डा. पशुपति नाथ तिमल्सेनासङ्क्रमण काल उर्फ ललिपप ?
चित्त बुझाउँछन् भन्नु के थियो र उही केटाकेटीहरूलाई ललिपप खुवाएर फुल्याएजस्तै न हो ! सजिलो भएको छ सबैलाई यो सङ्क्रमणकालको राग अलापेर जनता या कार्यकर्ताहरूलाई थुमथुम्याउन ।

डा. पशुपति नाथ तिमल्सेना :
मलाई यी सङ्क्रमण काल र ललिपप भन्ने शब्दहरू आफैमा सगोत्रीय हुन् जस्तो लाग्दछ । यिनले गर्ने कार्यहरू उस्तै उस्ता जस्ता हुन् भने जस्तो लाग्छ मलाई त । म फेरि आफैलाई प्रश्न गर्दछु यिनमा उस्तै गुणको समानता सम्भव छ र ? सङ्क्रमण काल यो कुनै व्याकरणात्मक कोटी बुझाउने स्वतन्त्र अस्तित्व भएको भाषिक एकाइ या घटक होइन । मैले व्याकरणमा भूतकाल, वर्तमानकाल र भविष्यकाल भनेर पढेको थिएँ । त्यसै गरी मैले कतिपय विद्वानका व्याकरणिक पुस्तकहरूमा भूतकाल र अभूतकाल भनी पढेको थिएँ । उनीहरूको तर्क थियो अभूत कालमा परम्परागत रूपमा भनिँदै आएको वर्तमान र भविष्य काल अटेका हुन्छन् । कतिपयको राय छ विगत काल र आगत काल मात्र हुन्छन्, वर्तमान काल छँदैछैन ।
कतिपयको तर्क छ यो विगत र आगत कालको बिचमा वर्तमान काल छ, यो चेपुआमा परेको काल हो । यसको आयु नै छैन र भए पनि अल्पायुको हुन्छ तर यसले विगतलाई आगत कालसँग जोड्ने काम गर्छ त्यसैले यसलाई सङ्क्रमण काल भन्नु पर्दछ भन्ने राय पनि केही बुद्धिजीवीहरूको छ । मलाई यो पछिल्लो तर्क युक्तिसङ्गत लाग्छ । सङ्क्रमण काल पनि वर्तमान कालजस्तै अल्पायुको हुनुपर्ने हो तर हाम्रो नेपालमा यो सङ्क्रमण काल लामो न लामो देखिन्छ अर्थात् नेताहरूले यसलाई रबर तन्काउँदाझैँ तन्काइदिन्छन् र दीर्घकालको बनाइदिन्छन् ।
मैले पहिला ललिपपको चर्चा गर्नु पर्ने थियो, खाद्यवस्तु भएको हुनाले यसलाई प्राथमिक महत्त्वमा राख्नु पर्ने थियो, त्यसो गर्न नसकेकोमा मलाई माफ गर्नु होला पाठकवृन्द । सबैलाई थाहा छ ललिपप गुलियो गुण भएको मिठाईको एउटा प्रकार हो । यसलाई तपाईंहरू सबैले चुसेकै हुनु पर्दछ, मैले यहाँ अतिरिक्त थप व्याख्या गर्नै पर्दैन । ललिपप बालकदेखि वृद्धसम्मका सबैलाई मिठो लाग्छ त्यसैले सबैलाई मन पनि पर्दछ तापनि केटाकेटी फुल्याउन र युवायुवती झुलाउन यसले बढी मद्दत गर्दछ भन्ने कुरा पनि सबैले बुझेकै कुरा हो । केटाकेटीहरू रोए भने ललिपप दिनुहोस् फुलिन्छन् या अराएको सानासाना काम पनि गरेनन् भने ललिपप दिन्छु भन्नुहोस् उनीहरूले अराएको काम मन लगाएर जोस्का साथ गर्छन् । युवायुवतीलाई ललिपपले नै लठ्याउँछ, यसैका सहायताबाट उनीहरू एक आपसमा नजिकिन्छन् भन्ने कुरा त तपाईंहरूलाई मैले सम्झाउनै पर्दैन ।
कतै पिकनिक या टुरमा जानु पर्यो भने उनीहरूको सपिङ्लिस्टको एक नम्बरमा ललिपप नै पर्छ होला । तपाईंहरू मेरो तर्क या मतसँग असहमति जनाउँदै मसँग प्रश्न गर्नुहुन्छ होला कहाँ सङ्क्रमण काल, कहाँ ललिपप ? कसरी उस्तै हुन, कसरी सगोत्री हुन् ? भनेर । सबैलाई मनपर्ने मिठो खानेकुरा ललिपपसँग आफ्नो खास आयु र परिभाषा नै नभएको सङ्क्रमण काललाई सँगै राखेर समान अर्थ र महत्त्व दिन खोज्नु न्याय सङ्गत होइन भन्दै तपाईंहरू मसँग पेचिलो तर्क गर्न सक्नु हुन्छ, गर्नुहोस् ।
हामी नेपालीहरू सधैँ सङ्क्रमणकालले सताइएका छौँ । मानिसहरू भन्छन् नेपालको राजनैतिक सामाजिक क्षेत्र सङ्क्रमणै सङ्क्रमण कालले ग्रसित छ भनेर । म कतिपय नेता, प्रशासक र योजनाविद् आदिलाई सोध्छु हाम्रो देशको विकास किन नभएको हो ? भनेर, उनीहरू परम्परादेखि चल्दै आएको रेडिमेड उत्तर दिँदै ‘देश सङ्क्रमण कालमा छ’ भन्छन् अनि मलाई चुप लाग्न करै लाग्छ । हैन यो सङ्क्रमणको रोग नलागेको ठाउँ नेपालमा कहीँ पनि छैन कि क्या हो ? मेरो मनमा निरन्तर जिज्ञासा आइरहन्छ । मन्त्रालय, अड्डा, अदालत जहाँ गए पनि काम बन्दैन रिस उठ्छ मन्त्री, हाकिम आदिसँग गुनासो गर्यो सुन्या नसुने झैँ गर्छन् । ‘तपाईं गुनासो मात्र गर्नुहुन्छ तर देश सङ्क्रमणमा छ भन्ने कुरा पनि बुझिदिनु न भन्छन्’ अनि उनीहरूका कुरा मलाई पत्याउनै कर लाग्छ । हुन पनि हो देश सङ्क्रमणमै छ ।
कहिले केहीको समस्या कहिले कहीँको समस्या । यो सङ्क्रमणकालीन समस्या नआएको भए त देशले अहिलेसम्म विकासको सगरमाथा चढिसकेको हुन्थ्यो होला ? ललिपपले सजिलैसँग नानीहरूलाई भुलाएजस्तै हामीहरूलाई फकाउन या भुलाउन, या झुलाउन कति सजिलो भएको छ यो सङ्क्रमण काल भन्ने शब्दले । सरकारमा बस्नेहरूले नेताहरूले र हाकिमहरूले सङ्क्रमण कालको भरपुर फाइदा उठाएका छन् । आफूले अनेक जुक्ति, तिग्डम, मिहिनेत गरेर जिताएको पार्टीको मानिस मन्त्री भएको बेलामा नखाएको जागिर कहिले खाने भनेर जागिरका लागि एकथरी कार्यकर्ताहरू मन्त्रालयमा जान्छन्, गुनासो गर्छन्, अनुनय विनय गर्छन् तर मन्त्री महोदयले देश सङ्क्रमणमा भएकाले पहिला यसलाई समाधान गर्न दिनु होस्, त्यसपछि त देश तपाईंहरूले नै समाल्ने हो भन्दै फकाउँछन् । कार्यकर्ताहरू हो त नि भन्छन् र फकिन्छन्, अनि केही समय यता उता भुल्छन् ।
पार्टीहरूको कार्यालयमा गयो भने पनि उही सङ्क्रमण कालको कुरा सुनाउँदै नेताहरू कार्यकर्ताहरूको चित्त बुझाउँछन् । चित्त बुझाउँछन् भन्नु के थियो र उही केटाकेटीहरूलाई ललिपप खुवाएर फुल्याएजस्तै न हो ! सजिलो भएको छ सबैलाई यो सङ्क्रमणकालको राग अलापेर जनता या कार्यकर्ताहरूलाई थुमथुम्याउन । एउटै नेता पटक पटक, प्रधानमन्त्री, मन्त्री हुन्छ तर आफ्नो बाहेक अरुको कामै गर्दैन । जनताले या कार्यकर्ताले प्रश्न उठाए भने दुई चार दिन हेर्नुस्, सङ्क्रमणकालको अन्त्य हुन दिनोस् भन्छ, आश्वासन बाँड्छ, अर्को पटक पनि उही नेता या मन्त्री हुन्छ अनि फेरि पनि उही सङ्क्रमण कालको राग दोहर्याउँछ । हामी जनताहरू ठगिएका हुन्छौँ, कहिल्यै पुरा नगरिने आश्वासनका पोकामा मख्ख पर्छाैँ र हामी आफैँ पनि सङ्क्रमण कालको वकालत गर्छाैँ । यस्तै चाला हो भने नेपालमा कहिल्यै पनि सङ्क्रमण कालको अन्त्य हुने छैन जस्तो लाग्छ मलाई ।
त्यसै भएर होला यो ललिपप रूपी सङ्क्रमण काल भन्दै नेता या हाकिमहरू हामीलाई फुल्याउँछन्, झुलाउँछन् र सधैँ भुलाउँछन् । अनि हामी बालकले ललिपप चुसेर चित्त बुझाए झैँ नेताले सधैँ भन्ने गरेको सङ्क्रमण कालमा छ देश भनेर चित्त बुझाउँछौ । यसै भएर मैले सङ्क्रमण काललाई जनता फकाउने, जनता भुलाउने, जनता झुलाउने ललिपप नै रहेछ भनेको हुँ ।
०००
सीतापाइला, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































