साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रा. तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८२ प्रदान

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले प्राध्यापक तुलाधरलाई रु एक लाख नगदसहितको पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

Nepal Telecom ad

पाटन (ललितपुर) । समालोचक तथा प्राध्यापक प्रेमशान्ति तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८२ प्रदान गरिएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले प्राध्यापक तुलाधरलाई रु एक लाख नगदसहितको पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष थापाले मातृभाषामा योगदान गर्ने व्यक्तित्वको सम्मानले भाषाको सम्मान हुने बताउनुभयो । “हालसम्म धेरै गरिमा बोकेका व्यक्तिहरूले यो पुरस्कार प्राप्त गरेका छन्, यो राम्रो पक्ष हो । मातृभाषालाई माया गर्नेलाई सम्मान गरेर देशको भाषिक विविधतालाई कायम राख्न हामी सबै क्रियाशील हुनुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष थापाले सबै जातीय संस्थाहरूले गर्ने मातृभाषाका सम्मान तथा पुरस्कार कार्यक्रमलाई मातृभाषामा नै सञ्चालन गर्ने अवस्था मिलाउन आग्रह गर्नुभयो ।

आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामाले मातृभाषा संरक्षण र संवर्द्धनका लागि यस्तो सम्मान महत्त्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले भाषिक र जातीय विविधतालाई सम्मान गर्दै यसको मौलिकता र अस्तित्वलाई ध्यान दिएर काम गर्न राज्यले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका पूर्वउपाध्यक्ष एवम् पुरस्कार छनोट समितिका संयोजक जितपाल किरातले तुलाधरले कायम गर्नुभएको प्रतिष्ठा र योगदानको मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले युनेस्कोको अध्ययनअनुसार नेपालमा बोलिने एक सय २४ भाषामध्ये ६० वटा जति भाषा लोपोन्मुखको सूचीमा रहेको उल्लेख गर्दै भाषा, संस्कृति र सभ्यतालाई जीवन्त राख्न योगदान गर्नेहरूको सम्मान गरिनुपर्ने धारणा राख्नुभयो ।

पुरस्कृत व्यक्तित्व प्राध्यापक तुलाधरले यस सम्मानले आफू मात्र नभई नेपाल भाषा र सबै मातृभाषालाई सम्मान गरिएको महसुस गरेको बताउनुभयो । उहाँले पुरस्कारले मातृभाषाको संरक्षण र संवर्द्धनमा थप जिम्मेवारी र दायित्व बढेको बताउनुभयो ।

पुरस्कृत व्यक्तित्व प्राध्यापक तुलाधर नेपालभाषा भाषा, साहित्य, समालोचना तथा सांस्कृतिक अध्ययनका प्रतिष्ठित अध्येता तथा अवकाश प्राप्त प्राध्यापक हुनुहुन्छ । विसं २००८ मा काठमाडौँको भोटाहिटीमा जन्मिनुभएका उहाँ हाल कपुरधारामा बसोबास गर्दै आउनुभएको छ । उहाँको पहिलो रचना ‘जीवन व सङ्घर्ष’ नेपाल संवत् १०८८ मा ‘सितु’ पत्रिकामा प्रकाशित भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका तुलाधरले पद्मकन्या क्याम्पसमा ३५ वर्ष र नेपालभाषा केन्द्रीय विभागमा पाँच वर्ष प्राध्यापन गर्नुभएको त्यस अवसरमा जानकारी दिइयो । उहाँले ‘पलेस्वां पुचः’ गठन गरी नेपालभाषा साहित्यिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

प्राध्यापक तुलाधरको ‘नेपालभाषा साहित्यया इतिहास’ नेपालभाषा साहित्यको इतिहाससम्बन्धी पहिलो पुस्तक मानिन्छ, जुन हाल विश्वविद्यालय तहमा पाठ्यपुस्तकका रूपमा अध्ययन गराइन्छ । उहाँले एक दर्जनभन्दा बढी पुस्तक लेख्नाका साथै थुप्रै पुस्तक सम्पादन गर्नुभएको छ ।

नेपाल तथा विदेशमा आयोजित विभिन्न प्राज्ञिक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नुभएका उहाँ नेपालभाषा एकेडेमीको ‘नेवाः सांस्कृतिक ज्ञानकोश’ का संयोजकसमेत रहनुभएको थियो । नेपालभाषा साहित्य र शिक्षामा योगदान पु¥याएबापत उहाँले श्रेष्ठ सिरपा, वैकुण्ठ लाकौल सिरपा, गिरिधरलाल नेपालभाषा सिरपालगायत विभिन्न सम्मान प्राप्त गरिसक्नुभएको छ ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख रामकुमार मादेनले हरेक वर्ष फेब्रुअरी ९ तारिकका दिन मातृभाषा दिवसका अवसरमा प्रदान गरिँदै आएको जानकारी दिनुभयो । – रासस

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x