नन्दलाल आचार्यछलकपट
उनले सुशान्तको आँखामा हेर्दै विस्तारै भनिन्, "मैले त जिस्केको मात्रै, तिमी त साँच्चै डरायौ ?"

नन्दलाल आचार्य :
सुनसान रातको निस्तब्धता चिर्दै फोनको घण्टी बज्यो । सुशान्तले कामुक हातले फोन उठाए । अपरिचित नम्बरबाट एउटा तस्बिर आयो- उनकै श्रीमती अर्कै पुरुषको हात समातेर कफी शपमा हाँसिरहेकी । उनको सातो गयो । मुटुको धड्कन यसरी बढ्यो कि मानौँ छाती नै फुटेर निस्कन्छ ।
उनले तुरुन्तै कपडा लगाए, गाडीको साँचो समाते र त्यो कफी शपतिर हुँइर्किए । दिमागमा बदलाको आगो बलिरहेको थियो । “कसरी उनले मलाई यत्रो धोका दिन सकिन् ?” क्रोधले विवेक अन्धो भएको थियो । उनले बाटोभरि डिभोर्स र प्रतिशोधका शब्दहरू बुने ।
उनी कफी शपको ढोकामा पुगेर भित्र झम्टिए । तर त्यहाँ न श्रीमती थिइन्, न त त्यो पुरुष । काउन्टरमा एउटा सानो कार्ड राखिएको थियो, जसमा उनकै श्रीमतीको अक्षरमा लेखिएको थियो- “एआईको विध्वंस बिर्सेर वर्षगाँठको सरप्राइज लिन घर आउनुहोस् है !”
उनको आक्रोश हठात् लज्जा र प्रेममा बदलियो । उनी मुस्कुराउँदै घर फर्किए । ढोका खोल्दा श्रीमती फूलको गुच्छा लिएर उभिएकी थिइन् । उनले सुशान्तको आँखामा हेर्दै विस्तारै भनिन्, “मैले त जिस्केको मात्रै, तिमी त साँच्चै डरायौ ?”
सुशान्तले श्रीमतीलाई अङ्गालो हाल्दै मनमनै गुने- ”प्रेममा परेकाहरूका लागि त वर्षको ३६५ दिन नै अप्रिल फूल हो, जहाँ मुटुले दिमागलाई सधैँ झुक्याइरहेको हुन्छ ।”
०००
२०८२ चैत १८ गते । अप्रिल १
गाेलबजार
Subscribe
Login
0 Comments
Oldest








































