साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुलिसम् भल्गरम् फोहरम्

महिलापुरुषमा पनि समानता छ । नारी अब हीन रहेनन् । यो चलचित्र हेर्नुस्, यसमा केटी यति आक्रामक तरिकाले केटाको पछि परेकी छ कि केटो ‘आमा ! ए आमा !’ भन्दै भाग्छ । कमरेड लेनिन, अब क्रान्तिको आवश्यकता नै के छ र ?

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

अखबारमा भोपालको समाचार छापिएको छ । एउटी महिला चलचित्र हेरेर फर्किंदै थिई । एउटा पुरुष पनि चलचित्र हेरेर फर्किंदै थियो । बाटाबाटै त्यस पुरुषले त्यस महिलालाई आफ्नो घर लग्यो र बलात्कार गर्‍यो ।
कुन चलचित्र हेरेर फर्किंदै थिए उनीहरू ?
हजुर, सत्यम् शिवम् सुन्दरम् !

राजकपुरले यस चलचित्रको सफलताको प्रचारमा एउटा यो घटना पनि जोडिदिनुपर्छ – सत्यम् शिवम् सुन्दरम्को महान् सफलता ! चलचित्र हेरेर पुरुषले बलात्कार गर्‍यो – सत्यको विजय भयो, शिवको स्थापना भयो र सुन्दरको सम्मान भयो ।

मेरो साथी भन्छ – यो चलचित्र निकै प्रेरणादायक छ । चलचित्रकी नायिका जीनत अमानले त्यति मात्र लुगा लगाउँछे जति ‘इडेन गार्डेन’मा ईवले लगाउँथी । ईवले तिघ्राबिचको भागलाई जैतुनको पातले छोपेकी थिई । यसकी नायिका रूपाले माथि चोलीजस्तै केही लगाएकी छे र तिघ्रामा पनि कुनै लुगा बेरेकी छे । तर यो छोपेको पनि खोलेको जस्तै छ । ऊ पटक पटक देखाउँछे – ए मानिसहरू हो, के तिमीहरूलाई थाहा छ मैले के छोपेकी छु ? पर्ख बताइदिन्छु । अनि चलचित्रभरि नै ऊ बताइरहन्छे । पूजा र आरती भइरहेको छ, बुढापाकाहरू बसेका छन्, सडक चलिरहेको छ अर्थात् आवतजावत चालु छ अनि यो केटी तल र माथिका दुबै ‘पाइन्ट’हरू मटक मटक पार्दै बटारिइरहन्छे । अनि चलचित्रमा एउटै कुरो देखाउन बाँकी रहन्छ जुन हो बलात्कार ! त्यस पुरुषले बलात्कार गरेर चलचित्रलाई पूणर्ता दिएछ ।

साँच्चै भन्ने हो भने चलचित्र भवनमा बसेको प्रत्येक पुरुषको बलात्कार गर्ने नै मन हुन्छ अनि प्रत्येक महिलालाई त्यो बलात्कार उसकै पो हुने हो कि भन्ने डर लागिरहन्छ ।

मैले भनें – यार, तिमीहरू खोक्रा पवित्रतावादी हौ । के चलचित्र बनाउने काम पनि विनोवा भावेलाई सुम्पिनु त ? अनि त्यसमा हरेक महिलालाई माताका रूपमा र हरेक पुरुषलाई ब्रह्मचर्यको पालना गरेको देखाउनु ? विवाहपछि बेहुलाले बेहुलीका पाउमा शिर राखेर तिमी मेरी आमा हौ भनेर भन्न लगाउनु ? चलचित्रमा आवश्यकताअनुसार चुम्बन, अङ्गप्रदर्शन आदि त हुनैपर्छ नि ! अनि महिलालाई नाङ्गै पारे पनि कुनै अप्ठ्यारो मान्नपर्दैन के !

मेरो साथीले भन्यो – तर आवश्यकता भए त हो नि ! आवश्यकता नै छैन त अनि ? ऊ पुजारीकी छोरी हो । छोरीचाहिँ झन्डै नाङ्गै छे भने पुजारीजी किन नाङ्गै बस्दैनन् ? फेरि कथा पनि उधुमैको छ नि त ! केटी राम्रो गाउँछे तर अनुहार एकापट्टिबाट पोलिएको छ । त्यस पोलिएको भागलाई लुकाएर ऊ एउटा इन्जिनियरलाई माया गर्छे । विवाह हुन्छ । विवाहपछि अनुहारको पोलिएको रहस्य खुलेपछि इन्जिनियरले उसलाई हेला गर्न थाल्छ । अनि त्यही पत्नी त्यो पोलिएको भाग लुकाएर प्रेमिका बनेर उसलाई भेट्न थाल्छे । एउटै महिला प्रेमिका पनि हो र पत्नी पनि हो तर इन्जिनियर साहेबले चाल पाउन्नन् । अनि उसको बच्चा पनि जन्मिन्छ ।

मेरो विचारमा कथा अझै राम्रो हुन सक्थ्यो । त्यो केटी पत्नी र प्रेमिकाबाहेक गाई पनि हुन सक्थी । पत्नीका रूपमा पतिसित लडिरहन्थी, प्रेमिकाका रूपमा प्रेम गरिरहन्थी र गाईका रूपमा बिहानबेलुका दुध पनि दिन्थी । चलचित्रहरूको वास्तविकता यही त हो ।

अनि जहाँसम्म अङ्गप्रदर्शनको कुरो छ – युवति आफ्नी मरेकी आमाको लासका छेउमा बसेर विलाप गरिरहेकी छे तर तिघ्रा देखाउन बिर्सेकी छैन । अनि हाम्रो युवक ! बाउ मरेको छ भनेर उफ्रीपाफ्री गर्दै, बाख्र्राको जस्तो बोली निकालेर र केटीलाई आँखा झिम्क्याउँदै भन्छ – प्यारी, मेरा पनि बाउ मरेका छन् । यो सबै हाम्रो जीवनको वास्तविकता हो ।

पटकथामा अरू पनि विशेषताहरू छन् । बाढी आउँछ र बाँध भत्किन्छ अनि त्यो आधा पोलिएकी केटी उसलाई ‘सुन्दरम्’ बन्न पुग्छे । उनी पुललाई छोडेर स्वास्नीलाई पुकार्दै भौंतारिन्छन् । त्यो इन्जिनियर निलम्बनमा पर्‍यो कि परेन कुन्नि !

राजकपुरले त्यो हृदयपरिवर्तन गर्ने प्रेमवीरलाई बचाएको भए हुने थियो । दुर्घटनाले गर्दा कुरूपा पनि सुरूपा लाग्छे, जसलाई घृणा गरियो उही प्यारी लाग्छे । यो हो चलचित्रको ‘सत्यम्’ । रेल लिकबाट ओर्लेपछि सुन्दर युवकले परम कुरूपा महिलालाई भन्दो होला – तिमी कति राम्री छ्यौ । म तिमीलाई प्रेम गर्छु । अनि उसले भन्दी होली – अहिलसम्म त मलाई नराम्री मानेर मतिर हेर्दा पनि हेर्दैनथ्यौ, अहिले किन त ? युवक भन्दो होला – हेर न, रेल लिकबाट ओल्र्यो नि त ! दुर्घटना भयो । त्यसैले नि । दुईवटा साँढेहरूले जुध्दाजुध्दै ठेलालाई पल्टाइदिन्छन् अनि यस्तो घटनाबाट पनि सधैंजसो सधैं लडिरहने पतिपत्नीमा प्रेम पलाउँछ ।

भनिन्छ यो चलचित्र बनाउन राजकपुरले सोह्र वर्षदेखि विचार गरिरहेका थिए । मूर्खताले पनि ठुलो तपस्या गराउँछ । एउटा उच्चस्तरीय मूर्खताका बारेमा सोच्न पनि सोह्र वर्ष लागेछ !

यता संसारका प्रत्येक जातिका मनीषीहरू हजारौं वर्षदेखि सत्य के हो, शिव के हो र सुन्दर के हो भन्ने बुझ्ने प्रयत्न गरिरहेका छन् । उनीहरूले आजसम्म पनि बुझ्न सकेका छैनन् तर राजकुपर र उनको चलचित्रका लेखकले सत्य, शिव र सुन्दरको रहस्य थाहा पाएछन् । अब भने राजकपुर पनि आफ्नो बाँदरे अभिनय छाडेर ऋषि बन्न सक्छन् । बाजेले निकै दार्शनिक चलचित्र बनाएछन् !

यो त मैले भनेको हुँ र प्रसङ्गवश भनेको हुँ । आम चलचित्रहरू सत्यम् शिवम् सुन्दरम् जस्तै नै हुन्छन् । यिनको नाम फुलिसम्, भल्गरम्, फोहरम् निकै मज्जाले सुहाउने हुन सक्छ । अर्को छेउमा ‘जय सन्तोषी माता’ विराजमान छिन् र भक्तिनीहरूलाई अझ बढी अन्धविश्वासी तथा मूर्ख बनाउँदै छिन् ।

म अचेल सामान्यतया चलचित्र हेर्दिनँ । नहेरिकनै थाहा पाउँछु । छेउ न टुप्पोको कथा, अवास्तविक जीवन, उत्ताउलोपन र फोहरीपन, ‘चोली फुकाल र साडी उठाऊ’ जस्तो सौन्दर्यबोध गराउने सङ्गीतमय मूर्खता, फट्याइँ, अरुचिकर रङ्गसज्जा र असम्भव परिस्थितिहरू – यी सबै कुराहरूलाई मिसाएर नै एउटा सफल चलचित्र बन्दो रहेछ ।

मैले एउटा चलचित्र हेरें भने आफ्नो वास्तविक संसारमा फर्किन एक साता लाग्छ । चलचित्रले कुनै यस्तो संसारमा पुर्‍याइदिन्छ कि आफ्नो यो संसार मलाई अपरिचितजस्तो लाग्न थाल्छ भने डर छुट्टै लाग्छ । एक पटक म एउटा साथीसित चलचित्र हेर्न गएँ । कति डर लाग्यो भने मध्यान्तरमा उठेर हिँड्यौं । घर फर्किन रेक्सामा बस्यौँ तर बाटाभरि कुरै गरेनौं । यसपछि दुई महिनासम्म बोलचाल नै बन्द भयो । उसको गुनासो के थियो भने मैले नै ठेलेर उसलाई चलचित्र हेर्न लगेको थिएँ र उसले मलाई नै दोषी मानेको थियो ।

भन्न त के पनि भनिन्छ भने यी चलचित्रहरू क्रान्तिमा सहायक बन्दै छन् । मानौं, यस देशमा कुनै लेनिन नै प्रकट भएर क्रान्तिको प्रक्रिया नै थालिदिन्छन् जस्तो । मानौं लेनिनले भनिरहेका होऊन् – क्रान्तिको निर्णायक लडाइँका निम्ति अघि बढ वीरहरूहो ! अनि मानिसहरू भनुन् – तिमी नै गर क्रान्ति । हामी त अहिले ‘जय सन्तोषी माता’ हेर्दै छौं । हामीलाई जीनत अमानलाई राम्ररी हेर्न त देऊ । रङ्गमा भङ्ग त नपार ।

कपुर, चोपडा, सिप्पी, कुप्पी आदिले लेनिनसँग भन्लान् – ए साहेब, यहाँ क्रान्तिको आवश्यकता नै छैन । वर्गभेद त यहाँ हराइसकेको छ । यो चलचित्र हेर्नुस् त यसमा गरिब मान्छेकी छोरीसित रइस केटाले विवाह गर्छ । यस चलचित्रमा हरिजन (दलित)की छोरीसित ब्राह्मणको छोराले विवाह गर्छ । महिलापुरुषमा पनि समानता छ । नारी अब हीन रहेनन् । यो चलचित्र हेर्नुस्, यसमा केटी यति आक्रामक तरिकाले केटाको पछि परेकी छ कि केटो ‘आमा ! ए आमा !’ भन्दै भाग्छ । कमरेड लेनिन, अब क्रान्तिको आवश्यकता नै के छ र ?

०००
हरिशंकर परसाइं रचनावलीबाट  ‘फुलिसम् भल्गरम् फोहरम्’ काे नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x