सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अवैतनिक अध्यापक बुढापाका

प्रसङ्गअनुसार बुढापाकाबाट ठिक परिस्थितिमा ठिक तरिकाबाट अनौपचारिक रूपमा भनिएका त्यस्ता कुरा जीवनपर्यन्त सम्झिइन्छन् । यस अर्थमा पनि बुढापाकाको यस्तो अध्यापन निकै प्रभावकारी साबित हुन्छ ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

शिक्षाको शास्त्रले भन्छ- सिकाइका तीन तह हुन्छन् । ज्ञान, सिप र सोचमा परिवर्तन । सिकाइ प्रभावकारी भई मानिसको जीवन पूणर् हुन यी तीनै तत्वको आवश्यकता पर्छ । ज्ञान प्राप्त भयो, त्यसका लागि आवश्यक सिप पनि भयो तर यी दुवै प्राप्त हुँदा पनि प्रापकको मान्यता वा आचरणमा कुनै परिवर्तन आएन भने त्यो सिकाइ प्रभावकारी भएन भन्ने प्रस्ट हुन्छ । यीमध्ये ज्ञान प्राप्तिका पनि दुई रूप हुन्छन् । एक- किताबी ज्ञान, दुई- भोगाइजन्य अनुभवबाट प्राप्त हुने ज्ञान । किताबी ज्ञान किताबबाट प्राप्त हुने कुरा स्वतः स्पष्ट छ, तर भोगाइजन्य अनुभवबाट प्राप्त हुने ज्ञानका स्रोत भनेका परिवार वा समाजका बुढापाका हुन् । अनुभवजन्य ज्ञानका भण्डार तिनै बुढापाकाले समाजमा निःशुल्क रूपमा अध्यापन गरिरहेका हुन्छन् यस्ता अनुभवजन्य ज्ञानका कुरा ।

हामीलाई प्राप्त हुने शिक्षालाई हामी सामान्यतः औपचारिक र अनौपचारिक गरी दुई किसिमले बुझ्छौँ । कुनै पनि शिक्षण संस्थाबाट प्रचलित कानुनबमोजिम रीतपूर्वक प्राप्त गरिएको शिक्षालाई औपचारिक शिक्षाका रूपमा बुझ्छौँ भने तोकिएको विधि, रीत वा विधिसम्मत रूपमा त्यस्तो कुनै औपचारिकता नपुर्‍याई प्राप्त गरिएको शिक्षालाई अनौपचारिक शिक्षाका रूपमा बुझ्छौँ । औपचारिक शिक्षालाई व्यक्तिले प्राप्त गरेको प्रमाणपत्रले पुष्टि गर्छ भने अनौपचाििरक शिक्षालाई व्यक्तिको समग्र गुण, स्वभाव, रहनसहन, बोलीचाली, घर व्यवहारका विषय, नैतिकता, आचरण, विनम्रता, शिष्टाचार, आपसी सरसहयोग, दुःख-सुखमा प्रदर्शित हुने चरित्र, आपूmभन्दा कमजोर र सक्षमप्रति गरिने व्यवहार, खानपान, आदर सत्कारजस्ता सूचकले पुष्टि गरिरहेका हुन्छन् । व्यक्तिले यस्तो शिक्षा पाइला-पाइलामा प्राप्त गरिरहेको हुन्छ । अनौपचारिक रूपमा प्राप्त शिक्षाले व्यक्तिको समग्र पहिचान हुन्छ । यो विषय सम्बन्धित व्यक्तिलाई जानकारी नभईकनै पनि प्रदर्शित भइरहेको हुन्छ ।

शिक्षा प्राप्तिको विषय अगाडि आउनेबित्तिकै त्यस्तो शिक्षा प्रदान गर्ने व्यक्तिका विषयमा पनि छोटो चर्चा गरिनु उपयुक्त हुन्छ । औपचारिक शिक्षा प्रदान गर्ने अध्यापक वा प्राध्यापकलाई कुनै निश्चित विधिविधानको अधीनमा रही तोकिएको पारिश्रमिक समेत उपलब्ध गराई अध्यापनमा लगाइन्छ भने अनौपचारिक शिक्षामा त्यस्तो कुनै औपचारिकता हुँदैन । यहाँ न कुनै पढ्नुपर्ने कुराको पाठ्यक्रम हुन्छ न पढ्नुपर्ने स्थान नै किटान गरिएको हुन्छ । न पढाइ सुरु गर्ने कुनै निश्चित समय हुन्छ न कुनै निश्चित अवधिमा पढाइ पूरा गर्नुपर्ने भन्ने समयसीमा नै । छोटोमा भन्ने हो भने औपचारिक शिक्षा सामान्यतः वैतनिक अर्थात् तलबधारी व्यक्तिबाट प्राप्त हुन्छ भने अनौपचारिक शिक्षा अवैतनिक अर्थात् तलबविहीन व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट प्राप्त हुन्छ । कतिपय गैर सरकारी सङ्घसंस्थाले पनि विभिन्न नाममा अनौपचारिक शिक्षाका विविध कार्यक्रम सञ्चालन गरिरहेका हुन्छन् । यस्ता कार्यक्रमचाहिँ तलब वा भत्ताधारी व्यक्तिबाटै सञ्चालित हुने गर्छ । यो अपवादको विषय रह्यो ।

यस आलेखमा औपचारिक शिक्षाका विषयमा कुरा गर्न लागिएको नभई अनौपचारिक शिक्षाका विषयमा कुरा गर्ने प्रयास गरिएको छ । त्यो पनि समाजका बुढापाका व्यक्तिबाट प्राप्त हुने अनौपचारिक शिक्षाका विषयमा । अनौपचारिक शिक्षा हामी बगिरहेको खोलाबाट पनि प्राप्त गर्न सक्छौँ, घर बनाइरहेका वा आप्mनो खानाका लागि सामूहिक प्रयासमा जुटिरहेका कमिलाबाट पनि प्राप्त गर्न सक्छौँ । उडिरहेका चराबाट पनि प्राप्त गर्न सक्छौँ, गुडिरहेका गाडीबाट पनि प्राप्त गर्न सक्छौँ । यो बच्चाबाट पनि प्राप्त गर्न सकिन्छ, बुढापाकाबाट पनि । यसरी अनौपचारिक शिक्षा प्राप्तिका माध्यम र क्षेत्र विविध हुनसक्छन् । यो वा त्यो भन्ने सीमा यसमा छैन । तथापि यसभित्र भने बुढापाका केन्द्रित अनौपचारिक अध्यापन र सिकाइका विषयमा केन्द्रित भएर छलफल गरिनेछ ।

बुढापाका समाजभित्रका अथाह ज्ञानका स्रोत हुन् । अनुभवका भण्डार हुन् । कुराका कुनिउँ हुन् । विविध किसिमका उतारचढाउका थाक हुन् । यश अपयशका भकारी हुन् । उनीहरूसँग बाल्यावस्थाका आपूmले सम्झेसम्मका कुरादेखि वर्तमानको भोगाइ र पीडासम्मका विविध ज्ञान र अनुभव हुन्छन् । सद्भाव र मित्रता हुन्छ । आवश्यकतानुसार वैमनश्यता र शतुता पनि हुन्छ । व्यक्ति, परिवार, समाज र राष्ट्र/परराष्ट्र केन्द्रित गुलियो, अमिलो, नुनिलो, पिरो, तितो, टर्रो सबै स्वाद हुन्छ उनीहरूसँग । यसभित्र अनेक किसिमका चोट हुन्छन्, खोट हुन्छन् । पढाइ, लेखाइ, श्रम, परिश्रम, मेहनत, खटाइ, अवसर, धोका, घुमाइ, ताली, गाली सबै हुन्छन् । यी ज्ञान लिपिबद्ध नभएर स्मृतिजन्य हुन्छन् । जसरी हामीले कम्प्युटरमा काम गर्दा गरेको कामको अभिलेख त्यहाँ लिखित रूपमा रहन्छ, त्यसरी नै बुढापाकासँग जीवनका हर क्षणका राम्रा नराम्रा सबै विषय अलिखित रूपमा स्मृति बनेर बसेका हुन्छन् । यी स्मृति पनि कम्प्युटरमा जस्तै कहिले खुल्छन्, कहिले खुल्दैनन् । प्रायः त्यस्ता नखुलेका फाइल प्रसङ्ग आउँदा फ्याट्ट खुल्न पनि सक्छन् यदाकदा । यो परिस्थितिजन्य कुरा हो । विगतका स्मृतिका कतिपय कुरा बुढ्यौलीका कारण विस्मृतिमा पुगेपछि ठ्याप्पै बन्द हुन पनि सक्छन् ।

जीवन परिचालन क्रमका खारिएका व्यावहारिक सूत्र हुन्छन् यी बुढापाकासँग । पछिल्ला पुस्ताका लागि यस्ता सूत्र उपयोगी हुन्छन् । यस्ता ज्ञान पनि सबैसँग समान हुन्न । कसैसँग के कसैसँग के हुन्छ । नभएका कुरा अरूसँग लिने र भएका कुरा अरूलाई दिने हो उनीहरूले पनि । यस स्थितिमा बुढापाकाहरू पाइला-पाइलामा अध्यापक बनेर पढाइरहेका वा प्रस्तुत भइरहेका हुन्छन् । अध्यापन गरिरहेका हुन्छन् । समाजका सबै वर्ग र समुदाय, नारी पुरुष, बाल-किशोर-युवा-प्रौढ सबै उमेर समूहका यिनीहरू अध्यापक हुन् । यसरी अध्यापन गरे वापत यिनले कोही कसैबाट न कुनै पारिश्रमिक पाउँछन्, न त कुनै प्रशंसा र स्याबासी नै । आफूले अध्यापन गरिहेको छु भन्ने कुराको बोध पनि उनीहरूमा हुँदैन । तर उनीहरूबाट निरन्तर प्रवाह भइरहने विचार, तर्क, अनुभव र अन्य प्रासङ्गिक विषय सुन्नेका लागि शिक्षा र दीक्षा दुवै भइरहेको हुन्छ । बुढापाकाले भनेका कुराबाट के लिने ? के नलिने ? भन्ने कुरा शिक्षा प्राप्त गरिरहेका वा श्रोता बनिरहेका व्यक्तिमा भर पर्छ । जसरी रजहाँसले दुध र पानीबाट दुध मात्र निकालेर पिउँछ त्यसरी नै बुढापाकाले गरेका अध्यापनबाट आफूलाई चाहिने राम्रा कुरा मात्र ग्रहण गर्ने हो । बुढापाकाका भन्दैमा सबैका सबै कुरा आँखा चिम्लेर ग्रहण गर्नुपर्छ भन्ने पनि छैन । राम्रा र उपयोगी कुरा लिने हो । नराम्रा, अनुपयोगी र परपीडा हुने किसिमका कुरा एक कानबाट सुन्ने र अर्को कानबाट बाहिर उडाइदिने हो । बुढापाकाले भने भन्दैमा अनावश्यक कुरा दिमागमा थुपारेर जो कसैले ‘यसो गरूँ कि उसो गरूँ ?’ को स्थितिमा आपूmलाई पुर्‍याउनु हुन्न ।

बाबु/नानी भुम (बालबोलीमा लडिन्छ) हुन्छ त्यहाँ नजाऊ, आगो नचलाऊ फुई (बालबोलीमा पोल्छ) हुन्छ, कति राम्रा अक्षर लेखेको !, यस्तो राम्रो लेख्यो भने त साथीभाइ सबैलाई जितिन्छ, कति राम्रो पढेको, कति ज्ञानी बाबु/नानी भनेर केटाकेटीलाई सतर्क गराउनेदेखि फुस्ल्याउनेसम्मका कामले ती केटाकेटीमा पछिसम्मका लागि सकारात्मक ऊर्जा प्राप्त हुन्छ । अलिक ठुलो र बुझ्ने भएपछि तिनैलाई साथीभाइसँग मिल्नुपर्छ, झगडा गर्नु हुँदैन, घरमा बाबुआमाले दिएका खानेकुरा मिठो मानेर खानुपर्छ, जथाभावी खानुहुन्न, दाजुभाइ-दिदीबहिनी वा छरछिमेकी कोही कसैसँग झगडा गर्नु हुँदैन, मिलेर बस्नुपर्छ, आपूmले पाएका खानेकुरा घरका सानाठुला सबैले बाँडेर खानुपर्छ, बाआमा र आफूभन्दा ठुलाबडाले भनेका कुरा मान्नुपर्छ, विद्यालयमा शिक्षक/शिक्षिकाले सिकाएका कुरा ध्यान दिएर सिक्नुपर्छ, नुबुझेका कुरा डर नमानीकन सोध्नुपर्छ, विद्यालयबाट पाएको गृहकार्य बेलैमा सक्नुपर्छ, आज्ञाकारी हुनुपर्छ, सफासुग्घर भएर बस्ने बानी बसाल्नुपर्छ, बिहान चाँडै उठेर पढ्नेलेख्ने बानी बसाल्नुपर्छ जस्ता कुराले ती बालबच्चालाई दीर्घकालसम्म सकारात्मक रूपमा अघि बढ्न सघाउँछ । यस्ता ज्ञानगुन र नैतिकताका कुरा तिनै बुढापाकाले निरन्तर सिकाइरहेका हुन्छन् । त्यसैले पाइला पाइलामा उनीहरूबाट व्यक्त भइरहने यस्ता भनाइ पछिल्ला पुस्ताका लागि गुरुमन्त्र हुन् । समाजोपयोगी विषय हुन् । सफलताका सूत्र हुन् ।

युवावस्थामा पुगेपछि बुढापाकाले दिने शिक्षा वा उपदेश फेरि बेग्लै प्रकृतिको हुन्छ । मान्छेको स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले जाँडरक्सी आदि मदिराजन्य वस्तुको सेवन गर्नुहुन्न, साथीभाइ वा अन्य जो कोही मानिसका लहैलहैमा लागेर चुरोट खैनी आदि सुर्तीजन्य वस्तु खाने/पिउने बानी गर्नुहुन्न, घरका भातभान्सा लगायतका काममा फुर्सदका समय सघाउनुपर्छ, पढ्नेलेख्ने कुरामा भाइबहिनीलाई सघाउनुपर्छ, बिनाकाम रात-साँझ बाहिरफेर हिँडडुल गर्ने बानी गर्नुहुन्न, अप्ठ्यारोमा परेकालाई सकेको सहयोग गर्नुपर्छ, बाआमा र आपूmभन्दा ठुलालाई सम्मान गर्न सिक्नुपर्छ, आफूभन्दा सानालाई माया गर्नुपर्छ जस्ता कुरा कसले सिकाउँछ ? यिनै बुढापाकाले निरन्तर सिकाइरहेका हुन्छन् यस्ता समाजसापेक्ष उपयोगी कुरा । वृद्धावस्थाका यस्ता शिक्षादाता अध्यापकलाई समाजवासी हामी सबैले सदैव सम्मान गर्न सिक्नुपर्छ र गर्नुपर्छ पनि ।

अवैतनिक अध्यापक बनेर बुढापाकाबाट अध्यापन हुने यस्ता विषय जो कसैका लागि उपयोगी हुन्छ । हुन त यीमध्ये कतिपय कुरा औपचारिक शिक्षा प्राप्तिका क्रममा विद्यालयीय अध्ययनमा पनि सिकाइन्छ । प्राप्त गरिन्छ । त्यहाँ हुने त्यस्तो सिकाइ विषयवस्तु कण्ठ गर्ने र परीक्षा उत्तीर्ण गर्ने ध्येयमा मात्र केन्द्रित हुन्छन् । पछि व्यावहारिक जीवनमा ती कुरा त्यतिविधि ध्यानमा राखिन्न । तर प्रसङ्गअनुसार बुढापाकाबाट ठिक परिस्थितिमा ठिक तरिकाबाट अनौपचारिक रूपमा भनिएका त्यस्ता कुरा जीवनपर्यन्त सम्झिइन्छन् । यस अर्थमा पनि बुढापाकाको यस्तो अध्यापन निकै प्रभावकारी साबित हुन्छ ।

बुढापाकाबाट हुने यस्तो अवैतनिक अध्यापन, अर्ती उपदेश बाल, किशोर र युवालाई मात्र होइन, सबै उमेर समूहका व्यक्तिमा प्रवाहित हुन्छ । माथि उल्लिखित विषय त केवल साङ्केतिक मात्र हुन् । प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । अध्यापन गर्नेलाई अध्यापन गरिरहेको छु, शिक्षार्जन गर्नेलाई सिकिरहेको छु भन्ने अनुभूति नगर्दा नगर्दै सिक्ने अवस्था सुरुमा भनिएझैँ सबै अनौपचारिक हुन् । न यहाँ अध्यापन गर्नेले तलब पाइरहेको हुन्छ, न त सिक्नेले नै त्यस्तो सिकाइ वापत कुनै शुल्क तिरिरहेको हुन्छ । यो सबै अनौपचारिक स्थिति हो । जहाँ बिनापद बिनातलब अवैतनिक अध्यापक बनेर समाजका हरकुनाका बुढापाकाले आफूमा रहेको भोगाइजन्य, अनुभवजन्य परहितकारी विविध विषयवस्तु समाजका सामु निर्धक्कसँग पस्किरहेका हुन्छन् । सुन्दा र पढ्दा सामान्य लाग्ने यी विषयवस्तु व्यक्ति र समाजलाई सही दिशा दिने सन्दर्भमा भने निकै ऊर्जावान् हुन्छन्, उपयोगी हुन्छन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।

०००
२०८१/३/२३
काठमाडौंं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Kashiraj Suvedi
Kashiraj Suvedi
9 months ago

नमस्कार । आफ्ना विचार , भावनाहरुलाइ कृतिको माध्यमबाट प्रस्तुत गर्दा पनि अनौपचारिक शिक्षा वा शिक्षण हुन्छ होला।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x