घनश्याम रेग्मीस्वर्ण माहात्म्य
यो स्वर्ण कस्तो घरवार फोर्छ मौका परे चोर घुसेर चोर्छ यो ज्यान जाने यसकै कृपाले यो बुझ्न सक्छिन् घरकी प्रियाले । साथी तिमी स्वर्ण कमाउनेमा यो राज्य लाग्दैछ समाउनेमा लौ लौ भयो स्वर्ण यता नलेऊ आनन्दले बस्न र खान देऊ ।

घनश्याम रेग्मी :
हो यो पुरानो तर नित्य नौलो बुझ्ने कुरा हो छ सधैँ सुनौलो
आएछ नौलो कुन पाठ आज हेर्दै छ रे दुर्बिनले समाज ।
पर्दा बिरामी अघि भोट जाँदा सेवा गरी हार्दिक भाव राख्दा
लौ राख नासो सुनको भनेर दिन्थ्यो मदन्ले मनले चिनेर ।१
यो खान मिल्दैन नउम्रिने यो ढाक्दैन लज्जा न त छोपिने हो
बेकारको यो सुन हो भनेर राख्दैन भोटे सुन हो चिनेर ।
तेस्तो खराबी चिज वस्तुलार्ई किन्छौँ र भिर्छौँ तनमा सजाई
खै चेत हाम्रो अझ सुध्रिएन आकाश कालो अझ उघ्रिएन ।२
किन्दै नकिन्नू सुन के छ काम पार्नेछ धेरै बदनाम नाम
सल्लाह मेरो कति मान्नु हुन्छ के स्वणर् बाला अब किन्नु हुन्छ ।
कैयौं जना देश विदेश धाए ल्याए छिपाई सुन धातु खाए
जाली दिए नाम र ठाउँ गाउँ खोजेर जाली सुन के समाऊँ ।३
छन् खोरमा स्वणर् दलाल साथी चोरी भए सन्दुक राति राति
कोही यसैको उपहार पाई छन् स्वर्गमा हार्दिक स्थान पाई ।
छन् पाहुना आज नयाँ यता रे छोरो तथा साथ छिमेकका रे
यो देशमा तस्कर खोज्नु पर्दा सम्भ्रान्त छन् खोर नियाल्न झर्दा ।४
अचम्मको यो सुन हुन्छ जान चाहे तिमी मान कि वा नमान
सीता छुटायो अघि रामबाट लङ्का जलाईो सब राजपाठ ।
सीता हराइन् वनबाट फेरि आयो यहाँ राक्षस रूप फेरी
जालो यहाँ तस्कर स्वणर्चारी लामो छ यो लस्कर स्वणर्धारी ।५
यो स्वर्ण कस्तो घरवार फोर्छ मौका परे चोर घुसेर चोर्छ
यो ज्यान जाने यसकै कृपाले यो बुझ्न सक्छिन् घरकी प्रियाले ।
साथी तिमी स्वर्ण कमाउनेमा यो राज्य लाग्दैछ समाउनेमा
लौ लौ भयो स्वर्ण यता नलेऊ आनन्दले बस्न र खान देऊ ।६
०००
हाल बैजनाथ १, चिसापानी, बाँके
Subscribe
Login
0 Comments
Oldest






































