
बुढ्यौली काव्य (शृङ्खला- १६)
थाले तर्कवितर्क खेल्न दिलमा खुस्क्यो भएको कडी सम्झिन्छन् घर गाउँका मनहरा आफ्ना पुराना गढी !!

देवीप्रसाद मिश्र
वृद्धवृद्धाका सहरिया समस्या
खोज्दै अर्थ बुटा थिए सहरमा सन्तान सम्भावित
देखाए सपना बुबा र जननीलाई अनौठोसित !!
तृष्णाको गुठुरो लिएर सँगमा बोकी असीका दसी
आए वृद्ध मुहार यो सहरमा आल्हाद गुन्टा कसी !!७६!!
चाहेको छ सहायता पनि यता गल्दै गएका तन !!
के हुन्थ्यो सुविधा तनाव मनमा बढ्दो अझै क्रन्दन !!
केही खेत खला तथा अचलका पाखा गरा कन्दरा !
राखे बन्दक बैङ्कमा जति थिए हेर्दै उँचो मन्दरा !!७७!!
लौराका भरमा भए पनि उता घुम्थे खला खेतमा !
हुन्थ्यो सञ्चय अर्थ गाउँघरमा राख्थे सदा सेफमा !!
मिल्थ्यो पावन गाउँले परिधिको सद्भाव आलोकित !
अर्कै जन्म लिएसमान छ यता को गर्छ अभ्यागत !!७८!!
मान्छेका भिडभाडले घनघटा दैनन्दिनी व्यस्तता !
देखिन्छन् जनता सदा कहरमा खोजेर सम्भाव्यता !!
छन् सन्तान निदाउरा सबजना आफ्नै समस्यासित !!
जुद्धा छन् दिनरात कर्म पथमा छैनन् पला सञ्चित !!७९!!
आफ्ना कन्तुरमा गुदी जति थियो सन्तानका साथमा
सुम्पे आदरले समस्त गुठुरो खाली भयो हातमा !!
थाले तर्कवितर्क खेल्न दिलमा खुस्क्यो भएको कडी
सम्झिन्छन् घर गाउँका मनहरा आफ्ना पुराना गढी !!८०!!
(क्रमशः)
०००
ताप्लेजुङ, हाल- काठमाडौं
२०८०/२/५