साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पीडापोखरी-हाँसोपोखरी

गौरवपूर्ण जीवन बाँचिरहेका जो कोही वृद्धवृद्धाले बुढ्यौली जीवनलाई त्यस्तो जीवन बनाउन सक्नुपर्छ जसले आफूमा विद्यमान कुनै पनि किसिमको पीडालाई हाँसो र आत्मसन्तुष्टिमा बदल्ने क्षमता राखोस् ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

संसार पीडैपीडा मात्रको पहाड हुन्थ्यो भने शब्दकोशमा हाँसो शब्द समेटिने थिएन । संसार हाँसैहाँसो मात्रको सागर हुन्थ्यो भने पनि शब्दकोशमा पीडा शब्द समेटिने थिएन । यसबाट के बुझिन्छ भने संसारमा पीडा पनि छ, हाँसो पनि छ । दुवैको उपस्थिति र सम्मिलन हो यो सारा संसार । यहाँ उल्लेख गरिएको संसार कुनै मूर्त वा अमूर्त वस्तुको ढिक्का होइन, यो त तपाईं हामी सबैको उपस्थितिको समग्र स्वरूप हो । हातेमालो हो । आपसी व्यवहार हो । आपसी सौहार्दतासहित सन्तुलित समाजको निर्माण हो । यसैमा संसार रमेको छ र यसैमा संसार अडेको पनि छ ।

कुरा गरौँ अब पीडाको । पीडा शारीरिक चोटपटकका कारणले पनि हुन्छ, मानसिक आघातका कारणले पनि हुन्छ । यो पीडाको अलग-अलग अवस्था हो । शारीरिक चोटपटक लाग्दा एक किसिमको पीडा हुन्छ भने मानसिक आघातमा अर्को किसिमको पीडा । यसरी बुझ्दा शारीरिक वा मानसिक जटिलताको प्रत्यक्ष अनुभव, वेदना, व्यथा, कष्ट आदि सबै पीडाका अवस्था हुन् । शारीरिक चोटपटकको पीडामा औषधिका माध्यमबाट त्यस्तो चोट वा पीडाको उपचार हुन्छ भने मानसिक आघातको चोटमा व्यक्तिको संयमता र धैर्य नै यसको उपचार हो । औषधि हो । पीडाका अवस्थामा जो कसैको पनि अनुहारमा उज्यालोपन हुँदैन । मलिनता र अँध्यारोपनको उपस्थिति हुन्छ ।

हाँसो खुसीका अवस्थामा व्यक्तिको बाह्य मुखाकृतिमा देखिने प्रफुल्लावस्था हो । मुखाकृतिको उज्यालोपन हो । त्यसैले हाँस्नु भनेको मुखको मुद्रा र कान्तिले हृदयको खुसी वा आनन्द प्रकट गर्नु, कुनै पनि विषयको खुसीले मुखबाट आवाज निकालेर प्रसन्नता प्रकट गर्नु आदि अवस्था हो । हाँसो स्वखुसीमा पनि निस्कन्छ र परगिल्ला वा उपहासमा पनि ओइरिन्छ । तर यहाँ उल्लेख गर्न खोजिएको हाँसोको अवस्था भने मानसिक सन्तुष्टि वा हृदयको आनन्दावस्था हो, जो कुनै पनि प्रकारको पीडाजन्य अवस्थाको अनुपस्थितिमा जन्मिन्छ, उपस्थितिमा होइन ।

मानिसको वृद्धावस्था भनेको एक हिसाबले सक्रिय जीवन कर्मबाट एकपछि अर्को गरी ओइलिँदै गएको अवस्था हो । शिथिल हुँदै गएको परिस्थिति हो । यो अवस्था र परिस्थितिले जो कोही पनि मानिसलाई नजानिदो किसिमले क्रमशः अरूबाट भौतिक वा अभौतिक रूपमा एक्ल्याउँदै लैजान्छ । यसरी एक्लिनु परेपछि आप्mनै मनसँग कुराकानी गर्ने र विगत सम्झेर समय कटाउने स्थिति बन्छ ।

विगत जो कसैको पनि सुखद मात्र हुन्न दुःखद पनि हुन्छ । विगत जस्तो भए पनि वर्तमान सबै वृद्धवृद्धाको कुनै न कुनै हिसाबले दुःखदावस्था हो । कुनै न कुनै किसिमको पीडाले मानसिक तनाव दिइरहने अवस्था हो । सबै कुरा आपैmँले भनेजस्तो, आपैmँले सोचेजस्तो, आपैmँले चाहेजस्तो कसैको पनि हुँदैन । व्यवहार, रोजगारी र घरायसी जिम्मेवारी आदिका हिसाबले आप्mनै सन्तान पनि आफूबाट टाढा भइरहेको अनुभूति हुन थाल्छ यस्तो अवस्थामा । यो स्वाभाविक पनि हो । स्वाभाविक यस अर्थमा कि वृद्धावस्थाका बाबुआमा वा जो कोहीलाई ढुकेर बसेर कसैको पनि व्यवहार चल्दैन । भविष्य बन्दैन । उनीहरूका पनि छोराछोरी हुन्छन्, घर व्यवहार र अन्य जिम्मेवारी हुन्छ । त्यस्ता कुरालाई बृद्धावस्थाका बाबुआमा वा अरूले विचार गरिदिनुपर्छ । मनन गरिदिनुपर्छ । यसो नगर्ने हो भने सृष्टिले निरन्तरता पाउनै सक्तैन । सृष्टिलाई गतिमान बनाउन पनि यो जरुरी छ । तर त्यसको पनि एउटा निश्चित सीमा भने हुनुपर्छ ।

आफ्ना छोराछोरी वा अन्य जो कोही आश्रयदाताको यस्तो अवस्था विचार नगरिदिने र आफ्नै मात्र विषयमा सोचिरहन थालेपछि वृद्धवृद्धामा मानसिक पीडा दिन प्रतिदिन एकपछि अर्को गरी थपिन थाल्छ । यदि यही कुरालाई वृद्धवृद्धाले माथि उल्लेख गरिएझैँ मनन गर्ने हो भने आफूमा उत्पन्न त्यस्ता पीडा स्वतः कम हुँदै जान्छन् । यसरी पीडा कम हुँदै जानु भनेको हृदयमा सन्तुष्टि भरिन थाल्नु र परिणाममा त्यो हाँसो वा मुस्कुराहटमा बदलिने अवस्था सिर्जना हुनु हो ।

फेरि अर्को कुरा वृद्धवृद्धा वा अन्य जो कोही मानिसमा पीडाको कारण पारिवारिक बेमेल वा असमन्जस मात्र हुन्न । राम्रो आर्जनमा रहेका कतिपय मानिस उमेर हद वा अन्य कारणले त्यस्तो अवस्थाबाट वञ्चित भएपछि ती अथाह पीडामा पर्छन् । बाहिर व्यक्तिदैनन् तर भित्रभित्र त्यसै-त्यसै मुकुरिइरहन्छन् । यस्तो अवस्था भनेको चिन्तामाथि चिन्ता थपिने अवस्था हो । जसले मानसिक पीडा सञ्चितिमा पर्याप्त योगदान गर्छ । यस्तो योगदानले उसको भावी जीवनमा नकारात्मक प्रभाव पर्दै र बढ्दै जान्छ । यस्तो अवस्था जागिरदार, उद्योगी, व्यापारी, शासक, प्रशासक, गायक-गायिका, कुनै पनि क्षेत्रका बिचौलिया, दलाल, लेखक/साहित्यकार, कलाकार, राजनीतिज्ञ, राजनीतिक नियुक्तिबाट विमुख पात्र, प्राकृतिक वा अन्य विपद् पीडित आदि सबैमा पर्छ । समाजभित्र यस्ता धेरै पात्र/पात्रा छन् जो यस्तो अवस्थाको सिकार बनिरहेका छन् । समाजलाई नजिकबाट नियाल्दा यस्ता कुरा पर्याप्त भेटिन्छन् ।

पछिल्लो समय युवाको विदेश मोह र बाध्यता पनि पीडामाथि पीडा थप्ने कुरामा मुख्य कारण बनेर हाम्रो समाजलाई विचलित गराउन उद्यत छ । कतिपय अवस्थामा यो मोहजस्तो देखिए पनि यथार्थमा यो स्थिति अधिकांशको बाध्यता बनेको देखिन्छ । यसबाट कतिपय लाभान्वित पनि भएका छन् भने कतिपय भएको सम्पत्ति स्वाहा पारेर बिचल्लीमा परेको स्थिति पनि छ । यी सबै कुराको मार कार्यालयको प्रमुखले आफूभन्दा तल्लोलाई गाली गरेपछि त्यो गाली सर्दै गएर कार्यालय सहयोगी (साबिकमा पियन पदनाम) का घरमा मकै भुट्दै गरेको हाँडी फुटेको भन्ने कहावतजस्तो हुँदै तल-तल चुहिँदै गएर बढीभन्दा बढी वृद्धावस्थाका मानिसमा पर्न पुगेको हुन्छ । कारण- शारीरिक रूपमा सक्षम र हिम्मत भएका मानिस जसरी पनि आप्mनो गुजारा चलाउँछन् तर तिनका अभिभावक बनेर घर कुरुवा बनेका वृद्धवृद्धा हरहमेशा चिन्ताको भुमरीमा जकडिन पुग्छन् । वृद्धावस्थामा सुख सुबिधाका साथ बसौँला, खाऔँला भन्ने सोचमा रहेका त्यस्ता वृद्धवृद्धामा यस्तो परिस्थिति सिर्जना हुन गयो भने अवश्य नै तिनको मानसिक स्थिति यथास्थितिमा रहन सत्तैmन । रहँदैन । जतिसुकै कठोर बनेर मनलाई बाँधे पनि तिनको मानसिकतामा सानो वा ठुलो चोट परिहाल्छ । जसले मानसिक पीडाको बढोत्तरीमा ठुलो भूमिका खेल्छ ।

खोलामा बगेका मानिसले तैरिने प्रयास गर्नैपर्छ । पहिरोमा परेकाले बाहिरिने प्रयत्न गर्नैपर्छ । प्राकृतिक विपद्ले महलको मानिस मैदानमा झर्नसक्छ । ठुला-ठुला उद्योगी व्यवसायी पनि आप्mनो उद्योग व्यवसायमा निरन्तरको गिरावट आएर नाङ्गलोमा सीमित हुन सक्छन् । त्यसैले कतिखेर को के हुन्छ थाहा छैन । तर यी सबैको परिणाम पीडाको उत्पत्ति र भण्डारणमा अभिवृद्धि हो । यस्तो अवस्था प्रायः जीवनको उत्तराद्र्धकालतिर आइलाग्छ । जीवनको उत्तराद्र्धकाल भनेको जो कोही मानिसको वृद्धावस्था हो । अशक्तावस्था हो । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैँको स्थिति हो । यस्तो अवस्था नचाहेर पनि कतिपय मानिसले बेहोर्नै पर्छ । यसको सार परिणति माथि उल्लेख गरिएझैँ हुने भएकाले यसलाई पटक पटक दोहोर्‍याइरहन आवश्यक रहेन । तर, यस्तो अवस्थामा गर्ने के ? त्यो चाहिँ महत्वपूणर् विषय हो ।

कतिपय राजनीतिज्ञ वा ती आबद्ध दल राजनीतिक झुक्यानको भाषामा कतिपय अप्ठ्यारो अवस्थामा शोकलाई शक्तिमा बदल्ने कुरा गर्छन् । सोही अनुरूपको नारा दिन्छन् । शोक शक्तिमा बदलिन्छ कि बदलिन्न थाहा छैन तर केही समयका लागि तिनका अनुयायी यस्ता भाषामा अलमलिन्छन् र तत्कालको शोकावस्थालाई बिर्सछन् । मानसिक पीडा वा अप्ठ्यारो अवस्थाबाट अलमलिन पारिवारिक वा अन्य किसिमको पीडामा परेका मानिसको घरायसी जीवनका सन्दर्भमा पनि यस किसिमो भनाइ र विधि लागु गर्न सकिन्छ । गरिनुपर्छ । यसो हुन सक्यो भने पीडावस्था र त्यसको अनुभूति स्वतः कम हुँदै जान्छ । सन्तोषको सास बाक्लिदै जान्छ । यसपछिको स्थिति भनेको हाँसो उत्पन्न हुने स्थिति हो । विगतको जस्तो अट्टहास हाँसो उत्पन्न हन नसके पनि जीवन मुस्कानमय भने अवश्य नै बन्छ । वृद्धवृद्धाले जुनसुकै परिस्थितिमा यस्तो मुस्कानमय स्थिति सिर्जना गर्नैपर्छ । रोएर, कराएर, पीडाबोध वा गुनासो गरेर मात्र कुनै पनि किसिमको सकारात्मक प्राप्ति हुँदैन ।

अनि, अर्को एउटा बुझ्र्नपर्ने कुरा- बुढ्यौली जीवन सबैले प्राप्त गर्न सक्दैनन् । स्वस्थ भएर दीर्घकालसम्म बाँच्न पाउने अवसरलाई भगवान्को आशीर्वादका रूपमा लिनुपर्छ । यो जो कोही पनि बुढ्यौली जीवन बाँचिरहेका व्यक्तिका लागि गौरवावस्था हो । यस्तोमा बिनासङ्कोच भगवान्प्रति कृतज्ञता प्रकट गरेर गौरवबोध गर्नैपर्छ । त्यसैले यसरी गौरवपूर्ण जीवन बाँचिरहेका जो कोही वृद्धवृद्धाले बुढ्यौली जीवनलाई त्यस्तो जीवन बनाउन सक्नुपर्छ जसले आफूमा विद्यमान कुनै पनि किसिमको पीडालाई हाँसो र आत्मसन्तुष्टिमा बदल्ने क्षमता राखोस् । यस्तो क्षमताले मानसिक पीडापोखरी पुरिएर त्यसै स्थानमा हाँसोपोखरी निर्माण हुन्छ । परिणाममा जीवन केही हदसम्म भए पनि सुखमय बन्छ । मुस्कानमय हुन्छ । यति हुन सक्यो भने बुढ्यौली वयको सार्थकता रहन सक्छ, अन्यथा अलमल र अप्ठ्यारोमै जीवन व्यतीत हुने पक्का छ । सबैलाई यथोचित चेतना भया ।

०००
२०८१/३/२५
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x