हेम अधिकारीअसार पन्ध्र सहर पसेछ
सहरका छेउछाउ बचेखुचेका खेतमा बल्ल एक दिन,एक छिन हिलो टेक्नेहरूको भिड जम्मा गरेर नाटकीय रोपाइँ गरेर धान दिवसको प्रचारमा मग्नमस्त असार पन्ध्र नाटककार भएछ ।

हेम अधिकारी :
त्यो बेला
असार पन्ध्र खेतमा आउथ्यो
गाउँमा हुन्थ्यो
त्यतै त्यतै आउथ्यो
हिलोआली लिएर आउथ्यो
घुमको लर्को लिएर आउथ्यो ।
ए हहै… असारै मास रोपेको रोपो के बेला पसाउँछ … को लयमा
रोपारहरू असारे घन्काउँदै
छुपुछुपु हारगाबा मिलाएर धान रोप्थे
हलीहरू दाँतेमा चडेर तारे र तिल्केका पुछर निमोठ्तै
हडडडडड हुईय गर्दै गोरु साउँथे
गरामा दहीजस्तो हिलो छचल्किएको आनन्दमा रमाउथे
बाउसेहरू फ्याउरीले छेउकुना चिल्ल्याउथे
ब्याडेहरू बिउ काड्थे
बिउ बोक्नेहरू लड्दैपड्दै आलीमा पानी तर्याएको
बिउ बोकेर गरामा पँजाउथे ।
बाहरू छाता अोडेर चप्लेटी ढुङ्गामा बसेर
अराइकराइ गर्नुहुन्थ्यो
आमाहरू थुन्सेमा दोपहरे ल्याएर
खेतका छेउका साना चौर र कुलाका डिलमा
टपरी र बोहोतीमा बाँड्नुहुन्थ्यो
खेतालाहरू रमाइ रमाइ खान्थे
टारी,जुकेनी ,गैरी र डाँडा खेतहरूमा
असार पन्ध्र दही चिउरा लिएर हिलोआली र
रोपाइँको स्वागत गर्न आउथ्यो ।
खलेगरामा भकारी बाँध्ने रोपारहरूको घुईँचामा
बाउसेहरूसँग हिलो छ्यापाछ्याप गरेर
मैजाराको रमाइलो गर्थे
मुखियाका टारी खेतमा पञ्चै बाजा बजाउदै
बेठी लगाउथे ।
थरीका सिमखेतमा नौमती घन्कनएरै बेठी लाउँथे ।
झमझम परेको पानीमा भिज्दै भिज्दै
खेतमा काम गर्दाको मज्जा नै अर्कै हुन्थ्यो
असार पन्ध्र गाउँ घर र खेतहरूमा आउँथ्यो।
यो बेला
हाम्रो असार पन्ध्र सहर पसेछ
गाउँमा खेतमा ऊ भेटिदैन
खेतमा बालुवा छरेर
टुक्राटुक्रा पारेपछि ऊ पनि
सहरीया भएछ ।
बेँसी, टारी र खोल्याङहरू बँजिएपछि
धान किनेर बाँच्ने भएपछि
असार पन्ध्र ता धान दिवस भएछ ।
सहरका महलमा गमलामा रमाउन थालेछ ।
सहरका छेउछाउ बचेखुचेका खेतमा
बल्ल एक दिन,एक छिन हिलो टेक्नेहरूको
भिड जम्मा गरेर
नाटकीय रोपाइँ गरेर
धान दिवसको प्रचारमा मग्नमस्त असार पन्ध्र
नाटककार भएछ
गाउँ र खेतबाट
आधुनिकताको रमझममा रमाउन
आफ्नो गौरव हराएर
आधुनिकताको अँगालोभित्र
आफैँ नाटककार, कलाकार बनेर
सहर पसेछ आज असार पन्ध्र ।
०००
२०८१ असार १५
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































