होम सुवेदीगमलाखेती उद्योग
बर्खाको सिजन न पर्यो मन्त्रीलाई भ्याई नभ्याई छ गमलामा धान रोप्न हाई हाई छ जा कान्छा मलेसिया कोदो रोप्न जा तँलाई बाई बाई छ ॥

होम सुवेदी :
पोहोरजस्तै
यो वर्ष पनि
साउन लाग्न आँटेको छ
पोहोरझैँ यो साल पनि
कृषिप्रधान देशमा
कृषिकर्म जागेको छ
कृषिप्रधान देशले
कृषिकर्म मागेको छ
यसैले-
हाम्रो कान्छो कृषिकर्म गर्न मलेसिया लागेको छ
यता बेँसी बाँझै छ त के भो
यहाँ खेत बाँझै छन् त के भो
विहारबाट धान मगाउँला
खाडीमा पैसा कमाउँला
अघाउँजी धानको भात खाउँला
असार सकिन लागेको छ
गमलामा रोपाइँको धुम छ
कौसीमा मकै फलाएर
बुम बुम छ
अहिले कृषि मन्त्रालयको उधुम छ
अधिकृतहरूलाई हतारो छ
धान रोप्ने चटारो छ
मन्त्रीलाई सारो छ
अतिथिमा आइजाइ छ
मन्त्रीलाई भ्याई नभ्याई छ
गमला तयार पार
असारे गीत बजाऊ
भारतबाट झिकाएर
दही चिउरा खाऊ
रमाइलो मनाऊ
मन्त्रीलाई बिउको माला लाईदेऊ
रोप्न चाहिने मल
पाक्ने बेलामा ल्याइदेऊ
आँखा उघार
जारको एक लोहोटा पानी
तयार पार
साउन लाग्न आँटेको छ
बुद्धिको बिर्को उघार
काम गर्न अरब जाऊ
यहाँ खुट्टा पसार
देशमा केही भएन भनी
गोहीको आँसु झार
मन्त्रीको हाई हाई छ
बर्खाको सिजन न पर्यो
मन्त्रीलाई भ्याई नभ्याई छ
गमलामा धान रोप्न
हाई हाई छ
जा कान्छा मलेसिया
कोदो रोप्न जा
तँलाई बाई बाई छ ॥
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































