डा. पशुपति नाथ तिमल्सेनामन्दिरमा दलाल
राजनीतिमा दलाली, ठेक्का पट्टामा दलाली, भर्ना नियुक्तिमा दलाली, सम्मान पुरस्कारमा दलाली । कता छैन दलाली ? हुँदा हुँदा मन्दिरमा पनि दलाली ? कमसेकम मन्दिरमा दलालले नसताए त हुन्थ्यो नि भन्ने लाग्छ मलाई ।

डा. पशुपति नाथ तिमल्सेना :
मजस्तै तपाईंहरू पनि मन्दिर र मन्दिरका आसपासमा रहने दलालहरूबाट अवश्यै ठगिनु भएको होला । मन्दिरका दलालबाट ठगिन अहिलेसम्म कोही पनि छुटेको छैन, अहिले छुटेकै भए पनि अर्को पटक नसोचेकै ठाउँमा पुगेर ठगिनु हुनेछ । हामी नेपालीहरू प्रत्येक दिन अनेकौँ प्रकारका दलाल र विचौलिया या जटाधारी, गेरुवस्त्रधारीहरूबाट ठगिएका छौँ, पत्तै नपाइने गरेर लुटिएका छौँ कुरा यत्तिमै सीमित छैन ।
विद्यालय या विश्वविद्यालयमा जाऔँ या अफिस अड्डा अदालतमा जाऔँ, कुनै न कुनै प्रकारका जालझेलमा फसेकै छौँ, ठगिएकै छौँ । जग्गाका दलाल, बैँकका दलाल, मठमन्दिरका दलाल, राजनीतिक पार्टीआदिका दलाल, जहाँ पनि दलालै दलाल । कहाँ छ दलाल र विचौलिया नभएको ठाउँ ? मलाई देखाइ दिनुहोस् त ? आफूले मानेको र असल भनेर भोट दिएर छानेको सांसद, आफूले लामो सङ्घर्ष गरेर निर्माण गरेको पार्टीको नेता, अथवा आफूले अनेकौँ श्रम र चन्दा दिएर खडा गरेको मन्दिरको पुजारी चोखा, शुद्ध र सज्जन छन् भन्ने लाग्न सक्छ तपाईलाई तर भ्रममा नपर्नु होस् । बरू दलाल र विचौलिया त्यतैतिर भेटिन्छन् । ईश्वरको उत्तराधिकारी भएर धर्तीमा शासन गर्न आएको तथाकथित राजा महाराजा पनि चोखा थिएनन्, दलाल र विचौलिया चिन्तनबाट मुक्त थिएनन् भने अरूको के कुरा ?
अहिले मलाई यस्तो लाग्छ जति ठूलो नेता त्यति नै ठूलो दलाल, जति ठूलो पार्टी त्यति नै धेरै दलाल, जति धेरै चन्दन रुद्राक्षमाला र गेरुवा वस्त्र लाउने पुजारी त्यति नै धेरै व्यभिचारी । झन्डै ४० वर्ष अगाडिबाट यिनीहरूसँग मेरो प्रत्यक्ष भेटघाट, बोलचाल र हल्का हल्का सङ्गत त नभएको होइन, तर जहिले भेटे पनि मैले उनीहरूमा दलाली, कमिसन, व्यभिचारी र व्यापारी चिन्तनमा मात्र लिप्त भएको देख्थें ।
तपाईं मलाई भन्नु होला मन्दिरमा पनि दलाल या विचौलिया हुन्छन् भनेर ? मैले माथि नै सङ्केत गरिसकेँ नि दलाल मुक्त क्षेत्र पाउनै गाह्रो छ भनेर । यसभन्दा बढी भन्नु पर्यो भने त एउटा ‘दलाल माहात्म्य’ शीर्षकको महाउपन्यास नै लेख्नु पर्छ होला, जुन कुरा पुरा गर्न मेरा लागि अहिले अनुकूल प्रायः छैन । तपाईंहरूलाई रुचि, अनुकूल र फुर्सद छ भने कलम चलाइ हाल्नुहोस्, यस्तो किसिमको मसलादार महाउपन्यास खुवै विकाउ हुने वाला छ ।
कुरा गरौँ मन्दिरमा दलाल या विचौलियाको । म धेरै पहिलाको एउटा कुरा कोट्याउन गइरहेको छु । कुरो २०४० साल वैशाखतिरको हो । मैले एम्. ए. को थेसिसका लागि सामन्तवाद विरोधी चेतनाका महानायक जनकवि युद्धप्रसाद मिश्रका कविता कृतिको अध्ययन गर्ने निणर्य गरेँ । उनका कविताहरू पञ्चायती व्यवस्थाका विरुद्धमा मात्र नभएर नेपालबाट राजतन्त्रै उन्मूलन गर्नु पर्दछ भन्ने मूल मान्यतामा आधारित थिए, र ती कविता कृतिहरू नेपालमा प्रतिबन्धित थिए । सामग्री सङ्कलनका लागि मलाई बनारस जानै पर्ने भयो र गएँ । साथमा अरू दुईजना साथीभाइहरू पनि थिए ।
बनारस बस्दाका समयमा हामी एकदिन विश्वनाथ बाबाको दर्शन गर्न मन्दिर गयौँ । हाम्रा पछाडि पण्डा लागेको कुरा हामीहरूले चाल पाइहाल्यौँ । विश्वनाथ बाबाको दर्शन गर्ने दर्शनार्थीहरूको लामबद्ध लाम लामै थियो । पण्डाको पछि लागी केही कदम अगाडि बढेपछि मन्दिरमा जानेहरूको लामको पुछार भेटियो । मन्दिरसम्म पुग्न हामीभन्दा अगाडि भक्तहरूको एक डेड किलोमिटर लामो लाम हुँदो हो । हामीमा त्यति लामो लाममा उभिएर देउताको दर्शन गर्ने जाँगर आएन । मैले प्रायः लाइनमा बसेर मन्दिर भित्र पसेर देउताको पूजा गरेको थिइनँ र यतिखेर पनि जाँगर चलेको पनि थिएन । त्यस्तो ठाउँमा म सामाजिक सांस्कृतिक वातावरणको अध्ययन र प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने गर्दछु ।
हामी पहाडतिर बस्नेहरूका लागि डाँडा, थुम्का र त्यहाँ बन्ने मठमन्दिर एकै प्रकृति र संस्कृतिका एकआपसका परिपूरक पर्यायवाची न हुन् जस्तो लाग्दछ । कुशका जुम्ल्याहा लवकुशको जस्तो सम्बन्ध छ पहाड, थुम्का र मठ मन्दिरको सम्बन्ध पनि त्यस्तै छ । म यस्तो किसिमको पर्यापर्यवरणिक सम्बन्धलाई प्रकृति र संस्कृतिको अभेद्य सम्बन्धका रूपमा हेर्न चाहन्छु, तपाईं कुन रूपमा हेर्न चाहनु हुन्छ आफै निर्धारण गर्नुहोस् ।
आफू स्वयं प्रत्यक्ष प्रमाण साक्षीको रूपमा रहेको काशीको त्यो घटना म अहिले पनि सम्झन्छु । हामीलाई पण्डाले पछ्याइ रहेको छ, मन्दिरमा चढाउने फूलप्रसादको पोको (टपरी) किन्न कर गरिरहेको छ । ‘भाइ साहेव भगवान् जगन्नाथ बाबा के मन्दिर मे चढाने के लिए फूलप्रसाद किनिए, जुत्ता यहीँ रखिये, जल्दी किजिए नही तो एकदम देर हो जाएगा’ भन्दै फूलको बोहोतो लिएर ऊ फटाफट अगाडि बढिरहेको थियो । हामी मन्दिरमा बली चढाउन डोर्याइएको पाठो घिसारिए झैँ गरी उसको पछि लागिरहेका थियौँ, मानौँ हामीहरू घिसारिइ रहेका थियौँ । मलाई त्यस बखत काशी गएर आएकाहरूले ‘साँड, राँड, पण्डा, सिँडी, सन्यासी; इन से बचे तव काशी’ भन्ने गरेको भनाइको सम्झना आयो । म मनमनै सोच्थेँ ।
आज फँसाए पण्डाहरूले भनेर । जल्दी आइए भाइ साहेव भन्दा भन्दै उसले हामीलाई लाइनको अगाडि पुर्यायो, अगाडिका तीन जनालाई घुचाडेर त्यहाँ हामीलाई उभ्यायो र पुजारीलाई भन्यो ‘पण्डितजी ये भाइसाहेव नेपाल के काठमाडौं से आए हैँ, विद्यार्थीँ, यिन के लिए बढिया सङ्कल्प पढिए’ । मनमनै त्रास र आशङ्का लागेको भए पनि छोटो बाटोबाट लामो लाइनको अगाडि पुग्न पाएकोमा हामी मख्ख थियौँ । पुजारी पण्डित (पण्डा + इत = पण्डित अर्थात् पण्डाको मूल नाइके ?) ओउम् अउम् भुर् … भन्दै नबुझिने स्वरमा संस्कृत भाषामा सङ्कल्प भट्याइ रहेको थियो र सङ्कल्पको अन्त्यमा ‘बाबुजी आप भी हमारे साथ सङ्कल्प पढिए’ भन्दै हामीलाई ‘भगवान् विश्वनाथ के भोजन करवाने के लिए एक सौ ग्यारह रूपयें सङ्कल्पम् करिस्यामी’ भन्न कर गर्थ्याे । मलाई दक्षिणा तोकेरै सङ्कल्प गर्न लगाउने प्रवृत्तिप्रति चित्त बुझेन र स्वेच्छाले भेटी चढाउने कुरा उसलाई भनेँ ।
पण्डित पण्डा दुवैले त्यति नै दिनु पर्दछ भन्दै बारम्बार कर गर्न थाले । केही समय यस्तै क्रम चल्यो र अन्त्यमा विश्वनाथको दर्शन गरे वापतको दस्तुरमा बार्गेनिङ् सुरु भयो । मन्दिरका दलाल या विचौलियाका रूपमा रहेका यी पण्डित पण्डाले विद्यार्थी भनेर बल्ल बल्ल जनही भारु एक सय रुपियाँका दरले छुट गरिदिए र ११ रुपियाँ मन्दिरमा चढाएर (डाँड/भेटी? तिरेर)हामी त्यहाँबाट हिड्यौँ । पण्डा र पण्डित दुवै दलालै हुने भए तापनि पुलिस र पुजारीसँग सेटिङ् मिलाउने काम पण्डाले गर्दा रहेछ । त्यसमा पनि दलालीको प्रमुख भूमिका पण्डाले निर्वाह गर्दो रहेछ भन्ने लाग्छ मलाई ।
यो घटना सम्झिएपछि अहिले मलाई पार्टीका नेता र गुन्डा तथा मन्दिरका पुजारी र पण्डा उस्तै उस्तै जस्तो लाग्न थालेका छन् । यिनीहरूको कार्यशैली एउटै हो, आफ्नो स्वार्थका लागि नहुने कुरालाई पनि नियम बनाउने र बनाएको नियम विधानलाई मिच्ने र बटार्ने । पहिला पहिला हामी पार्टीमा नेता होइन नीति मुख्य कुरा हो भन्थ्यौँ र नीतिको पछि लाग्थ्यौँ । तर अहिले जमाना बदलिएको छ पार्टीमा नीति होइन नेता मुख्य भएको छ । देउताको दर्शन गर्न पण्डाको सहारा लिनु परेजस्तै नेताको दर्शन गर्न गुन्डाको सहारा लिनु पर्दछ । यिनीहरूको सहायता लिए काम फत्ते हुने नत्र सामान्य काम पनि नहुने, कस्तो मजाको कुरा ।
आआफ्नो ठाउँमा सबै कुराको सेटिङ् मिलाएका हुन्छन् गुन्डा र पण्डाले, बस् हामीले त उनीहरूसँग सम्झौता र दानदक्षिणाको व्यवस्था व्यवस्थापन गर्न मात्र जान्नु पर्दछ । मलाई लाग्छ हामी विगत लामो परम्परादेखि नै दलालै दलालहरूको चेपुवामा पर्दै आएका छौँ । चाहे पशुपतिनाथ जाऔँ या विश्वनाथ जाऔँ, मुक्तिनाथ जाऔँ या गोरखनाथ जाऔँ, जहाँ गए पनि दलाल र दलाली प्रवृत्तिले तपाईं हामीहरूलाई छाड्नेवाला छैन । हाम्रा अगाडि, पछाडि, दायाँ, बायाँ जताततै दलालै दलाल छन्, मानौँ हामीहरू दलालै दलालहरूको च्याम्बरमा थुनिएका छौँ । जहाँ हेर्यो त्यहीँ दलाल र जता हेर्यो त्यतै दलाली ।
राजनीतिमा दलाली, ठेक्का पट्टामा दलाली, भर्ना नियुक्तिमा दलाली, सम्मान पुरस्कारमा दलाली । कता छैन दलाली ? हुँदा हुँदा मन्दिरमा पनि दलाली ? कमसेकम मन्दिरमा दलालले नसताए त हुन्थ्यो नि भन्ने लाग्छ मलाई । तर के गर्ने, आखिर हामी जनताहरू दलाल र भ्रष्टाचार रूपी पञ्चाग्निले सेकिएका सुकुटी न हौँ !
०००
२०७५ वैशाख
नागार्जुन नगरपालिका ६, सीतापाइला काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































