साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धावस्था र बाँच्ने तौरतरिका

विद्यमान परिस्थितिसँग सम्झौता गरेर आफूलाई उभ्याउन र अगाडि बढाउन सक्यो भने त्यो नै ज्येष्ठ वयका जो कसैका लागि कल्याणकारी कदम हुनसक्छ । त्यो परिस्थिति आफैँले सिर्जना गर्ने हो, अरुले होइन ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

चिन्ता, पिर, व्यथा, सुर्ता, मानसिक सन्ताप, ताप, तनाव, पीडा, फिक्री, शोक, दिक्दारी, पश्चाताप, जलन यी सबै एउटै बाबुआमाका सन्तान हुन् । यी सबैको काम जीवनलाई अधोगतितिर धकेल्नु हो । यिनले कसैलाई पनि माथि उठ्न दिँदैनन् । जसरी खोलो, खोल्सो, नदीजस्ता पानीजन्य स्रोत तलतिर मात्र बग्दछन्, त्यसरी नै यिनले मानिसको जीवनलाई पनि तलतिर मात्र धकेल्छन् । क्षयीकरणतिर मात्र लैजान्छन् । माथि उठ्न दिँदैनन् । त्यसैले यी चिजवस्तु मानिसले सङ्गत गर्ने विषय होइनन् । यिनलाई सकेसम्म आफ्ना नजिकमा आउन नदिनु जो कोही मानिसका लागि हितकर मात्र होइन अपरिहार्य छ ।

मानिसको उमेर ढल्कँदै गएपछि वा उसमा अशक्तताको मात्रा बढ्दै गएपछि यी चिजवस्तुले उसलाई एकपछि अर्को गरी धमाधम आक्रमण गर्न थाल्छन् । गौँडागौँडामा यिनको आक्रमणको केन्द्र खडा हुन्छ । ठाउँठाउँमा यिनले मानिसलाई फसाउन मानसिक एम्बुस थाप्छन् । यिनको आक्रमणमा न कुनै हातहतियार हुन्छ न कुनै लाठी वा भाला । बिनाहातहतियार भूमिगत रहेर मानिसलाई हरहमेशा पिरोल्नु र चिन्तित बनाउनु यिनको विशेषता र धर्म हो । यस्तो आक्रमणबाट आफूलाई जसले बचाउन सक्छ उसको सधैँ जय हुन्छ, जो बच्न सक्तैन वा त्यसबाट आफूलाई बचाउन सक्तैन उसको सधैँ क्षय हुन्छ । यसर्थ जय चाहने कि क्षय चाहने त्यो मानिसका सोचमा भर पर्छ । यिनको सङ्गतले जय चाहँदा चाहँदै पनि जो कोही मानिस आफूलाई क्षयमार्गमा दौडाइरहेका हुन्छन् । चिन्ताको भुमरीमा आफूलाई पौडाइरहेका हुन्छन् । यस्तो अवस्थामा यसबाट बच्न अरु हितैषीले दिएका हितकारी वचन पनि यिनलाई पाच्य हुँदैन । फलतः उनीहरू यसैमा रुमलिइरहन्छन् र आफूलाई सकसपूर्ण अवस्थामा पुर्‍याइरहन्छन् । समाजका हर कुनाकाप्चामा नियाल्ने हो भने अधिकांश क्षेत्रमा यस्ता घटना नाङ्गा आँखाले अनुभूत गर्न सकिन्छ, यसका लागि कुनै सहयोगी यन्त्रको आवश्यकता पर्दैन ।

पछिल्लो समय नेपाली समाज परहितकारी भन्दा स्वहितकारी मार्गमा अघि बढ्दै छ । यस्तो अवस्था भनेको व्यक्ति वा परिवारवाद उसको रोजाइ वा प्राथमिकतामा पर्नु हो । यस्तो सोचले दिन प्रतिदिन समाजमा जरो गाड्दै छ । व्यापकता छाउँदै छ । व्यक्ति, परिवार, समाज र राष्ट्र यी सबैमा यसको प्रवेश छ । यी कुरा व्यक्तिको चाहना नहुँदा नहुँदै पनि यसैमा समर्पित हुने संस्कृतिको विकास हुँदै छ । उदाहरणका लागि यतिखेर जो कोही व्यक्ति यतिखेर रोजगारी वा पैसाको खोजीमा विदेसिने क्रम बढिरहेको छ । अध्ययनका लागि मुलुक छोड्ने प्रवृत्ति बढिरहेको छ । चिनेजानेका मानिसका आँखा पछाडि पुगेपछि जस्तोसुकै पनि काम गर्न तत्पर हुने कलिला वा पाका पाखुरा स्वदेशमा रहँदाबस्दा भने अर्काका कुरा काट्न र अल्छ्याइँमै रमाउन चाहन्छन् । अल्छ्याइँ वा काम विहीनताको यस्तो स्थितिले कुनै पनि पक्षमा सकारात्मकता पैदा हुँदैन । फलतः व्यक्ति स्वयं, परिवार र समाज नै अधोगतितिर धकेलिन पुग्छ । सन्तोष सुख यस्ता व्यक्तिहरूबाट टाढा हुन थाल्छ । यसले व्यक्ति स्वयंलाई मात्र नभएर उसका छोरा, छोरी, बाबु, आमा, श्रीमती, लोग्ने जो कसैलाई पनि चिन्ताको भुमरीमा पुर्‍याउँछ । फलतः माथि उल्लेख गरिएका चिन्ता, पिर, व्यथा, सुर्ता, मानसिक सन्ताप, ताप, तनाव, पीडा, फिक्री, शोक, दिक्दारी, पश्चाताप, जलनजस्ता एकै बाबुआमाका सन्तान उनीहरूका साथी हुन आइपुग्छन् । यिनीहरूसँगको निकटतापछि जो कसैको यात्रा अन्धकारोन्मुख हुनथाल्छ ।

यस आलेखमा अरूको भन्दा पनि समाजमा रहेका वृद्धावस्थाका मानिसको दिनचर्याका विषयमा साङ्केतिक रूपमै भए पनि तिनको दैनिकी खोतल्ने र विश्लेषण गर्ने अभीष्ट राखिएकाले अन्यत्रतिर बग्नुभन्दा पनि कुरो त्यतैतिर मोडौँ । अहिलेको समाज विभाजनपे्रमी छ । स्वदेशमै रहेको अवस्थामा पनि विविध कारणले छोराछोरी बाबुआमासँग टाढिने, बाबुआमा अशक्तता र आश्रयका हिसाबले उनीहरूसँग नजिकिन खोज्ने तर परिस्थिति प्रतिकूल भइदिने । रोजगारी वा अध्ययनका सिलसिलामा छोरा, छोरी, बुहारी, नातिनातिना वा आफूले आश्रयको आशा गरेका नजिकका आफन्त विदेसिएका हकमा व्यक्त वा अव्यक्त रूपमा परिस्थिति आफूले सोचेजस्तो नहुने । आफूले सोचेजस्तो अवस्था सिर्जना गरी तिनलाई आफ्नै वरिपरि सीमित गर्दा पनि तिनको भविष्य बिग्रने । यी यावत् कुराले मानिसलाई कुनै न कुनै रूपमा चिन्ताको भुमरीमा धकेलिरहेको हुन्छ ।

पछिल्लो समय बाटाघाटामा भेटिएका वृद्धवृद्धा जो कोहीसँग एकछिन उभिएर बात मार्दै जानुस् र तिनलाई सोध्नुस्- घरमा को को हुनुहुन्छ ? यस जिज्ञासामा अधिकांशको भनाइ हुन्छ- को हुनु ? हामी बुढाबुढी मात्रै हौँ । छोराछोरी बाहिर छन् । कहिलेकाहीँ फोनमा कुरा हुन्छ । स्वर सुन्न पाइन्छ । त्यत्ति हो । यहाँको सबै व्यवहार हामै्र काँधमा छ । कतिपय अवस्थामा बुढाबुढीको यो भनाइ अलिक असहज, अलिक कष्टपूर्ण, अलिक पीडादायीजस्तो देखिए पनि तुलनात्मक रूपमा यो उनीहरूको सुखद अवस्था मान्नुपर्ने स्थिति पनि यहाँ रहन्छ । यसलाई सुखद मान्नुपर्छ । किनकि, बाटाघाटामा भेटिएका कतिपय वृद्ध/वृद्धा भनिरहेका हुन्छन्- को हुनु नि ? म एक्लै छु । बुढाले छोडेर गइहाले । बुढीले छोडेर गइहाली । एउटी भएकी छोरी पनि आफ्नो भइन । एउटा भएको छोरो पनि घर व्यवहारले विदेसिएको छ वा अलग भएर बसेको छ । म एक्लै छु । जो कसैको यस किसिमको पारिवारिक संरचनाले मानिस आफूले भनेजस्तो, सोचेजस्तो आफूलाई पाउँदैन र दुखित हुनथाल्छ । यिनै कुरा मनमा खेलाउँदा खेलाउँदै ऊ चिन्ताको भुमरीमा छटपटाउन थाल्छ । पीडाले पिरोलिन थाल्छ । यहीँबाट सुरु हुन थाल्छ उसको क्षयीकरणोन्मुख अप्रिय जीवन यात्रा । यो भयो पारिवारिक संरचना वा पारिवारिक तालमेल नमिल्दाको अवस्थाबाट सिर्जना हुने चिन्ताको डुबुल्की ।

मानिस स्वभावैले बढी महत्वाकाङ्क्षी हुन्छ । कसैमा यो स्थिति सगरमाथा बराबर होला कसैमा पहाड मात्र । फरक त्यत्ति हो । यसरी पलाएको महत्वाकाङ्क्षा सबै पूरा हुँदैनन् । त्यो सम्भव पनि छैन । मनमा पालेका वा उब्जिएका महत्वाकाङ्क्षा पूरा नभएपछि ऊ त्यसैमा घोत्लिन थाल्छ । त्यसैमा रुमलिन थाल्छ । फलतः उसको दुःखको यात्रा यहीँबाट सुरु हुन्छ । आफ्नो सक्रिय जीवनमा मान, मर्यादा वा कमाइधमाइका हिसाबले जुन किसिमको प्राप्ति भइरहेको हुन्छ त्यसैमा ऊ घोत्लिन थाल्यो र अहिलेको परिस्थितिसँग तुलना गर्न थाल्यो भने त्यसभन्दा बढी भुल उसको अरू केही हुँदैन । जीवनको उत्तराद्धक्ष जीवनलाई खाडलमा पुर्‍याउन यही नै पर्याप्त हुन्छ ।

कोही आफ्नो विगतको बानी बेहोराका कारण चिन्ताको भुमरीमा पुगेका हुन्छन् । आधारभूत आवश्यकताभन्दा माथि उक्लेर जसले अनावश्यक आवश्यकतामा विगतमा आफूलाई डुबायो वा भोगायो, त्यस्ता व्यक्ति पनि वृद्धावस्थामा पुगेपछि अनेकौँ रोग र कष्ट कमाएर आफूलाई चिन्ताको चुलीमा नचाइरहेका हुन्छन् । उः बेलामा यस्तो गरियो उस्तो गरियो, यस्तो खाइयो उस्तो खाइयो, यहाँ गइयो त्यहाँ गइयोजस्ता कुराले तिनलाई हरहमेशा पिरोलिरहेको हुन्छ । भन्न त मानिसहरू मान्छेलाई हतारमा बिहे हुन्छ फुर्सदमा पछुताउँछ भन्छन् । यथार्थमा कुरो त्यसो नभएर मानिस आफ्नो विगतको खानपान र यस्तै कुलतले वृद्धावस्थामा पछुताउन पुग्छ । विगतमा छाडा बनेर गरिएका यस्ता क्रियाकलापले अहिले चिकित्सकीय निगरानी र पारिवारिक हैकम बिनाशर्त स्वीकार्नुपर्ने अवस्थामा पुगेका यस्ता व्यक्तिको मानसिक अवस्था कस्तो होला जो कसैले सहजै अनुमान गर्न सक्छ ।

फेरि अर्को एउटा- पारिवारिक कुरा । सन्तानका कुरा । आशाका कुरा । आश्रयका कुरा । आय र खर्चका कुरा । उनीहरूसँगको निकटता र दूरताका कुरा । सुख सयलका कुरा । यो पनि तुलनायोग्य छ । पारिवारिक विचलन वा चिन्ताको स्थितिमा पुगेका व्यक्तिले यसलाई पछाडि फर्केर पनि केलाउनुपर्छ । आफू हरहिसाबले सक्रिय रहेका अवस्थामा बुढ्यौली वयका बाबुआमा, सासूससुरा वा अन्य जो कोहीलाई मैले के गर्न सकेँ ? आम्दानीको कति हिस्सा तिनका पालनपोषण र स्याहारसुसारमा खर्चिन सकेँ ? तिनको शारीरिक वा मानसिक सन्तुष्टिका लागि के कसरी कस्तो सहयोग पुर्‍याउन सकेँ ? उनीहरूलाई सन्तुष्टिमा राख्न सकेँ वा सकिनँ ? उनले भनेका र चाहना राखेका घर व्यवहारका कुरा कति पूरा गरिदिन सकेँ वा सकिनँ ? हिजोको आर्थिक हैसियत र आजको हैसियतमा के भिन्नता छ ? हिजो र आजको सामाजिक परिवेशमा के कस्तो भिन्नता छ ? समाज कसरी अगाडि बढिरहेको छ । यी यावत कुरा तुलना गरिसकेपछि मानिस स्वतः सन्तुष्टिको शिखरमा उक्लिन्छ । मानसिक सन्तापबाट मुक्त हुनथाल्छ ।

यी कुरा गन्थन मात्र होइनन्, जो कसैका लागि सकारात्मकतातिर लैजाने साझा सुझाव हुन् । जो यस्ता समस्याबाट गुज्रिरहेका छन् तिनका लागि शीतलता प्रदान गर्ने गुटी हुन् । मन बुझाउने सूत्र हुन् । समस्या वा कठिनाइ स्वाभाविक रूपमा व्यक्तिपिच्छे फरक पर्छ । त्यसलाई आफैँले मनन गर्ने हो । परिस्थितिसँग तालमेल गराउने वा बुझ्ने/बुझाउने हो । यसमा गरिएको वर्णन वा गन्थन त जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँडजस्तै मात्र हो । सार कुरा के हो भने कुनै पनि वृद्धावस्थाका मानिसले आफ्नो सक्रिय अवस्थाको विगतका कुरामा चिन्ता गरेर वर्तमानलाई कदापि धुमिल्याउनु हुन्न । विद्यमान परिस्थितिसँग सम्झौता गरेर आफूलाई उभ्याउन र अगाडि बढाउन सक्यो भने त्यो नै ज्येष्ठ वयका जो कसैका लागि कल्याणकारी कदम हुनसक्छ । त्यो परिस्थिति आफैँले सिर्जना गर्ने हो, अरुले होइन । सरोकारवाला सबैलाई चेतना भया ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Achyut Kafle
Achyut Kafle
2 years ago

सामग्री पढेर खुसीको अनुभूति भयो ।

प्रा ० डा ० कृष्णप्रसाद घिमिरे
प्रा ० डा ० कृष्णप्रसाद घिमिरे
2 years ago

राम्रो लाग्यो अरु समसामयिक उदाहरण थप्दा बढी राम्रों हुनेछ .

Nepal Telecom ad
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
2
0
Would love your thoughts, please comment.x
()
x