साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो शब्दकोशमा ‘बाहिर’ भन्नाले…

त्यसैले सबै नेपालीले ‘बाहिर, मुलुकबाहिर र अझै बाहिर’ भन्ने महामन्त्र जप्नुपरेको छ, किनभने ‘बाहिर’बाट नै हामी सबै नेपालीको कल्याण हुने गरेको छ ।

Nepal Telecom ad

म काठमाडौँ बाहिरका बासिन्दा भए तापनि त्यहाँको वतावरणसँग मेरो साइनो गाढा थियो । त्यसैले म काठमाडौँको रहनसहनसँग धेरथोर परिचित नै थिएँ तर म त्यहाँका बासिन्दाको ज्यादै प्रियशब्द वा अझ भनौँ स्थानसँग सम्वद्ध ‘बाहिर’ शब्दसँग भने अनभिज्ञ नै रहेँ । जब म काडमाडौँ निवासी आफूसँग सम्बद्ध व्यक्तिकहाँ पुग्थेँ र आफूले खोजेको व्यक्ति नभेटिएपछि अर्को व्यक्तिसँग जिज्ञासा राख्थेँ अनि उताबाट सोझो उत्तर पाउँथे ‘बाइर’ (बाहिर) । टेलिफोनको ‘हेलो’ पछि पनि उत्तर उही आउँथ्यो- ‘बाहिर’ । ती उत्तरबाट कति टाढाको बाहिर हो स्पष्ट र व्यापक परिवेश बोकेको बाहिर शब्दको अन्त्य भेट्न मलाई सधैँ नै धौधौ हुन्थ्यो । किनभने मेरो मस्तिष्कले ‘बाहिर’ शब्दको अर्थ व्यापक रूपको स्थान भन्ने अर्थमा बुझेको हुन्थ्यो । मेरो शब्दकोशले ‘बाहिर’ भन्नाले कोठा-चोटाबाहिर, घरबाहिर टोलबाहिर, जिल्लाबाहिर, देशबाहिर दीपबाहिर र संसारबाहिर पनि अथ्र्याउँथ्यो । काठमाडौँका सभ्य नागरिकहरूले व्यापक अर्थ बोकेको यस ‘बाहिर’ शब्दलाई किन प्रयोग गरेका होलान् मेरो मस्तिष्कमा धेरै समयदेखि यही कुरा खेलिरहन्थे । जब मोफसलका सभ्रान्ततातिर उन्मुख व्यक्तिहरूका घरमा पनि यस ‘बाहिर’ शब्दले क्रमशः प्रश्रय पाएको देखेपछि भने मेरो मस्तिष्क हुँडलिनसम्म हुँडलियो ।

मलाई कहिलेकाहीँ गजबसँग गोप्य रहस्य खुल्ने गर्छ तर त्यो रहस्य खुल्नचाहिँ कुनै न कुनै लगन भने जुर्नु नै पर्छ । अज गजबसँग त्यो लगन जुरेछ क्यारे, अन्यथा मेरो मुलुक नेपाल बहिर्मुखी किन भएको हो भन्ने रहस्य यसरी खुल्ने नै थिएन । ठूलाठूला भनाउँदा नेपालीहरू अन्तर्मुखीभन्दा बहिर्मुखी नै बढी छन् भन्ने कुरा यहाँका ठूलाठूला राजनीतिक नेताका व्यवहारबाट महान्महान् धनाढ्यका आचरणबाट र ठूलाठूला उपाधिधारी विद्वान्हरूका क्रियाकलापबाट स्पष्ट हुँदैगएको हो ।

राजनीतिक दृष्टिले हामी नेपालीहरू बहिर्मुखी छौँ, त्यसैले त हाम्रा मुलुकमा राष्ट्रिय झण्डाभन्दा अन्तर्राष्ट्रिय झण्डा हावी भएको पाउँछौ । बाहिरी राष्ट्रमा जन्मिएको भए तापनि सार्वभौम विचारलाई आफ्नै झण्डामुनि बसेर उपभोग गरेपनि त हुने थियो नि ! विचारको दर्शनको र साहित्यको पनि केही सीमित भूगोल हुन्छ र ? तर हाम्रो बहिर्मुखी मस्तिष्कमा अन्तर्मुखी त्यो सोच आउँदै आएन । उदाहरणका लागि केही राजनीतिक परिघटनाहरू हेर्नुहोस् न । मानिलिउँ हाम्रा मुलुकमा सूर्यबाबु नामका मान्छे महामात्यमा नियुक्त हुन्छन् अनि हामी तत्कालै सोझो प्रतिक्रिया व्यक्त गर्छौ र यस पटक हाम्रो देशको राजनीतिमा नयाँदिल्ली हावी भएछ । अनि कुनै बेला कीर्तिबाबुको मुख्यमन्त्रीमा नियुक्ति हुन्छ अनि हामी हत्त न पत्त प्याच्च भन्न भ्याउँछौँ- यस पटकको मन्त्रिपरिषद्को गठनमा हावी हुने पालो पेचिङको परेछ । यसरी नै कुनै मन्त्रिपरिषद्का चेहरामा हामी वीजीपीको अनुहार देख्छौँ भने कुनै प्रधानमन्त्रीका चेहरामा वासिङ्गटन डी.सी. मुखारित भएको आभास पाउँछौँ । त्यतिमात्र कहाँ हो र जब देशमा राजनीतिक अवस्था जटिल हुन्छ, अनि हाम्रा वरिष्ठ शासकहरू आ-आफ्ना अभीष्ट बाह्य मुलुकहरूमा गएर अभिमन्त्रणा गरेको खबर सुन्छौँ । त्यतिबेला खबरपत्रहरूमा धमाधम छापिन्छन्- ‘अमुक राजनीतिक समस्या सुल्झाउन नेताहरू दिल्ली दरबार पुगे रे ! केही नेताहरू पेचिङ दरवारमा पुगेर गन्थन गर्दैछन् रे अनि कोही ह्वाइटहाउसको ढोका घचघच्याउँदै छन् रे ! इत्यादि इत्यादि ।

यसरी बाहिर मन्त्रणाबाट हाम्रो आन्तरिक नीति निर्माण भएको थाहा पाउँछौँ । त्यसैले राजनीति पूणर्तः बहिर्मुखी भएपछि सिङ्गो देश अन्तर्मुखी हुने कुरै भएन । जुन मुलुकका बासिन्दाहरूमा बहिर्मुखी प्रवृत्ति हावी छ अन्तर्मुखी प्रवृत्ति दबिएको छ त्यसको परिणाम अवनतिमात्र हुन्छ । जब देशको राजनीति बाहिरबाट सञ्चालित हुन्छ स्वतः त्यो देश ओह्रालो लाग्छ । घर त छिमेकीले चलाउने होइन, घरमूलीले नै जाँतो रिगाउँनुपर्छ । होइन र ?

राजनीति बहिर्मुखी भएपछि हाम्रो अर्थनीति अन्तर्मुखी हुने कुरै आएन । त्यसैले देशको बजेट बनाउनु पूर्व नै हाम्रा अर्थमन्त्रीहरू बाहिरी मुलुकहरूमा गएर भिक्षाटन गर्छन् र स्वदेशमा फर्किएर आउँछन् अनि बजेटको तर्जुमा गर्छन् तर अचम्म हाम्रा लागि भनेर आएको सम्पत्तिचाहिँ बाहिरै गएर थिग्रिन्छ । अन्यथा सबैभन्दा गरीब देशका जनताका सबैभन्दा बढी धनी शासकको जन्म यसै मुलुकमा हुने नै थिएन । यो धनी हुने क्रम शासकमा मात्र सीमित नभएर प्रशासक, उपप्रशासक जस्ता विभिन्न तहसम्म पनि फैलिएको छ, विकेन्द्रित भएको छ । अमेरिका र स्विटजरल्याण्डका बैङ्कहरूका ठूला खाता यिनै राष्ट्रसेवकहरूका छन् । अझ अचम्म लाग्ने अर्को कुरा के पनि छ भने सहयोगका रूपमा स्वदेशमा भित्रिएका रकमहरू पनि नामान्तर गर्दै बाहिरिन्छन् सल्लाहकारका रूपमा विशेषज्ञका रूपमा । ब्वाँसाहरू भित्रिन्छन् र सहयोगको रकमको आन्द्राभूँडी लुछ्छन् । ऋण र सो ऋणको महङ्गो ब्याज हामीले डलरमा रूपान्तर गर्दै तिर्दै जान्छौँ । यही नियति नेपालको रहिआएको छ । त्यसैले हिजोआज नेपाली शिशुहरू तेह्र हजार ऋण बोकेर गर्भमा पस्न थालेका छन् । नवप्रसूता आमाहरूले पनि तेह्र हजार रुपियाँ ऋण बोकेका बच्चाबच्चीहरू धमाधम जन्माउन थालेका छन् ।

यो बाहिरिने क्रम रकमको मात्र होइन मानव संसाधनको पनि उत्तिकै छ । गच्छेअनुसार नेपालीहरू गाउँबाट सदरमुकाममा बाहिरिन्छन्, सदरमुकामबाट राजधानीमा बाहिरिन्छन् र राजधानीबाट भिसा बनाउँछन् र देश देशान्तरतिर फैलिन्छन् । यो क्रम ज्यादै तीव्र छ । प्रतिदिन पाँच सय जनाजति नेपाली युवाहरू बाहिर उड्छन् रे सम्बन्धित निकायका प्रतिवेदनहरूमा यिनै कुरा लेखिएका छन् । स्वदेशको साँगुरो घेरामा बस्न उदार नेपालीलाई सुहाउने कुरा पनि भएन । यो क्रम नपढेका नेपालीका हाराहारीमा नै पढेलेखेका नेपालीको पनि छ । बाहिरी बजारमा आफ्नो मूल्य चर्को छ भनेर ठूलाठूला शैक्षिक उपाधिधारीहरू पनि बाहिरिने दौडमा कुदिरहेका छन् । बाहिर गएका युवाहरूको कमाइ नै राजस्वको मूलआधार भएपछि अनि त्यसै पूँजीको आधारमा देशाको वजेट बन्ने भएपछि राष्ट्रवादी युवाहरूले बाहिर नजाने कुरा पनि आएन । बाहिर धाउनु नै नेपालीहरूको हालको राष्ट्रियता हो ।

यो बाहिरी मोह कर्म स्वीकृतिप्रति पनि उत्तिकै छ । भाषा र भेषमा पनि तीव्र छ । महिलाले लगाउने मिनिस्कर्ट र पुरुषले भिर्ने हाफ प्यान्टमा पनि बाहिरी संस्कारकै योगदान छ । हिजोआज हाम्रो गुन्यौँचोलो पाखे पोशाक भएको छ भने दौरासुरुवाल महङ्गो पहिरनमा गनिन थालेको छ । पढाइने पाठयक्रम र सो पाठ्यक्रमको भाषा र विषय पनि मुलुकबाहिरकै परिवेशसँग सम्बन्धित भएपछि नेपालीहरूको बाहिरी मोहको इयत्ता कसले नाप्न सक्छ र ?

परापूर्व कालमा पृथ्वीनारायण शाहले बाहिरियाहरूलाई गौर र पर्साभन्दा उत्तरतिरको पहाड चढ्न नदिएर बाहिरी शक्तिको तिरस्कार गरेछन् । “नाचगान र बजानमा स्वदेशी बन” भन्नेले उर्दी पिटाएर नेपालीहरूलाई बाहिरी नृत्यकलाको ज्ञानबाट बञ्चित गराएछन् । घरको कुरा पर नलैजानू, भित्रको कुरा बाहिर नफिँजाउनु जस्ता प्रतिक्रियावादी कुरा गरेछन् अनि ती सङ्कीणर् विचारका बूढाले त “कपडा पनि आफ्नै तानमा बुनेका लगाऊ” पो भनेछन् । बाहिरका मान्छेहरूलाई आन्द्रालुछ्ने ब्वाँसासँग तुलना गरेर देशलाई उन्नति गर्न नदिएर उनले डुबाएछन् । आजको युवापुस्ताले पनि पृथ्वीनारायणले जस्तै बाहिरको महत्व नबुझेको भए, अथवा आफूलाई नसमालेको भए आजसम्म यो मुलुक गहिरै खाडलमा भासिन्थ्यो होला । धन्य जागरूक युवाहरूले मुलुकको वास्तविकता थाहा पाएछन् र पो अन्यथा यस मुलुकको गति कस्तो हुँदा हो केवल कल्पना मात्र गर्न सकिन्छ ।

मलाई हिजोआज मात्र बाहिरको महत्व थाहा भएको छ । मैलेभन्दा पहिल्यै नै मेरी हजुरआमाले ‘बाहिर’ को महत्व बुझ्नुभएको रहेछ त्यसैले त उहाँ भन्नुहुन्थ्यो- “भित्र भनेको ओडार हो, बाहिर भनेको भँडार हो” यो मन्त्र पृथ्वीनारायण पछिको हुनुपर्छ । उहाँले भन्दा पनि पहिल्यै राजधानीका बासिन्दाहरूले पनि बाहिरको महत्व बुझेछन् र पो त बाहिर बाहिर भन्ने मन्त्र जप्दा रहेछन् । यही जापसिद्ध भएपछि पढेलेखेका मान्छेहरू यूरोप अस्ट्रेलिया र अमेरिका जस्ता ठूलाठूला बाहिरी मुलुकहरूमा जाँदा रहेछन् भने पाखुरामा बलबुता भएका विशेषत, मोफसलका नेपालीहरू भने अरबका खाडी राष्ट्रहरूमा पसिना बगाउँदा रहेछन् । आफ्नो राष्ट्रियता बचाउनमा जबदेखि हाम्रो मुलुकबाट ज्ञानशक्ति र बलशक्ति बाहिरिन थालेको थियो, त्यसै बेलादेखि हाम्रो मुलुक आन्तरिक रूपमा अगाडि बढेको छ । त्यसैले हामीले भन्नु परेको छ- “बाहिरको मूल्य अपरम्पारको छ ।” अब पनि हामीहरूले बाहिरको मुख ताक्न परम्कर्तव्य बन्न गएको छ । त्यसैले सबै नेपालीले ‘बाहिर, मुलुकबाहिर र अझै बाहिर’ भन्ने महामन्त्र जप्नुपरेको छ, किनभने ‘बाहिर’बाट नै हामी सबै नेपालीको कल्याण हुने गरेको छ ।

पोखरा, कास्की
‘फित्कौली’ अङ्क ११, कात्तिक-मङ्सिर २०६३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
मानवता

मानवता

लक्ष्मी रिजाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x