हरिशंकर परसाईंफुलिसम् भल्गरम् फोहरम्
महिलापुरुषमा पनि समानता छ । नारी अब हीन रहेनन् । यो चलचित्र हेर्नुस्, यसमा केटी यति आक्रामक तरिकाले केटाको पछि परेकी छ कि केटो ‘आमा ! ए आमा !’ भन्दै भाग्छ । कमरेड लेनिन, अब क्रान्तिको आवश्यकता नै के छ र ?

हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
अखबारमा भोपालको समाचार छापिएको छ । एउटी महिला चलचित्र हेरेर फर्किंदै थिई । एउटा पुरुष पनि चलचित्र हेरेर फर्किंदै थियो । बाटाबाटै त्यस पुरुषले त्यस महिलालाई आफ्नो घर लग्यो र बलात्कार गर्यो ।
कुन चलचित्र हेरेर फर्किंदै थिए उनीहरू ?
हजुर, सत्यम् शिवम् सुन्दरम् !
राजकपुरले यस चलचित्रको सफलताको प्रचारमा एउटा यो घटना पनि जोडिदिनुपर्छ – सत्यम् शिवम् सुन्दरम्को महान् सफलता ! चलचित्र हेरेर पुरुषले बलात्कार गर्यो – सत्यको विजय भयो, शिवको स्थापना भयो र सुन्दरको सम्मान भयो ।
मेरो साथी भन्छ – यो चलचित्र निकै प्रेरणादायक छ । चलचित्रकी नायिका जीनत अमानले त्यति मात्र लुगा लगाउँछे जति ‘इडेन गार्डेन’मा ईवले लगाउँथी । ईवले तिघ्राबिचको भागलाई जैतुनको पातले छोपेकी थिई । यसकी नायिका रूपाले माथि चोलीजस्तै केही लगाएकी छे र तिघ्रामा पनि कुनै लुगा बेरेकी छे । तर यो छोपेको पनि खोलेको जस्तै छ । ऊ पटक पटक देखाउँछे – ए मानिसहरू हो, के तिमीहरूलाई थाहा छ मैले के छोपेकी छु ? पर्ख बताइदिन्छु । अनि चलचित्रभरि नै ऊ बताइरहन्छे । पूजा र आरती भइरहेको छ, बुढापाकाहरू बसेका छन्, सडक चलिरहेको छ अर्थात् आवतजावत चालु छ अनि यो केटी तल र माथिका दुबै ‘पाइन्ट’हरू मटक मटक पार्दै बटारिइरहन्छे । अनि चलचित्रमा एउटै कुरो देखाउन बाँकी रहन्छ जुन हो बलात्कार ! त्यस पुरुषले बलात्कार गरेर चलचित्रलाई पूणर्ता दिएछ ।
साँच्चै भन्ने हो भने चलचित्र भवनमा बसेको प्रत्येक पुरुषको बलात्कार गर्ने नै मन हुन्छ अनि प्रत्येक महिलालाई त्यो बलात्कार उसकै पो हुने हो कि भन्ने डर लागिरहन्छ ।
मैले भनें – यार, तिमीहरू खोक्रा पवित्रतावादी हौ । के चलचित्र बनाउने काम पनि विनोवा भावेलाई सुम्पिनु त ? अनि त्यसमा हरेक महिलालाई माताका रूपमा र हरेक पुरुषलाई ब्रह्मचर्यको पालना गरेको देखाउनु ? विवाहपछि बेहुलाले बेहुलीका पाउमा शिर राखेर तिमी मेरी आमा हौ भनेर भन्न लगाउनु ? चलचित्रमा आवश्यकताअनुसार चुम्बन, अङ्गप्रदर्शन आदि त हुनैपर्छ नि ! अनि महिलालाई नाङ्गै पारे पनि कुनै अप्ठ्यारो मान्नपर्दैन के !
मेरो साथीले भन्यो – तर आवश्यकता भए त हो नि ! आवश्यकता नै छैन त अनि ? ऊ पुजारीकी छोरी हो । छोरीचाहिँ झन्डै नाङ्गै छे भने पुजारीजी किन नाङ्गै बस्दैनन् ? फेरि कथा पनि उधुमैको छ नि त ! केटी राम्रो गाउँछे तर अनुहार एकापट्टिबाट पोलिएको छ । त्यस पोलिएको भागलाई लुकाएर ऊ एउटा इन्जिनियरलाई माया गर्छे । विवाह हुन्छ । विवाहपछि अनुहारको पोलिएको रहस्य खुलेपछि इन्जिनियरले उसलाई हेला गर्न थाल्छ । अनि त्यही पत्नी त्यो पोलिएको भाग लुकाएर प्रेमिका बनेर उसलाई भेट्न थाल्छे । एउटै महिला प्रेमिका पनि हो र पत्नी पनि हो तर इन्जिनियर साहेबले चाल पाउन्नन् । अनि उसको बच्चा पनि जन्मिन्छ ।
मेरो विचारमा कथा अझै राम्रो हुन सक्थ्यो । त्यो केटी पत्नी र प्रेमिकाबाहेक गाई पनि हुन सक्थी । पत्नीका रूपमा पतिसित लडिरहन्थी, प्रेमिकाका रूपमा प्रेम गरिरहन्थी र गाईका रूपमा बिहानबेलुका दुध पनि दिन्थी । चलचित्रहरूको वास्तविकता यही त हो ।
अनि जहाँसम्म अङ्गप्रदर्शनको कुरो छ – युवति आफ्नी मरेकी आमाको लासका छेउमा बसेर विलाप गरिरहेकी छे तर तिघ्रा देखाउन बिर्सेकी छैन । अनि हाम्रो युवक ! बाउ मरेको छ भनेर उफ्रीपाफ्री गर्दै, बाख्र्राको जस्तो बोली निकालेर र केटीलाई आँखा झिम्क्याउँदै भन्छ – प्यारी, मेरा पनि बाउ मरेका छन् । यो सबै हाम्रो जीवनको वास्तविकता हो ।
पटकथामा अरू पनि विशेषताहरू छन् । बाढी आउँछ र बाँध भत्किन्छ अनि त्यो आधा पोलिएकी केटी उसलाई ‘सुन्दरम्’ बन्न पुग्छे । उनी पुललाई छोडेर स्वास्नीलाई पुकार्दै भौंतारिन्छन् । त्यो इन्जिनियर निलम्बनमा पर्यो कि परेन कुन्नि !
राजकपुरले त्यो हृदयपरिवर्तन गर्ने प्रेमवीरलाई बचाएको भए हुने थियो । दुर्घटनाले गर्दा कुरूपा पनि सुरूपा लाग्छे, जसलाई घृणा गरियो उही प्यारी लाग्छे । यो हो चलचित्रको ‘सत्यम्’ । रेल लिकबाट ओर्लेपछि सुन्दर युवकले परम कुरूपा महिलालाई भन्दो होला – तिमी कति राम्री छ्यौ । म तिमीलाई प्रेम गर्छु । अनि उसले भन्दी होली – अहिलसम्म त मलाई नराम्री मानेर मतिर हेर्दा पनि हेर्दैनथ्यौ, अहिले किन त ? युवक भन्दो होला – हेर न, रेल लिकबाट ओल्र्यो नि त ! दुर्घटना भयो । त्यसैले नि । दुईवटा साँढेहरूले जुध्दाजुध्दै ठेलालाई पल्टाइदिन्छन् अनि यस्तो घटनाबाट पनि सधैंजसो सधैं लडिरहने पतिपत्नीमा प्रेम पलाउँछ ।
भनिन्छ यो चलचित्र बनाउन राजकपुरले सोह्र वर्षदेखि विचार गरिरहेका थिए । मूर्खताले पनि ठुलो तपस्या गराउँछ । एउटा उच्चस्तरीय मूर्खताका बारेमा सोच्न पनि सोह्र वर्ष लागेछ !
यता संसारका प्रत्येक जातिका मनीषीहरू हजारौं वर्षदेखि सत्य के हो, शिव के हो र सुन्दर के हो भन्ने बुझ्ने प्रयत्न गरिरहेका छन् । उनीहरूले आजसम्म पनि बुझ्न सकेका छैनन् तर राजकुपर र उनको चलचित्रका लेखकले सत्य, शिव र सुन्दरको रहस्य थाहा पाएछन् । अब भने राजकपुर पनि आफ्नो बाँदरे अभिनय छाडेर ऋषि बन्न सक्छन् । बाजेले निकै दार्शनिक चलचित्र बनाएछन् !
यो त मैले भनेको हुँ र प्रसङ्गवश भनेको हुँ । आम चलचित्रहरू सत्यम् शिवम् सुन्दरम् जस्तै नै हुन्छन् । यिनको नाम फुलिसम्, भल्गरम्, फोहरम् निकै मज्जाले सुहाउने हुन सक्छ । अर्को छेउमा ‘जय सन्तोषी माता’ विराजमान छिन् र भक्तिनीहरूलाई अझ बढी अन्धविश्वासी तथा मूर्ख बनाउँदै छिन् ।
म अचेल सामान्यतया चलचित्र हेर्दिनँ । नहेरिकनै थाहा पाउँछु । छेउ न टुप्पोको कथा, अवास्तविक जीवन, उत्ताउलोपन र फोहरीपन, ‘चोली फुकाल र साडी उठाऊ’ जस्तो सौन्दर्यबोध गराउने सङ्गीतमय मूर्खता, फट्याइँ, अरुचिकर रङ्गसज्जा र असम्भव परिस्थितिहरू – यी सबै कुराहरूलाई मिसाएर नै एउटा सफल चलचित्र बन्दो रहेछ ।
मैले एउटा चलचित्र हेरें भने आफ्नो वास्तविक संसारमा फर्किन एक साता लाग्छ । चलचित्रले कुनै यस्तो संसारमा पुर्याइदिन्छ कि आफ्नो यो संसार मलाई अपरिचितजस्तो लाग्न थाल्छ भने डर छुट्टै लाग्छ । एक पटक म एउटा साथीसित चलचित्र हेर्न गएँ । कति डर लाग्यो भने मध्यान्तरमा उठेर हिँड्यौं । घर फर्किन रेक्सामा बस्यौँ तर बाटाभरि कुरै गरेनौं । यसपछि दुई महिनासम्म बोलचाल नै बन्द भयो । उसको गुनासो के थियो भने मैले नै ठेलेर उसलाई चलचित्र हेर्न लगेको थिएँ र उसले मलाई नै दोषी मानेको थियो ।
भन्न त के पनि भनिन्छ भने यी चलचित्रहरू क्रान्तिमा सहायक बन्दै छन् । मानौं, यस देशमा कुनै लेनिन नै प्रकट भएर क्रान्तिको प्रक्रिया नै थालिदिन्छन् जस्तो । मानौं लेनिनले भनिरहेका होऊन् – क्रान्तिको निर्णायक लडाइँका निम्ति अघि बढ वीरहरूहो ! अनि मानिसहरू भनुन् – तिमी नै गर क्रान्ति । हामी त अहिले ‘जय सन्तोषी माता’ हेर्दै छौं । हामीलाई जीनत अमानलाई राम्ररी हेर्न त देऊ । रङ्गमा भङ्ग त नपार ।
कपुर, चोपडा, सिप्पी, कुप्पी आदिले लेनिनसँग भन्लान् – ए साहेब, यहाँ क्रान्तिको आवश्यकता नै छैन । वर्गभेद त यहाँ हराइसकेको छ । यो चलचित्र हेर्नुस् त यसमा गरिब मान्छेकी छोरीसित रइस केटाले विवाह गर्छ । यस चलचित्रमा हरिजन (दलित)की छोरीसित ब्राह्मणको छोराले विवाह गर्छ । महिलापुरुषमा पनि समानता छ । नारी अब हीन रहेनन् । यो चलचित्र हेर्नुस्, यसमा केटी यति आक्रामक तरिकाले केटाको पछि परेकी छ कि केटो ‘आमा ! ए आमा !’ भन्दै भाग्छ । कमरेड लेनिन, अब क्रान्तिको आवश्यकता नै के छ र ?
०००
हरिशंकर परसाइं रचनावलीबाट ‘फुलिसम् भल्गरम् फोहरम्’ काे नेपाली अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest

































