सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ज्येष्ठ नागरिकबाट उत्पादित बस्तुको बजारीकरण मेला

जेष्ठ नागरिकको ज्ञान सीप र अनुभवलाई प्रयोग गर्दै आर्थिकरुपले पनि सबल बनाउन यो मेलाले मद्दत पुग्ने विश्वास मेला आयोजक संस्था एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङमास्टर)ले बताउनुभयो ।

Nepal Telecom ad

काठमाडौं  ०८० जेठ ११  । जेष्ठ नागरिकलाई प्रोत्साहित गर्न उनीहरूले उत्पादन गरेका वस्तुको बजारीकरण तथा मेला आयोजना गरिएको छ । काठमाडौंको साफ फल्चामा राखिएको उक्त मेलामा जेष्ठ नागरिकले घरेलु सामग्रीबाट बनाएका बस्तुहरूको प्रदर्शनी गरिएको हो । यी उत्पादित बस्तुहरूको मेलामा विभिन्न जेष्ठ नागरिक समुहबाट सय भन्दा बढी जेष्ठ नागरिकले अवलोकन गरेका छन् ।

जेष्ठ नागरिकको ज्ञान सीप र अनुभवलाई प्रयोग गर्दै आर्थिकरुपले पनि सबल बनाउन यो मेलाले मद्दत पुग्ने विश्वास मेला आयोजक संस्था एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङमास्टर)ले बताउनुभयो । एजिङ नेपाल, काठमाडौं महानगरपालिका र बुढ्यौली जीवनको संयुक्त आयोजनामा राखिएको मेलामा १६ जनाले स्टल राखेका थिए । जसमा विभिन्न घरायसी सामग्रीहरू बाति, साबुन, झोल साबुन, थैली, मकैको खोस्टाको ढकी, पिरा, मुढा, सिन्का, दुना टपरी, पोते, धागो लगायत बस्तुहरू प्रदर्शन गरिएको छ ।

त्यस्तै धागोबाट बुनेका चकटी मेडी, सल, मोजा, मफलर, रुमाल, टेवुलपोस, टोपी लगायत सामग्रीहरू समेत मेलामा राखिएको छ । यो मेलाबाट अरु जेष्ठ नागरिकले समेत आफ्ना सीपलाई प्रयोगमा ल्याउन प्रेरणा मिल्ने र जेष्ठ नागरिकबाट उत्पादित घरयासी उपयोगी सामग्रीहरूको प्रचारले बजारीकरणमा टेवा पुग्ने एजिङ नेपालका प्रबन्ध निर्देशक प्रकाश गौतमले बताउनुभयो ।

मेलामा स्टल राख्ने र अवलोकनमा आउने जेष्ठ नागरिकहरूका लागि आयोजक संस्थाहरूले संयुक्तरुपमा यातायात तथा खाजा खर्च सहयोग गरेको बताइएको छ ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad