साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अतिरिक्त श्रमको मूल्य ?

म ती चियापसलेको सहजै परिवर्तन भएको व्यापारिक व्यावसायिक मान्यताको कदर गर्छु र उनलाई दाहिने हातले सलाम गर्छु ।

Nepal Telecom ad

डा. पशुपति नाथ तिमल्सेना :

मानिसहरू पैसाका लागि अनेकौं कामहरू गर्छन् । काम गर्नु नराम्रो होइन, एउटा न एउटा काम त मानिसले गर्नै पर्दछ । फलानो काम यो जातले गर्ने ऊ जातले नगर्ने भन्ने केही पनि छैन । बौद्धिक होस् या शारीरिक होस् मान्छे श्रममा जुट्नै पर्दछ । श्रम र समयको दुरूपयोग जुन देशमा हुन्छ त्यो देश छिट्टै नै पतनको दिशातिर लाग्छ, परमुखी हुँदै जान्छ र कालान्तरमा आफ्नो स्वाभिमान गुमाउँछ । हामी अहिले पनि जातको आधारमा श्रम विभाजन गर्ने चिन्तनमा लुटुपुटु भएका छौं । आफ्नो सीप, क्षमता र आवश्यकताले मानिस श्रममा जोडिनु पर्दछ अथवा यसो भनौं जुनसुकै पेसा र श्रम पनि मानिसले गर्नु पर्दछ । मेरो मान्यता यही हो । म बारम्बार भन्ने गर्दछु ‘श्रम र यसको ज्यालामा कहिल्यै पनि कसैलाई पनि विभेद गर्नु हुँदैन’ भनेर । यसलाई भनेर मात्र हुँदो रहेनछ, कार्यान्वयनमा नै लैजानु पर्दो रहेछ । मैले सोचेजस्तो कुरा व्यक्तिगत रूपमा अरू धेरै नेपालीहरूले धेरै पहिलादेखि नै नसोचेका भने होइनन् तर यस्ता कुरामा सङ्गठित सोचाइ नहुँदासम्म व्यक्ति व्यक्तिको सोचाइले केही हुँदो रहेन छ । अहिले कतिपय युवाहरूले सङ्गठित रूपमा नयाँ नयाँ पेसा व्यवसाय गर्नुपर्ने सोच अगाडि सारेका छन्, जात भातलाई महत्त्व नदिइकन सामूहिक श्रममा जोडिन पुगेका छन् । यस्तो राम्रो चिन्तन र चरित्रमा जोडिन पुगेका युवाहरूलाई पनि हामीहरूले यस्तो जातको उस्तो जातको भनेर होच्याएका छौं र आफ्नो अधोगति चिन्तनको परिचय दिइरहेका छौं, जो मतिभ्रष्ट मानव चिन्तनको निकृष्ट रूप नै हो र यो तिरस्कार गर्न योग्य छ ।

पेसा र व्यवसायको छनौट आवश्यकता पुरा गर्ने क्रममा गरिन्छ र त्यसमा श्रम सीप खर्च गरिन्छ । हामीहरू अहिले पनि मनुस्मृतिवादी कर्मकाण्डीय चिन्तन र जातिवादी विभेदका थोत्रा थुम्सेले थुनिएका छौं । त्यसैले हामी अहिलेको अत्याधुनिक वैज्ञानिक युगमा पनि जात, वणर् र छुवाछुतका कुरा गरिरहेका छौं । पानी चल्ने नचल्ने जातका कुरा गर्छौ, छोइछिटोको व्यवहार पनि गर्छौं । यसो सोचौं त हाम्रो यो कति पतनमुखी पछौटे चिन्तन हो । हुन त यस बारेमा कसैले प्रश्न उठायो भने हामी वणर्/जाति भेदवादी चिन्तनले ग्रसित सामन्ती संस्कृतिका अनुयायीहरू यसलाई सनातनी धर्म हो भन्छौं । पहिलादेखि चल्दै आएको कुरा हो चलाउँदै जानु पर्दछ भन्दै जातीय भेदभाव हटाउनु पर्दछ भन्ने कुराबाट तर्कन्छौं । यस्ता अधोमुखी चिन्तन बोकेकाहरूप्रति मलाई घृणा गर्न मन लाग्छ, दया लागेर आउँछ । अहिलेको युगमा पनि यो काम यो जातले गर्ने, त्यो काम ऊ जातले गर्ने भनेर कुतर्क गर्न मिल्छ ? या सुहाउँछ ?, श्रम र सिपको समान अवसरको हक र ज्याला प्राप्तिको कुरामा जातको प्रवेश कहाँबाट हुन्छ र ज्यालामा घटबढ हुन्छ । उत्ति नै ज्याला भए पनि श्रम र प्रकृतिमा घटबढ किन हुन्छ ? कुरो बुझ्नु पर्ने यहींनेर हो ।

मलाई प्रश्न गर्न मन लाग्छ आफूलाई स्वघोषित सर्वश्रेष्ठ मान्छे मान्ने हिन्दू अतिवादी कर्मकाण्डी समाजसँग, के अछुत भनेर उपेक्षित गरिएका समुदायका मानिसहरूमा सीप र क्षमता छ भने उनीहरूले कथित उपल्लो जातका मानिसले गरेको काम गर्न हुँदैन ? क्षमता भएका उनीहरूलाई त्यस्ता काम गर्नबाट वञ्चित गर्नु पर्दछ ? कथित उपल्लो जातका भनिएका बाहुन क्षेत्री भनिनेहरूले कुखुरा, बङ्गुर, सुँगुर पाल्ने या हलो जोत्नेजस्ता पेसा व्यवसाय गर्नुहुन्न भन्ने परम्परावादी रूढी धारणा थियो तर अहिले मूलतः यो धारणा खण्डित भएको छ, परिवर्तित भएको छ । अपवादलाई छाडेर भन्ने हो भने अहिले हलो नजोत्ने र कुखुरा नखाने बाहुन पाउनै मुस्किल छ । पहिला पहिला टाइम चरी भनेर चिनिने कुखुरा बाहुनको भान्छामा चढ्न थालेपछि बाहुन चरीमा रूपान्तरण भएको छ, जुन कुरा तपाइँहरूलाई थाहा नै भएको हो, नयाँ कुरा होइन । चन्दनधारी बाहुनको भन्दा राम्रो संस्कृत भाषा र शास्त्रीय ज्ञान भएका तथा पुराण, ज्योतिष या कर्मकाण्डका पोथा शुद्धसँग उच्चारण गर्न सक्ने, राम्रोसँग जिभ्रो फड्कारिएका कथित दलित (?) भनिएका समुदायका मानिसहरूले कर्मकाण्डी पेसा गर्नु हुँदैन र ? मेरो आफ्नो उत्तर हुन्छ भन्नेमा छ र त्यसलाई व्यवहारमा उतार्नु पर्दछ भन्ने पनि छ ।

जुनसुकै जातको होस् श्रम र पेसा मानिसले आफ्नो आवश्यकता पुरा गर्नेक्रममा नै छनौट गर्दछ । अहिलेको पुँजीवादी समाजमा मानिसले पुँजीलाई नै केन्द्रमा राख्छ र क्षमता अनुसारको सीप र श्रमको उपयोग गर्छ, पैसो कमाउँछ । पैसो नभए कोही पनि चल्न सक्दैन, केही काम पनि बन्दैन । त्यसैले पैसो त कमाउनै पर्दछ तर कसरी कमाउने ! तपाईं सोध्न सक्नुहुन्छ । पैसा कमाउने सरल र बक्र गरी दुई मार्ग छन् । आफ्नो श्रम र सिपको उपयोग गर्ने र त्यसैका माध्यमबाट दाम पैसा कमाउने हो भने त्यसमा सङ्कोच मान्नुपर्ने कुरै छैन । श्रम सिप बेचेर पैसा कमाउने कुरा सरल मार्गको कुरा हो र यस्तो कमाइ इज्जत कमाइ हो । अर्का एकथरी मान्छेहरू छन् जो पैसो बाहेक अरू केही सोच्दैनन् र पैसो कमाउन बाङ्गो टेडो या कपटी बाटो हिंड्ने गर्दछन् ।

खैर यी बक्रमार्गी द्रव्यपिचाशीहरूले कसरी पैसा कमाउँछन् त्यसको लेखाजोखा पछि नै गरौंला । अहिलेको पुँजीवादी समाजमा पैसा नै सबै चिज हो र यो नभै कुनै पनि काम चल्दैन । ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी’ भन्ने त लोक चलन नै छ । हाम्रो सनातनी लोक व्यवहारमा चल्दै आएको, भनिंदै आएको यो उखानलाई नै सम्झनुस् त । कति व्यावहारिक छ !, कति दूरगामी महत्त्वको छ । समाजै यस्तो अनि चलनै यस्तो ! यसमा कसले के भन्छ भनेर लाज मान्नु पर्ने कुरै छैन । कुरा कटुवाहरूले के के भन्छन् के के ? सुनी साध्य छैन । श्रम जसले जहाँ जे गरे पनि हुन्छ गर्नुहोस् । जात र लिङ्गका आधारमा कोही शोषणमा नपरोस्, नठगियोस् । हाम्रो समाजमा अनेकौं ठाऊँ र समयमा जात र लिङ्गका आधारमा अतिरिक्त श्रमको शोषण हुँदै आएको छ, त्यो नहोस् भन्ने मात्र मेरो कामना हो ।

मलाई अहिले यतिखेर आजभन्दा ४० वर्ष अगाडिको एउटा घटना सम्झनामा ताजा भएर आयो । त्यो समय पञ्चायती व्यवस्थाका विरुद्ध युवा विद्यार्थीहरूको माझबाट जोडदार आन्दोलन उठिरहेको थियो । म त्यतिखेर स्नातक तहको दोस्रो सेमेष्टरमा अध्ययन गर्दै थिएँ । हामी आन्दोलनकारी विद्यार्थीहरूमा निरङ्कुश पञ्चायती व्यवस्था फ्याँक्नै पर्दछ भन्ने दृढ मान्यता थियो । कुरा २०३५/०३६ सालको विद्यार्थी आन्दोलन र हडतालको समयको हो । काठमाडौंमा हड्ताल राम्रैसँग भएको थियो, क्याम्पसहरू बन्द भैसकेका थिए । हामी विद्यार्थीहरू शैक्षिक हड्ताललाई राष्ट्रव्यापी गर्नु पर्दछ भन्दै आ-आफ्ना जिल्ला र गाउँतर्फ लागेका थियौं । शैक्षिक हड्ताल जिल्ला जिल्लामा राम्रैसँग फैलिएको थियो । हामी गाउँ गाउँमा पसेका थियौं । हामीहरू शैक्षिक आन्दोलनलाई मजवुत र अर्थपूणर् बनाउनका लागि सामाजिक सुधार र प्रगतिशील विचारका भाषणहरू गर्थ्यौ । हो यसै समयको कुरो हो । एउटा सानो गाउँमा रहेको चिया पसलमा पुगेर हामीहरूले चियासँगै तरकारी पनि खायौं । मैले सुरुदेखि नै चिया पिउन आउनेहरू र चिया पसलेको व्यवहार नियाली रहेको थिएँ । मलाई त्यहाँको व्यवहार र वातावरण त्यति ठिक लागेको थिएन । हामी एक थरी बेन्चमा बसेका थियौं भने थोरै सङ्ख्याका भए पनि अर्का एक थरी सँगैको पर्खालमा बसिरहेका थिए । चिया दिने र लिनेको व्यवहार नै फरक थियो ।

चिया चना खाइसकेपछि मैले हामीहरूको पैसा तिरें । त्यतिखेर चिया/तरकारीको प्रतिव्यक्ति मूल्य यस्तै ५० पैसा थियो होला । हामीसँगै पर्खालमा बसेर चिया तरकारी खाएका दुई तीन जनाले पनि आ-आफ्नो पैसा तिरे अनि आफूले चिया तरकारी खाएका कप र प्लेट माझ्न अलिपर धारातिर लिएर जान लागेका थिए । मलाई कस्तो कस्तो लाग्यो । उही मूल्यको चिया तरकारी, उनीहरू र हामी समान हैसियतका ग्राहक । त्यसो भए पनि एक थरी बेन्चमा अर्काथरी ढुङ्गामाथि छुट्टै लहरमा बस्ने, एक थरीले जुठो प्लेट र कप त्यही छाड्ने र पसलेले माझ्ने, अर्का थरीले भाँडा आफै माझ्नु पर्ने, यो कस्तो व्यवहार हो ? मैले ती भाँडा पखाल्न जान लागेकाहरूलाई रोकें र चिया पसलेसँग किन यस्तो फरक व्यवहार गर्नु भएको भनेर सोधें । पसलेले सजिलैसँग ‘यिनीहरू दलित हुन्, यिनका जुठा भाँडा कसले माझ्छ त !, त्यहीं माथि हामी त बाहुन हौं’ भने । मलाई ती पसलेसँग अतिरिस उठेको थियो तर पनि संयमित भएरै भनें ‘हेर्नु होस् साहुजी तपाई त व्यवसायी मानिस, तपाईलाई थाहै छ बेचिने वस्तुमा वस्तुको खास मूल्यका अतिरिक्त श्रमको मूल्य पनि जोडिन्छ । त्यसैले उनीहरूको अतिरिक्त श्रमको मूल्य फिर्ता दिनुस् या उनीहरूको भाँडा तपाई नै माझ्नु होस्’ । तर हाम्रो सनातनी पुरातनपन्थी समाजमा मेरो भनाइ मान्य थिएन, दलितलाई होच्याउने र उनीहरूको अतिरिक्त श्रम शोषण गर्ने चलन आम रूपमै थियो र छ । पसलेको पक्षमा अधबैसें र पाकाहरू थिए, त्यसैले उनीहरू मेरो भनाइको विपक्षमा लागे, मेरो भनाइको खण्डन गरे । त्यतिमात्र होइन मलाई उग्रवादी (नक्स्लाइट) भन्दै उनीहरू बल प्रयोग गर्ने तहसम्म पुगे । तै तै मेरो तर्कलाई केही युवाले साथ दिए । ती अछूत भनिएका दाइभाइहरू केही बोल्न सक्ने अवस्थामा थिएनन्, बोलून् पनि के ? मेरो विपक्षमा बोलून् उनीहरूलाई नैतिकताले दिँदैनथ्यो, पक्षमा बोलून् सधैं त्यही बाहुन बाहुल्य गाउँमा बस्नु छ । केही विवाद भए पनि मेरो तर्कले विजय प्राप्त गर्योय, दलितहरूको अतिरिक्त श्रम शोषणको पक्षले न्याय पायो र चिया पसलेले श्रमको छुट्टै मूल्य भनेर पैसा फिर्ता नगर्ने बरु उनीहरूले चिया तरकारी खाएका जुठा भाँडाहरू एकै ठाउँमा राखेर आफैले माझ्ने कुरा स्वीकारे ।

मलाई लाग्छ, त्यो घटना सामाजिक विभेदका विरुद्ध थियो । व्यावहारिक रूपमा हेर्दा यो जातीय समानताको पक्षमा थियो तर यो भन्दा बढी श्रम र पेसाको सम्मान र मर्यादाका लागि थियो । त्यो घटनापछि ती पसलेलाई गाउँका बुजुक कर्मकाण्डवादी बाहुनहरूले खुव हप्काए, बाहुनको छोरो भएर दलितले खाएका जुठा भाँडा माझ्छ भने तर पनि ती पसलेले संयमित भएर आफूले व्यापार व्यवसायको मर्यादा र श्रमको सम्मान गरेको कुरा बताए । मलाई लाग्छ ती पसलेलाई हामीले श्रद्धा गर्नु पर्दछ जसले सहजै रूपमा त्यस बेलाको कर्मकाण्डी मनुष्मृतिवादी कट्टरपन्थी समाजमा जातीय भेदभावको विपक्षमा आफूलाई उभ्याए, श्रम र पेसा जसले गरे पनि हुन्छ, जहाँ गरे पनि हुन्छ भन्ने मान्यतालाई आत्मसात् गरे ।

म ती चियापसलेको सहजै परिवर्तन भएको व्यापारिक व्यावसायिक मान्यताको कदर गर्छु र उनलाई दाहिने हातले सलाम गर्छु । सोच्छु व्यापार व्यवसाय गर्ने कुरा जात, थर, गोत्रको आधारमा हुने होइन, लिङ्गको आधारमा हुने पनि होइन । यस मानेमा वर्तमान समयको हाम्रो समाज बडो उदार र प्रगतिशील चरित्रको बन्दै गइरहेको छ । यसो भए पनि व्यवहारिक रूपमा यो प्रगतिशील उदारवादी चिन्तनले व्यापकता पाउन सकेको छैन । मेरो कामना छ हाम्रो समाजमा यो जातीय समानतावादी प्रगतिशील चिन्तनले टेढोमेढो नभई उठ्ने मौका पाओस् ।

०००
(२०७५ चैत्र, सीतापाइला)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुइङ्गम थुक्ने भित्तो !

चुइङ्गम थुक्ने भित्तो !

डा. पशुपति नाथ तिमल्सेना
गलाभरि माला क्रान्तिकारी चाला

गलाभरि माला क्रान्तिकारी चाला

डा. पशुपति नाथ तिमल्सेना
सङ्क्रमण काल उर्फ ललिपप ?

सङ्क्रमण काल उर्फ ललिपप...

डा. पशुपति नाथ तिमल्सेना
मन्दिरमा दलाल

मन्दिरमा दलाल

डा. पशुपति नाथ तिमल्सेना
शिर ठाडो पार्ने कि झुकाउने ?

शिर ठाडो पार्ने कि...

डा. पशुपति नाथ तिमल्सेना
टेक्ने कहाँ, समात्ने के ?

टेक्ने कहाँ, समात्ने के...

डा. पशुपति नाथ तिमल्सेना
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x