हरिशंकर परसाईंसर्कसमण्डलीको शासन
श्रीलङ्कामा पनि त भारतमा जस्तै भएको छ नि ! हाम्री श्रीमती इन्दिरा गान्धी त उनकी बन्दरनायके । हाम्रा मोरारजी त उनका जयवद्र्धने । जयवर्द्धन एक पटक फेरि भारतसित ज्ञान र प्रकाश लिन आएका थिए । उनी हाम्रो सर्कसबाट निकै प्रभावित भएका थिए ।

हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
सामान्य अवस्थाको कुरो छुट्टै छ । तर भारतमा जब ३० वर्षपछि सम्पूणर् क्रान्ति भएर अर्को स्वतन्त्रता आएपछि कुनै अर्को देशले यस देशको क्रान्तिकारी सरकारसित आफ्नो देशको सर्कसमण्डलीलाई मकहाँ पठाइदेऊ भनेर भन्यो भने कस्तो लाग्ला ? श्रीलङ्काले गरेको हरकत यही हो ।
हाम्रो देशमा भरतनाट्यम् छ, कत्थक छ, नाटकमण्डलीहरू छन्, उस्ताद बिस्मिल्ला खाँ छन्, अमजद खाँ छन्, रविशङ्कर छन्, बिरजु महाराज छन्, इन्द्राणी रहमान छन्, लता मङ्गेशकर छन्, मुहम्मद रफी छन् । यिनीहरूलाई छाडेर श्रीलङ्का भन्छ, ‘तपाईंको देशको सर्कसमण्डलीलाई हाम्रो देशमा पठाइदिनू । मानिसहरू तपाईंको सर्कस हेर्न निकै उत्सुक छन् ।’
यो त अचम्मैको कुरो भयो । हामी त फैज अहमद फैज, मेहन्दी हसन, मलिका पुखराजलाई पो बोलाउँछौ त ! अनि उनीहरू हाम्रो देशबाट सर्कसमण्डलीलाई बोलाउँछन् । हामी त कुन देशको सङ्गीत, नाटक, नृत्य, काव्यमा कुन कुरो हाम्रा निम्ति उपयुक्त छ भनेर खोज्छौं तर उनीहरू भने हाम्रो भारतमा अहिले कुन सर्कस चलिरहेको छ र कुन मण्डली सबैभन्दा राम्रो सर्कस देखाइरहेको छ भनेर खोज्छन् ।
हामी स्वतन्त्र भएको पनि ३२ वर्ष हुन थालेछ । यस देशमा सर्कस पहिले पनि हुने गथ्र्यो । सर्कमण्डलीहरू पनि पहिलेदेखि नै छन् तर कुनै देशले पनि हाम्रो सर्कसमण्डलीलाई बोलाउने दुस्साहस गरेन । हामी धर्म, संस्कृति, नृत्य, सङ्गीत, काव्य आदि त बाहिर निर्यात गर्ने गथ्र्यौं । कुनै वेला अशोकले महेन्द्र र सङ्घमित्रलाई बौद्धधर्मको दर्शन दिएर श्रीलङ्का पठाएका थिए अनि यो समय पनि आयो जब हाम्रो देशबाट सर्कसमण्डलीलाई बोलाइएको छ । उता जुन बोधिवृक्ष त्यति बेला रोपिएको थियो त्यसकै छेउछाउमा सर्कस हुने होला ।
म आफ्नो यो पिर सक्सेनासाहेबलाई सुनाउँदै थिएँ । मैले भनें, ‘यो छुसी देश श्रीलङ्का जसलाई एकपटक त रामचन्द्रजीले जितिसकेका हुन्, जसलाई हामीले धर्म दियौं, संस्कृति दियौं र चामल पनि दिन्छौं तर उसले हामीकहाँबाट सर्कस झिकाएर उत्ताउलोपन देखाउने ? हाम्रो खिल्ली उडाउने ? अपमान गर्ने ? हामीलाई हेप्ने ? यदि म प्रधानमन्त्री हुन्थें भने कूटनीतिक सम्बन्ध नै तोडिदिन्थें । कम्तीमा श्रीलङ्काले यस्तो शत्रुतापूणर् व्यवहार गरेको छ भनेर राष्ट्रसंघका महासचिवलाई त उजुरी दिन्थें नै ।’
सक्सेनाले सोचेर भने, ‘हेर्नुस्, कुनै पनि देशले के हेर्छ भने अर्को देशमा अहिले कुन ‘एक्टिभिटी’ प्रमुख रुपमा सञ्चालित छ ? नाट्य, सङ्गीत र काव्यको साधनालाई प्रमुख मानिएको छ वा अन्य कुनैलाई ? अनि त्यस देशले पनि कुन कुराको प्रचार आफै गरिरहेको छ ? जनताको सरकार आउनासाथ विदेशीहरूले भारतमा सबैभन्दा बढी चलेको भनेको सर्कस नै हो भन्ने थाहा पाइसकेका छन् । नहोस् पनि किन ? यहाँ हरेक दिन सर्कसका नयाँ नयाँ चर्तिकलाहरू जो देखाइँदै छन् !
विदेशीहरूलाई भारतमा सर्कसमण्डलीको शासन चलेको छ भन्ने विश्वास भइसकेको छ । सरकारमा राजनीतिक व्यक्ति नभएर सर्कसमा खेल देखाउनेहरू छन् । मान्छे मात्र नभएर बाघ, भालु, चितुवा, गैंडा, बाह्रसिङे पनि छन् । प्रधानमन्त्रीको छाला गैंडाको छ । चरणसिंहको गान्धीटोपीभित्र बाह्रवटा सिङ छन् । जगजीवनरामले चितुवाले जस्तै खुम्चिएर सिकारमा आँखा गाड्छन् । जनसंघको सुगा बोलिरहन्छ, ‘मिट्ठू ! महात्मा गान्धी ! महात्मा गान्धी !’ अब भन अन्य देशले यहाँबाट मगाउने सर्कस नै त हो !’
मैले भनें, ‘तर हाम्रो अपमान त भयो नि ! हाम्रा कला, संस्कृति र साधनाको उपेक्षा त भयो नि !’
सक्सेनाले भने, ‘कला र संस्कृतिबाट के फाइदा ? यस्ता कुराबाट पनि कहीँ राजकाज चल्छ ? १९७७ मा एकाएक एउटा सर्कस मण्डली बनेको थियो, जनता पार्टी । यसका सामु ग्रेट इस्टर्न सर्कस, जेमिनी सर्कस आदिले पनि हार खाएका छन् ।
मधु लिमयेले हालसालै एउटा लेखमा लेखेका छन् नि, ‘इमर्जेन्सी हटाएको एक महिनापछि नभएर चारपाँच महिनापछि चुनाव भएको भए जनता पार्टी बन्ने नै थिएन । वास्तवमा हामीलाई आपसमा लड्ने मौकै हुँदैनथ्यो । तीनचार महिनाको समय पाएको भए हामी लड्दालड्दै अर्को पार्टी पनि बनाउँथ्यौं ।’ अब हेर्नुस् न, सर्कसमा जस्तै जुन मण्डली राजनीतिक पार्टी बनेको छ, त्यसैले सरकार बनायो भने त्यसले सर्कसको खेलतमासा नै त देखाउने हो नि ! जब अन्य देशका मानिसहरूले अखबारबाट यो कुरो थाहा पाउँछन् अनि उनीहरूले भन्ने नै त भए नि कि हजुर, तपाईंको सर्कस हाम्रो देशमा पनि देखाइदिनुस् न ! सुन्न त खुबै सुनेका छौं, आँखाले पनि हेरौं न !
मेरो देशभक्त तथा जनता पार्टीको भक्तमनले फेरि पनि मानेन । मलाई त के लागिरहेको थियो भने यसरी अन्य कुराहरू छोडेर सर्कस मण्डलीलाई नै निमन्त्रणा दिनु श्रीलङ्काको सरासर धृष्टता नै हो । तर सक्सेनाले भने, ‘कुनै पनि मानिसले त्यसैलाई बोलाउँछ जसको प्रचार हामी आफैले गर्ने गर्छौं । आफ्नो अखबार उठाएर त हेर्नुस् ! हरेक दिन त्यसको पहिलो पृष्ठमै कुन कुराको प्रचार हुन्छ ? सर्कसको खेलको ! दिनदिनै हामी विदेशहरूमा सर्कसको प्रचार गर्छौं भने बोलाउनेले पनि सर्कस नै बोलाउने भए ! यसमा तपाई नराम्रो किन मान्नुहुन्छ ? मलाई त यो गौरवको कुरो लाग्दछ ।
कांग्रेस पनि कम्ताको खेलाडी हैन । विनाप्याडल विकासको साइकल चलाउनेहरू कांग्रेसमै छन्, तर कांग्रेसीहरूको तीस वर्षको शासनमा हाम्रो सर्कसलाई कहिल्यै बोलाइएन । तर जनता सरकार बनेको दुई वर्ष पनि नबित्दै श्रीलङ्काबाट निमन्त्रणा आयो, ‘हजुर, आफ्नो सर्कस हाम्रो देशमा पनि देखाउनुस् न ! मज्जा आउँछ के !’’
सक्सेना बोल्दै रहे, ‘भाइराजा, दुनियाँमा कसैले पनि यस सर्कसको बराबरी गर्न सक्दैन । यसमा म्यानेजर को हो भन्ने पत्तै हुँदैन । मोरारजी, चरणसिंह, चन्द्रशेखर या देवरस ? सबै खेलाडी हुन्, अनि सबै म्यानेजर पनि । आँखामा पट्टी बाँधेर आर्थिक योजनाको गाडी चलाउँछन् अनि सेनालाई बेचिदिन्छन् । टाउकाले टेकेर बजुलीको तारमा हिँड्छन्, अन्धो राष्ट्रवादको मोटरसाइकल चलाउँछन्, कपडामा आगो लगाएर माथिबाट हामफाल्छन्, कारमा गोरु नारेर हाँक्छन्, उल्टोतिर हिँड्छन्, शीर्षासन गर्छन्, एकले अर्कालाई लातमुड्की लाउँछन्, एकले अर्काको धोती खुस्काउँछन्, आपसमा तथानाम गाली गर्छन्, थुक्छन्, लात्ताले हिर्काउँछन् अनि एक अर्कालाई अँगालो हालेर हाँस्दै दर्शकसमक्ष आउँछन् र भन्छन्, ‘हाम्रो खेल मन पराइदिनुभएकामा यहाँहरूलाई धेरै धेरै धन्यवाद !’’
मैले भनें, ‘मोरारजी दाजु पनि त श्रीलङ्काको राजकीय यात्रामा जाँदै हुनुहुन्छ । उहाँले निमन्त्रणा स्वीकार गरिसक्नुभएको छ ।’
सक्सेनाले भने, ‘यस्तो हो र ? उसो भए लङ्काका मान्छेहरू दोहोरो खर्च किन गर्दैै होलान् ? एक्ला मोरारजी दाजु नै सिङ्गै सर्कसमण्डलीबराबर छन् । उनी कैयाैं खेलहरू देखाउन सक्छन् । केही समयपहिले श्रीलङ्काका राष्ट्रपति जयवद्र्धन भारत आएका थिए नि, उनले पन्ध्र दिन बौद्ध तीर्थहरूको यात्रा गरिरहे । तीर्थयात्रा त एउटा निहुँमात्र थियो, वास्तवमा उनी त यहाँको सर्कसको अध्ययन गर्न आएका थिए ।
श्रीलङ्कामा पनि त भारतमा जस्तै भएको छ नि ! हाम्री श्रीमती इन्दिरा गान्धी त उनकी बन्दरनायके । हाम्रा मोरारजी त उनका जयवद्र्धने । जयवर्द्धन एक पटक फेरि भारतसित ज्ञान र प्रकाश लिन आएका थिए । उनी हाम्रो सर्कसबाट निकै प्रभावित भएका थिए । फर्केर उनले त्यहाँ हाम्रो सर्कसको खुब प्रशंसा गरे अनि त्यसलाई बोलाए, बुझ्नुभयो ?’
मैले भनें, ‘ उसो भए सर्कसमण्डली श्रीलङ्का जाँदै छ भन्ने चरणसिंह र राजनारायणलाई थाहा थियो । त्यसैले उनी सर्कसमण्डलीमा सामेल भएर श्रीलङ्का जान हतारहतारमा मन्त्रिमण्डलमा पसिहाल्न चाहन्थे ।’
०००
परसाईं रचनावली भाग (४) काे ‘सर्कस मण्डलीका शासन’ बाट नेपाली अनुवाद
Subscribe
Login
0 Comments
Oldest
































