साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धावस्थामा औषधि सेवनको तौरतरिका

कहिलेकाहीँ अस्पतालमै राखिएका विरामीका हकमा पनि तिनका कुरुवालाई एकातिर विरामीको विषयमा चिन्ता र मानसिक दबाब हुन्छ भने अर्कातिर त्यही चिन्ता र दबाबले औषधिको प्रयोगमा अलमलपन निम्त्याइरहेको हन्छ ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

बुढ्यौली भनेको मान्छेमा तुलनात्मक रूपमा कोही कसैमा अलिकति तलमाथि भए पनि दिन प्रतिदिन शारीरिक शक्ति ह्रास हुँदै जाने अवस्था हो । अपवाद बाहेक स्मरण शक्तिमा स्वाभाविक रूपमा क्रमशः न्यूनता हुँदै जाने क्षण हो । वचनमा मिठासपन भए पनि व्यवहारमा अरुबाट क्रमशः टाढिँदै र अपहेलित हुँदै जाने अवस्था हो । व्यवहारतः सबैतिरबाट तिरस्कृतता प्राप्तिको अवस्था हो । आफ्ना आकाङ्क्षा र चाहना परिपूर्तिमा परबन्देज र परनिर्भरताको स्थिति हो । व्यक्तिका हर क्रियाकलापमा परिवार र समाजबाट अलिक भिन्नै दृष्टिपात हुने स्थिति हो । जानी वा नजानी हरपल यो स्थिति बढ्दै जान्छ । अनि, आफूले गरिने मूल्याङ्कन पनि सोही प्रकृतिको भएपछि बुढ्यौली वय अलिक कष्टपूर्ण बन्दै जानु त्यति अस्वाभाविक पनि हुन्न, जो समाजका हर वृद्धवृद्धाले भोगिरहेका छन् । यस्तो अवस्थामा आफ्नै हिसाबले बाँच्ने र नाच्ने परिस्थिति आफैँले सिर्जना गर्नुपर्छ । विगत कोट्ट्याएर दिक्किने वा जो कसैसँग झर्किने काम गर्नु/गराउनुभन्दा परिस्थितिसँग सम्झौता गरी बाँकी जीवनलाई खुसी तुल्याउने प्रयास गरिनु सर्वथा उपयुक्त हुन्छ ।

यस अवस्थामा शारीरिक तथा मानसिक अशक्तता सँगसँगै मानिसमा अनेकौँ रोगले आक्रमण गर्ने सम्भावना रहन्छ । यो जो कोही वृद्धावस्थाका मानिसले भोगिआएको विषय हो । यस्ता अवस्थामा औषधि सेवन उनीहरूका लागि अपरिहार्य बन्न जान्छ । हुन त युवा वा बाल्यावस्थाका मानिसका लागि पनि रोग लागेपछि औषधि सेवन अपरिहार्य हुन्छ । तर यो आकस्मिक अवस्थामा मात्र हुन्छ भने अन्य अवस्थामा उनीहरू सकुशल रहन्छन् । औषधि सेवन गर्नुपर्ने स्थितिबाट टाढा रहन्छन् । वृद्धावस्थाका मानिसका लागि भने यस्तो अवस्था करिब-करिब नियमित र स्वाभाविक जस्तो बन्न पुग्छ । रोगै नलागे पनि वृद्धावस्थाका कतिपय मानिसहरू त्यसै पनि रोगी जस्ता देखिन्छन् । त्यसमाथि नियमित रूपमा औषधि नै सेवन गर्नुपर्दा उनीहरूमा जीवनप्रति एक किसिमको नैराश्यता उत्पन्न हुन्छ । यस किसिमको नैराश्यताको अवस्थामा उनीहरूमा विस्मृतिले डेरा जमाउन थाल्छ । यो वा त्यो स्थितिले बास गर्न थाल्छ । यस्तो अवस्था समग्रमा द्विविधा हो । छिनमै सम्झने र छिनमै बिर्सने अवस्था हो । नियमित रूपमा औषधि सेवन गर्नुपर्ने अवस्थाका वृद्धवृद्धामा यस किसिमको द्विविधा वा विस्मृतिको स्थिति हानीकारक हुनसक्छ । यसैले यस्ता अवस्थाबाट जोगिएर औषधि सेवन गर्न विभिन्न उपायको खोजी गरिनु त्यस्ता वृद्धवृद्धाको स्वास्थ्यका लागि बढी हितकारी कदम हुनसक्छ ।

कतिपय वृद्धवृद्धा आफ्नो शारीरिक र रोगको अवस्था हेरी थोरै औषधि सेवन गर्ने अवस्थामा हुन्छन् भने कतिपयले सेवन गर्ने औषधिको सूची निकै लामो हुन्छ । यस्तो अवस्थामा तोकिएको समयमा तोकिएको औषधि सेवन गर्ने विषय जटिल बन्न सक्छ । फेरि कतिपय अवस्थामा कुन औषधि कतिखेर कसरी सेवन गर्ने भन्ने अन्यौल पनि हुन्छ । विरामी जाँच्ने चिकित्सक पनि हिजोअस्तिका जस्ता छैनन् आज । आजका चिकित्सक कुन औषधि कसरी कतिखेर सेवन गर्ने भनेर विरामीलाई भन्न थाल्यो भने आफ्नो मर्यादा घट्ने र आम्दानीको न्यूनतामा सोझै असर पर्ने कुरामा बहुत चनाखा छन् । त्यसैले उनीहरू विरामीलाई यस्ता कुरामा परामर्श दिएर आफ्नो समय खेर फाल्न चाहँदैनन् र यो कामको जिम्मा औषधि बिक्रेतालाई लगाउँछन् । ठुल्ठुला औषधि पसलमा त बहुबिक्रेता बहुविचार पनि आउँछ औषधि सेवनका तौरतरिकाका सम्बन्धमा । अनि तिनै औषधि बिक्रेतामध्ये जसको ठुलो स्वर हुन्छ त्यसैलाई ‘त्वम् शरणम्’ गरी विश्वास गर्नु र सोहीअनुरूप औषधि सेवन गर्नु उनीहरूको बाध्यता हुन्छ ।

कतिपय वृद्धवृद्धा कुन औषधि कतिखेर कसरी सेवन गर्ने भन्ने कुरामा चनाखा हुन्छन् र सोही अनुसार औषधि सेवन गर्छन् । कतिपय आफैँ औषधि सेवन त गर्छन् तर खाएँ कि खाइनँ भन्ने कुरामा कहिलेकाहीँ द्विविधामा पर्छन् । बिर्सन्छन् । कतिपय वृद्धवृद्धा आफैँ औषधि सेवन गर्ने क्षमता राख्दैनन् र अरुका भर पर्नु तिनको बाध्यता हुन्छ । यसरी भर पर्नुपर्ने अवस्थामा जुन किसिमको जनशक्ति घरमा उपलब्ध हुन्छ तिनैको सहारामा चल्नुपर्ने नियमितता उनीहरूको हुन्छ । यसको कुनै विकल्प उनीहरूसँग हुन्न ।

आफैँ औषधि सेवन गर्नसक्ने वृद्धवृद्धाका हकमा यहाँ कुनै छलफल र परामर्श गर्नु परेन । तिनका लागि यस किसिमको सल्लाहको आवश्यकता पनि परेन । त्यसदेखि बाहेकका औषधि सेवनकर्ताका हकमा लाटो हिसाबले केही सल्लाह दिनु उपयुक्त हुन्छ । यस्तो सल्लाह व्यवहारोपयोगी बन्न सक्छ सामान्य अवस्थाका विरामी वृद्धवृद्धा वा उनीहरूको स्याहारसुसारमा खटिने अन्य सहयोगी मानिसका हकमा । जस्तो कुनै विरामीका लागि बिहान वा बेलुका नियमित रूपमा औषाधि खानुपर्ने अवस्था छ तर कहिलेकाहीँ वा प्रायः सधैँजसो औषधि खाएँ कि खाइनँ भन्ने द्विविधा उत्पन्न हुन्छ भने त्यस्ता व्यक्तिले औषधिको पत्तामा नै त्यस पत्ताको औषधि खान सुरु गरेको मितिदेखि त्यस पत्ताको औषधिले पुग्ने अन्तिम मितिसम्म तल चित्रमा देखाएजस्तो गरी लेखेर राख्यो भने त्यो दिन औषधि खाएँ कि खाइनँ भनेर द्विविधा हुँदा त्यसैमा लेखेको मिति हेर्दा खाए नखाएको रुजु हुन्छ । उदाहरणका लागि-

यो भयो द्विविधा हुने मानिसका लागिको सरल उपाय । यसदेखि बाहेक औषधि खानका लागि नै बिर्सने बानी छ भने सिरानी, कम्प्युटर, मोबाइल, रेडियो, टिभी वा कहीँ कतै सधैँ आफ्नो आँखा वा हात पर्ने ठाउँमा कुनै वस्तु राख्ने । त्यसो गर्दा त्यसमा आँखा वा हात पर्नेबित्तिकै ‘ए ! औषधि खानुपर्ने काम बाँकी छ’ भनेर सम्झिन सकिन्छ । कतिपय मोबाइल, घडी वा अन्य साधनको उपलब्धता र प्रयोगमा बानी परेकाहरूले यसैको उपयोग गरेर पनि औषधि खाने/खुवाउने र सम्झाउने काम गर्न/गराउन सकिन्छ । साधनको उपलब्धता नहुने र प्रयोगमा दक्षता नभएकाको हकमा भने यो विधि कामयाबी नहुने भएकाले आफ्नै ढङ्गले त्यसको विकल्प सोच्नु वा खोज्नुपर्छ ।

यो भयो एउटा/दुइटा औषधि सेवनकर्ताका लागि सामान्य सल्लाह । अब धेरै किसिमका औषधि सेवन गर्नुपर्ने विरामी वृद्धवृद्धाको औषधि सेवनका विषयमा पनि यस्तै सामान्य छलफल गरौँ । यस्ता वृद्धवृद्धा पनि कोही आफैँ औषधि सेवन गर्न सक्ने र कोही अरूको सहारामा औषधि सेवन गर्नुपर्ने अवस्थाका गरी दुई किसिमका हुन्छन् । यहाँ प्रस्तुत गर्न लागिएको सल्लाह यी दुवै किसिमका वृद्धवृद्धाका हकमा लागु गर्न सकिन्छ । आफैँ सेवन गर्नसक्ने क्षमता राख्नेले आफैँ सेवन गर्छन् । नसक्नेले अरूको सहयोग लिन्छन् । यो सल्लाह पनि आफैँ औषधि सेवन गर्नेका हकमा आफैँले लागु गर्न सक्छन् भने अरुको सहयोग लिनुपर्नेमा त्यस्ता सहयोगकर्ताले यस्तो उपाय अवलम्बन गरेर यसबाट फाइदा लिन सक्छन् । जस्तो- कुनै विरामीले सात किसिमको औषधि सेवन गर्नुपर्ने छ भने ती औषधि खाली पेटमा खाने कि खाना खाएर खाने ? कतिखेर खाने ? एउटा औषधि र अर्को औषधि सेवनको समय अन्तर कति ? जस्ता कुरामा स्पष्ट भएर त्यो समेत लेखी औषधिलाई समयको क्रमअनुसार १, २, ३, ४, ५, ६, ७ गरी क्रमशः एउटा पङ्क्तिमा मिलाएर राख्ने । औषधिको यस्तो पङ्क्ति सामान्यतः बालबच्चाको पहुँच नहुने स्थानमा राखिनुपर्छ । अनि यस्तै पङ्क्ति खडा गरेर सँगसँगै जस्तो अर्को पङ्क्ति/ठाउँ पनि तयार गर्नुपर्छ । यसरी दुई पङ्क्ति तयार गरेपछि एउटा पङ्क्तिमा औषधि हुन्छ भने अर्को खाली हुन्छ । त्यसपछि नम्बर १ को औषधि खाएपछि अर्को तर्फको नम्बर १ मा त्यो औषधि सार्ने वा पल्टी गर्दै जाने । यसो गरेपछि त्यो औषधि खाइसकेको र त्यसपछिको बाँकी रहेको जानकारी हुन्छ । यसरी एउटा पङ्क्तिको औषधि सबै सेवनपछि त्यो पङ्क्ति पूरै खाली भएर अर्को पङ्क्तिमा सर्न वा पल्टी हुनपुग्छ । अर्को दिन फेरि यसैगरी सेवन गरेपछि अर्को पङ्क्ति खाली हुन्छ । यसो गर्दा औषधि सेवनको समय र बिर्साइबाट बच्नमा सहयोग पुग्छ र औषधि सेवनको सहज वातावरण तयार हुन्छ । जस्तो-

वृद्धावस्थामा औषधि सेवनको व्यवस्थापनअन्तर्गत रहेर नभुलीकन समयमा तोकिएको विधि अनुसार औषधि सेवन गर्नका लागि लाटो हिसाबले यस्तो तरिका सुझाइए पनि यो अरु अवस्थाका विरामीका हकमा पनि प्रयोग गर्न सकिन्छ । कहिलेकाहीँ अस्पतालमै राखिएका विरामीका हकमा पनि तिनका कुरुवालाई एकातिर विरामीको विषयमा चिन्ता र मानसिक दबाब हुन्छ भने अर्कातिर त्यही चिन्ता र दबाबले औषधिको प्रयोगमा अलमलपन निम्त्याइरहेको हन्छ । यस्ता अवस्थाका विरामी कुरुवाका लागि पनि औषधि सेवनको यस्तो तौरतरिका कामयाबी हुनसक्छ । औषधि सेवनका विषयमा अलमलिने, खाए नखाएको द्विविधा हुने, कुन औषधि कतिखेर कसरी खानेजस्ता अवस्थामा यस्तो तरिका अपनाउन सकिन्छ । जसरी पुस्तक अध्ययन गर्दाखेरि विद्यार्थी वा अन्य अध्ययनकर्ताले पढेका विषय सम्झनका लागि विविध तौरतरिका र सूत्र तयार गर्छन् त्यसरी नै आआफ्ना हिसाबले अन्य तरिका वा सूत्र अपनाएर पनि औषधि सेवनमा सहजता ल्याउन सकिन्छ । तथापि, यसतर्फ कुनै सोच नै नराखिएको अवस्थामा भने सुझाइएको यही नै तरिकामा वा यसभन्दा नयाँ सोच विकसित गरेर औषधि सेवनको कामलाई त्रुटिरहित बनाउन सकिन्छ भन्ने कुरामा ढुक्क हुन सकिन्छ ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x