साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिनौरा ! नेता या जनता ?

इन्दिरा गान्धी तथा अन्य व्यक्तिहरू के सोच्छन् भने दक्षिणमा जुन हार भयो त्यो भ्रष्टाचारका कारण भएको हो भन्ने त मान्यौं तर दिल्लीको जित पनि भ्रष्टाचार गरेरै भएको हो नि ! त्यसकै कारण भएको हो नि !

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

यस देशको राजनेताले जनतालाई चरित्रहीन आइमाई ठानेर उसलाई त्यसलाई आफ्नो व्यक्तित्वले, वाचाले, नाराले, उफ्रीपाफ्रीले, लोभले, छातीपिटाइले, आँसुचुहाइले, हिन्दूवादले, गान्धीवादले र समाजवादले त्यसै गरी फकाउँछ, गीत गाउँछ, सिट्ठी बजाउँछ र हाउभाउ देखाउँछ । तर जनताले कहिलकाहीँे यस्तो नेतालाई चप्पल चखाएर भन्छन्, ‘हरामीको छोरो, के मैले चिनेको छैनँ र तँ लफङ्गालाई ? म कुनै चरित्रहीन आइमाई होइनँ ।’ दक्षिण भारतमा जनताले काङ्ग्रेसी नेताहरूलाई जमेर चम्पलले चुटे । काङ्ग्रेसम्यान इन्दिराजीको ‘व्यक्तित्व’मा विश्वास गथ्र्यो । तर दक्षिण भारतमा राम्रा ब्युटी पार्लरहरू छैनन् । फेरि शृङ्गेरी मठका शङ्कराचार्य जसले मध्यप्रदेशमा इन्दिराजीलाई आशीर्वाद दिएका थिए त्यो दक्षिणमा पुगेर फेरिएछ । खरानीघसुवाको भर हुँदैन ।

काङ्ग्रेसम्यानले एन. टी. रामारावलाई कुनै धर्मेन्द्र वा अमिताभ बच्चन ठानेका होलान् जसको संसार स्टुडियो, क्यामेरा, ग्ल्यामर, कमाइ, स्क्यान्डल र ट्याक्सको चोरी हो ! दक्षिण भारतका फिल्मी हिरोले त पर्दामा बाहेक समाजमा पनि काम गर्छन् । समाजसेवा गर्छन्, संस्थाहरू चलाउँछन् र सामाजिक आन्दोलनहरूमा सहभागी बन्छन् । काङ्ग्रेसम्यान विचरालाई त छिमेकी केरलमा न्यूनतम ज्याला रू. तीससम्म छ तर छेवैमा कर्नाटकमा जम्मा आठ मात्र छ भन्नेसम्म पनि थाहा छैन । काङ्ग्रेसम्यान यस्ता झमेलामा पर्दैन । ऊ त केवल इन्दिराजीको व्यक्तित्व हेर्छ ।

दिल्ली जाँदै गर्दा बाटामा एक जना अरू खरानीघसुवा भेटिन्छन्, स्वामी स्वरूपानन्द । यिनको आशीर्वादले उत्तर भारतमा काम गर्‍यो । फेरि धीरेन्द्र ब्रह्मचारीको पनि आध्यात्मिक हैसियत छ । कुल मिलाएर काङ्ग्रेसले जित्यो । व्यक्तित्व फक्र्यो । लखनउ, भोपाल, पटना, जयपुरमा काङ्ग्रेसम्यान रमरमी वसन्तमा त्यसै व्यक्तित्वको पछ्यौरा ओढेर सुतेको छ । त्यो उठ्छ त केवल भ्रष्टाचारका लागि ।

तर दिल्लीका जनताले भारतीय जनता पार्टीका नेताहरूलाई चप्पलले चड्कन दिए । अटलविहारी दिल्लीका जनतालाई आफ्ना रखौटा ठान्थे । अठलविहारीले त दिल्लीका जनता फेरी फेरी सत्ता सुम्पिन्छन्, एकपटक काङ्ग्रेसलाई त अर्को पटक हामीलाई सम्म भन्न भ्याएका थिए । तर दिल्लीका जनताले चप्पल हिर्काएर भने, ‘के हामी छिनौरी हौँ जो एकपटक काङ्ग्रेसीसित त अर्को पटक संघीसित सुतौँ ? यस चप्पलसित तर्सेर अटलविहारी वाजपेयीले भारतीय जनता पार्टीको अध्यक्ष पदबाट राजिनामा दिए जुन अहिलेसम्म फिर्ता पनि लिइसके होलान् । अटलविहारी वाजपेयी पनि छविको व्यापार गर्छन् । उनको राजिनामा ‘ब्युटी पार्लर’ जानुजस्तै हो । पदमा टाँसिइरहने नेताले जब राजिनामा दिन्छ तब उसले ‘मेकप’ गरेको हुन्छ । पार्टीका मानिसहरू फकाइरहन्छन्, ‘पार्टीको के होला ? देशको के होला ? तपाईंको व्यक्तित्व तेजस्वी छ र वाणी ओजस्वी छ । देशलाई तपाईंको आवश्यकता छ ।’ अर्थात् वाजपेयी अब ‘ब्युटी पार्लर’ बाट अनुहारलाई सिँगारेर, दाग मेटाएर, कपाल कोरेर, स्नो, पाउडर र लोसन दलाएर र चाउरी मेटाएर निस्किने छन् । ‘नेता त यस्तो पो हुन्छ , अटलजीजस्तो । पार्टीको हारलाई आफ्नो नैतिक दायित्व ठाने ।’ अनि उनको छवि फक्र्यो ।

संघवालाहरूको के सोच छ भने दिल्लीमा अझै पनि तिनै पञ्जाबी हिन्दूहरू नै बस्दछन् जो सन् १९४७मा भागेर आएका थिए । उनीहरू कट्टर हिन्दू साम्प्रदायिक थिए । तर उनीहरू बुढा भएर मरिसके भन्ने कुरो संघलाई थाहै छैन । अहिलेका भोटर त ती १९४७मा भागेर आउनेहरूका नातिनातिना हुन् । तर भारतीय जनता पार्टी यस नयाँ भोटरका बाजेको भोटमा निर्भर थियो जो अहिले अर्को लोकमा भोट दिँदै छन् । जाटहरूले पनि धोका दिए । सिखहरूले त देशद्रोह नै गरे । अकाली दलले रोक्दारोक्दै पनि भोट हाल्न गए ।

भाजपालाई दिल्ली प्रशासनमाथि कब्जा भनेको सिङ्गो उत्तर भारतमाथि कब्जा हो र त्यसपछि देशमाथि कब्जा हो भन्ने लागेको थियो । काङ्ग्रेसको विकल्प ‘अल्टरनेटिभ’ ! वास्तविक कठिनाइ त के छ भने वाजपेयी आर. एस. एस. का भएर पनि गैर आर.एस.एस.को भूमिकामा रहन चाहन्छन् जसमा एउटा हातमा गान्धीवाद र अर्को हातमा समाजवाद होस् । तर वास्तविक नभएर आलु गान्धीवाद र आलु समाजवाद अर्थात् सबै प्लास्टिकको । अनि संघका नेताहरूलाई यो मन परेको छैन । संघका स्वयंसेवकहरू अखबारहरूमा चिठी नै लेखेर यी बाहिरबाट आएका भारतीय जनता पार्टीवाला हाम्रो अपमान गर्छन् भनेर गुनासो गर्छन् । हामीलाई जाँगे र कालोटोपे भन्छन् । यो हुन सक्दैन । तर अटलविहारी वाजपेयीले यस पार्टीलाई छोडिदिए भने पनि बाहिरी राजनीतिमा त धेरैजसो राजनारायण रहने छन् । उनी जगजीवन राम पनि बन्न सक्ने छन् । तर पार्टीले त उनलाई ‘भारतका भावी प्रधानमन्त्री’ भन्छ । पार्टीलाई यसरी उठाउने उनीहरूले अर्को कहाँ पाउनु ? आर. एस. एस.को समर्थन भएपछि त उनी नै भारतका भावी प्रधानमन्त्री हुन् ।

लालकृष्ण आडवाणी अथवा सुन्दरसिंह भण्डारी ‘अल्टरनेटिभ’ होइनन् किनभने यिनीहरूको इमेज छैन । उत्तम इमेज भएका त केवल वीरेन्द्रकुमार सखलेचा हुन् । उनीमाथि मुख्यमन्त्रीको पदमा रहेर भ्रष्टाचार गरेको मुद्दा दर्ता जो भएको छ ! भारतको भावी प्रधानमन्त्रीका लागि सखलेचा एउटा योग्य उम्मेदवार हुन् ।

काङ्ग्रेसले अब १९८५सम्म आराम गरे हुन्छ । म्याडमको ‘इमेज’ फेरि बन्यो । २० सूत्रीय कार्यक्रममाथि ‘विचार’ गर्न इन्दिरा गान्धी बारम्बार जोर दिँदै छिन् । काङ्ग्रेसम्यान पनि बारम्बार ‘विचार’ गर्दै छ । यी २० सूत्र अफिमका २० गोली हुन् । राजस्थानमा अफिम खानुलाई ‘अम्मल’ गर्नु भन्छन् । इन्दिराजीले ३० सूत्रीय कार्यक्रम ल्याइन् भने काङ्ग्रेसम्यान एक महिनाभरि नसामा डुबिरहने छ । अहिले त दश दिन होसमा रहेर त्यो सारा काम गर्नुपर्छ जसलाई भ्रष्टाचार भनिन्छ !

इन्दिरा गान्धी तथा अन्य व्यक्तिहरू के सोच्छन् भने दक्षिणमा जुन हार भयो त्यो भ्रष्टाचारका कारण भएको हो भन्ने त मान्यौं तर दिल्लीको जित पनि भ्रष्टाचार गरेरै भएको हो नि ! त्यसकै कारण भएको हो नि ! भ्रष्टाचार समाप्त भयो भने धेरै मानिसहरू जो भ्रष्टाचारका कारण सम्पन्न हुने गरेका छन् ती रिसाउने छन् ।

बाँकी चिन्ता काङ्ग्रेसम्यानले गर्नु पर्दैन । शासन त उसले दिल्लीमा गर्ने हो । अनि त्यो भयो पनि । दिल्लीको प्रधानमन्त्री त इन्दिरा गान्धी नै हुने हुन् । बाँकी हिन्दीभाषी प्रदेश भारतीय जनता पार्टीलाई दिउँला ! आन्ध्रप्रदेश रामारावसँग । असममा कसैको शासन नभए पनि चल्छ । बिहारलाई जगन्नाथ मिश्रले बाबाहरूलाई या डाँकुहरूलाई दिने नै छन् । केवल दिल्लीमा जित्नाले पनि त्यहाँ त भारत सरकार काङ्ग्रेसकै बनि नै हाल्छ । काङ्ग्रेसलाई १९८५को चुनावको तयारी गर्ने आवश्यकता नै छैन ।

०००
परसाईं रचनावली भाग (४) बाट ‘छिनाल जनाता या नेता’ काे नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x