सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नातिको पास्नी : पाठाको चास्नी र म

यतिखेरं मेरा नाके प्वालभित्र बोकेगन्ध पनि नपसेझैँ लाग्यो र मेरो घरको हावा पनि घटस्थापनाको दिनदेखि नै फेरिएझैँ लाग्यो ।

Nepal Telecom ad

चन्द्रमा दाहिने भए भने गोरु त ब्याउँछ भने दिनको गति सुल्टो भएको बेलामा खोपीमा छोरो जन्माउनु र खोरमा बाखी बियाउनु भनेको कुनै नौलो कुरा भएन । मेरो आफ्नो लागि यो नयाँ वर्ष शुभको भएर जन्मिएको हो । यदि त्यसो नभएको भए बुहारीले घुतुमुने छोरो र बाखीले जन्मिँदैमा धार्नीका दुईवटा पठ्याङ्ग्राहरू पाउँथे र ? तपाईं नै सोच्नुहोस् न । मैले पनि एउटै शुभ मुहूर्तमा जन्मिएका हुनाले नाति र पाठाहरूको नामकरण पनि महीनाकै आधारमा राखिदिएँ । नातिको नाम माधव र पाठाहरूको नाम मेषे र वैशाखे गरिदिएँ आफूले बनाएका पूजाका सामग्रीले पूजा गरेकाले देवता प्रसन्न भएर घुतुमुने नाति र बाख्राका पठ्याङ्ग्राहरू जन्मिएका हुन् भन्ने विश्वासले मेरी बूढीमाऊ दङ्गदास थिइन् । यी दुवै सुत्केरीहरूलाई नउम्काउँदासम्मन् र शिशुहरूको नामकरण नगर्दासम्म त मेरो घर र खोर जुवानै जुवानो भएका हुन् ।

मेरी घरबूढी दयालु स्वभावकी भएकाले होला नातिलाई घस्ने तेल तताउँदा । तेलको मात्रा केही बढाउँथिन् र अलिकति ज्वानो मिसाएको तेल अर्घौताले बाख्रालाई पनि खुवाउँथिन् । सुत्केरी बाख्रीलाई तेल खुवाउँदा उसलाई चिसो लाग्दैन पठ्याङ्ग्राहरूलाई दूधको मात्रा पनि बढ्छ भन्ने अनुभवसिद्ध विश्वास उनको थियो । मलाई बुहारीको खोपीमा गएर नाति माधवलाई हेरिरहने अनुकूल नभएकाले मैले पिंढी र आँगनमा उफ्रिरहने मेषे र वैशाखेलाई हेरेरमात्र वात्सल्यप्रेमको सन्तुष्टि लिन्थें । खोपीको नातिको रुवाइ घोइरोघोइरोमात्र सुनिन्थ्यो, अस्पष्ट सुनिन्थ्यो अनि मलाई छुट्टै किसिमको आनन्द हुन्थ्यो अनि म आगनमा उफ्रिरहेका मेषे र वैशाखेका खुट्टा समातिदिन्थें । उनीहरू चिहिरिएको चर्को आवाज आएपछि मैले नातिको रुवाइको आनन्द लिन्थेँ । आनन्दको अनुभूति पनि कस्तो कस्तो हुँदोरहेछ हकि केटाकेटीहरूको रुवाइमा पनि आनन्दले बास गरेको हुँदो रहेछ हकि ? त्यतिखेर मलाई मेरो घरमा दया र वात्सल्यले बास बसेझैँ लाग्यो ।

आँगनमुनिको बारीमा लगाइएको खुर्सानीको मुन्टा र भेन्टाका बिरुवाका पात ट्यापट्याप पारेर खाएको देखेर मेषे र वैशाखेप्रति मेरी बूढीमाऊ मायाको भाकामा झर्किन्थिन् र दुवैलाई एक एकवटा डोकाले छोपेर राखिदिन्थिन् भने पिंढीको एउटा कुनामा घामको मधुरो छायाँमा छोरालाई सुताएर मेरी बुहारी पनि भित्र र बाहिर गर्थिन् । यति नै बेला तिलकाने बाख्री पनि आफ्ना छोराहरूलाई आफ्नै मीठो स्वरले म्याक्याक्याक्या गरेर बोलाउँथी । प्रत्युत्तरमा पाठाहरूले पनि आफूहरू डोकाभित्र थुनिइएकाले उफ्री उफ्री डुल्न नपाएकामा विरोध जनाउँथे । पिंढीका एकएक थाममा अडेस लगाएर बसेर यी सबै दृश्यहरूलाई नजीकबाट नियालिरहेका हामी दम्पतीले पनि बुढ्यौली ठट्टा गरेर परस्परमा आँखा झिम्क्याउँथ्यौं ।

समय ज्यादै गतिशील छ, ऊ हिंडिरहन्छ तर उसलाई थकाइ लाग्दै लाग्दैन । ऊ साँच्चै नै एकोहोरोसँग हिंडिरहन्छ, हिंडिरहन्छ समयको यसै प्रवाहमा प्राणी जन्मिन्छ, हुर्किन्छ, बुढिन्छ र मर्छ पनि यसै क्रममा तिलकाने बाख्रीका दुईवटै पठ्याङ्ग्राहरू पनि पाठा हुँदै क्रमशः वोकातिर उन्मुख हुँदै थिए भने मेरो नाति मधु पनि ओल्टोकोल्टो फेर्न तरखरमा लागेको थियो । ऊ पनि अब साङ्केतिक भाषा बुझ्ने भइसकेको थियो “बो व डी कटै कटै” भनेर उसकी हजुरआमाले हप्काउँदा ऊ पनि चोसो पसारेर रुने गर्थ्यो भने “छुनुमुनु बाबा छुनुमुनु” भन्दा भने ऊ दाँत उम्रिनसकेका तर पोटिला गिजा देखाएर हाँसिदिन्थ्यो । यस दृश्यले हामी दम्पत्ती हर्षविभोर हुन्थ्यौं र परस्परमा वसन्त ऋतुका आरुका फूलका रूपका आफ्ना दात देखाएर आँखा झिम्क्याउँथ्यौं । अनि म मनमनै सोच्यें- यसै लौकिक आनन्दलाई देखेर प्राचीन ऋषि महर्षिहरूले पनि आनन्दमूलक पारलौकिक स्वर्गको कल्पना गरेका होलान् ।

यसै बेला मेरी बुढीमाऊले कुरै कुरामा भनिन्- “खोर पनि गन्हाउन थाल्यो । यी बोकाहरू पनि बढी नै चलमल गर्न थाले ।” बूढीमाऊले घुमाउरो शैलीमा यी बोका उन्मुख पाठाहरूलाई निर्बीजीकरण वा नपुङ्सकीकरण गराउनेतर्फ सङ्केत गरिन् । बूढीमाऊको व्यावहारिक सल्लाह र मेरो भावुकताको बीचमा सामञ्जस्य नआउँदा नआउँदैमा धेरै दिनहरू बिते । साँच्चै नै मेरो घर र वरपर बोकेगन्धले दुर्गन्धमय नै भयो ।

समय बित्दै गयो र कालक्रमले शरद पनि आइपुग्यो अरूहरू धर्मभीरू हिन्दूहरूको घरमा जस्तै मेरो घरभित्र पनि गतिलोसँग धान्न पनि नसकिएको र सोरसरातको विकरको पिण्ड पन्छाउन पनि नसकिएको दशैं नामको संस्कृति पनि भित्रियो । यथार्थमा नै “बाहिर भनेको भंडार हो, भित्र भनेको ओडार हो” भन्ने मेरी बुढियाले चाडको चाँजोपाँजो मिलाउँदै कुरैकुरामा भनिन्- “माधवको पास्नी र दशैंको चास्नी सँगैसँगै आए । नवदुर्गाको शुभारम्भका दिनमा नै पास्नीको पनि साइत जुरेको छ रे ।” च्याँसे जोतिषीको सन्देश उनले मलाई सुनाइन् । उनले आफ्नो नातिको पास्नीका लागि मासुचिचीको व्यवस्थाबाहेक अरू सबै सामग्री’ जुटाएको कुरा गरिन् र भित्र पसिन् । त्यसको केही बेरपछि भित्रबाट बाहिरिंदै उनले भनिन्- “हाल महाकाली देवी हाम्री अनुकूलकी भएकी छन् । त्यसैले यस पटकको कालरात्रीमा निख्खरा काला पाठाको वलि दिएर उनैको पर्सादी खाने पो हो कि ?”- उनले उनै मेषे र वैशाखेप्रति सङ्केत गरिन् ।

म आफूले भने यस पटकको दशैंलाई यात्रादशैं मनाउने निणर्य गरेकाले भोलिपल्टको बिहानै पोको पुन्तुरो कसेर बुढियालाई भनें- “तिमी गृहलक्ष्मीले नै गृहस्थी धर्म गर्ने नै छौ, लौ त बिदा ।” यति भन्दै मैले बाटो तताएँ ।

दशैं र मेरो यात्रा पनि सँगैसँगैजसो सकिए मैले नातिको भात खुवाइका लागि भनेर चिनोस्वरूप ल्याइदिएको लुगा पनि उसलाई लगाइदिएँ बुहारीले तानतुन पारेर नातिको लुगा मिलाइदिइन् । हजुरआमा चाहिँ नातिलाई उचालेर नाच्न थालिन् । त्यसैबेला मेरो आँखा तिलकाने बाख्रीको टाट्नामा पुगेर अडियो । मलाई तिलकानेका आँखाहरू रुँदारुँदै सुनिएका झैँ लाग्यो । उसले मलाई निकै गहिराइसँग हेरेर मक्याक्या गरी । मलाई उसको आवाज रुन्चेरुन्चे जस्तो लाग्यो, अनि मलाई गिज्याएझैँ लाग्यो । उसले मलाई अव्यक्त भाषामा कसाईका घरमा काट्न ल्याएको पशुले उसको सामुमा दुखेसो पोखेझैँ लाग्यो वा भान भयो । यति नै बेला मेरा आँखा आँगनका दुई ठाउँमा गएर अडिए, जहाँ एक साताको अन्तरको जस्तो लाग्ने रगत कटकटिएका दुई स्थान देखिए । अचानक फेरि मेरा आँखा र तिलकाने बाख्राका आँखाहरू जुधे । मैले मेरा आँसुले डबडबिएका आँखा देखाएर उसका दृष्टिमा आफूलाई क्रुर र दुर्मानव देखाउन खोजिन र आफ्नो शरीरलाई अन्यत्र नैं मोडें । यतिखेरं मेरा नाके प्वालभित्र बोकेगन्ध पनि नपसेझैँ लाग्यो र मेरो घरको हावा पनि घटस्थापनाको दिनदेखि नै फेरिएझैँ लाग्यो ।

०००
‘प्रमुख अतिथि’ २०६५

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मेरो पुच्छर

मेरो पुच्छर

राजेन्द्र सुवेदी
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल