
विधायकहरूको महङ्गो गरिबी
‘हाम्रो त हविगत नै निकालिदिएका छन् । कैयौं विधायकहरू यस्ता छन् जसले हरेक तीनचार दिनमा आएर भन्छन्, ‘कमजोरी अनुभव हुँदै छ । तागतको औषधिको सिसी, प्रोटिनको बट्टा र थ्रेपटिन बिस्कुटको बट्टा दिनुहोस् ।’

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
यो चिठी तपाईंलाई लेख्दै छ एउटा निमुखा भारतीयले । जसको भोटले तपाईं विधायक बन्नुहुन्छ, विधानसभाको विश्रामगृहमा बस्नुहुन्छ, सब्सिडाइज गरिएको सस्तो भोजन मेसमा खानुहुन्छ । बाहिर बाह्रपन्ध्र रुपैयाँमा बिक्ने तारिएको कुखुरो तपाईं विधानसभाको क्यान्टिनमा मात्र छ रुपैयाँमा खानुहुन्छ र तपाईं चम्चाहरूबाट सेवा प्राप्त गर्नुहुन्छ । सित्तैंमा कारमा घुम्नुहुन्छ । यो सबै तपाईं म, भारतीय नागरिकको पैसाले गर्नुहुन्छ । धेरै खर्च बेहोर्छु म तपाईंका निम्ति । एक पटक सरोजिनी नायडूले एउटा विदेशी पत्रकारसित भनेकी थिइन्, ‘यू डू नट हाउ मच इट कस्ट्स् अस टू किप गान्धीजी पुअर !’ अर्थात् गान्धीजीलाई गरिब नै राख्नका निम्ति हामीले कति खर्च गर्नुपर्छ भन्ने तिमीलाई थाहा छैन । जनताको जनताद्वारा जनताका निम्ति सरकार कसरी आफ्नै निम्ति हुनपुग्छ भन्ने अब्राहम लिङ्कनलाई थाहा थिएन । तर हामीलाई थाहा छ ।
तपाईं विधायक हुनुहुन्छ । हाम्रो भाग्यको निणर्य गर्नुहुन्छ । हाम्रो जीवन तपाईंका हातमा छ । हाम्रो चरित्र र आचरणका नियामक तपाईं हुनुहुन्छ । तपाईं नै भ्रष्टाचार निवारणको कानुन बनाउनुहुन्छ । तपाईं नै हाम्रो आम्दानी र खर्च आफ्नो हातमा राख्नुहुन्छ । तपाईं नै रोटी महङ्गो बनाउनुहुन्छ । तपाईं नै रोटी सस्तो बनाउनुहुन्छ । तपाईं हाम्रो वास्तविक भाग्यविधाता हुनुहुन्छ । त्यसैले हामी चाहन्छौं तपाईं आरामले बस्नुहोओस्, सुखले बस्नुहोओस्, स्वस्थ रहनुहोओस् ।
जब उमाशङ्कर दीक्षित दिल्लीमा कांग्रेसको हेड टिकट बाबु (प्रमुख टिकट वितरक) थिए तब एकजना वयोवृद्ध (ज्ञानको उमेर कति थियो भन्ने थाहा भएन) नेता अर्को पटक पनि विधानसभाको टिकट लिन पुगे । दीक्षितले भने, ‘के तपाईंलाई अब तपाईंको उमेर आराम गर्ने हो भन्ने लाग्दैन ?’ नेताले जवाफ दिए, ‘म त विधानसभामा नै आराम पाउँछु ।’
मजस्तो निमुखा करदाता भारतीय विधानसभा केवल आराम गर्ने उत्तम लोकतान्त्रिक संस्था हो भन्ने बुझेर आश्वस्त भयो । मलाई जब तपाईंलाई कुनै कारणले दुःख परेको छ भन्ने लाग्छ, म चिन्तित हुन्छु ।
सायद कुनै मुख्यमन्त्रीले यसपालि शिक्षाविभागमा कुनै सरुवा हुँदैन भन्ने आदेश दिएका थिए । त्यति बेला तपाईंमध्ये धेरै जना निकै दुःखी र दिक्दार भएका थिए । तपाईंहरूले मुख्यमन्त्रीको यस आदेशको विरोध पनि गर्नुभयो । मुख्यमन्त्रीको आदेश सरासर अन्यायपूणर् थियो । मास्टरहरूको घर एक ठाउँबाट हटेर अर्को ठाउँमा जानबाट रोकियोस् भनेर यति तुच्छ कुराका निम्ति विधायकहरूको कोमल मनमा ठेस पुर्याउनु एकदम गलत हो । मास्टर सास्टर त जनावर हुन् । आज यो चरिचरनमा त भोलि अर्कोमा जान्छन् । तर सरुवाको मौसम त विधायकका निम्ति वसन्तजस्तै हो । वासन्ती बतास चल्छ । सुन्दर पूmल फुल्छन् । वातावरण उद्दीपनकारी हुन्छ । विधायक स्वर्गीय सुखमा हुन्छन् । शिक्षाविभाग त लादी छेराउने निकाय हो ।
केही विभाग त यस्ता छन् जसलाई पखाला पनि सुन र हिराको लाग्छ । यी विभागमा जब विधायकले सरुवा गराउने र थमौती गराउने काम गर्छ तब उसलाई सुनले जोखिने रहर जाग्छ । कुनै मुख्यमन्त्रीले त हरेक विधायकलाई पाँचवटा सरुवा वा थमुवा एक्लै गराउन पाउने अधिकार दिएका थिए । कति भावात्मक कार्य थियो यो हगि ? यस देशको प्रत्येक मानिसलाई के थाहा छ भने सरुवाजीवनलाई सफल, सार्थक र सुखी बनाउनका निम्ति पैसा चाहिन्छ ।
श्रद्धेयगण, तपाईंहरू हाम्रा निम्ति आचारसंहिता बनाउनुहुन्छ । तपाईं महान् हुनुहुन्छ । हामी तपाईंको कल्याण चाहन्छौँ । आज जुन कुरो म तपाईं विधायकहरूलाई लेख्दै छु त्यो किन हो भने मैले जुन एउटा समाचार पढेँ त्यसपछि मलाई तपाईंहरूका बारेमा चिन्ता लाग्यो ।
त्यो समाचार यस्तो छ — सरकाले विधायकहरूको उपचारमा बत्तिस-पैंतिस लाख खर्च गर्यो । यस्ता तथ्याङ्क हरेक वर्ष दिने गरिन्छ जसमा विधायकहरूको उपचारमा पच्चिस लाख या तिस लाख या पैंतिस लाखको खर्च आयो भन्ने हुन्छ । चिन्ता त मैले पहिले पनि गरेको थिएँ तर तपाईंलाई चिठी लेखेको थिइनँ । यसपालि भने यति साह्रो आत्तिएँ कि तपाईंहरूलाई सार्वजनिक पत्र लेखेर छपाउँदै छु । यो यस कारण कि तपाईंहरूले पढ्नुहोओस्, जनताले पनि पढुन् र आपूmले चुनेर पठाएका विचरा विधायकज्यूहरूलाई कस्तो रोग लाग्यो जसको उपचारमा हाम्रो बत्तिस लाख खर्च भयो भनेर चिन्ता गरुन् । त्यसो त बत्तिस लाख होइन, तपाईंको स्वास्थ्यका निम्ति हामी बत्तिस करोड पनि खर्च गर्न तयार छौँ । तर हामीलाई थाहा पनि त हुनुपर्यो नि तपाईंहरूलाई कस्तो जटिल रोग लागेको छ जसको उपचारमा बत्तिस लाख रुपैयाँ लाग्यो भनेर । विधायक बन्नुभन्दा पहिले पनि त तपाई बिरामी पर्नुहुन्थ्यो होला । त्यति बेला के धामीझाँक्रीको झारफुकले नै तपाईं निको हुनुहुन्थ्यो ?
श्रद्धेय, तपाईंहरू लगभग सवा तीन सय विधायकहरू हुनुहुन्छ । यिनमा औसतमा सवा दुई सय विधानसभा सदस्य अधिवेशनको समयमा राजधानीमा विधायक विश्रामगृहमा बस्नुहुन्छ । त्यहाँ तपाईंहरूका उपचारकेन्द्रहरू छन् जहाँ रातदिन डाक्टर बस्छन् । आवश्यक औषधि तुरुन्तै मगाएर दिइहाल्छन् । अनि मेडिकल कलेजको अस्पताल पनि त छ नि तपाईंकै निम्ति । युनानी औषधालय पनि छ । तपाईंहरूमध्ये आखिर कतिलाई कस्ताखाले जटिल रोग लाग्छन् र त्यसको उपचारमा बत्तिस लाख खर्च हुन्छ ? विधानसभामा जब अविश्वासको प्रस्ताव पेस हुन्छ त्यति बेला त तपाईंहरू त्यहाँ पहलवानजस्तै स्वस्थ देखिनुहुन्छ । अनि तपाईंहरू कहिले पर्नुहुन्छ सिकिस्त बिरामी र बत्तिस लाख खर्च गर्नुपर्छ ?
म निकै चिन्तित थिएँ, त्यसैले मैले तपाईंहरूको उपचारमा तैनाथ डाक्टरलाई सोधें । उनले भने । उनले के भने भन्ने कुरो तपाईंलाई भन्नुभन्दा पहिले म एउटा कुरो भन्छु । जब म रुसको यात्रा गरेर फर्कें एउटा ठाउँमा मेरो भाषण थियो । मैले भनेको थिएँ, ‘रुसका तीनचार सहरहरूमा त पाउरोटी किन्नैपर्दैन । मानिसहरू स्टोरमा गएर आवश्यक मात्रामा रोटी बिहानबेलुकै दामै नदिइकन लैजान्छन् ।’ मेरो भाषणपछि दुई जना विधायकहरूले मसँग सोधे, ‘हजुर, के कसैले जति पनि रोटी लैजान पाउँछ ?’ मैले भनें, ‘हो, लैजान पाउँछ तर आवश्यक मात्र न लाने हो ! बिहान त फेरि साजी रोटी पाइहालिन्छ । यदि कसैले आरीभरि रोटी लग्यो भने त्यो त बिग्रिहाल्छ नि !’ विधायकहरूको आशय के थियो भने यदि कुनै वस्तु सित्तैंमा पाइन्छ भने ढक्की, डाली या बोरैमा भरेर लैजानुपर्छ । यो घटना मैले तपाईंको मानसिकता र मुख्य चेतना स्पष्ट पार्न बयान गरेको हुँ ।
अब सुन्नुस् । डाक्टरहरूले भने, ‘बिरामी त निकै थोरै विधायकहरू हुन्छन् । सामान्य ज्वरो आउँछ जसको हामी सामान्य औषधि मात्र दिन्छौं ।’ अनि यो बत्तिस लाख कसरी खर्च हुन्छ ?
डाक्टरहरूले भने, ‘हाम्रो त हविगत नै निकालिदिएका छन् । कैयौं विधायकहरू यस्ता छन् जसले हरेक तीनचार दिनमा आएर भन्छन्, ‘कमजोरी अनुभव हुँदै छ । तागतको औषधिको सिसी, प्रोटिनको बट्टा र थ्रेपटिन बिस्कुटको बट्टा दिनुहोस् ।’ अनि तीनचार दिनपछि फेरि आएर त्यही तागतको सिसी, प्रोटिनको बट्टा र थ्रेपटिन बिस्कुटको बट्टा लैजान्छन् । तीनचार दिनमा यति खाने हो भने त मान्छे मर्छ । अनि जो बिरामी नै छैन उसले पनि यी कुरा लैजान्छ । उता युनानी औषधालयको बैद्य पनि रुँदै भन्छ कि ऊ विधायकहरूका निम्ति तागतको औषधि बनाउँदा बनाउँदा हैरान भएको छ । यति औषधिले त एक चौथाइ सहरको पुरुषत्व फर्केर आउँछ ।
मैले डाक्टरसित सोधें, ‘यिनीहरू यी औषधिको गर्छन् पो के त ?’ डाक्टरहरूले भने, ‘घर पठाइदिन्छन् । साथीहरूलाई बाँडिदिन्छन् अरू के गर्छन् ? यो अखबारमा पढ्नुस् न !’ अखबारमा समाचार थियो, विधायकहरूका निम्ति भनेर झिकिएका केही औषधिहरू सहरका केही खास औषधिपसलहरूमा बेचिन्छन् ।
श्रद्धेय, तपाईं हाम्रा निम्ति आचारसंहिता बनाउनुहुन्छ । मलाई तपाईंलाई केही भन्नु छैन । मलाई त केवल तपाईंको स्वास्थ्यको चिन्ता छ । चाहे बत्तिस करोड नै खर्च होस् तर तपाईं स्वस्थ, सम्पन्न र खुसी हुनुपर्छ ।
तपाईंको एक श्रद्धालु
भारतीय करदाता
नागरिक
०००
‘परसाईं रचनावली’, भाग- ४ बाट ‘विधायकाें की महंगी गरीबी’ को नेपाली अनुवाद