साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धावस्था र बाँच्ने तौरतरिका

विद्यमान परिस्थितिसँग सम्झौता गरेर आफूलाई उभ्याउन र अगाडि बढाउन सक्यो भने त्यो नै ज्येष्ठ वयका जो कसैका लागि कल्याणकारी कदम हुनसक्छ । त्यो परिस्थिति आफैँले सिर्जना गर्ने हो, अरुले होइन ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

चिन्ता, पिर, व्यथा, सुर्ता, मानसिक सन्ताप, ताप, तनाव, पीडा, फिक्री, शोक, दिक्दारी, पश्चाताप, जलन यी सबै एउटै बाबुआमाका सन्तान हुन् । यी सबैको काम जीवनलाई अधोगतितिर धकेल्नु हो । यिनले कसैलाई पनि माथि उठ्न दिँदैनन् । जसरी खोलो, खोल्सो, नदीजस्ता पानीजन्य स्रोत तलतिर मात्र बग्दछन्, त्यसरी नै यिनले मानिसको जीवनलाई पनि तलतिर मात्र धकेल्छन् । क्षयीकरणतिर मात्र लैजान्छन् । माथि उठ्न दिँदैनन् । त्यसैले यी चिजवस्तु मानिसले सङ्गत गर्ने विषय होइनन् । यिनलाई सकेसम्म आफ्ना नजिकमा आउन नदिनु जो कोही मानिसका लागि हितकर मात्र होइन अपरिहार्य छ ।

मानिसको उमेर ढल्कँदै गएपछि वा उसमा अशक्तताको मात्रा बढ्दै गएपछि यी चिजवस्तुले उसलाई एकपछि अर्को गरी धमाधम आक्रमण गर्न थाल्छन् । गौँडागौँडामा यिनको आक्रमणको केन्द्र खडा हुन्छ । ठाउँठाउँमा यिनले मानिसलाई फसाउन मानसिक एम्बुस थाप्छन् । यिनको आक्रमणमा न कुनै हातहतियार हुन्छ न कुनै लाठी वा भाला । बिनाहातहतियार भूमिगत रहेर मानिसलाई हरहमेशा पिरोल्नु र चिन्तित बनाउनु यिनको विशेषता र धर्म हो । यस्तो आक्रमणबाट आफूलाई जसले बचाउन सक्छ उसको सधैँ जय हुन्छ, जो बच्न सक्तैन वा त्यसबाट आफूलाई बचाउन सक्तैन उसको सधैँ क्षय हुन्छ । यसर्थ जय चाहने कि क्षय चाहने त्यो मानिसका सोचमा भर पर्छ । यिनको सङ्गतले जय चाहँदा चाहँदै पनि जो कोही मानिस आफूलाई क्षयमार्गमा दौडाइरहेका हुन्छन् । चिन्ताको भुमरीमा आफूलाई पौडाइरहेका हुन्छन् । यस्तो अवस्थामा यसबाट बच्न अरु हितैषीले दिएका हितकारी वचन पनि यिनलाई पाच्य हुँदैन । फलतः उनीहरू यसैमा रुमलिइरहन्छन् र आफूलाई सकसपूर्ण अवस्थामा पुर्‍याइरहन्छन् । समाजका हर कुनाकाप्चामा नियाल्ने हो भने अधिकांश क्षेत्रमा यस्ता घटना नाङ्गा आँखाले अनुभूत गर्न सकिन्छ, यसका लागि कुनै सहयोगी यन्त्रको आवश्यकता पर्दैन ।

पछिल्लो समय नेपाली समाज परहितकारी भन्दा स्वहितकारी मार्गमा अघि बढ्दै छ । यस्तो अवस्था भनेको व्यक्ति वा परिवारवाद उसको रोजाइ वा प्राथमिकतामा पर्नु हो । यस्तो सोचले दिन प्रतिदिन समाजमा जरो गाड्दै छ । व्यापकता छाउँदै छ । व्यक्ति, परिवार, समाज र राष्ट्र यी सबैमा यसको प्रवेश छ । यी कुरा व्यक्तिको चाहना नहुँदा नहुँदै पनि यसैमा समर्पित हुने संस्कृतिको विकास हुँदै छ । उदाहरणका लागि यतिखेर जो कोही व्यक्ति यतिखेर रोजगारी वा पैसाको खोजीमा विदेसिने क्रम बढिरहेको छ । अध्ययनका लागि मुलुक छोड्ने प्रवृत्ति बढिरहेको छ । चिनेजानेका मानिसका आँखा पछाडि पुगेपछि जस्तोसुकै पनि काम गर्न तत्पर हुने कलिला वा पाका पाखुरा स्वदेशमा रहँदाबस्दा भने अर्काका कुरा काट्न र अल्छ्याइँमै रमाउन चाहन्छन् । अल्छ्याइँ वा काम विहीनताको यस्तो स्थितिले कुनै पनि पक्षमा सकारात्मकता पैदा हुँदैन । फलतः व्यक्ति स्वयं, परिवार र समाज नै अधोगतितिर धकेलिन पुग्छ । सन्तोष सुख यस्ता व्यक्तिहरूबाट टाढा हुन थाल्छ । यसले व्यक्ति स्वयंलाई मात्र नभएर उसका छोरा, छोरी, बाबु, आमा, श्रीमती, लोग्ने जो कसैलाई पनि चिन्ताको भुमरीमा पुर्‍याउँछ । फलतः माथि उल्लेख गरिएका चिन्ता, पिर, व्यथा, सुर्ता, मानसिक सन्ताप, ताप, तनाव, पीडा, फिक्री, शोक, दिक्दारी, पश्चाताप, जलनजस्ता एकै बाबुआमाका सन्तान उनीहरूका साथी हुन आइपुग्छन् । यिनीहरूसँगको निकटतापछि जो कसैको यात्रा अन्धकारोन्मुख हुनथाल्छ ।

यस आलेखमा अरूको भन्दा पनि समाजमा रहेका वृद्धावस्थाका मानिसको दिनचर्याका विषयमा साङ्केतिक रूपमै भए पनि तिनको दैनिकी खोतल्ने र विश्लेषण गर्ने अभीष्ट राखिएकाले अन्यत्रतिर बग्नुभन्दा पनि कुरो त्यतैतिर मोडौँ । अहिलेको समाज विभाजनपे्रमी छ । स्वदेशमै रहेको अवस्थामा पनि विविध कारणले छोराछोरी बाबुआमासँग टाढिने, बाबुआमा अशक्तता र आश्रयका हिसाबले उनीहरूसँग नजिकिन खोज्ने तर परिस्थिति प्रतिकूल भइदिने । रोजगारी वा अध्ययनका सिलसिलामा छोरा, छोरी, बुहारी, नातिनातिना वा आफूले आश्रयको आशा गरेका नजिकका आफन्त विदेसिएका हकमा व्यक्त वा अव्यक्त रूपमा परिस्थिति आफूले सोचेजस्तो नहुने । आफूले सोचेजस्तो अवस्था सिर्जना गरी तिनलाई आफ्नै वरिपरि सीमित गर्दा पनि तिनको भविष्य बिग्रने । यी यावत् कुराले मानिसलाई कुनै न कुनै रूपमा चिन्ताको भुमरीमा धकेलिरहेको हुन्छ ।

पछिल्लो समय बाटाघाटामा भेटिएका वृद्धवृद्धा जो कोहीसँग एकछिन उभिएर बात मार्दै जानुस् र तिनलाई सोध्नुस्- घरमा को को हुनुहुन्छ ? यस जिज्ञासामा अधिकांशको भनाइ हुन्छ- को हुनु ? हामी बुढाबुढी मात्रै हौँ । छोराछोरी बाहिर छन् । कहिलेकाहीँ फोनमा कुरा हुन्छ । स्वर सुन्न पाइन्छ । त्यत्ति हो । यहाँको सबै व्यवहार हामै्र काँधमा छ । कतिपय अवस्थामा बुढाबुढीको यो भनाइ अलिक असहज, अलिक कष्टपूर्ण, अलिक पीडादायीजस्तो देखिए पनि तुलनात्मक रूपमा यो उनीहरूको सुखद अवस्था मान्नुपर्ने स्थिति पनि यहाँ रहन्छ । यसलाई सुखद मान्नुपर्छ । किनकि, बाटाघाटामा भेटिएका कतिपय वृद्ध/वृद्धा भनिरहेका हुन्छन्- को हुनु नि ? म एक्लै छु । बुढाले छोडेर गइहाले । बुढीले छोडेर गइहाली । एउटी भएकी छोरी पनि आफ्नो भइन । एउटा भएको छोरो पनि घर व्यवहारले विदेसिएको छ वा अलग भएर बसेको छ । म एक्लै छु । जो कसैको यस किसिमको पारिवारिक संरचनाले मानिस आफूले भनेजस्तो, सोचेजस्तो आफूलाई पाउँदैन र दुखित हुनथाल्छ । यिनै कुरा मनमा खेलाउँदा खेलाउँदै ऊ चिन्ताको भुमरीमा छटपटाउन थाल्छ । पीडाले पिरोलिन थाल्छ । यहीँबाट सुरु हुन थाल्छ उसको क्षयीकरणोन्मुख अप्रिय जीवन यात्रा । यो भयो पारिवारिक संरचना वा पारिवारिक तालमेल नमिल्दाको अवस्थाबाट सिर्जना हुने चिन्ताको डुबुल्की ।

मानिस स्वभावैले बढी महत्वाकाङ्क्षी हुन्छ । कसैमा यो स्थिति सगरमाथा बराबर होला कसैमा पहाड मात्र । फरक त्यत्ति हो । यसरी पलाएको महत्वाकाङ्क्षा सबै पूरा हुँदैनन् । त्यो सम्भव पनि छैन । मनमा पालेका वा उब्जिएका महत्वाकाङ्क्षा पूरा नभएपछि ऊ त्यसैमा घोत्लिन थाल्छ । त्यसैमा रुमलिन थाल्छ । फलतः उसको दुःखको यात्रा यहीँबाट सुरु हुन्छ । आफ्नो सक्रिय जीवनमा मान, मर्यादा वा कमाइधमाइका हिसाबले जुन किसिमको प्राप्ति भइरहेको हुन्छ त्यसैमा ऊ घोत्लिन थाल्यो र अहिलेको परिस्थितिसँग तुलना गर्न थाल्यो भने त्यसभन्दा बढी भुल उसको अरू केही हुँदैन । जीवनको उत्तराद्धक्ष जीवनलाई खाडलमा पुर्‍याउन यही नै पर्याप्त हुन्छ ।

कोही आफ्नो विगतको बानी बेहोराका कारण चिन्ताको भुमरीमा पुगेका हुन्छन् । आधारभूत आवश्यकताभन्दा माथि उक्लेर जसले अनावश्यक आवश्यकतामा विगतमा आफूलाई डुबायो वा भोगायो, त्यस्ता व्यक्ति पनि वृद्धावस्थामा पुगेपछि अनेकौँ रोग र कष्ट कमाएर आफूलाई चिन्ताको चुलीमा नचाइरहेका हुन्छन् । उः बेलामा यस्तो गरियो उस्तो गरियो, यस्तो खाइयो उस्तो खाइयो, यहाँ गइयो त्यहाँ गइयोजस्ता कुराले तिनलाई हरहमेशा पिरोलिरहेको हुन्छ । भन्न त मानिसहरू मान्छेलाई हतारमा बिहे हुन्छ फुर्सदमा पछुताउँछ भन्छन् । यथार्थमा कुरो त्यसो नभएर मानिस आफ्नो विगतको खानपान र यस्तै कुलतले वृद्धावस्थामा पछुताउन पुग्छ । विगतमा छाडा बनेर गरिएका यस्ता क्रियाकलापले अहिले चिकित्सकीय निगरानी र पारिवारिक हैकम बिनाशर्त स्वीकार्नुपर्ने अवस्थामा पुगेका यस्ता व्यक्तिको मानसिक अवस्था कस्तो होला जो कसैले सहजै अनुमान गर्न सक्छ ।

फेरि अर्को एउटा- पारिवारिक कुरा । सन्तानका कुरा । आशाका कुरा । आश्रयका कुरा । आय र खर्चका कुरा । उनीहरूसँगको निकटता र दूरताका कुरा । सुख सयलका कुरा । यो पनि तुलनायोग्य छ । पारिवारिक विचलन वा चिन्ताको स्थितिमा पुगेका व्यक्तिले यसलाई पछाडि फर्केर पनि केलाउनुपर्छ । आफू हरहिसाबले सक्रिय रहेका अवस्थामा बुढ्यौली वयका बाबुआमा, सासूससुरा वा अन्य जो कोहीलाई मैले के गर्न सकेँ ? आम्दानीको कति हिस्सा तिनका पालनपोषण र स्याहारसुसारमा खर्चिन सकेँ ? तिनको शारीरिक वा मानसिक सन्तुष्टिका लागि के कसरी कस्तो सहयोग पुर्‍याउन सकेँ ? उनीहरूलाई सन्तुष्टिमा राख्न सकेँ वा सकिनँ ? उनले भनेका र चाहना राखेका घर व्यवहारका कुरा कति पूरा गरिदिन सकेँ वा सकिनँ ? हिजोको आर्थिक हैसियत र आजको हैसियतमा के भिन्नता छ ? हिजो र आजको सामाजिक परिवेशमा के कस्तो भिन्नता छ ? समाज कसरी अगाडि बढिरहेको छ । यी यावत कुरा तुलना गरिसकेपछि मानिस स्वतः सन्तुष्टिको शिखरमा उक्लिन्छ । मानसिक सन्तापबाट मुक्त हुनथाल्छ ।

यी कुरा गन्थन मात्र होइनन्, जो कसैका लागि सकारात्मकतातिर लैजाने साझा सुझाव हुन् । जो यस्ता समस्याबाट गुज्रिरहेका छन् तिनका लागि शीतलता प्रदान गर्ने गुटी हुन् । मन बुझाउने सूत्र हुन् । समस्या वा कठिनाइ स्वाभाविक रूपमा व्यक्तिपिच्छे फरक पर्छ । त्यसलाई आफैँले मनन गर्ने हो । परिस्थितिसँग तालमेल गराउने वा बुझ्ने/बुझाउने हो । यसमा गरिएको वर्णन वा गन्थन त जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँडजस्तै मात्र हो । सार कुरा के हो भने कुनै पनि वृद्धावस्थाका मानिसले आफ्नो सक्रिय अवस्थाको विगतका कुरामा चिन्ता गरेर वर्तमानलाई कदापि धुमिल्याउनु हुन्न । विद्यमान परिस्थितिसँग सम्झौता गरेर आफूलाई उभ्याउन र अगाडि बढाउन सक्यो भने त्यो नै ज्येष्ठ वयका जो कसैका लागि कल्याणकारी कदम हुनसक्छ । त्यो परिस्थिति आफैँले सिर्जना गर्ने हो, अरुले होइन । सरोकारवाला सबैलाई चेतना भया ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Achyut Kafle
Achyut Kafle
1 year ago

सामग्री पढेर खुसीको अनुभूति भयो ।

प्रा ० डा ० कृष्णप्रसाद घिमिरे
प्रा ० डा ० कृष्णप्रसाद घिमिरे
1 year ago

राम्रो लाग्यो अरु समसामयिक उदाहरण थप्दा बढी राम्रों हुनेछ .

Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
2
0
Would love your thoughts, please comment.x
()
x