा
अनन्तकालदेखि
भौँतारिएको छ चेतना।
समयको चक्रमा
सचेतनाको मन्त्र जप्दै,
संयमको पाठ दोहोर्याउँदै,
कल्पिएको थियो
मानव जन्म।
सूक्ष्म शून्यको परिधिभित्र
आकारविहीन,
वाणीविहीन,
गन्तव्यविहीन
अदृश्य चेतनाले
पश्चातापको अथाह समुद्र बोकेर,
प्रार्थनाको अञ्जुली बाँध्दै
आकाश,
अग्नि,
जल,
वायु
र पृथ्वीको
मस्तकमा विश्वासको हात राखी
वाचा गरेको थियो—
“अब मबाट
गल्ती दोहोरिने छैन।
थाहा छ,
म तिम्रो आँगनको
क्षणिक पाहुना मात्र हुँ।
तिम्रो अस्तित्वमाथि
कदापि घात गर्ने छैन।
अज्ञानको अन्धकारमा
अमूल्य समय
व्यर्थ खेर फाल्ने छैन।
भगवान् बन्नु छैन मलाई,
मान्छे भएरै
बाँच्न सिक्नेछु।
यो नश्वर देहले
स्वर्ग बनाउन नसके पनि
हरियालीको सपनाले
धरती सजाउनेछु।”
तर
विडम्बना !
उसले
धरती मात्र बेचेन—
आफ्नो विवेक बेच्यो,
आफ्नो आत्मा बेच्यो,
आफ्नो भविष्य बेच्यो।
अन्ततः
आफैँलाई बेच्दै गयो
तोला–तोलामा ।
०००
चन्दागिरि-५, काठमाडौ
Subscribe
Login
0 Comments
Oldest







































