सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गलाभरि माला क्रान्तिकारी चाला

अहिले नेपालमा नेतालाई धेरै माला, ठूलो माला लगाउने होड नै चलेको छ । यो मालामा प्रतिस्पर्धा गर्ने कार्य तत्काल रोकिने वाला छैन । जसले धेरै र ठूलो माला लगायो त्यो नै क्रान्तिकारी ।

Nepal Telecom ad
डा. पशुपति नाथ तिमल्सेना :

कसैलाई माला लगाइदिनु भनेको उसप्रति माया, सम्मान श्रद्धा र आदार प्रकट गर्नु हो, आस्था दर्शाउनु हो भन्ने जस्तो मलाई लाग्दछ । व्यक्तिप्रति आस्था जगाउनु भनेको उसको ज्ञान, सिप, क्षमता, बहादुरी या विशिष्ट कार्यप्रति विश्वास गर्नु हो र यस्तै कार्य अझै गर्दै जानू भन्ने आशीर्वाद दिँदै उसलाई अझै हौस्याउन या उसको आत्मबल अझै बढाउन प्रेरित गर्ने कार्य हो जस्तो लाग्छ मलाई । बहादुरीपूर्ण काम या यस्तै विशिष्ट काम जो पायो त्यसैले गर्न सक्ने होइनन्, खास क्षमता भएको व्यक्तिले मात्र गर्न सक्छन् । अर्थात् यसो भनौ जो पौरखी छ र असल काम गर्छ अनि उसैले माला लगाउने हक राख्दछ, मेरो बुझाइ यत्ति नै हो ।

कसैको गलामा माला र गालामा अबिर लगाइ दिनु, फूल चढाउनु या लम्पसार परेर खुट्टैमा ढोगिदिनु भनेको उसप्रति आफूलाई समर्पित गर्नु हो, उसप्रति अनन्त आस्था प्रकट गर्नु हो, अपार स्नेह र श्रद्धा प्रकट गर्नु हो अनि भक्तिभाव प्रकट गर्नु हो । यो समर्पित र अतिभक्तिभाव देखाउनु भनेको आफूलाई दास र उसलाई प्रभु या मालिक बनाउनु पनि हो । पहिला पहिला केटाकेटी हुँदैको अवस्थामा खास खास समयमा एक दुई जना व्यक्तिलाई घाँटीमा प्रशस्तै माला र टाउकोमा फेता गुथाई अबिर जात्रा गराएको मैले देखेको थिएँ । चैते दशैँमा गाउँको कालिकाको मन्दिरमा लाग्ने मेला जात्रामा थेलो फ्याक्ने चलन थियो, थेलो जसले सबैभन्दा टाढा फ्याँक्थ्यो उसैलाई फेता पगरी माला अबिर लगाइदिएर अरू समर्थकहरूले काँधमा बोकेर हिप् हिप् हुर्रे भन्दै हिँडेको देखेको थिएँ । ढुङ्गाको थेलो फ्याकेर बहादुरी देखाएको बहादुरलाई गालाभरि माला खादा लगाएको देखेको थिएँ । यस्तो बहादुरी देखाउने काम प्रायः गोरा सापहरूले बहादुर भनिएका लाहुरेहरूले गर्थे । हाम्रो गाउँठाउँतिर यो एउटा लाहुरे संस्कृति नै थियो र यसले गाउँघरमा वर्षको एक दुईपटक भए पनि मनोरञ्जन दिएकै हुन्थ्यो । यी भए उहिलेका कुरा, मैले भन्न खोजेको अहिलेको कुरा हो ।

तिहारको भाइटीकाको दिन दिदी बहिनीहरूले आफ्ना दाजु भाइहरूलाई श्रद्धा र स्नेहले माला लगाइदिन्छन् जुन हाम्रो सामाजिक संस्कृतिको विशिष्ट पाटो हो । अधिकांश नेपालीहरूको साझा सांस्कृतिक चाड तिहारमा लगाइने मालाको बारेमा पनि मैले यहाँ कुरा गरिरहेको छैन । मैले यहाँ चर्चा गरेको माला संंस्कृति भनेको बाह्रमासे माला संस्कृतिको मात्र हो । अहिले नेपालमा चलनचल्तीका सांस्कृतिक चाडपर्वहरूका अतिरिक्त बाह्रै महिना माला लगाउने भद्दा संस्कृति पनि व्यापक रूपमा बढ्दो छ । यो नवागन्तुकजस्तो लाग्ने बाह्रमासे माला संस्कृति मापाको छ । हुनैपर्ने सामाजिक सम्बन्ध र सांस्कृतिक सद्भाव खस्कँदो छ, बिग्रँदो छ तर यो ताँइ न तुँइको बाह्रमासे माला संस्कृति वनमाराझैँ दिन दुई गुना रात चार गुना गरी फैलँदो छ । जहाँ गयो त्यहीँ, जहिले पायो तहिले आफू मालैमालाले ढाकिएर जनता बिच महान् देखिन माला प्रदर्शन गराउने बाह्रमासे माला संस्कृतिको चलन ह्वात्तै बढेको छ यो देशमा ।

नेताहरूमा आफूलाई सामन्तवादको नयाँ नायकको रूपमा देखाउने सौख बढेको छ, त्यसैले यहाँ बाह्रमासे माला संस्कृतिको प्रतिस्पर्धात्मक होड नै चलेको छ । हाम्रा नेताहरूमा खास गरी अहिले केही समययता या लोकतान्त्रिक गणतन्त्र आएयता नेतामा आफूलाई ईश्वरको अवतार नै हुँ, महानायक हुँ, महामानव हुँ भन्ने उन्माद चढेको छ र त उनीहरू आफ्नो अहं प्रदर्शन गर्न मालैमालाले टाउको छोपेर प्रदर्शनी गरिरहेका छन् ।
उनीहरूले जनतालाई उल्लु मात्र होइन दास पनि बनाइ रहेका छन् । म राजनैतिक दर्शनशास्त्र पढ्ने गरेको मान्छे, मैले पढेको दर्शन शास्त्रमा कहीँ पनि मान्छेभन्दा ठूलो अर्को मान्छे हुन्छ, विशेष मान्छे मात्र ईश्वरको उत्तराधिकारी हुन्छ भनेर पढेको छैन ।

आधुनिक प्रजातन्त्र या गणतान्त्रिक लोकतन्त्रमा मानिसभन्दा ठूलो मानिस छैन, मानिस मानिस मात्र हो र सबै मानिस एकै हुन् भनेर पढेको थिएँ । हो सामन्ती व्यवस्थामा दास मालिकको भेद थियो, मान्छे भएपनि राजा वा शासक वर्ग आफूहरूलाई ईश्वरको अवतार हूँ, ईश्वरले आफूलाई शासन गर्ने अधिकार सुम्पेका छन् भन्दै शासन गर्थे, यसै मान्यतालाई उनीहरूले वंश परम्परामा स्थापित गरे । यसपछि एउटा परम्परा नै बस्यो राजाको छोरा राजा नै हुने हलीको छोरा हली नै हुने । यसै सामन्ती व्यवस्था समाप्त गरेरै लोकतान्त्रिक गणतन्त्र स्थापित भएको हो ।

हाम्रा अहिलेका यी नेताहरू पहिला पहिला सामाजिक रूपान्तरण गर्नुपर्छ, राजतन्त्र फाल्नुपर्छ भनेर भाषण गर्थे । त्यतिखेर उनीहरूको गलामा फूलको माला त के टाउकोमा एक ढुङ्गा फूल पनि हुँदैनथ्यो । म देख्छु, राजतन्त्र फ्याँकी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यस अवस्थामा पहिलेका तिनै नेताहरू नाकमुख ढाकिने मात्र हैन टुप्पिनै छोपिने गरी माला लगाउँछन् र भाषण गर्दै ‘अब हामी समाजवाद स्थापना गर्छाैँ’ भन्छन् । जनताले सडकमा उत्रिएर सामन्तवादको केन्द्रीय नाइके राजालाई ढाले, सामन्तवादलाई परास्त पारे तर हाम्रा अहिलेका यी नेताहरूले एउटा वडे महाराजको स्थानमा धेरै छोटे महाराजा स्थापना गरे । सान्तवादको केन्द्रीय नाइके राजा त ढल्यो तर हाम्रा कथित प्रजातन्त्रवादी लोकतन्त्रवादी या समाजवादी नेताहरूले सामन्तवादको केन्द्रीय चरित्र छाड्न सकेनन् ।

यो देख्दा मलाई उराठ लागेर आउँछ । उराठ पनि किन नलागोस् त ? नेताहरूले सामाजिक रूपान्तरण गर्छन् भनेर आफैले चुनाव जिताएका यी नेताहरूको पश्चगमनवादी चाल देख्दा दिक्क पनि किन नलागोस् त !

म अहिले आफूले पढाउने क्याम्पसको गेट नजिकै रहेको होटेलमा चिया पिउँदै छु, साथमा अरु साथीहरू पनि छन् । फुर्सदको समय थियो, हामी आफ्नै सुरमा गफका गुड्डी हाँकिरहेका थियौँ । यसै बिच अचानक होहल्लाको आवाज आयो, बाहिर निस्केर हेर्छु त विशाल जुलुस रहेछ ! कार्यकर्ताहरू प्रमुख अतिथिको रूपमा आएको क्रान्तिकारी नेतालाई काँधमा बोकेर युद्ध जितेको योद्धालाई झैँ विजययात्रा गराइरहेका रहेछन् । नेता थियो त अगाडि नै तर मैले देखिनँ, कोहो त्यो पनि ठम्याउन सकिनँ । नेता टुप्पीसम्म छोपिने गरी लागइएको मालाले ढाकिएको थियो । मलाई लाग्यो यो नेता अक्सिजन नपुगेर मर्ने भो ! अनि एउटा चिनेको उही नेताको कार्यकर्तालाई ‘तिम्रो नेता आमसभा स्थलमा नपुगी मर्छ, अक्सिजनको पाइप नाकमा घुसार्ने व्यवस्था गर’ भनेँ पनि । नेता थियो पञ्चायती व्यवस्था ढलेपछि पार्टीमा ज्वाइन गरेको चैते-कात्तिके मार्का । कार्यकर्ता झनक्क रिसायो, पिट्छ कि भन्ने पनि लाग्यो र म पनि त्यहाँबाट निस्कें ।

ओहो ! यिनले माला पनि कति लगाएका हुन् ? अहिलेको २१ औँ शताब्दीको विकसित मानव सभ्यतामा यो बाह्रमासे माला संस्कृतिलाई नै समृद्धि र विकासको सूचक मान्दै त्यसलाई निर्यात गर्न पाए ? तर के गर्ने नेताको गलामा लगाउने माला नै विदेशबाट आयात गर्नुपर्दछ अनि के कुरा गर्ने ।

एउटा नेता ८० किलो मालाले थिचिन्छ अनि समाजवादको बारेमा बर्बराउँछ र जय नेपाल भनेर कुरो टुङ्याउँछ । अर्को पार्टीको नेता पनि के कम १२० किलोको माला लगाउँछ अनि मुठी कसी कसी साम्यवाद स्थापना गर्ने हो भनेर भाषण गर्छ र अन्त्यमा क्रान्तिकारी अभिवादन, लालसलाम भन्दै कुरो टुङ्याउँछ । यिनीहरूले कुरो मात्र टुङ्ग्याउने हुन्, काम टुङ्याउने होइनन् क्यारे !

मालैमालाले ढाकिएको को हो र कस्तो छ ? भन्ने कुरामा कार्यकर्तालाई मतलव छैन । मतलव त उनीहरूलाई आफ्नो नेतालाई अरूको भन्दा धेरै मालाले ढाक्न या ठूलो मालाले थिच्न पाए हुन्थ्यो भन्ने कुरामा छ । अहिले नेपालमा नेतालाई धेरै माला, ठूलो माला लगाउने होड नै चलेको छ । यो मालामा प्रतिस्पर्धा गर्ने कार्य तत्काल रोकिने वाला छैन । जसले धेरै र ठूलो माला लगायो त्यो नै क्रान्तिकारी ।

यो प्रतिस्पर्धी बाह्रमासे माला संस्कृतिमा क्रान्तिकारी चाला देख्दा म छक्क पर्दछु । सोच्छु यसैका लागि हामी जनताले अनेकौँ आन्दोलन र क्रान्ति गरेर सामन्तवादी राजनीतिको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेका हौं त ? आत्मग्लानिका साथ आफैलाई प्रश्न गर्छु, उत्तर भेटेको छैन र तत्काल भेटिएलाजस्तो लागेको छैन ।

०००
नागार्जुन नगरपालिका ६, सीतापाइला काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सङ्क्रमण काल उर्फ ललिपप ?

सङ्क्रमण काल उर्फ ललिपप...

डा. पशुपति नाथ तिमल्सेना
मन्दिरमा दलाल

मन्दिरमा दलाल

डा. पशुपति नाथ तिमल्सेना
अतिरिक्त श्रमको मूल्य ?

अतिरिक्त श्रमको मूल्य ?

डा. पशुपति नाथ तिमल्सेना
शिर ठाडो पार्ने कि झुकाउने ?

शिर ठाडो पार्ने कि...

डा. पशुपति नाथ तिमल्सेना
टेक्ने कहाँ, समात्ने के ?

टेक्ने कहाँ, समात्ने के...

डा. पशुपति नाथ तिमल्सेना
चिया त निलियो नि !

चिया त निलियो नि...

डा. पशुपति नाथ तिमल्सेना
भल्डाँडे कविसँग बच्न खोज्दा

भल्डाँडे कविसँग बच्न खोज्दा

बालमुकुन्द देव पाण्डे
भरिया जिन्दगी

भरिया जिन्दगी

रामप्रसाद पन्थी
म फुटबल खेल्दिनँ (२)

म फुटबल खेल्दिनँ (२)

कृष्ण प्रधान
व्यङ्ग्यका कुरा

व्यङ्ग्यका कुरा

कुमार खड्का
पुच्छर

पुच्छर

विनाेद खनाल