साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उहिलेको जिभ्रो अहिलेको ज्यान

सांसारिक वस्तुबाट उपलब्ध हुने सुखसुविधाको उपभोग हामीले जति गर्नुपर्थ्यो गरिसक्यौँ । अब, भगवानका रूपमा हाम्रा सामु खडा भएका यिनैले दिएको सन्देशलाई आत्मसात् गरेर हामी अगाडि बढ्नुपर्छ ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

मान्छेको स्वभाव जिताहा हुन्छ । कसैसँग हार्न चाहँदैन । अरूका त अरूका भए, आफ्नै स्वभावसँग पनि ऊ कत्ति हार्न चाहँदैन । चाहे पहिलाको होस्, चाहे अहिलेको । यही जिताहा स्वभाव र जिद्धीपनाले उसको जीवन भोगाइ दिन प्रतिदिन कष्टकर हुँदै जान्छ । नजानिँदो किसिमबाट स्वास्थ्यमा क्षयीकरण हुँदै जान्छ । तैपनि ऊ आफ्नो स्वास्थमैत्री हितकारी वचन स्वीकार्न तयार हुँदैन । त्यसमाथि जीवनको उत्तरार्द्ध वयका मानिस त झनै यस्ता कुरामा अरूभन्दा बढी नै अटेरी हुन्छन् । जिताहा हुन्छन् । यस्ता वयका मानिस न अरूका कुरा सुन्न चाहन्छन्, न आफ्नै सुझबुझले सुधारिन्छन् । फलतः दिनानुदिन दुःखको सागर गहिरिँदै जान्छ तिनका सामु ।

डाक्टरले अमिलो पिरो नखानु है भन्दा पनि डाक्टरको काम भन्ने हो भनिरहन्छ । हाम्रो काम खाने हो । खानुपर्छ । हामी जस्ता मान्छे खाएर विरामी परिएन भने तिनको के काम ? बिरामी पर्ने काम हाम्रो हो, उपचार गर्ने काम तिनको । तिनले नखा भनेर हुन्छ ? अर्कालाई भन्ने मात्र हुन्, ती डाक्टरले खाएको पनि हामीले देखेका छौँ भन्दै आफ्नो बडप्पन देखाइरहेका हुन्छन् । अटेरीपन प्रदर्शन गरिरहेका हुन्छन् । डाक्टरले भनेका कुरा मान्यो भने सानो भइन्छ, आफू तल परिन्छ भन्ने सोच तिनका मनमा हुँडलिइरहन्छ ।

चुरोट, तमाखु वा अन्य सुर्तीजन्य वस्तु खान हुँदैन भनेर डाक्टरले सुझायो भने उनीहरू डाक्टरको उपस्थितिमा हुन्छ-हुन्छ भन्ने भावमा टाउको हल्लाउँछन् । अनि, डाक्टरको अनुपस्थितिमा सात वर्षका उमेरदेखि खाएको चुरोट सुर्ती तिनले भनेर छोड्न सकिन्छ भन्दै कुर्लिन्छन् । पाँच रुपैयाँको सुर्तीले पच्चिस मिनेट फुर्ती दिन्छ भन्ने कुरा तिनलाई के थाहा ? खाएका भए पो चाल पाउँछन् भन्दै आप्mनो कुलतलाई सही प्रमाणित गरिरहेका हुन्छन् । कतिपय भोजभतेरमा तिनै डाक्टरले चुरोटलगायतका अस्वस्थकर वस्तु सेवन गरिरहेको हामीले कति देखेका छौँ-छौँ भन्दै आफ्नो गलत व्यवहारलाई उचित साबित गरिरहेका हुन्छन् । कम उमेरका र युवा वयका मानिसले यसो भनिरहँदा कसैले तिनका कुरामा खासै चासो राखिरहेका हुन्नन् । तर, यही कुरा जीवनकालका सबै कुरा भोगेबुझेका बुढापाकाले भने भने कत्ति सुहाउँदो रहेनछ । अरूका लागि उदाहरणीय बन्नुपर्ने व्यक्तित्वहरूबाटै यस्ता अभिव्यक्ति आउनु र सत्य कुरालाई पनि स्वीकार गर्न हिच्किचाउनुले उनीहरूको जिताहापन प्रस्ट हुन्छ ।

एउटा कार्यक्रममा कतै जाँदा करिब-करिब उस्तै वयका दुई जना आदरणीय वृद्ध भेटिए । उमेर त्रियासी चौरासीको हाराहारी । देश मात्र नभई विदेशका पनि कुनाकन्दरा बुझेका वृद्धहरू । निकै पढेलेखेका । संसार देखेका । दुवैको एउटै कुरा थियो- मर्ने बेलामा रोग लाग्यो । मुटु, दम, सुगर, पे्रसर आदि सबै रोगका धनी । त्यसमाथि कोलस्टोरल र टाइग्लिसराइज (टिजी) पनि त्यत्तिकै उच्च । आपूmलाई त किड्नी र पोस्ट्रटको पनि अलिअलि समस्या छ भन्दै थिए ती मध्ये एक । अचम्म त के भने ती दुवैका अगाडि अलग-अलग मदिराजन्य हरिया बोतल छन् । दुवै मांसाहारी रहेछन् । दुवैका दाँतले पार्टी परित्याग रहेका रहेनछन् अहिलेसम्म । सबै साथमै देखिन्छन् । नक्कली हो वा सक्कली त्यो त थाहा भएन तर दुवैका दाँत तन्दुरुस्त देखिन्थे । खसीका सेकुवा, बोसोको झोलमा पटटट्ट पड्काइएको तात्तातो भुटन, फ्राइड बँदेल, पिँधिएको जिरा खुर्सानी र नुनको छुट्टै प्लेट, आगोमा पोलेर बनाइएको छोयला । तात्तातो फ्राइड ममः । सौखिन पनि कति कति !

सामूहिक भोज न हो । निमन्त्रितहरूको भिडले हल टनाटन छ । ती दुई वृद्धको खानपानको तौरतरिका देखेर अर्का एक वृद्धले एउटा कुनै निहुँ निकालेर परिचय गर्न भ्याए । बोलाकी रहेछन् बुढाहरू । खाँदै हाँस्दै गफ गरिरहे । कसैको कुनै परवाह छैन । उनीहरू भन्दै थिए- अब कति नै वर्ष बाँचिएला र ? बाँचुन्जेल अहिलेसम्म रमाइलो गरेरै बाँचियो भने बाँकी जीवन पनि यसरी नै बिताउने हो । नपुग्दो केही छैन । भोज भतेरमा मात्र हैन, घरमा पनि हामी त सधैँ यस्तै हो । यति नगरी निद्रै लाग्दैन । निदाउने बाटो त गर्नै पर्‍यो नि । त्यसमाथि नियमित गरिआएको कुरा, नयाँ कुरा केही भएन ।

डाक्टरले यसो भनेका छन् नि भनेर छोराछोरीलगायत घरकाले भन्दा उनीहरूको भनाइ सधैँ यस्तै जिताहा प्रवृत्तिको रहन्छ । त्यसमाथि नबुझेकालाई बुझाउन सजिलो हुन्छ, बुझेकालाई बुझाउन गाह्रो । भनिन्छ नि निदाएकालाई बिउँझाउन सकिन्छ निँदको नक्कल पार्नेलाई बिउँझाउन सकिन्न । यहाँ पनि त्यस्तै हो । अनि कतिखेर सुझावकर्ता पनि दिक्क भएर भिरबाट लड्ने गोरुलाई राम-राम भन्न सकिन्छ काँध थाप्न सकिँदैन भनेर पन्छिन खोज्छन् । कुरो हो पनि । राम्रा कुरा जसले खान्छ उसलाई खुवाउने हो, नखानेलाई किन कोच्याउनु ? राम्रा कुरा गर्नु पनि छ, उल्टै करकरेको उपाधि पनि भिर्नुपर्छ भने को तयार हुन्छ त्यस्तो उपाधि ग्रहण गर्न ?

माथिका दुई वृद्धका प्रसङ्गमा देखा परेका तेस्रा वृद्धले ती मध्ये एकलाई भने तपाईंलाई त डाक्टरले अस्ति मात्रै पथपरहेजमा रहन त्यत्रो आग्रह गरेको होइन ? बिर्सनु भो ? भनेर सोधे । यी प्रश्नले ती वृद्ध अकमक्क पर्दै अलिक कस्तो-कस्तो अनुहार बनाएर तिनैलाई प्रतिप्रश्न गरे- ‘कसरी थाहा पाउनु भो तपाईंले ? मेरै छोराको काम त होला नि बाबुका विषयमा यसरी प्रचार गर्दै हिँड्ने ?’

ती वृद्धले भने- त्यस्तो शङ्काको भार बिसाउनुस् । डाक्टरले तपाईंलाई त्यसो भनिरहँदा म त्यहीँ थिएँ । म पनि बुढियाको स्वास्थ्य परीक्षण गराउन तिनै डाक्टरकोमा गएको थिएँ । तपाईंपछि मेरो पालो रहेकाले डाक्टर र तपाईंबिचको वार्ता मैले सबै सुनेको थिएँ । असाध्यै राम्रा डाक्टर हुन् ती । असाध्यै अनुभवी छन् । कसैलाई कहिल्यै गलत सल्लाह दिँदैनन् । आफू पनि सही आचरणमा बस्छन् । ठिक छन् ती डाक्टर । त्यही भएर तपाईं पनि त्यहाँ पुग्नु भो, म पनि पुगेँ । तपाई हाम्रै स्वास्थ्य राम्रो होस् भनेर सल्लाह दिएका हुन् उनले । आप्mनो स्वास्थ्यको ख्याल आफूले नगर्ने हो भने डाक्टरकोमा किन धाइरहन पर्‍यो र ? तपाईं हामी जस्ता यत्तिका बुझेका मानिसलाई अर्काले भन्नै नपर्ने हो । यो त जानेरै गर्ने विषय हो । होइन र ? तपाईंहरू यसरी रमाइलो गरिरहेका बेलामा मैले बढी बोलेजस्तो लाग्छ भने मलाई माफ गर्नुहोला ।

उनका कुरा स्वीकार्नुको सट्टा ती वृद्धले आफ्नो जिताहापन फेरि देखाउँदै हाँस्दै भने यस संसारमा अजम्मरी कोही छैन । एक दिन जानैपर्छ भने दुई दिनको जिन्दगीमा रमाइलो गर्नैपर्छ । छाड्दिनुस् यस्ता कुरा । सुझावका लागि तपाईंलाई धन्यवाद ।

सुझावकर्ता वृद्धले फेरि थपे- मर्न त सबैले मर्नैपर्छ तर सुबिस्तासँग मर्ने कि कष्ट बेहोरेर मर्ने भन्ने कुरा विचारणीय हो । जतिसुकै सम्पन्न मानिस पनि एक पटक मर्छन् र जतिसुकै विपन्न मानिस पनि त्यसरी नै एक पटक मर्छन् । मराइमा दुवैको समानता रहन्छ । मलाई सोध्नुहुन्छ भने मान्छेको जिभ्रो र मन कहिल्यै बुढो हुँदैन । जिभ्रोले पहिलाकै खाना खोज्छ । पहिलाकै स्वाद खोज्छ । तर तपाईं हामीजस्ता कुरा बुझेका मानिसले पहिलाको जिभ्राको स्वाद मात्रै सम्झने होइन, अहिलेको ज्यान पनि सम्झनुपर्छ । उहिलेको जिभ्रो र अहिलेको ज्यानलाई यसरी नै निरन्तर भेट गराइरहने हो भने त्यस्तो भेट गराइ तपाईं हामी जस्ता मानिसका लागि कदापि हितकर हुँदैन । त्यसैले हामीजस्ता मान्छे त्यस्ता स्वादे जिभ्राको अधीनमा होइन, हाम्रा अधीनमा ती जिभ्रालाई राख्नुपर्छ भन्ने ठान्छु म ।

तेस्रा वृद्धका यी कुरा सुनेपछि पहिलाका दुई वृद्धले मुखामुख गरे र एक अर्कालाई गम्भीर भएर नियाले । ‘हो त नि !’ भनेजस्तो भावमा उचालेको गिलास टेबुलमा राखे । भुटन र सेकुवा उचाल्दै गरेको चम्चा त्यसै प्लेटमाथि घोप्ट्याए । क्षणभरको मौनतापछि एक वृद्धले मुख खोले र भने- यथार्थमा यिनले भनेका कुरा साँचा हुन् नि । हामीले अब भोग्नुपर्ने कुरा करिब-करिब सबै भोगिसक्यौँ । चाख्नुपर्ने विषय सायद अब केही छैन । हाम्रा पूर्वीय दर्शनमा आधारित शास्त्रहरूले पनि जीवनको उत्तराद्र्धकाललाई वानप्रस्थको समय भनेको छ । वैदिक आर्यहरूले निर्धारण गरेका आश्रममध्ये तेस्रो आश्रम वानप्रस्थमा यी सब कुरा उपलब्ध हुँदैनन् र भोगिँदैन पनि । हामीले यस विषयलाई यसरी सोचेकै रहेनछौँ । मलाई सोध्नुहुन्छ भने यी साथीले हाम्रा आँखा खुलाइदिए । अबको हाम्रो जीवन भनेको सहज जीवनयापन हो । कष्टरहित सहज गन्तव्यको खोजी हो । त्यसका लागि हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य हो । मेरा हकमा म अब यी खानपानलगायतका विषयसुखका पछि लाग्दिनँ । सांसारिक वस्तुबाट उपलब्ध हुने सुखसुविधाको उपभोग हामीले जति गर्नुपथ्यो गरिसक्यौँ । अब, भगवान्का रूपमा हाम्रा सामु खडा भएका यिनैले दिएको सन्देशलाई आत्मसात् गरेर हामी अगाडि बढ्नुपर्छ । भोलिका पुस्ताका लागि उदाहरणीय व्यक्तित्व बन्ने अवसरको सदुपयोग गर्नुपर्छ । कि कसो ? तपाईंलाई कस्तो लाग्छ ? प्रत्युत्तरमा उनले पनि उसै गरी स्वीकृतिसूचक मुन्टो हल्लाए र भने- कुरा ठिक हो । यी कुरालाई अब मैले पनि मनन गरेँ ।

वृद्धावस्था र यतिखेरको स्वास्थ्य अवस्था समेतलाई ध्यानमा राखेर हिजोको जिभ्राको पछि नलागेर आजको ज्यानका पछि लाग्ने विषयमा दुवैको सहमति बन्यो । सहमति गर्नेमा दुई वृद्ध भए पनि परम सन्तुष्टिको हाँसो मिसाउनेमा भने तीनै जना वृद्धको सहभागिता रह्यो ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x