डा. पशुपति नाथ तिमल्सेनाशिर ठाडो पार्ने कि झुकाउने ?
यी दास बुद्धिजीवीहरूको आफ्नो खास विचार, योजना, सङ्गठन आदि केही पनि हुँदैन । उनीहरू आफूलाई सरकारवादी मान्छे भन्छन् जुनपार्टी सत्तामा पुग्छ, त्यही पार्टीमा प्रवेश गर्छन् ।

डा. पशुपति नाथ तिमल्सेना :
मानिसहरूको जैविक प्राकृतिक संरचना नै शिर ठाडो पारेर हिँड्ने किसिमको छ । सबै मानिसहरूले सधैँ शिर ठाडो पारेर हिँड्नु पर्ने हो । शिर ठाडो पारेर हिँड्नु उसको नैसर्गिक प्राकृतिक गुण नै हो । तर त्यस्तो गुण कमै मानिसमा मात्र देखिन्छ । शारीरिक रोग या वृद्ध अवस्था भएको बेलामा कुप्रो परेर हिँड्नु या टाउको निहुर्याएर हिँड्नु बेग्लै कुरा हो । तर समाजका कतिपय बुद्धिजीवीहरू बाह्य या भौतिक रूपमा हेर्दा हृष्टपुष्ट देखिन्छन्, मोटाघाटा नै देखिन्छन् तर पनि शिर झुकाएर हिँडेका देखिन्छन्, अनि कतिपय मानिसहरू यस्ता छन् जो रोगी भए पनि वा बृद्धावस्थाका भए पनि शिर उँचो पारेर हिँडेका देखिन्छन् । म यहाँ शिर झुकाउनु र उठाउनुलाई उनीहरूको भौतिक पक्षलाई लिएर बोली रहेको छैन र त्यो मेरो कार्य पनि होइन । म यहाँ शिर झुकाउने, शिर निहुराउने कुराको शब्दिक अर्थ या अभिधा अर्थ खोजिरहेको छैन, खोजेको हुँ केवल लाक्षणिक या व्यञ्जना मूलक अर्थ ।
आफ्नो शोधकार्यको सिलसिलामा मैले युद्धप्रसाद मिश्रलाई धेरै पटक भेटेको थिएँ, उनीसँग कुराकानी गरेको थिएँ । मसँग भएका प्रत्येक भेटमा उनी भन्ने गर्थे बुद्धिजीवीहरूले शिर ठाडो पारेर हिँड्नु पर्दछ, शिर निहुर्याएर हिँड्नु हुँदैन भनेर । उनको भनाइ हो मानिसले असल कार्म गर्नु पर्दछ, परोपकारी हुनु पर्दछ । उनी हठी स्वभावका या आफ्नो स्वाभिमान गिर्न नदिने चरित्र भएका मानिस थिए । उनले राणा शासनदेखि पञ्चायती शासनसम्म कहिल्यै पनि शासक स्तुतिका कविता लेखेनन् । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यका लागि सरकारबाट आएको आग्रहलाई पनि उनले लत्याएका थिए । आफूलाई जनताको पक्षमा उभ्याउन उनले ८४ वर्षको उमेरमा पनि लेखक कलाकारहरूद्वारा गरिएको निरङ्कुशतन्त्र विरोधी आन्दोलनको अग्रणी नेता बनी नेतृत्व गरेका थिए । उनी आफू जति वर्ष बाँचे सधैँ छाती चौडा पारेर, शिर ठाडो गरेर नै बाँचे । उनको सधैँ सबैमा आग्रह हुन्थ्यो बुद्धिजीवीहरू दासजस्तो हुनु भएन । जहिले पनि उनको सोचाइ हुन्थ्यो बौद्धिक दासता नै समाजको अक्ष्यम्य कलङ्क हो । बुढा कवि युद्धप्रसाद मिश्रको यो भनाइ म सधैँ सम्झन्छु ।
हाम्रो समाज या देशमा बौद्धिक दासतावादी प्रवृत्ति अहिले असाध्यै मौलाएको छ, तर यसको आशय पहिला थिएन भन्ने होइन । राजतन्त्र रहँदासम्म बुद्धिजीवीहरूमा यो दासतामुखी चिन्तन या प्रवृत्ति हुनु सामान्य नै हो, स्वाभाविकै पनि हो । कतिपय प्राचीन साहित्य या विशेष गरी संस्कृत साहित्यमा ‘राजाको कर्तव्य विद्वान्हरूलाई दरवारमा बोलाउनु, पेटभरि खानदिनु, मनग्गे धनसम्पत्ति दिनु, पण्डितहरूलाई सन्तुष्ट हुने गरी पारितोषिक दिनु र गोष्ठी गर्नु, विचार विमर्श गर्नु भन्ने सल्लाह दिइएको पाइन्छ । त्यसै गरी विद्वान्हरूले राजाको गुणगान र प्रशस्ति गरेका बौद्धिक सामग्री उत्पादन गर्नू र देश देशान्तरमा राजाको महिमा फैलाउनु भनेर आदेशात्मक निर्देशनको पनि उल्लेख गरेको पाइन्छ । यस्तो हुनु या गर्नु त सामन्ती राज्य व्यवस्थाको बौद्धिक संस्कृतिको एउटा अनिवार्य पाटो नै हो । अहिले त हामीहरू लोकतान्त्रिक गणतन्त्रको युगमा छौँ । गणतान्त्रिक युगमा पनि दासतामुखी चिन्तन देखिनु या झ्याङ्गिनु दुःख लाग्दो कुरा हो, अझ बौद्धिक दासता बढ्नु भनेको सारै नै घिन लाग्दो, लाज मर्दो कुरा हो । बुढा कवि युद्धप्रसाद मिश्रले भनेजस्तै मलाई पनि लाग्छ दासतामुखी चिन्तन भएका बुद्धिजीवीहरूका कारण नै हाम्रो देश दिनानुदिन पतनोन्मुखी हुँदै गएको हो ।
दासतामुखी हुनु भनेको एउटा प्रवृत्ति हो । सामन्ती युग या त्यसभन्दा अगाडिको समाज दास र मालिक वर्गमा विभाजित थियो । सामन्तहरू आफूलाई ईश्वरका उत्तराधिकारी नै ठान्दथ्ये, सम्पूणर् चल अचल सम्पत्तिका मालिक उनीहरू नै हुन्थे । मालिक बाहेक दासहरूको आफ्नो भन्ने केही हुँदैनथ्यो । सम्पत्तिको कुरै छाडौँ उनीहरूसँग आफ्नो भन्नका लागि परिवार र श्रीमतीसम्म पनि हुँदैनथे । सबै प्रभुको सबै मालिकको । मानिसले सामन्तका विरुद्ध लडे, सामन्तवाद ढाले तर सामन्तवादी चिन्तन ढाल्न सकेनन् । व्यवस्थामा परिवर्तन भए पनि, सामाजिक आर्थिक आधार परिवर्तन भए पनि त्यसमाथि आधारित आधेय तत्त्वका रूपमा रहेका कला, साहित्य, शिक्षा, कानुन आदिजस्ता बौद्धिक जमातले काम गर्ने क्षेत्रमा तत्काल र छिटो परिवर्तन नहुने रहेछ । उनीहरूलाई हिजोको परम्पराले नै गाँजेको हुँदो रहेछ । हाम्रो देशका बुद्धिजीवीहरूमा दासतामुखी चिन्तन घट्नु पर्ने हो, तर यो झन् बढ्दो अवस्थामा छ, जुन कुरा गम्भीर चिन्ताको विषय हो ।
केही बुद्धिजीवीहरू दही चिउरेजस्ता देखिन्छन् जुन व्यवस्था आयो त्यतैतर्फ लाग्छन्, जुन ठुलो देख्यो त्यतै ढल्कन्छन् । हाम्रो समाजमा कति होलान् दासतामुखी चिन्तनमा नलागी स्वाभिमानका साथ बाँचेका मानिसहरू ? प्रश्न गर्न मन लाग्छ । हामी पौने तीन करोड नेपालीहरूबाट यस्ता बुद्धिजीवीहरू खोज्ने हो भने सयको सङ्ख्या कटाउन मुस्किल मुस्किल नै पर्ला । तपाईं आफू कति नम्बरमा पर्नुहुन्छ अहिल्यैबाट गन्न सुरु गर्नुहोस् । मैले पहिला नै भनिसकें नि बौद्धिक दास या बौद्धिक दासता मुखी चिन्तन भएका बुद्धिजीवीहरूको बाहुल्यता भएको देशमा प्राज्ञिक उन्नयन हुँदैन, विज्ञान र प्रविधिको विकास हुँदैन भनेर । प्राज्ञिक उन्नयन नभएको, विज्ञान र प्रविधिको विकास नभएको देशका जनता आर्थिक रूपमा विपन्न हुन्छन् अनि कथित बुद्धिजीवीहरू दासजस्तो बन्छन् । त्यसैले त म भन्छुः बौद्धिक दासहरूले हाम्रो संस्कार, पद्धति, मूल्य ध्वस्त पारे, विकास निर्माण योजना ठप्प पारे भनेर । तैपनि उनीहरू नेतासँगै मिलेर चर्को स्वरमा ‘धनी नेपाल हँसिला नेपाली’को नारा कार्यान्वयन गराउनु पर्दछ भनेर कुर्लिन्छन् । यो दासतामुखी चिन्तन भनेको के हो ? र यसलाई कसरी चिन्ने ? भनेर तपार्इंहरू मलाई सोध्नु होला । वास्तवमा बौद्धिक समाजले जान्नु पर्ने कुरा यही हो । मैले माथि नै भनिसकें नि बौद्धिक दास या दासतामुखी चिन्तन भएकाहरूको लवज दरो र ठोस हुँदैन, शिर कहिल्यै ठाडो हुँदैन, जहिले पनि झुकिरहेको हुन्छ । उनीहरू नै देश विकासका बाधक तत्त्व हुन् भनेर पनि बुझ्न सकिन्छ ।
मैले सुरुमा नै भनिसकेको छु दासहरूको आफ्नो भन्नु केही हुँदैन र उनीहरू सम्पूणर् रूपमा मालिकको अधीनमा हुन्छन् । मालिक या प्रभुकै निगाहमा उनीहरू बाँच्नु पर्ने हुन्छ । दास बुद्धिजीवीहरूको हालत पनि यस्तै हो । पढेका त छन् तर बौद्धिक क्षमता, प्राज्ञिक दक्षता र प्रतिस्पर्धी योग्यता देखाउने कार्यतर्फ उनीहरू कहिल्यै पनि लाग्दैनन् । उनीहरू केवल सत्ता भोगको सपना देख्छन्, आफूलाई मात्रै हेर्छन्, अनि बौद्धिकता गुमाउँछन् । उनीहरू आफ्नो स्वार्थ पुरा गर्न सम्पूणर् समय नेताको चाकरीमा लगाउँछन् या दलाली गर्नमा नै खर्चिन्छन् । बिहान होस् या बेलुका, उनीहरू नेताकै चाकरी गर्न उसैको वरिपरि घुमिरहेका हुन्छन् । तपाईंलाई थाहै छ नि गणेश शैली भनेको अथवा रामभक्त हनुमान भनेको । उनीहरू त ‘त्वमेव माता च पिता त्वमेव’ भन्दै भूँडे गणेशले जस्तै गरी देवताका पनि देवता कहलिएका महादेव रूपी नेताको फन्को मार्यो काम पट्यायो भन्ने शैलीमा व्यवहार गर्छन् । अझ कतिपय बुद्धिजीवीहरू त आफ्नो छाती च्यातेर रामलाई देखाउने रामभक्त हनुमानले जस्तै गरी आफूलाई नेताभक्त देखाउँछन्, राम्रो स्वामीभक्तको रूपमा आफूलाई देखाउँछन् र राजनैतिक नियुक्ति पड्काउँछन् । यी दास बुद्धिजीवीहरूको आफ्नो खास विचार, योजना, सङ्गठन आदि केही पनि हुँदैन । उनीहरू आफूलाई सरकारवादी मान्छे भन्छन् जुनपार्टी सत्तामा पुग्छ, त्यही पार्टीमा प्रवेश गर्छन् । संयुक्त सरकार भएको वेलामा उनीहरू ३, ४ वटा पार्टीको सदस्यता पनि एकै चोटी लिन भ्याउँछन् र आवश्यकता अनुसार हनुमान् चालिसा पढ्छन्, गणेश शैलीको अनुशरण गर्दछन् ।
प्रिय पाठकहरू ! यस्ता बुद्धिजीवीहरू मैले कति गनें गनें । मलाई भन्दा बढ्ता तपाईंहरूलाई नै थाहा होला । मेरो भनाइ यत्ति हो जतिसुकै पढेको भए पनि, या विश्वविद्यालयको प्रा.डा. भए पनि या न्यायमूर्ति भए पनि या कार्यालय प्रमुख भए पनि आफ्नो योग्यता क्षमता र कार्यकुशलताबाटै काम गर्नु पर्दछ, स्वतन्त्र भई निष्पक्ष रूपमा काम गर्नु पर्दछ । बुद्धिजीवीहरूले आफ्नो विवेक गुमाउनु हुँदैन, आफूलाई सास फेर्ने यन्त्रजस्तो बनाएर अरूले थिचिदिएको रिमोटबाट चलाउनु हुन्न अर्थात् कसैको इसारामा काम गर्नु हुँदैन । आफ्नो विवेकको निणर्य गर्ने क्षमता गुमाएका बुद्धिजीवीहरूले देश र जनताको हितमा काम गर्न सक्दैनन् । उनीहरू मालिकको इसारा र रुचिमा काम गर्छन् । त्यसैले मैले बारम्बार भन्दै आएको छु यस्ता बौद्धिक दास या दासतामुखी चिन्तन भएका बुद्धिजीवीहरूको टाउको मालिकको पाउले थिचिएको हुन्छ, । उनीहरू ठिङ्ग उभिएका भए पनि उनीहरूको शिर झुकेकै हुन्छ । मेरो भन्नु यत्ति हो शिर ठाडो पारेर हिड्ने कि शिर झुकाएर हिँड्ने ? तपाईंहरू आफैं विचार गर्नु होस्, आफै छनौट गर्नु होस् ।
०००
२०७६ वैशाख ११,
नागार्जुन नगरपालिका ६, सीतापाइला काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































