डा. पशुपति नाथ तिमल्सेनाचुइङ्गम थुक्ने भित्तो !
मलाई लाग्छ अमेरिकामा पनि चुइङ्गम चुस्ने थुक्नेजस्तै रमाइला कार्यहरू अन्य अनेकौं ठाउँमा भएका होलान् र कालान्तरमा ती पनि रूढि, परम्परा र अन्धविश्वासमा रूपान्तरण हुनेछन् ।

डा. पशुपति नाथ तिमल्सेना :
संसार भरका मानिसहरूमा अनौठा पाराका सौख र रमाइलापनहरू देखिन्छन् । लवाइमा होस् या खवाइमा, हिँडाइमा होस् या बोलाइमा व्यक्ति पिच्छेका फरक शैली, बानी र व्यवहार देखिन्छन् मान्छेहरूमा । विश्वका ७ अरबभन्दा बढी मानिसका एक आपसमा अनुहार, बोली, लय, स्वर आदि केही पनि मिल्दैनन् तर हामीलाई कतिपय व्यक्तिहरू उस्तै उस्तैजस्तो लाग्छन् तर उही चाहीं होइनन् । प्रकृति विज्ञानका दृष्टिले भन्नु पर्दा प्रत्येक मानिस आफैमा एउटा सिङ्गो इकाइ हो । तर यति भनेर मानिसको परिभाषा र पहिचान टुँङ्गिदैन । जीन एउटै भए पनि आकार, अनुहार, ओजन, वतन र स्वभावमा मेल देखिँदैन । पृथक् पृथक् नै हुन् भने पनि उस्तै उस्तै देखिन्छन् तर उस्तै चाहिँ होइनन् । उनीहरूका बानी व्यवहार पनि पृथक् नै हुन्छन्, रुचि र रमाइलो गर्ने तरिका पनि पृथक् नै हुन्छन् । कहिले कहिँ म गहिरिएर सोच्छु विश्वका यतिका मानिसहरू कसरी एक आपसमा फरक हुन सके ? देख्दा उस्तैजस्तो लागे पनि जुम्ल्याहाहरूकै अनुहार र व्यवहार पनि फरक हुन्छ किन ? मलाई लाग्छ यसरी प्रत्येक व्यक्ति र समुदायमा पृथक्पना देखिनुमा प्राकृतिक नियम र उसका सामाजिक, सांस्कृतिक व्यवहारले काम गरेको हुनुपर्दछ भन्ने मेरो बुझाइ छ । मानिसका सयौं शैली, व्यवहार आदिजस्तै एउटा चलन हो चुइङ्गम चुसेर भित्तामा थुक्ने बानी या चलन पनि ।
यहाँ कुरो आ यो चुइङ्गमको बारेमा, एकछिन चुट्की शैलीमा चुइङ्गमको चियोचर्चो चलाउँ न त जस्तो लाग्यो मलाई । यो शब्दलाई अङ्ग्रेजीमा (Chewing Gum), हिन्दीमा चूइंगम भनिन्छ र नेपालीमा चुइङ्गम । अझ छोटो पारेर भन्दा कतिपय नेपाली जिब्रोले चुइँगम या चुइगम भनेर जिब्रोलाई वैकल्पिक शब्द छनोट गर्ने अवसर पनि दिन्छन् ।
चुइङ्गमको उच्चारण भाषा र व्यक्तिका रुचि या शैलीअनुसार फरक फरक रूपमा गरिन्छन् । खासमा यो अङ्ग्रेजी शब्द नै हो तापनि अरू भाषिक समुदायका मानिसहरूले आआफ्ना भाषा मानेर अर्याम उँछन्, आआफ्नो मौलिकपनले भरिएको भन्दै गर्व गर्दै मख्खिन्छन् । जति मख्खिन्छन् मख्खिउन् न, हामीहरूलाई केको टाउको दुखाइ ?
मैले यस निबन्धमा लेख्न खोजेको विषय हो ‘चुइङ्गम थुक्ने भित्तो’ अनि यसैको पृष्ठभूमिका लागि माथिको अनुच्छेद खर्च भयो । माइक्रोसफ्ट कम्पनीको हेड अफिसमा सफ्टवेर इन्जिनियर पदमा कार्यरत छोरा सविनले सन् २०१७ सेप्टेम्बरमा हामी बाबुआमा (म र मेरी जीवन सहयात्री सत्यदेवी) लाई अमेरिका घुम्न बोलाए । छ महिनाको भिसा लिएर हामी करिव तीन महिनाको लागि अमेरिका उड्यौं । काठमाडौंबाट दुवै पाँ घन्टा र दुवैबाट अमेरिकाको वासिङ्टन राज्यमा रहेको सियाटल टाकोमा इन्टरनेसनल एयरपोर्टमा १६/१७ घन्टा गरी करिव २२/२३ घन्टाको हवाइयात्रा र दुवही एयरपोर्टमा ट्रान्जिट चार घन्टा अतिरिक्त थप गरी झन्डै २८ घन्टा लामो हवाई यात्रापछि हामी अमेरिका पुग्यौं । छोरा सविन आफ्नै निजीकार लिएर हामीलाई लिन एयरपोर्ट आए, गाडी चढेर हामी उनी बसेको ठाउँ बेलेभ्यु (Bellevue) तिर हुँइकियौं । बिच बाटामा एकछिन खाजा खान लाग्यौं । खाजा खाएपछि हामी त्यही सहरमा एकछिन पैदल यात्रा गर्यौं । यसैक्रममा भित्ताको दुवैतर्फ विभिन्न रङ्गले लतपतिएको एउटा दृश्य देखियो । मैले छोरालाई के हो बाबु यो ? भनेर सोधें । उनले सहजै उत्तर दिए चुङ्गम चुसेर थुक्ने भित्तो अर्थात् चुइङ्गम थुक्ने भित्तो !
त्यो भित्तामा केटा केटीदेखि युवायुवती र प्रौढ अवस्थामा प्रवेश गर्न लागेका सम्मका मान्छेले चुइङ्गम चुसेर बाँकी रहेको ठूलो हिस्सा फुकेर या नफुकी थुक्दा रहेछन् । यसरी उनीहरूले दुवैतर्फका भित्ताहरू घिन लाग्दो बनाएका थिए । हामी त्यही छँदै २, ४ जोडी युवायुवती आएर भित्तामा चुइङ्गम थुके । एउटा सौखिन र मनोरञ्जनात्मक चलन रहेछ यो, पछिपछि यसैले रूढि र अन्धविश्वासको रूप पनि लिन थालेको रहेछ ।
चुइङ्गम चपाउने, गुलियो आउन्जेल चुस्ने अनि गुलियो आउन छाडेपछि बेलुन फुकेझैं गरी फुक्ने, ओठमा राखेर पड्काउने अनि सडक या भित्तो जता ठाउँ मिल्छ त्यतै थुक्ने । विश्वभरिका सबै उमेर समूहका मानिसहरूले चुइङ्गम चुस्ने यसमा रहेको गुलियोपन आउन छाडेपछि मुखमै फुकेर फुलाउने अनि फुटाउने र थुक्ने गर्दछन् । एक किसिमले हेर्ने हो भने यो फोहारी बानीको परिचयात्मक अभिव्यक्ति नै हो तापनि नेपाल भारतमा जस्तो पान, सूर्ती, खैनी, चुइङ्गम खाने या चुस्ने गरेर भूईं, भित्तो, बाटोघाटो जतापायो त्यतै थुक्ने या स्कुलका बेन्च या बसका सीटमा टाँसेर अरू दुख दिने यसमा हुन्छ । यद्यपि विकसित मुलुकका मानिसहरूमा भने फोहोर व्यवस्थापन गर्ने कुरामा निकै सचेतना आएको देखिन्छ ।
जुनसुकै उमेर समूहका मानिसले पनि रौसाइ रौसाइ चुस्ने, जिब्रोले खेलाई खेलाई, बङ्गराले च्यापी च्यापी चुस्ने यो चुइङ्गमले अरबौं अरब धन विदेशीहरूका नाममा स्वाहा पारेको छ, देशलाई रिनमा डुवाएको छ, तर पनि चुईंङ्गम चुस्न भने छाड्दैनन् त ? अरूलाई के भन्ने खै चिनी खान छाडेका वृद्ध हजुरबा हजुरआमाहरू पनि नातिनातिनालाई फस्ल्याङ् फुस्लुङ् पारेर चुइङ्गम चुस्ने चाँजोपाँजो या बहाना बनाइहाल्छन् । हजुरबा हजुरआमाहरूलाई चुइङ्गम चुसाउन पाएपछि नातिनातिनाहरूको रमाइलोपनको सीमानै नरहने । उनीहरू पनि बुढाबुढीहरूलाई जिस्क्याउँदै ‘यो चुइङ्गम त सुगर फ्री मिठाईजस्तै हो जति खाए पनि हुन्छ’ भनेर चुइङ्गम चुस्न सु¥याइदिन्छन् । नातिनातिनाहरूको यत्ति भनाइले पनि हजुरबा हजुरआमाको मुख रसाइहाल्छ ।
चुइङ् गम (Chewing Gum) अर्थात् दाँतले च्यापेर चुस्ने गुलियो खालको वस्तुलाई चुइङ्गम भनिन्छ र यसको प्रयोगपरम्पराको इतिहास भने ९००० वर्ष पुरानो छ भन्ने दावी पेस गर्दछन् बौद्धिक बुज्रुकहरू । तर हामीहरूलाई त्यसको फेहरिस्तको विवरण पेस गर्नु छैन । इङ्ल्यान्ड, मेक्सिको, अमेरिका लगायतका देशहरूले आआनोफ् देशमा सर्वप्रथम चुइङ्गमको प्रचलन भएको या यसको व्यावसायिक उत्पानदन आँफैले उत्पादन गरेको ठोकुवा गर्दछन् यद्यपि अहिले हामीहरू चुइङ्गमलाई जे जसरी बुझ्छौं त्यसको पहिलो प्रयोग या भनौं त्यसको व्यावसायिक/व्यापारिक उत्पादन र उपयोग अमेरिकामै भएको कुरामा धेरैजसोको मतो मिलेको पाइन्छ । अहिले विश्वभरि तहल्का मच्चाउने यो आधुनिक रूपको व्यावसायिक चुइङ्गमको उत्पादन ई. १८५० को आसपासतिरै अमेरिकाका जोह्न व्याकोन कर्टिस (John Bacon Curtis) ले गरेका हुन् ।
मैले माथि नै भनिसकें नि संसारभरका हरेक समुदायका मानिसहरूका बानीबेहोरा या रमाइलो गर्ने शैली आ–आफ्नै किसिमका हुन्छन्, समाजका आ–आफ्ना प्रकारका रमाइला बानी बेहोरा बनेका हुन्छन् भनेर । सुरुमा अज्ञानतावस गरिएको रमाइलोले कालान्तरमा परम्परा बसाल्दै त्यसमा रूढि र अन्धविश्वाससमेत मिसाउँदो रहेछ । यो चुइङ्गम थुक्ने भित्तोका बारेमा पनि यस्तै रूढि अन्धविश्वास जोडिन पुगेको रहेछ । अमेरिकाको अन्य स्थानमा यस्तो कहीं पनि देखिएन । रमाइलोको साथ साथै यहाँका किशेर किशोरीमा चुइङ्गम खाएर भित्तामा थुक्ने कार्यप्रति आकर्षण बढी रहेछ । यसरी भित्तामा चुइङ्गम खाएर थुक्यो भने मनले चिताएको कुरा पुग्छ भन्ने अन्धमान्यता टिनएजका किशोरकिशोरी या युवायुवतीहरूमा रहेछ । त्यसैले उनीहरू जोडीसहित अनेकौं रङ् र प्रकारका चुइङ्गम चुसेर यहाँ थुक्दा रहेछन् । यसैले होला फोहोर भएपनि फेडरल सरकार या स्थानीय सरकारले यसको सरसफाइमा ध्यान दिँदा रहेनछन् भन्ने मलाई लाग्यो । हामी त्यहाँबाट फ्ल्याटमा फर्कियौं ।
फ्ल्याटमा फर्कने बेलामा म सोच्छु – ‘आजभोलि विभिन्न देशका हज्जारौं फ्याक्री महरूमा बनेका हज्जारौं प्रकृतिका चुइङ्गमहरू हाम्रो देशमा भित्रिन्छन् । पश्चिमा व्यापारका कथित यी चुइङ्गमहरू भित्रिनुभन्दा धेरै वर्ष पहिलादेखि नै मुखमा केही राखी दाँतले च्यापी चुस्ने काम त हाम्रा जिजुबाजेका जिजुबाजेहरूले गर्दै आएका थिए र अहिले पनि बाबुबाजेहरूले गर्दै आइरहेका छन् । त्यो बानीलाई पनि हामी अहिलेका पुस्ताहरूले जेनतेन चलाई रहेका छौं, छाड्न सकेका छैनौं । अहिले पनि ५०/६० वर्षको आसपासका तपाईं हामीहरूले पनि मुखमा बोजो, अदुआ, सूठो, जेठीमधु, धोबिनीको जरो, हर्रो, बर्रो, अमला, मराटी, टिम्मुर, पिप्ला, ल्वाङ्, सुकमेल आदि जडिबुटीजन्य वनस्पतिका पातबोक्राका टुक्राहरू मुखमा राखेर दाँतले च्यापेर चुस्तै आएको अझै पनि पुरानो चलन भएको छैन । हाम्रा यी वस्तु र चलनलाई आधुनिक युगसँग मिल्दो हुने गरी परिशोधन गरी पुनस्थापित गर्न पाए कति पैसा विदेश जानबाट बच्थ्यो ? हिसाब गरी साध्य नै छैन ।
यसो गर्न सकियो भने निर्धन बन्दै गएको हाम्रो राष्ट्रमा अलिकति भए पनि मलमपट्टी लाग्ने नै थियो । मलाई दौरा सुरुवाल टोपी लगाएर, कालो कोटले छोपिएर देखिने राष्ट्रवादभन्दा त यिनै स्वदेशी प्राकृतिक जडिबुटी आदिको प्रयोग गरेर चुइङ्गम लगायतका विदेशी वस्तुहरूको विस्थापन गर्नेतर्फ लाग्नुमा नै राष्ट्रवाद चम्केको या जँचेको जस्तो लाग्छ । ओहो ! म त निबन्ध लेख्न बसेको के के सोच्दा सोच्दै या लेख्दा लेख्दै बहकिंदै राष्ट्रवादको ठ्यासफू पो लेख्न पुगेछु । मलाई माफ गर्नुहोला पाठक महोदयहरू !
व्यक्ति र समाजले चलाएका यस्ता प्रकारका रमाइला घटनाहरूले कालान्तरमा धार्मिक रूढि या अन्धविश्वासको बाटो समात्दा रहेछन् । चुइङ्गम चुसेर भित्तोमा थुक्ने यो प्रवृत्ति र परम्परा हेर्दा मलाई नेपालका कतिपय सन्दर्भहरू सम्झन मन लाग्यो । कुरो कोट्याउँ काठमाडौंको किलागलबाट । यहाँ कसले भित्तामा मुढा ठोक्यो र किन ठोक्यो थाहा छैन तर अहिले त्यहाँ मनले चिताएको कुरा पुग्छ भनेर मुढामा किला ठोक्ने, पूजा गर्ने लामो परम्परा बसेको छ । पार्वतीले महादेव पति पाउने आशमा नदी किनारको बालुवाको शिवलिङ्ग बनाएर आफ्नो मनोकाङ्क्षा पुरा गरिन्छन् भन्ने विश्वासमा स्वस्थानी ब्रतकथा लेखियो, त्यसपछि नेपाली हिन्दु समुदायका महिलाहरूमा नदीको बालुवा ल्याई शिवलिङ्ग बनाएर पूजा गर्ने लामो परम्परा बस्यो । धरानको विजयपुरमा रहेको टुप्पो नभएका बाँसको गाँजमा रहेका बाँसहरूमा प्रेम सन्देश लेखेपछि इच्छाइएको व्यक्तिलाई पाउन सकिन्छ भन्ने विश्वास युवायुवतीहरूमा रहेको देखिन्छ ।
त्यस्तै देउरालीमा ढुङ्गा चढाए लक्ष्यमा सजिलैसँग पुगिन्छ भनेर डाँडाको फेदीबाटै ढुङ्गा बोकेर माथि भञ्ज्याङ्सम्म पुर्याएर चढाउँछन् । आफूले चिताएको कुरा पुरा हुन्छ भनेर यस्तै अनेकौं प्रकारका रोचक शैली र व्यवहारहरू विश्वका अरू मुलुकमाजस्तै नेपाली समाजमा पाइन्छन् । यी र यस्ता कामहरू पहिला कुन व्यक्तिले र के सन्दर्भमा यस्ता रमाइला कार्यहरू गरेका थिए पछि तिनै कुराहरू रूढि र अन्धविश्वासमाा रूपान्तरण भएर आए । मलाई लाग्छ अमेरिकामा पनि चुइङ्गम चुस्ने थुक्नेजस्तै रमाइला कार्यहरू अन्य अनेकौं ठाउँमा भएका होलान् र कालान्तरमा ती पनि रूढि, परम्परा र अन्धविश्वासमा रूपान्तरण हुनेछन् । मेरो विचारमा व्यक्तिले या समाजले चलाएका यस्ता उट्पट्याङ्जस्ता लाग्ने रमाइला कार्य वा व्यवहार (लोकसंस्कृति) ले मानिसलाई आफ्नो आकाङ्क्षा पुरा हुन्छ भन्दै बाँच्ने आशा जगाउँछ । यथार्थ के हो भन्ने खोज्न पट्टि ऊ लाग्दैन तर परम्परा हो भन्दै त्यसैलाई समातेर अगाडि बढ्ने प्रयास गर्छ । मलाई लाग्छ यो चुइङ्गम चुसेर भित्तोमा थुक्ने कुरा पनि व्यक्तिले रमाइलो गर्दै गर्दा वा अज्ञानताबस् गरेको कार्यको अन्धविश्वासको परिणति हो ।
०००
२०७५ वैशाख
नागार्जुन नगरपालिका ६, सीतापाइला काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































