साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टेक्ने कहाँ, समात्ने के ?

हामीले भविष्यको समाजको विकास योजनाका बारेमा सोच्नु पर्दैन ? भविष्यको आकार नै छैन, अतीत हामीबाट फुत्किसक्यो, जे छ त्यही अल्पायुको वा आयुको सीमा रेखा नै नभएको वर्तमान मात्र हामीसँग छ ।

Nepal Telecom ad

प्रा. डा. पशुपति नाथ तिमल्सेना :   

मान्छेहरू अतीतको उपेक्षा गर्दछन्, भन्छन् उहिलेका कुरा खुइले । समाज कहाँबाट कहाँ पुगिसक्यो यिनीहरू भने बाजेको पालाको धाक जमाएर बस्छन्, अहिलेका युवाहरूको कुरै यस्ता हुन्छन् । युवा पुस्ताका कुरै यस्तै, उनीहरू अहिलेको समाजको आधुनिक चेतनाको धाक धक्कु लगाउनमै रमाउँछन् । उनीहरू ठान्छन् संसार आफ्नै मुठ्ठीमा छ, र अहिलेको विकास आफैले गरेको हो अनि भन्छन् यी बाजेहरू गुफेली युगबाट निस्कनै सकेका छैनन् । यता पुरानो पुस्ताका बाबु बाजेहरू आफूलाई कर्मकाण्ड र पुराणका सर्वज्ञाता नै ठान्छन् र भन्छन् अहिलेका केटाहरूलाई यी सब कुराको के ज्ञान ? उनीहरू ठान्छन् अहिलेको पुस्तालाई इतिहास र पुराणको क्यै ज्ञानै छैन । हुन पनि हो अहिलेका नवीन शिशु या किशोर किशोरी अवस्थाकालाई त मोवाइलबाट प्राप्त हुने कार्टुन या यस्तै फन्टुस लाग्ने कुराहरूले लठ्याएको छ । उनीहरूले इतिहासको ज्ञान र समाज विकासको प्रक्रिया कसरी थाहा पाउने ? वडो दुःख लाग्दो अवस्थामा छ तेस्रो विश्वको भविष्य । यो सम्झँदा मलाई कहाली लागेर आउँछ ।

मलाई अचम्म लाग्छ यो नयाँ पुस्ताको व्यवहार देख्दा । नयाँ पुस्ताका या भनौँ अहिलेको अल्ट्रामोर्डेन युगका युवा युवतीहरू प्रायः पुस्तकै पढ्दैनन्, पुस्तकालय नै जाँदैनन् भने पनि हुन्छ । उनीहरू भन्छन् अहिलेको विज्ञान प्रविधिको युगमा किताब कसले पढ्छ । उनीहरू हाकाहाकी भन्छन् ‘प्रिन्टिङ् म्याटर पढ्ने युग सकियो, पुस्तकालय गएर पढ्ने या घरमा पुस्तक सँगालेर पढ्ने युग सकियो, अब त इन्टरनेट चलाउने हो, मोवाइल, ट्याब्लेट या ल्याप्टपमा पढ्ने हो, गोजीमा पुस्तकालय बोकेर हिँड्ने हो’  । उनीहरू उन्नत वैज्ञानिक युगका युवाहरू हुन् । उनीहरूको सोचाइ युग चेतना अनुरूपकै हो । आफू परें उपल्लो पुस्ताका व्यवहार/संस्कृति छोड्न खोजेको तर नयाँ युग चेतना ग्रहण गर्न नसकेको अधकल्चो । म थिएँ साँचो ज्ञान पुस्तक पढेर मात्र थाहा हुन्छ भन्ने युगको मान्छे । म आफू काठमाडौंमा पढ्न बस्दा नयाँ पुस्तक मात्र होइन भेटेसम्म पुराना समयका किताबहरू पनि खोजी खोजी किन्थें, पढ्थ्यें । पुस्तकालयमा नभेटिएका किताबहरू खोजी खोजी, मागी मागी पढ्थें । हाम्रो समय पुस्तक पढेर ज्ञान प्राप्त गर्ने समय थियो । त्यस बेला त ‘नयाँ कोट बेच पुरानो पुस्तक किन’ भन्ने भनाइलाई बारम्बार सुनाइने गरिन्थ्यो । किताब नै ज्ञानको आधार थियो, सकेसम्म किताब किनेर पढ्ने नसके साथी भाइ, गुरु, पण्डितहरूसँग मागेर भए पनि पढ्ने चलन थियो । जर्ज बनार्ड श किताब मागेर पढ्ने चिज होइन भन्थे । मागेर किताब पढ्ने मूर्ख हो र अझ मागेको किताब फिर्ता गर्ने महामूर्ख हो भन्थे उनी । किताब पढ्न माग्ने तर फिर्ता नदिनेबाट हैरान भएको हुनाले उनले यसो भनेको हुनु पर्दछ जस्तो लाग्छ मलाई । उनको जोड पुस्तकबाट ज्ञान आर्जन गर्नु पर्दछ भन्ने नै होला । मेरा एम. ए. का कतिपय छात्रछात्राहरू पुस्तक मागेर भए पनि पढ्नु पर्छ भन्ने जानेका तर सरलाई पुस्तक फिर्ता गरेर आफू महामूर्ख हुन नचाहने किसिमका, चलाख रहेछन् । मेरा दर्जनौँ पुस्तकहरू यसरी नै हराएका वा फिर्ता नगरिएका छन् । अहिले म पत्रपत्रिका रेडियो या टेलिभिजन आदिबाट बारबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयबाट पुस्तक लानेहरूले फिर्ता नगरेर संस्थालाई घाटा पुर्याएको सूचना पढ्दछु । त्यसरी पुस्तक फिर्ता नगर्नेहरू अहिले नेपालको राजनीतिमा हावी छन्, विशिष्ट श्रेणीको पदमा विराजमान छन्, मन्त्री र सांसद भएका छन् । पुस्तक फिर्ता गर्दा महामूर्ख होइन्छ भन्ने आफ्नो पारिवारिक पुर्ख्यौली ज्ञान उनीहरूलाई पहिलेदेखि भएकाले फिर्ता नगरेका होलान् नै भन्नु पर्यो अब ।

म इतिहासको कुरा गर्दै थिएँ तर बहकिएर अनैतिहासिक कुरा गर्नतिर लागेछु । मेरो चिन्ता हो नयाँ पुस्ताका युवायुवतीहरूमा आफ्नो समाज विकासको अवस्थाको ज्ञान कमजोर हुँदै जानु, अनि पुरानो पुस्ता र वस्तु आदिप्रति उपेक्षा जाग्नु । हाम्रा पुर्खाहरूले गरेका ऐतिहासिक ज्ञान या पौराणिक ज्ञानलाई नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्ने ?, कसरी संरक्षित गर्ने ? भन्नेबारे मेरो चासो हो । हिजोका मूल्य व्यवहार आज जस्ताको तस्तै अनुकरण गर्नु पर्दछ भन्ने त छैन । समाज परिवर्तनसँगै सामाजिक मूल्य, मान्यता र व्यवहारमा स्वतः परिवर्तन आउँछ । प्रकृतिमा निरन्तर परिवर्तन आएजस्तै हाम्रो बानी व्यवहार र संस्कृतिमा पनि परिवर्तन आउँछ । तर हामीले पुस्तकै नपढी हाम्रो विगतको विकास परम्परा कसरी थाहा पाउने ? मेरो मान्यता हो आधुनिक विकासका नयाँनयाँ सामग्रीहरू पढौँ, प्रयोग गरौँ, सिकौं तर प्राचीन मूल्यहरू, ऐतिहासिक पौराणिक सामग्रीहरू पनि जनताका सिर्जना र सम्पत्ति मानेर पढौँ, पढाऔं, तिनीहरूको उपेक्षा नगरौँ भन्ने नै हो ।

हामी वर्तमानमा छौं तर हाम्रो चिन्ता वर्तमानमा मात्र केन्द्रित भएर पुग्छ र ? म आफैलाई प्रश्न गर्दछु । वर्तमान कति हुन्छ र यसको आयातन कति हो ? भन्ने बारेमा विद्वान्हरूमा नै मतैक्य छैन । हामी केही गर्दैछौंं भने पनि त्यो गर्दै गरेको काम विगतको भइहाल्छ, भूतकालको भइहाल्छ । कति हो वर्तमान ? गरिसकेको काम इतिहास भयो, गर्न बाँकी रहेको काम र त्यसको परिणाम हामीलाई अहिले नै ज्ञान भइसकेको हुँदैन । हामी हाम्रो हिंडाइलाई नै हेरौं न, हामी दुवै खुट्टाले हिड्न सक्दैनौं, पाइला चलाउँदा एक खुट्टाले टेक्छौं र अर्काे खुट्टा उचालेर अगाडि सार्छौं । यसरी कति हिड्यौं कति । जति हिंडियो त्यो सबै इतिहास भयो । अगाडि बढ्न उचालिएको पाइला कस्तो ठाउँमा टेकिन्छ धूलो छ कि काँडा ? हामीलाई ज्ञानै छैन । अर्थात् हामीसँग हिंडिसकेको हजारौँ हजार कोश यात्रा छैन, अहिले उपलब्ध छ त यात्राको अनुभव मात्र । त्यसै गरी हिंड्न बाँकी अनन्त यात्राको ज्ञानै छैन । कस्तो छ वा हुने हो ? भन्ने चिन्ता छ । विगत र आगत जो वर्तमान हामीसँग उपलब्ध छैनन् तिनकै चेपुवामा छौं हामी अनि वर्तमान जसको आयु नै छैन या अल्पायुको छ त्यसैको आधारमा टेकेका छौं र बाँचेका छौं । कल्पना गर्नुस् त विगतको इतिहास नहुँदो हो त या भविष्यको योजनाका सपना या कल्पना नहुँदो हो त हाम्रो हालत के हुन्थ्यो होला ! यो अल्पायुको वर्तमानमा मात्र रमाएर पुग्छ र हामीलाई ? इतिहास चाहिंदैन हामीलाई ? भविष्यको कल्पना नगरी, सपना नदेखी बस्न सकिन्छ ? सपना नदेख्ने र कल्पना नगर्ने मान्छे मान्छे नै हुँदैन, त्यो त मुर्दा मात्र हो भन्छन् र हो पनि । अनेकौं योजना अगाडि सार्ने नेतालाई कतिपय मानिसहरू काल्पनिक कुरा गर्छ, सपना बाँड्छ भनेर व्यङ्ग्य गर्दै होच्याउने कुरा गर्दछन् । नेताप्रतिको उनीहरूको यो भनाइ मलाई बकम्फुसे जस्तो लाग्छ, किनभने उनीहरू आफै पनि जिउँदा छन् र सपना देख्छन्, कल्पना गर्दछन् । वर्तमान अल्पायुकै भएपनि यसै वर्तमानमा प्रत्येक दिन सपना देख्ने र प्रत्येक क्षण कल्पना गर्ने गरिन्छ, भविष्यको योजना बनाइन्छ ।

कतिपय मानिसहरू अहिले वर्तमानको दुरूपयोग गरिरहेका छन् । उनीहरू न इतिहास पढ्छन् न भविष्यको चिन्ता लिन्छन् । उनीहरू त वर्तमान भनेको भोगको क्षण हो भन्दै ‘ऋणं कृत्वा घृतम् पिवेत् यावत् जीवत् सुखं जीवेत्’ भन्दै चार्वाकीय दर्शनको छोटो उक्तिको गलत अर्थ लगाउँदै एकपटकको जीवन हो मनले चाहेजस्तै गरी मोजमस्ती गर्नु पर्दछ भन्ने ठान्दछन् । उनीहरूलाई इतिहास र भविष्यको मतलबै छैन । कतिपय कानफट्टावादीहरू ‘उठ् जोगी फड्कार छाला, जता जाला भातै खाला’ भन्दै गाँजा भाङ् तानेर वर्तमानको दुरूपयोग गरिरहेका छन् । म देख्दैछु त्यस्ताको पछि लाग्ने एक जत्था पनि हाम्रो समाजमा छ । केही मध्यम वर्गका मानिसहरू (विशेष गरेर महिलाहरू) दिनभरि पुराण सुन्छन्, तर उनीहरूलाई त्यसको ज्ञान र महत्त्व  बुझ्नु जरुरी नै छैन । उनीहरू पुराण सुन्न बस्दा या त खासखास खुसखुस गफमा या अरूका कुरा काट्नमै व्यस्त हुन्छन्, तै तै पण्डितले अध्याय सकिएको सङ्केत गर्न हरि हरि भनेर भन्दा फूल चढाउन भने चुक्दैनन् । उनीहरूका लागि पुराण सुन्नु भनेको त्यत्ति नै हो । अर्का थरी मान्छेहरू फाल्टु गफ गरेर दिन बिताउँछन् । मलाई प्रश्न गर्न मन लाग्छ के यही हो त वर्तमान र त्यसको भोगाइ । हामीले भविष्यको समाजको विकास योजनाका बारेमा सोच्नु पर्दैन ? भविष्यको आकार नै छैन, अतीत हामीबाट फुत्किसक्यो, जे छ त्यही अल्पायुको वा आयुको सीमा रेखा नै नभएको वर्तमान मात्र हामीसँग छ । यसै वर्तमानमा हामीले भविष्यको आकार कोर्नु पर्दछ, अतीतलाई आउँदा पुस्तामा हस्तान्तरण गर्नु पर्छ । मलाई लाग्छ वर्तमानमा बाँचेका हामीले त्यो भूमिका निर्वाह गर्नु पर्छ ।

अतीतले हामीलाई सुरुदेखि अहिलेसम्मका या भर्खरमात्र व्यतीत भएको वर्तमानसम्मका कुराहरू सिकाएको छ । मलाई लाग्छ अस्थिर वर्तमानमा टेकेर हामीहरूले आकार नभएको, नदेखिएको भविष्यको कल्पना गर्नु पर्दछ, सुन्दर सपना देख्नु पर्दछ । अतीत या विगतका इतिहासको विश्लेषण वर्तमानमै गरिने हो र वर्तमानमा नै भविष्यको सपना देखिने हो । मेरो विचारमा हामीले टेक्ने धरातल भनेको वर्तमान नै हो र समाउने ठाउँ भनेको विगतको इतिहास पढेर प्राप्त गर्ने ज्ञान नै हो । त्यसैले मेरो विनम्र आग्रह छ वर्तमानमा टेकेर विगतका ऐतिहासिक पौराणिक सामग्रीबाट ज्ञान प्राप्त गरेर त्यसका राम्रा पक्षहरू समातौं र आउँदो पुस्तालाई हस्तान्तरण गरौं ।

०००

२०७८ वैशाख

नागार्जुन नगरपालिका ६, सीतापाइला काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुइङ्गम थुक्ने भित्तो !

चुइङ्गम थुक्ने भित्तो !

डा. पशुपति नाथ तिमल्सेना
गलाभरि माला क्रान्तिकारी चाला

गलाभरि माला क्रान्तिकारी चाला

डा. पशुपति नाथ तिमल्सेना
सङ्क्रमण काल उर्फ ललिपप ?

सङ्क्रमण काल उर्फ ललिपप...

डा. पशुपति नाथ तिमल्सेना
मन्दिरमा दलाल

मन्दिरमा दलाल

डा. पशुपति नाथ तिमल्सेना
अतिरिक्त श्रमको मूल्य ?

अतिरिक्त श्रमको मूल्य ?

डा. पशुपति नाथ तिमल्सेना
शिर ठाडो पार्ने कि झुकाउने ?

शिर ठाडो पार्ने कि...

डा. पशुपति नाथ तिमल्सेना
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x