
देशनिर्माणको आधार : शौचालयको कारोबार
यसवाहेक उपत्यकालाई हराभरा गर्ने साधन र देशैलाई उठाउने ठूलो अर्को माध्यम मैले आजसम्म देखेको पनि छैन । तपाईंहरूले त्यो माध्यम देख्नुभएको भए बेग्लै कुरा हो ।

चूडामणि खनाल
मैले अर्थशास्त्र पनि पढेको छैन । म वाणिज्यका हाँगाबिँगाका बारेमा र सो पढेबापत पाइने उपाधिका सम्बन्धमा पनि अद्यावधि अनभिज्ञ नै छु । देशसञ्चालन गर्ने यी ठूलाठूला विधिशास्त्रका बारेमा कखरा पनि नखारेको मैले देशको निर्माणका बारेमा त्यसो र उसो भनेर परिपाटी लगाउन खोज्नु पनि सूर्यको अगाडि बत्ती देखाउनुजस्तै हो, तैपनि हाम्रो इतिहासले के देखाएको छ भने सानासाना व्यक्तिहरूले पनि ठूलाठूला भनाउँदाहरूलाई अर्ती र उपदेश दिएर ठूल्ठूलै काम फत्ते गरेका छन् । साच्चै भन्ने हो भने बीसे नगर्ची र पारे घर्तीहरूले यस देशलाई तिरिनसक्नु ऋण लगाएका छन् । हाम्रो राष्ट्र ती सम्मानित विभूतिहरूको चिर ऋणी नै छ । कतै मेरो देशको उन्नतिका बारेको यस सोचले पनि त्यही काम पो गर्छ कि, नपत्याउने खोलाले बगाउन के बेर र ?
मेरो लामो अनुसन्धानले पत्ता लगाएको देशोन्नतिको आधार भनेको देशभर शौचालयहरूको योजनावद्ध निर्माण हो । यस उद्योगको सञ्चालनमा दातृराष्ट्रहरूसँगै गई हारगुहार गरिरहनु पनि पर्दैन । ती विदेशी दाताहरूलाई नेपाली रुपियाँले डलर साटीसाटी ब्याज र साँवाको भुक्तानी गर्नु नपरेपछि मुलुकलाई थोरै मात्रामा भए पनि राहत मिल्ने नै भयो । यसै गरी ऋणलाई अनुदानमा बदलेको उनीहरूको धाकधक्कु सुनेर हामीहरूले खिस्रिक्क हुनु पनि परेन । यसले अलिकति मात्रामा भए पनि हाम्रो स्वाभिमानलाई बचायो भने राम्रै कुरा भयो, भएन र ? पुराना पुराना शासन व्यवस्थाका पालामा खुलेका सवैजसो राष्ट्रिय उद्योगहरूलाई निजीकरण गर्दागर्दै र रुग्ण उद्योगहरूलाई ‘हरि हरि’ भन्दै आचमनीले पानी मिलाएर मधौरुलाई बौराएझैं यस शौचालय नामको नवउद्योगबाट पनि आँसु चुहाउनुपर्छ कि भनी आशा नै नगरे पनि हुन्छ, किनभने यस उद्योगको थालनीबाट त्यो आशङ्कित अवस्था आउँदै आउँदैन भन्ने कुराका सङ्केत त पाइसकिएको छ नि होइन र ? ‘विज्ञेषु किमधिकम् ।’
उद्योगका रूपमा शौचालय सफल भयो भने देशको राजधानी ‘हराभरा काठमाडौं’ को आधा उद्देश्य पूरा भइछाड्यो, किनभने यस उद्योगले काठमाडौंलाई सफा राख्न मदत मिल्ने भयो । आक्कलझुक्कल ‘लोड सेडिङ’ को इमर्जेन्सीलाई पनि यस उद्योगले सघाउ पुर्याउने नै भयो । यस योजनाअनुसार धार्मिक अनुष्ठानहरूमा चारै दिशाहरूमा दिक्पाल राखे काठमाडौंका चारै कोणहरूमा महाशौचालयहरू निर्माण गर्नुपर्छ, अनि ती शौचालयहरूबाट ग्याँस उत्पादन गर्नुपर्छ । यसरी उत्पादन गरिएको ग्याँसको नामकरणचाहिँ स्रोत खुल्ने गरी स्पष्ट भाषामा ‘मानवग्याँस’ भन्नुपर्छ र विद्युत् उत्पादन गर्ने कामको थालनी गरिहाल्नुपर्छ । अन्न खेतीका लागि कुखुराको सुलीले बाजीमाथ गरेजस्तै मानवग्याँसबाट उत्पादित बिजुलीको रोशनी पनि पानीबाट उत्पादित विद्युत्भन्दा कता हो कता बढी हुने कुरा त हामीले थाहा पाइराखेका छौं । यसै काठमाडौँको सिको छिमेकी जिल्लाहरू ललितपुर र भक्तपुरले पनि गरिदिए भने त सिङ्गो उपत्यका हराभराको मात्र होइन, उज्यालो ताराको पनि हुने भयो । यो ग्याँस उज्यालो तारामात्र कहाँ हो र ? मनोरञ्जनको आधार पनि उत्तिकै हो । उदाहरणका लागि तपाईं मानिलिनुहोस् जब राष्ट्रिय विद्युत् केन्द्रको बिजुली झ्याप्प निभ्छ, अनि आफूले पनि आफैंद्वारा उपार्जित र सञ्चित मानवग्याँस फ्याट्ट बालिदियो र आनन्दको अनुभव गर्यो, भएन त मजा । यो समय त अघिअघिको भन्दा झनै उज्यालोको हुने भयो, भित्र पनि बाहिर पनि ।
हिजोआज त काठमाडौंका ज्यापूका बारीमा सिमी फल्न छाडेर सिमेन्टीमात्र फल्न थालेका छन् । त्यसैले त यहाँ पशुमलको आवश्यकता पनि पर्न छाडेको छ । मोटर चढेर उपत्यकाभित्र छिरेका भैंसीहरूले पनि दूधको सट्टा मासु दिन थालेपछि अन्यत्र कहाँ गएर पशुमल खोज्नु ? गोरुले जोत्ने मेलो नपुग्ने भएपछि काठमाडौंका किसानहरूले जुवा र हलो बनाउँदै बनाएनन् । ‘जोते पाप लाग्छ’ भनेर उपत्यकावासीहरूले गोरुद्वारा नजोताएका हुन् रे भनेर धर्मको आडमा आफ्नो थोरै जग्गालाई लुकाउन खोजे तापनि हिजोआजका उपाधिधारी टाठाबाठा मान्छेहरूले उपत्यकावासीहरूको चलाखी नबुझ्ने कुरै भएन । हिजोआज वनकालीतिरबाट उत्तरायण लागेका सहिहरूले जोरपाटी पुग्दानपुग्दै मुक्ति पाउन थालेका छन् र अन्यथा ती सबै सहरूले पनि यसै मत्र्यलोकमा बसेर धेरै कालसम्म जिउनुपरेको भए जुम्ला र हुम्लाका भोकाहरूले खाद्यान्नका लागि सरकारसमक्ष नारा लगाए यी शिव-वाहनहरूले पनि पशुपतिनाथलाई ‘खान देऊ, खान देऊ’ भनेर थर्काउने थिए । उनीहरूलाई त परिस्थितिले साथ दिएन, तर हामीहरूका लागि त राम्रै भयो । यदि यी पशुहरू जिउँदै भएका भए काठमाडौँमा मानवग्याँसको यत्रो मूल्य कहाँ हुन्थ्यो र ?
यस शौचालय उद्योगले बेरोजगार जनशक्तिको सानो भागलाई रोजगारी पनि दिने भयो र राष्ट्रको समस्याको थोरै मात्रामा भए पनि समाधान गर्ने भयो । अनियन्त्रित रूपको मानवमूत्र निर्मित कालो माटो र ठाउँ-ठाउँका कुनाकाप्चामा विनाशुल्क थुपारिएका नरमल बोक्तै काठमाडौंका चार-चार कुनामा राखिएका मानवग्याँसका केन्द्रहरूमा ती कच्चा सामग्रीहरू पुर्याउन थालेपछि त सो उद्योग घाटामा जाने कुरै भएन । हवाईजहाज चढेर गएपछि चिहान खने पनि डलरै आउँछ, मसानघाटे जागिर पनि उच्चकै हुन्छ भनेर हवाईटिकट काट्ने प्रवृत्तिका साना-ठूला सबैलाई यस उद्योगले रोजगारी दिएर रोक्न सक्यो भने यो राष्ट्र प्रतिभा पलायनबाट हुने बेफाइदाबाट पनि बाँच्ने नै भयो । मोफसलबाट राजधानी छिरेका रिकुटे सहरवासीहरूका बीचमा धन कमाउने होडमा हुने ‘कसले चाँडै आफ्ना छोरा-छोरीहरूलाई विदेश पठाउन सक्ने’ भन्नेबारेको अघोषित होडबाजी या युद्ध पनि चाँडै नै बन्द हुने थियो ।
यदि मैले सोचेजस्तै भइदियो भने शौचालय निर्माणको अभियान बनमारा झाार फैलिएकै देशैभरि फैलिएको हुनेछ । गोवर ग्याँसको उद्योगका लागि भनेर हाम्रो सरकारले पशुपालन र गोवर सङ्कलनका लागि भनेर अनुदान पनि दिने । त्यति बेला हाम्रा जनताहरू पनि कम चलाखका हुने छैनन् । उनीहरू गोवर ग्याँसका लागि भनेर प्राप्त अनुदानको आधा रकमले बुहारी भित्र्याउन पनि पाइयो अनि उक्त गोवर ग्याससँगसँगै जोडेर शौचालय निर्माण गरे पनि हुने भयो भनेर दङ्गदास पर्नेछन् । भैंसीको थलोमा भैंसी, बुहारीको ओछ्यानमा बुहारी । दूध पनि, पूत पनि, उज्यालो पनि । यी तीन-तीन थोक कुरा एउटै शौचालयले पर्याउने भएपछि को दङ्ग पर्दैन र ? सुनमा सुगन्ध हुने नै भयो, भएन र ? सुनमा सुगन्ध भनेको पनि त राम्रोमाथि झन् राम्रो भनिएको हो क्यारे, होइन र ?
यति हुँदाहुँदै पनि मानवग्यास बढी नै हरकिलो हुन्छ, तैपनि सुँध्नै पर्यो, दूध दिने गाईको लाती त सबैले नै सहनै पर्छ नि कसो ? हिजोआज पनि काठमाडौंमा के उपत्यकामा मूल्यसूची टॉसेर साना-साना शौचालयका कर्मचारीहरू ग्राहकहरूको सेवामा लागिरहेका छन् । एउटा ग्राहक देख्नासाथ उनीहरूले ‘तपाईंहरूलाई दुई रुपियाँ खाले’ वा त्यसभन्दा माथिको कुनचाहि शौचालय उपलब्ध गराऊँ भनेर सोध्छन् र सेवा पनि पुर्याउँछन् । कथङ्कदाचित् सेवामा खटिएका कुनै मान्छे त्यहाँबाट केही समयका लागि अन्यत्र जानुपर्यो भने उसले अर्कालाई वारेसनामा दिन्छ र ग्राहकको सेवामा त्रुटि हुन पाउँदैन । उनीहरूको यस आदर्शलाई नमुना मानेर सरकारी कार्यालयका सबै तहका कारिन्दाहरूलाई पालैपालोसँग यी शौचालयहरूको भ्रमण गराउनुपर्छ भन्नेबारेमा सरकारी तहमा निणर्य गराउन सम्बन्धित मन्त्रालयमा गृहकार्य भइरहेको छ भन्ने सुनिएको छ, हेरूँ । त्यो सोचाइ साँच्चैको होला, किनभने व्यापारमा औषधीजस्तो नगदी व्यापार अन्यत्र कतै नभएकै शौचालयमा पनि उधारो व्यापार चल्दै चल्दैन । त्यहाँका सबै सेवकहरूले उधारो खोज्नेलाई गोल्टिनका टिन ठटाएर अरिङ्गालले आफ्नो गुँड भत्काउन आउनेलाई खेदेझैँ खेदिहाल्छन्, अनि त्यस बिचरो ग्राहकले पनि ‘छेर भालु छेर’ भएर नगद बुझाएर मात्र त्यस ठाउँबाट फुर्सत लिन्छ । यसै बेला कोही कोही रमितेहरू जनतालाई निःशुल्क आची गराउन पनि नसक्ने सरकार भनेर सरकारको आलोचना गर्नेछन्, यथार्थमा त्यो आलोचना बिलकुल बेठीक हो, किनभने जनता भनेकै सरकार हो र सरकार भनेकै जनता हो । जनताले कर नतिरे सरकार चल्न सक्छ र ?
आजसम्म यस महत्त्वपूणर् उद्योगका बारेमा सोच नहुनुमा पनि हामी नेपाली जनताहरूकै कमीकमजोरीले काम गरेको छ । नेपाली जनताले भोट दिएर पठाएका नेताहरूले प्राडो र पजेरो चढ्न थाले, त्यसैले उनीहरूले पैदल यात्रीहरूलाई र उनीहरूले थुप्र्याएको मल पनि देख्ने कुरै भएन । सिङ्गो राष्ट्र हेर्ने योजना आयोगका सदस्यहरू पनि स्वतः माननीय हुने भएकाले यस उद्योगमा उनीहरूको पनि ध्यान जाने कुरा भएन । मोटरमा सेतो नम्बर राखेर कुद्ने अधिकारीहरूले पनि बाटामा हिँड्ने र चहुरमा बस्ने भारेभुरे मान्छेहरूलाई ’यी पनि मान्छे नै हुन्’ भनेर गणना गर्ने कुरा पनि आएन । यी ठूलाठालुहरू आफूहरू पनि सडकछाप भएको बेलामा पहिले-पहिले त यिनै बाटाहरूमा पनि हिँडेका थिए होलान् । यिनै शौचालयहरूमा पनि पसेका थिए होलान् । ती बेग्लै कुरा हुन् । पुराना कुरा हुन् । ती सबै पुराना घटनाहरू सम्झेर के साध्य ?
जीवनमा घटेका सबै घटनाहरूलाई सम्झिन सक्ने हो भने ज्ञानको भण्डार कति थुप्रिन्थ्यो कति ठूलो जिम्मा लिएपछि साना-साना घटनातिर फर्केर हेर्न पनि भ्याइन्न नि भन्ने ठूलाबडाहरूको यो सोचाइ ठीकै होला नि ? होइन त ? म आफू त जनता पनि हुँ र जनताको र सिङ्गै राष्ट्रको पनि पहरेदार हुँ । यतिखेर जनताको भलो होस् र शब्दको पनि उन्नति होस् भनेर सोच्ने पालो मेरै परेछ कि कसो हो कुन्नि ? ढिलै भए पनि अहिले राष्ट्रमा ठूला-ठूला शौचालयहरू बनाउने बुद्धि मलाई नै सुझेको छ । अहिलेको यो सुझबुझ मलाई ठीकै पनि लागेको छ, किनभने यसवाहेक उपत्यकालाई हराभरा गर्ने साधन र देशैलाई उठाउने ठूलो अर्को माध्यम मैले आजसम्म देखेको पनि छैन । तपाईंहरूले त्यो माध्यम देख्नुभएको भए बेग्लै कुरा हो । त्यसबारेमा बेला-प्रसङ्गमा कुरा उठ्ने नै छन्, होइन त ?
०००
‘खिनौरी सहर पसेपछि’ (२०६४)